विकासन्युज

नविल बैंकको नाफा पौने तीन अर्ब, हिमालयन बैंकको नाफा पनि दुई अर्ब नजिक

काठमाडौं, २८ साउन । नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो नाफा नविलले २०७२ साउन मसान्तसम्म कमाएको भन्दा ७३ करोडले बढि हो । नविलले २०७२ असार मसान्तसम्म जम्मा २ अर्ब ९ करोड नाफा कमाएको थियो । ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २६० रुपैंयाँ रहेको छ । नविलले २०७३ असार मसान्तसम्ममा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको खराब कर्जा एक दशमलब १४ प्रतिशत रहेको छ । बैंकले ६ अर्ब १७ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८२ करोड मात्रै ब्याज खर्च गरेको छ । यसैबिच हिमालयन बैंकले पनि आफ्नो नाफा दुई अर्ब नजिक पुर्याएको छ । बैंकले २०७३ असार मसान्तसम्म एक अर्ब ९१ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा ८० करोडले बढि हो । सो अवधीमा बैंकले जम्मा एक अर्ब ११ करोड नाफा कमाएको थियो । ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैंया रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ । बैंकले खराब कर्जाको दरलाई ३ दशमलब २२ प्रतिशतबाट घटाएर एक दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकले ८७ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ६९ अर्ब १० करोेड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले ४ अर्ब ९७ करोड ब्याज आम्दानी गरे एक अर्ब ५६ करोड ब्याज खर्च गरेको छ ।

यी हुन् विश्वकै धनी प्रविधि कम्पनीका टप १० ओनरहरु

काठमाडौं, २७ साउन । विश्वचर्चिच म्यागेजिन फोर्ब्सले संसारकै सबैभन्दा धनी टेक्नोजोजी कम्पनीका मालिकहरुको सूची सार्वजनिक गरेको छ । ‘विश्वकै एक सय टेक अर्बपतिहरु–२०१६’ शीर्षकमा फोर्ब्सले र्सावजनिक गरेको सूचीको पहिलो नम्बरमा माइक्रोसफ्टका संस्थापक तथा मालिक बिल गेट्स शीर्ष स्थानमा रहेका छन् । एक सय सर्वाधिक धनीको सूचीमा आधाजति अमेरिकाकै नागरिक रहेका छन् । शीर्ष १० मा आठजना पनि अमेरिकाकै रहन सफल भए । संसारका दोस्रो सबैभन्दा धेरै ‘टेक बिलिनेयर’ को देशका रुपमा चीनले नाम लेखाउन सफल भएको छ । फोर्ब्सको यो सूचीमा १९ जना चीनका रहेका छन् । यीनीहरुको कुल सम्पत्ति १३२.७ अमेरिकी डलर रहेको छ । यो सूचीमा पाँचजना महिलाले पनि नाम लेखाउन सफल भएका छन् । ‘उमन टेक बिलेनियर’ मा हङकङकी झोऊ क्युनफेई ३३ औं स्थानमा रहेकी छन् । उनको कुल सम्पत्ति ६.४ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकाको सफ्टवेयर फर्म इपिक सिस्टमकी संस्थापक तथा सीईओ जुड फकनर ७९ औं स्थानमा रहेकी छन् । फोर्ब्सले स्टक मार्केटमा उतारचढावका बाबजुत टेक बिलियनेयर बन्न यो गतिलो अवसर भएको बताएको छ । फोर्ब्सको सूचीमा शीर्ष सय टेक बिलियनेयर्सको जम्मा सम्पत्ति ८९२ अर्ब डलर पुगेको छ । अघिल्लो साल भन्दा यो साल टेक बिलियनेयर्सको सम्पत्ति ६ प्रतिशले बढ्न पुगेको हो ।  

१५० प्रतिशत उत्पादन क्षमता बढाउँदै अर्घाखाँची सिमेन्ट, ४ अर्ब १३ करोड थप लगानी गर्न बैंकसँग सम्झौता

काठमाडौं, २७ साउन । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता १५० प्रतिशतले बृद्धि गर्ने भएको छ । हालको दैनिक १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएको उक्त कम्पनीले दैनिक ३ हजार मेट्रिकटन उत्पादन गर्ने गरी क्षमता वृद्धि गर्न लागेको जनाएको छ । उत्पादन क्षमता वृद्धिको लागि कम्पनीले ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गर्ने भएको छ । थप लगानी गर्ने क्रममा उद्योगको प्रर्वधकहरुले १ अर्ब २४ करोड रुपैयाँ थप लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा स्वरुप लगानी गर्ने भएका छन् । कर्जा लगानी गर्न नबिल बैंकको अगुवाईमा अन्य ६ वटा बैंकले २ अर्ब ८९ करोडको लगानी गर्ने सम्झैता भएको छ । कर्जा लगानी गर्ने अन्य बैंकहरुमा नेपाल बैंक लिमिटेड, एनआईसि एसिया बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंक रहेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अर्घाखाँर्ची सिमेन्टका निर्देशक मनोज केडिया र नवील बैंकको सिईओ सशीन जोशीबीच क्षमता बृद्धिको लागि लगानी थप गर्ने सम्झैता भएको छ । सो कार्यक्रममा अन्य बैंकहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिद्धार्थ गु्रप, मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी रहेको अर्घाखाँची सिमेन्टको क्षमता वृद्धिपछि नेपालको सबैभन्दा ठूला सिमेन्ट उद्योग बन्ने कम्पनीले जनएको छ । कम्पनीले उत्पादन क्षमता विस्तारको काम साढे एक वर्षसम्ममा पुरा गर्ने लक्ष्य रहेको छ । यसका लागि कम्पनीले विश्वको उच्च प्रविधिको एफएलस्मित कम्पनीको भीआरएम प्रविधिको मिल खरिद सम्झैता गरी एलसी पनि खोली सकेको जानकारी कम्पनीले दिएको छ ।

हेलिकप्टर उडानमा नागरिक उड्ययन प्राधिकरणले गर्यो नयाँ निर्णय

काठमाडौं २७ साउन। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान भर्दा सुरक्षा मापदण्ड उल्लंघन गरे लाइसेन्स खारेज गर्ने भएको छ। मापदण्ड मिचेर चलाएमा प्राधिकरणले हेलिकप्टर उडाउने पाइलट र हेलिकप्टर कम्पनीको लाइसेन्स खारेज गर्ने सक्ने निर्णय गरेको हो। लगातार प्लेन र हेलिकप्टर दुर्घटना परी ज्यानसम्म जाने स्थिति आएपछि यस्तो निर्णय लिएको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। गत सोमबार फिसटेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा क्याप्टेन सहित सातजनाको मृत्यु भएको थियो। केसीले प्राधिकरणले मंगलवार उक्त निर्णय गरेको र सवै हवाइ कम्पनीहरुलाई पत्राचार पनि गरिसकेको बताए। प्राधिकरणले हेलिकप्टरका लागि पहिलो पटक यस्तो निर्णय गरेको जनाएको छ। पाइलटले उड्डयन सुरक्षा मापदण्ड कडा रूपमा पालना गरेको हुनुपर्ने, ‘फ्लाइट डिस्प्याचर’ ले प्रत्येक उडान योजनाअनुसार बनाएर क्याप्टेनलाई जानकारी गराउनुपर्ने, हेलिकोप्टर सेवा प्रदायकले वर्षायामका सबै उडान गतिविधिको समग्र सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्नुपर्ने प्राधिकरणले निर्णय गरेको केसीले बताए। ‘हवाइ सुरक्षा उल्लङ्घन गरे चालकदल र कम्पनीको लाइसेन्स खारेज गरिनेछ’ उनले भने ‘घटना र सुरक्षाको प्रकृति हेरेर एओसी समेत खारेज वा रद्द गरिनेछ।’ प्रधिकरणको नयाँ निर्देशन अनुसार पाइलटले सुरुवात देखि गन्तव्यसम्मको बीच बाटोको मौसमबारे पूर्णरूपमा जानकारी लिनुपर्ने व्यवस्था रहेको केसीले बताए। खराब मौसमका कारण उडान गर्न सम्भव भए उडानलाई निरन्तरता दिनुहुँदैन र उपयुक्त कतै ल्याण्ड गरी मौसम सुधार भएपछि मात्र उडान गर्नुपर्ने उल्लेख रहेको उनले जानकारी दिए।

नवविवाहित दम्पत्तीलाई स्वागत गर्न पोखरामा हनिमुन लेक बनाईदै

पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ । दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।  लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।   यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनी भन्छन्– “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”  तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ । दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आव २०६६÷६७ मा बाँध निर्माण गरिएको थियो ।  पछिल्लो समयमा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डले विनियोजन गरेको ३० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको र सोही बजेटबाट ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल निर्माण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । “दृश्यावलोकनका लागि प्रमी प्रेमिकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई आकर्षण गर्ने ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने लक्ष्य राखेको छौं,” उनले भने – “यहाँ आउने पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थल जस्ता पूर्वाधारको निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।” ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान हुनुका साथै तालको अवलोकनमा आउने पर्यटक विशेष लाभान्वित हुने विश्वास लिइएको छ ।  साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ । पछिल्लो समयमा तालमा बढिरहेको जालो गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै दिपाङ ताल संरक्षण समितिले राष्ट्रिय ताल संरक्षण विकास समिति र रामसारको सचिवालयमा त्यसलाई हटाउन र समग्र तालको सुन्दरतालाई कायम गर्न बजेट समेत माग गरेको छ । दिपाङ तालको वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे वन सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत रहेका छन् । वरिपरिका सामुदायिक वनका कारण पनि दिपाङ ताल संरक्षित रहेको स्थानीय समाजसेवी एवम् पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व सचिव गोमानाथ लामिछाने बताए । उनका अनुसार तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा वनभोज स्थल निर्माण गरिएको छ ।  लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए । लगभग ४०० जना क्षमताको वनभोजस्थलमा रमाउँदै ताल र वरपरको दृश्यावलोकन गर्न पाउनु यहाँको विशिष्टता भएको उनको भनाइ छ । दिपाङसहित लेखनाथका सातवटै तालको संरक्षण र विकासलाई लेखनाथ नगरपालिकाको कार्यालयले आफ्नो प्राथमिकतामा राखेको छ । दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रकट गरे । दिपाङ सहितका पोखराका नौ वटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै यिनको संरक्षणको विषयले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासो पाउन थालेको छ ।  हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई रामसारमा सूचीकृत पोखराका तालहरूको व्यवस्थापन गर्ने योजना तयार पार्ने जिम्मा दिइएकामा फाउन्डेसन सरोकारवालाबीच छलफल गराउँदै उक्त कार्यलाई निष्कर्षमा पु¥याउन क्रियाशील बनेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए । उहाँका अनुसार सरोकारवालासँगको छलफलपछि त्यहाँको आवश्यकता समेतलाई दृष्टिगत गरी व्यवस्थापन योजना तयार पारिने छ । आगामी सेप्टेम्बरभित्रमा योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ भने त्यस अघि विभिन्न विज्ञसहितको सहभागितामा तालसँग सम्बन्धित व्यक्ति र समुदायबीच अन्तरक्रिया गरिने भएको छ । कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताइ । प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

जनशक्तिको अभावमा स्वास्थ्य बिमा कार्यक्रम कार्यन्वयनमा समस्या, २२ जिल्लाको कार्यक्रम ५ जिल्लामा मात्र

काठमाडौँ, २७ साउन । पर्याप्त जनशक्ति नहुँदा सरकारले सुरु गरेको बिमा थप २२ जिल्लामा केही ढिलो गरी सुरु हुने भएको छ । बाइस जिल्लामध्ये पहिलो चरणमा पाँच जिल्लामा मात्र कार्यक्रम सुरु गर्न लागिएको सामाजिक विकास सुरक्षा समितिले जनाएको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको बिमा कार्यक्रम सुरु गरेको हो । सरकारले चरणवद्ध रुपमा सबै जिल्लामा लागू गर्ने गरी पहिलो चरणमा सुरुमा कैलाली, बागलुङ र इलाममा सो कार्यक्रम सुरु भइसकेको छ । अहिले झापा, सोलुखुम्बु, सुनसरी, महोत्तरी, रौतहट, पर्सा, मकवानपुर, चितवन, सिन्धुली, गोरखा, तनहुँ, कास्की, म्याग्दी, पाल्पा, जागरकोट, जुम्ला, बैतडी, बर्दिया, रोल्पा, सुर्खेत, भक्तपुर, अछाम, इलाम, बागलुङ र कैलालीमा बिमा कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ । यीमध्ये कैलालीमा उक्त कार्यक्रम सुरु भई अहिलेसम्म पाँचसय तीन जनाले बिमा कार्यक्रमबाट सेवा लिइसकेका छन् भने बागलुङ र इलाममा भदौ १ गतेबाट सेवा सुरु हुँदैछ । अहिलेसम्म कैलालीमा आठ हजार ५४९, इलाममा तीन हजार ९३६ र बागलुङमा एक हजार ५८७ जनाले सदस्यता दर्ता गरिसकेका छन् । आगामी कात्तिकबाट बैतडी, अछाम, पाल्पा, म्याग्दी र कास्कीमा सदस्यता दर्ता गरी फागुनबाट सेवा प्रदान गर्नेगरी गृहकार्य भइरहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले जानकारी दिए । “एकै पटक २२ जिल्लामा काम सुरु गर्न हामीसँग पर्याप्त जनशक्ति छैन । त्यसका लागि हामीले पहिले नै जनशक्ति तयार गर्नुपर्छ । त्यो २२ जिल्लालाई पुग्ने गरी अहिले जनशक्ति तयार गर्ने अवस्था नभएकोले अहिले पाँच जिल्लाबाट यो कार्यक्रम सुरु गर्दैछौँ,” उनले भने । एउटा जिल्लामा बिमा कार्यक्रम सुरु गर्न एकजना दर्ता अधिकारी र तीनजना दर्ता सहयोगी गरी चारजना जनशक्तिलाई तालिम दिई तयार गरिएको हुन्छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेसँगै विभिन्न अस्पतालसँग सहुलियत दरका उपचारका लागि सम्झौता पनि गरिसकेको छ । सम्झौतामा बिमाले निर्धारण गरेको शुल्कमा बिरामीको उपचार गराउने कुरालाई उल्लेख गरिएको सामाजिक सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्य बिमाका सदस्य गरेका बिरामीले आफ्नो पायकपर्ने नजिकका अस्पतालमा उपचार सम्भव नभए वा चिकित्सकको सल्लाहका आधारमा ठूला अस्पतालमा उपचार गर्न पाइने व्यवस्था छ । तर चिकित्सकको सल्लाहबिना उक्त बिरामीको उपचार स्थानीय वा नजिकको स्वास्थ्य केन्द्रमा सम्भव हुँदाहुँदै केन्द्रका ठूला अस्पतालमा उपचार गराउन चाहेमा भने बिमा कार्यक्रमबाट ५० प्रतिशत मात्र सेवा लिन सकिनेछ । हाल सम्झौता भएका अस्पतालमा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, गङ्गालाल, मानसिक रोग अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, निजामती अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, प्रसूति गृहलगायतका काठमाडौँ उपत्यकाका १० अस्पतालमा सम्झौता गरिएको छ । सरकारले स्वास्थ्यलाई सबैको पहुँचमा पु¥याउन गत चैत महिनादेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । स्वास्थ्य बिमामा सहभागीले बिमा फारम भर्दा नै कहाँ उपचार गराउने हो त्यो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ । त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पतालहुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ । स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले वार्षिक रु ५० हजारसम्मको उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । पाँचजना सदस्य भएका परिवारले बिमाका लागि सदस्य फारम भर्दा वार्षिक रु दुई हजार ५०० प्रिमियम तिर्नुपर्छ । पाँचभन्दा बढी परिवारका सदस्य छन् भने प्रतिसदस्य रु ४५० थप तिर्नुपर्छ र उसको परिवारले थप रु १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाउँछ । यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । तर सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् रहने बताइएको छ । रासस

३८ देशसँगको वैदेशिक व्यापार नाफामा, यी हुन् नेपालसँग व्यापार घाटा खाने मुलुकहरु

काठमाडौं, २७ साउन । नेपालले संसारका १८६ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । ती मुलुकहरुसँगको वैदेशिक व्यापार वापत नेपालले आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब ४४ अर्ब रुपैंयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । सो व्यापारबाट नेपालले ७ खर्ब ४ अर्ब व्यापार घाटा व्यहोरेको छ । नेपालले अघिल्लो आर्थिक वर्षमा जम्मा ७० अर्ब २५ करोडको निर्यात गरेर ७ खर्ब ७४ अर्ब मुल्य बराबरको समान आयात गरेको देखिन्छ । यति ठुलो व्यापार घाटाका वावजुद पनि नेपालले विभिन्न ३८ देशसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ ।नेपालले अफगानिस्तान, कंगो, पुवी टिमोर, इस्टोनिया, इरान, लिथुवानिया, माली, मंगोलिया, निकारागुआ, स्लोभेनिया, सुडान लगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नाफा गरेको देखिन्छ । अचम्म त के छ भने नेपालले नर्वे, पोर्चुगल र बेलायतसँग पनि वैदेशिक व्यापारमा नाफै गरेको छ । यी हुन नेपालले व्यापार नाफा गरेको ३८ मुलुकहरु:  

केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं, २७ साउन । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक महिनमा सम्म कार्निभल संचालनमा ल्याएको हो । उक्त अवधिमा ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्न सक्ने छन् । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइन तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए । उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।