विकासन्युज

एनबी टण्डनः अमेरिका र क्यानडामा नेपाल चिनाउने ‘मूर्ख’ ट्रक ड्राइभर

काठमाडौं, २५ साउन । दाङमा जन्मिएका एनबी टन्डन एघार वर्षदेखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा अँगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी नै हुन् । उनी राष्ट्रियताप्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । उनी विगत ३ बर्ष देखि पेशा सँगसँगै नेपाल चिनाउने पवित्र कर्ममा लागि परेका हुन् । क्यानडामा अमेरिका र क्यानडा घुम्ने २९ लाख ट्रक छन् । तीमध्ये एउटा ट्रक चलाउँछन् टण्डन । उनको ट्रक अरुको भन्दा बिल्कुल भिन्न छ । उनको ट्रकभित्र अरू ट्रकमा जस्तै सामान हुन्छ भने बाहिर बिल्कुल अरू भन्दा फरक सिंगो नेपाल छ । ट्रक सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको राष्ट्रिय झण्डाका सुन्दर कलाकृतिले सजिएको छ । यी दृश्यले कस्लाई पो नलोभ्याउला । टण्डनले चलाउने नेपाल चिनाउने ट्रक उनी प्रायःजसो मानिसको ‘यो के हो ?’ भन्ने प्रश्नको  घेरामा पर्दछन् । उनी सगर्व उत्तर दिन्छन्, ‘यो बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देश नेपाल हो ।’ क्यानडा र अमेरिकाका विभिन्न शहरमा ट्रक लिएर घुमिरहदा एक दिन उनलाई यस्तो आइडिया फुरेको हो । उनले सोचे ‘यत्रो ठाउँ पुगिन्छ, हाम्रो देश नेपाल घुम्नका लागि अति राम्रो मुलुक हो भनेर कसरी भन्ने ? अनि सोच्दै जाँदा उनलाई यस्तो अक्कल आएको हो । अमेरिका र क्यानडा नियमित आवतजावत गरिरहनुपर्ने भएकोले अध्यागमनले रोक्ने हो कि भन्ने शंका उनलाई थियो । नीति–नियमले दिने–नदिनेबारे बुझ्न अध्यागमन गए र अध्यागमनका कर्मचारीलाई आफ्नो कुरा राखे । अध्यागमनका कर्मचारीले त उनलाई मूर्ख समेत भने । पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग टण्डन आफ्नै पैसा खर्च गरेर किन यस्तो गर्ने भनेर उनीहरूले टण्डनलाई भनेका थिए । मूर्ख भनेर भनेका उनले त्यसको प्रवाह नगर्दै डेढ लाख बढी खर्च गरेर आफ्नो ट्रकलाई कलात्मक ढंगले सिंगारे । यस्तो कलात्मक दृृश्यले सिँगारेको देखेपछि अध्यागमनकै कर्मचारीले उनको प्रशंसा गर्दै ‘तिमीले त गजबै ग¥यौं’ भनेको उनी सम्झन्छन् । त्यसैले उनलाई नेपालबारे चिनाउन थप हौसला मिलेको छ । अहिले उनलाई कसैले सोध्यो भने नेपालबारे बताउने र एकचोटि घुम्न जानको लागि नेपाल जान सिफारिस गर्ने गरेका छन् । नेपाल बारे बताएपछि उनलाई प्रायजसोले जीवनमा एकपल्ट नेपाल गएरै छाड्ने प्रतिवद्धता गर्ने गरेका छन् । कति त उनलाई अर्को पटक भेट्दा नेपाल घुमेर फर्किएको बताउँछन् । यसबाट उनलाई थप आनन्द मिल्छ, थप खुशी मिल्छ । उनले यही नेपालका कलाकृतिले सिंगारिएको ट्रक लिएर पूरै क्यानडा मात्र होइन, झण्डै अमेरिका पनि घुमिसकेका छन् । टण्डनको नेपालका कलाकृतियुक्त ट्रक गत बर्ष गएको महाविनाशकारी भुकम्पमा पनि उनले ट्रककै माध्यमबाट राहत तथा पुनःनिर्माणका लागि सघाएका थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनःनिर्माणमा सघाउन आग्रह गरेका थिए । नेपालमा ड्राइभरलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । त्यसलाई ड्राइभर आफैे र सरकारले यसलाई सुधार्न सहयोग गर्नुपर्ने उनी बताउँछन् । क्यानडामा ड्राइभरको पनि राम्रो सम्मान हुने हुनाले आँफूलाई ड्राइभर भन्न कुनै हिचकिचाहट नहुने उनी बताउँछन् । टण्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेशा अँगालेकाहरुको एउटा संगठन बनेको छ । उनको संगठनमा अहिले सय जना भन्दा बढि कृयाशील सदस्यहरु छन् । उक्त संस्थाले नेपालको स्थास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने लक्ष्य लिएको छ । नेपाली ड्राइभरले महिला तथा किशोरीलाई जिस्क्याउने तथा गलत दृष्टिले हेर्ने गरेका कारण उनीहरुमाझ नै नकारात्मक सोचको बिकास भएको ठहर गर्दै त्यसलाई चिर्नका लागि किशोरीको स्वास्थ्यका लागि नै उक्त संगठनले पहिलो चरणमा लगानी गरी सकेको छ । ट्रक चालक एनबी टण्डन गुल्मीमा गंगा खड्कालाई स्वास्थ्य दूत बनाएर स्वास्थ्य चेतना अभिवृद्धी गर्ने तथा किशोरीहरुको लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्य पनि भइसकेको छ । संगठनका सदस्यबाट उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको छ उक्त ‘ड्राइभर एसोसिएसन’ । अहिले उक्त संगठनमा अध्यक्षको भूमिकामा रही संगठनलाई हांकिरहेका छन् एनबी टण्डन । उनले नै गैर नाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट सहयोग लिने र सिधा सम्बन्धित काममा सहयोग गर्ने योजना अन्तर्गत यो अवधारणा अघि सारेको टण्डन बताउँछन् । उनै ‘मूर्ख’ चालक पर्यटन दूत दाङदेखि क्यानडा पुगेर क्यानडा मात्र नभएर अमेरिकासम्म नेपालको पर्यटन क्षेत्र र सिंगो नेपाललाई चिनाउन टण्डनले गरेको कामको प्रशंसा गर्दै पर्यटनबोर्डको सिफारिसमा नेपाल सरकारले मे १९, २०१६ देखि टन्डनलाई क्यानडाको लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । सरकारको यो निर्णयले आफू र आफ्नो टिमलाई आगामी दिनमा आगाडी बढ्न थप हौसला मिलेको टन्डन बताउँछन् । आफ्नो ट्रकमा नेपालका सुन्दर कलाकृती कुद्नका लागि सोधखोज गर्न अध्यागमनको ढोका पुग्दा त्यहींका कर्मचारीले ‘श्रीमतीलाई गहना जोड्न छोडेर ट्रकमा के के जाती बुट्टा भर्न दौडिएको मूर्ख’को संज्ञा दिईएका टण्डन अहिले सरकारको सानो सम्मान पर्यटन दूत बनेपछि पुलकित छन् । यसै बिच आफु क्यानडाको पर्यटन दुत नियुक्त भएलगतै बिभिन्न खालका पर्यटन प्रबद्रन गर्ने उदेश्यले  क्यानडामा आयोजना भएको सन २०१६ जुन ११ मा झन्डै विश्व भरबाट  ७ हजार भन्दा बढी मनिसहरूको सहभागिता रहने  ’ब्राम्टन डे’ मा नेपालले पहिलो पल्ट आफ्नो  सहभागिता जनाएको थियो । बिभिन्न खालका नेपाली कला धर्मसंस्कृति र रहनसहन झल्किने  परिवेशको साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त कार्यक्रममा  सहभागिता भए बापत नेपालको लागि  मायाको चिनो  प्रदान गरिएको थियो । उनले  दाङगको तुलसिपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको र केहि समय पछि ब्राम्टन नगर प्रमुखको टोलि उक्त कार्यक्रमको लागि नेपाल आउने समेत कार्यक्रम रहेको बताए । पर्यटन प्रबद्धनको लागि विद्यार्थी प्याकेज समेतको तयारी भैरहेको जानकारी समेत दिए । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन  परिसद्  क्यानडाले भुकम्प पिडित बालबालिकाको सहयोगार्थ  क्यानडाबाट एनबी टन्डनको पहलमा स्कुलका किताबहरू पिसफर पिपुलकी डाईरेक्टर पुनम खड्कीलाई   गत शक्ररबार काठमान्डौमा बितरण गर्नुका साथै  टन्डनले व्यक्तिगत रूपमा नगद १० हजार रुपैयाँसमेत आर्थिस सहयोग गरेका छन् ।

पिछडिएका समुदायलाई अधिकार उपलब्ध गराउन माग

काठमाडौं, २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले संविधान संशोधनबाट आदिवासी, जनजाति तथा पिछडिएका वर्गका समुदायलाई अधिकार उपलब्ध गराउन माग गरेको छ । महासङ्घले २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजना गरेको पदयात्राको शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिसँग विगतमा सरकारसँग भएका सहमति संविधानमा समावेश नभएकाले संविधान संशोधन गरी अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिए । सांसद कुमालले मातृ भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि गरे । सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले मुलुकको सुरक्षा तथा विशिष्ट संस्कृतिलाई संरक्षण गरेर बसेका आदिवासीलाई पहिचान सहितको अधिकार दिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा नै दिवस मनाउन लागेको हो । रासस

मोटर दुर्घटना स्थलमै बीमा दावी भुक्तानी हुने, सगरमाथाले ल्यायो ‘भीआईपी अन द स्पट’ योजना

काठमाडौं, २५ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन द स्पट’ नाम गरिएको उक्त बीमा पोलिसी हाललाई काठमाडौं उपत्यका भित्र मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीको यो योजनाले बीमितलाई तत्काल राहात पुग्ने, दाबी भुक्तानीको लागि लामो प्रक्रियामा झेल्नु नपर्ने र आर्थिक भार पनि कम पर्ने कम्पनीले जनाएको छ । बीमा समितिका अध्यक्ष प्रा. डा फत्तबहादुुर केसी र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले भीआईपी अन द स्पट पोलिसीको शुरुवात गरेका छन् । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष केसीले यो बीमा पोलिसी राजधानीमा मात्र सीमित नगर्न र देशभर सञ्चालन गर्न सुझाव दिए । ‘सवारी दुर्घटना राजधानीमा भन्दा बढी राजधानी बाहिर हुने गरेको छन् । राजधानी बाहिरका बीमितलाई पनि यो सुविधा दिनुपर्छ’ केसीले भने । कम्पनीका अध्यक्ष मानन्धरले बीमितको सम्पत्ति आफ्नो सम्पत्ति जस्तै ठानेर बीमितलाई अधिकतम लाभ दिने र दावी भुक्तानी सरल बनाउने उदेश्यका साथ बीमा पोलिसी बनाउने गरेको बताए । सरल प्रक्रिया ‘सरगरमाथा भीआईपी अन द स्पट’ योजनालाई प्रभावकारी बनाउन यसको प्रक्रियालाई सरल बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले बताए । उनका अनुसार मोटर बीमा गर्ने बीमितलाई मनीपर्समा राख्ने मिल्ने ‘सरगरमाथा भीआईपी अन द स्पट’ कार्ड दिईन्छ । यो एटीएम कार्ड जस्तै हुन्छ । बीमितले जहिले पनि यो कार्ड साथमा राख्न मिल्ने गरि बनाईएको छ । उक्त कार्डमा कम्पनीमा निःशुल्क सम्पर्क गर्न सकिने फोन नम्बर राखिएको हुन्छ । ‘दुर्घट्ना भएको अवस्थामा बीमितले आफूसँग भएको कार्डको सहायतामा तत्काल कम्पनीमा फोन गर्न सक्छन् । कम्पनीले क्षति मूल्याङकन गर्न इन्जिनियर्ससहित एक टोलीलाई घट्ना स्थल पठाउँछ । क्षति विवरण र बीमा पोलिसको अध्ययन गरेर बीमितले पाउने क्षतिपूर्ति रकम मूल्याङकन गरिन्छ । त्यसमा बीमित सहमत भएमा तत्काल बीमितको एकाउण्टमा भुक्तानी दिइन्छ’– प्रमुख कार्यकारी अधिकृत क्षेत्री भन्छन्–कम्पनीको प्रतिनिधिसँग बीमित असहमत भएमा दावी भुक्तानी नियमित प्रक्रिया जान सकिनेछ । सामान्यतया भीआईपीको अर्थ भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ को रुपमा व्याख्या गरिन्छ । तर सगरमाथा भीआईपीको अर्थ फरक छ । ‘भेइकल इन्स्योरेन्स पोलीसी’को छोटो रुप हो भीआईपी । ‘प्रतिस्पर्धी बजारमा ग्राहकलाई गड मान्ने अभ्यास छ । हामी हाम्रा ग्राहकलाई भेरी इम्पोटेन्ट पर्सन ‘अति विशिष्ट व्यक्ति’ सम्मान गर्न पनि यसको नाम भीआईपी नै राखेका हौ’ क्षेत्री भन्छन्–‘भीआईपी कार्ड साथमा राख्दा ग्राहकले सम्मानको महसुश पनि गर्न सकून, संकटको बेलाको साथी महसुश पनि गर्न सकून भनेर यो नीति ल्याएका छौं । यो योजना लागू भएपछि कम्पनीको बीमा पोर्टपोलियोमा मोटर बीमाको हिस्सा बढ्ने र मोटर बीमा बजारको आकारमा वृद्धि गर्न सहयोग पुग्ने कम्पनीका सल्लाहाकार केबी बस्नेतले बताए । कम्पनीले ‘सरगरमाथा भीआईपी अन द स्पट’ पोलिसीको लागि छुट्टै कक्ष र टिम बनाएको जानकारी दिएका छ । सगरमाथा इन्स्योरेन्सको २० वर्षे यात्रा सगरमाथा इन्स्योरेन्स कम्पनीले २० वर्षे यात्रामा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गरेको छ । २०५३ साउन २ गतेबाट कारोबार थालेको कम्पनीले २०७३ सालमा आईपुग्दा आफ्नो व्यापार २ सय गुणाले वृद्धि गर्न सफल भएको हो । २०५३ सालमा वार्षिक ५९ लाखको बीमा शुल्क संकलन गरेको सगरमाथा इन्स्यारेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा एक अर्ब ११ करोड रुपैंयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो । २०७२ सालको भूकम्पपछि कम्पनीमा एक अर्ब ६६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । भूकम्प पीडितबाट ३ हजार १५ वटा दावी आवदेन परेको २०७३ असार मसान्तसम्ममा २ हजार ५ सय ७८ वटा दावी भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए । ‘अग्नि बीमामा सबैभन्दा ठूलो बजार हिस्सा सगरमाथा इन्स्यारेन्स कम्पनीमा थियो । दावी पनि अरु कम्पनीको तुलनामा धेरै हामीकोमा पर्यो । कम्पनीले जिम्मेवारी पूर्वक बीमितलाई क्षतिपूर्ति गरेको छ’ क्षेत्री भन्छन्–सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा जति ठूलो क्षतिभए पनि कम्पनीले तिर्न सक्ने भन्ने सन्देश दिन सफल भएका छौं ।

माँ दुर्गा फुड्सका आटा, मैदा, सुजी र चोकर बजारमा

काठमाडौं, श्रावण २४ । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यावसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सुजी र चोकर लिएर नेपाली उपभोक्त माँझ प्रस्तुत भएको छ । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जमा अवस्थित यस उद्योग उत्पादन क्षमताका आधारमा नेपालकै ठूलो मध्येको एक हो । शुद्ध गहुँको दानालाई लेटेस्ट स्वीस प्रविधि अर्थात अत्याधुनिक स्वीस प्रविधियुक्त फूल्ली अटोमेटेड प्लाण्टबाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीयका साथै स्वस्थकर समेत हुने प्रालिले जानकारी दिएको छ । नवीन प्रविधियुक्त प्लाण्टबाट उत्पादित यसका सबै उत्पादन सधै स्वस्थकर एवम् स्वादिष्ट रहने प्रतिबद्धता समेत कम्पनीले गरेको छ । साथै, यही स्वाद नै कम्पनीको पहिचानको रुपमा उपभोक्ता माझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । ‘स्वाद र शुद्धता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ माँ दुर्गा फुड्सका उत्पादनहरु एमडिएफको नाममा बजारमा विक्रि वितरण भइरहेको छ ।

सेयर बजार अत्याधिक बढेपछि सर्किट ब्रेकर

काठमाडौं, २५ साउन । सोमवार ५ प्रतिशतले घटेपछि स्वभाविक समयभन्दा डेढघण्टा पहिला नै बन्द गराइएको सेयर बजार मंगलवार एक घण्टामै ५ प्रतिशतले बढेपछि कारोवार बन्द गरिएको छ । मंगलवार सवा १२ बजेसम्ममा नेप्से पसिुचक ५ दशमलब ०४ अंकले बढेपछि कारोवार बन्द गरिएको हो । एकै दिनमा ५ बजार ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्न गर्ने ब्यवस्था छ । मंगलवार बजार खुलेसँगै परिसुचक तिब्र गतिमा बढ्न थालेको थियो । छोटो समयमा नै परिसुचक ८४ दशमलब ५१ अंकले बढेर १७६० दशमलब ४२ अंकमा पुगेको छ । मंगलवार बैंकिङ समुह ९६ अंकले, होटल समुह ११९ अंकले, विकास बैंक समुह ४४ अंकले, जलविद्युत समुह १३८ अंकले, फाइनान्स कम्पनी समुह १२ दशमलब ६९ अंकले, बीमा कम्पनी समुह ५११ दशमलब ३९ अंकले र अन्य समुह १५ अंकले बढेको छ । सो दिन २० करोड ८३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणी शर्मा छोरीलाई भोट माग्न व्यस्त

काठमाडौं, २५ साउन । आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणी शर्माले पदीय दुरुपयोग गर्दै आफ्नी छोरीलाई भोट मागेका छन् । आफ्नी छोरी ओजस्वी शर्मा ढकालले भाग लिएको प्रतिस्पर्धामा भोट गर्न अनुरोध गर्दै उनले विभागको महानिर्देशककै हैसियतमा मोवाइलवाट एसएमएस पठाएर भोट मागेका हुन् । उनले आफ्नी छोरी ओजस्वीले लिटिर स्टार कन्टेन्ष्ट २०१६ मा भाग लिएकोले उनको लागि एसएमएस भोट गर्न महानिर्देशक शर्माले अनुरोध गरेका छन् । आफ्नी छोरीले भाग लिएको प्रतिस्पर्धामा जिताउनको लागि नजिकका मित्रहरुसँग भोट माग्नु स्वभाविक भए पनि उनले पठाएको एसएमएसको तल उनको नामको साथै आन्तरिक राजस्व विभागको महानिर्देशक भनिएको छ । यसो गर्नु भनेको पदीय दुरुपयोग हो । आन्तरिक राजस्व विभाग भनेको देशको सवैभन्दा बढी राजस्व उठाउने निकाय हो । सो विभागले आयकर, अन्तशुल्क, वहालकर जस्ता प्रमुख कर उठाउने गर्छ । करमा दर्ता भएर कारोवार गरिरहेका देशभरका करदाताले कर तिर्ने निकायका प्रमुखले मेरी छोरीलाई भोट गर भन्दै पदीय हैसियत देखाएर भोट माग्नु पदीय दुरुयोग नै हुने अख्तियार एक अधिकारीले बताए । ‘आन्तरिक राजस्व विभागका महानिर्देशलाई किन चिढ्याउनु, एक भोट दिउ न त भन्ने हुन्छ, कर सम्बन्धि विवाद भएका करदाताले त मैले भोट हालें र अरु धेरैलाई हाल्न लगाए नि हजुर भन्दै आफ्नो फाइल लिएर जाने सम्भावना पनि हुन्छ, यसैले पदको दुरुयोग नगरेको भए हुन्थ्यो,’ अख्तियारका एक अधिकारीले भने । शर्माले पठाएको एसएमएसमा आफूले भोट होल्न, परिवारलाई पनि भोट हाल्नु भन्न र साथीभाइ र चिनेजानेकालाई पनि भोट हाल्न अनुरोध गरिदिन अनुरोध गरिएको छ ।

सेञ्चुरी बैंकले कमायो ३८ करोड २६ लाख

काठमाडौं, २५ साउन । सेञ्चुरी कमर्सियल बैंकले २०७३ असार मसान्तसम्मा ३८ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १२ करोड १८ लाखले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा २६ करोड ८ लाख नाफा कमाएको थियो । २ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । २ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकले एक अर्ब १३ करोड ब्याज खर्च गरेको देखिन्छ ।

माछापुछ्रे बैंकको नाफा ८९ करोड

काठमाडौं, २५ साउन । माछापुछ्रे बैंकले २०७३ असार मसान्तसम्ममा ८९ करोड १८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्मा कमाएको भन्दा २८ करोड ५५ लाखले बढि हो । बैंकले सो अवधीमा जम्मा ६१ करोड ६३ लाख नाफा कमाएको थियो । बैंकको सो नाफामा १२ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त भएको देखिन्छ । ३ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा उक अर्ब ५१ करोड रुपैंयाँ रहेको छ । २३ रुपैंयाँ ८ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेतवर्थ भने १३९ रुपैंयाँ ११ रहेको छ ।