विकासन्युज

जनता बैंकको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, १९.९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

काठमाडौं, ११ कात्तिक । जनता बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको लागि आवेदन गर्न आह्वान गरेको छ । बैंकले विद्यमान २ कित्ता बराबर १ कित्ता (५० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयरको लागि मंसिर १ देखि पुस ५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । जनता बैंकका सबैं कार्यालयबाट र एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडबाट उक्त सेयरको लागि आवेदन गर्न तथा सेयरको लागि रकम बुझाउन सकिने बैंकले जनाएको छ । कात्तिक १० गतेसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि अावेदन गर्न पाउनेछन् । हाल दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षको नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । ‘बैंक सञ्चालक समितिले १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको छ’ बैंक स्रोतले भन्यो -‘यसमा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त हुन बाँकी रहेकाे छ ।’ बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गर्छ भन्ने विश्वासका आधारमा विहीबार जारी सूचनामा अपरिष्कृत वित्तीय विवरण उल्लेख गर्दै २०७३ असार मसान्तको चुक्ता पुँजी २ अर्ब ४७ करोड २० लाख रुपैयाँ जनाएको छ । बोनस सेयर स्वीकृत भएमा हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।

अख्तियार प्रमुखले पूर्व सभाभुख सुवास नेम्वाङको टेप रेकर्ड गरेछन्, संविधान निर्माणपनि अवरोधको मनसाय

काठमाडौं ११, कातिक । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामासमेत अवरोध गरेको खुलासा गरेका छन् । प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दशै, दीपावली, छठ, नेपाल सम्बत, ल्होसारलगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएको नेम्वाङले स्मरण गरे । दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीको समेत चरम दुरुपयोग गरेको उनले आरोप लगाए । ‘लोकमानले आफू शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिने दबाब दिएका थिए,’ नेम्वाङले भने, ‘उनको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको थियो ।’ कार्कीले संविधान निर्माणका क्रममा विभिन्न तरिकाले आफू बलियो बन्ने उद्देश्यका साथ अनुचित रुपमा पदको दुरुपयोग गर्दै अघि बढेको उनले बताए । दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिँदै गलत नियतले दुःख दिएको नेम्वाङले बताए । संविधान सभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी वयान लिदै धम्क्याउन शुरु गरेका थिए । अख्तियारमा बयान दिन जाने कर्मचारीले अख्तियार प्रमुखले भनेबमोजिम काम नगरेकाले अख्तियारले चिठी काटेको भन्दै धम्क्याउने गरेको नेम्वाङले बताए । कार्कीको यस्तो पदीय दुरुपयोगका बारेमा सर्वदलीय बैठक बोलाएर संविधान निर्माणमा अवरोध गरेको भनेर सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्धा मामिलाबाट मुक्त गर्न अख्तियार बाध्य भएको उनले बताए । राजधानी दैनिकबाट।

‘सडक विस्तारमा किन ढिलाइ ?, त्रिपुरेश्वरबाट १२ किमिपार गर्ने कठिन

काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका प्रतिनिधिमाझ अधिकारीले यसो भनेका थिए । कलंकीको फाइल तस्बिर अधिकारीको नेतृत्वमा एक वर्षयता पटक–पटक बसेको समितिको बैठकले सरकारी निकायलाई छिटो सडक निर्माण गर्न निर्देशन दिँदै आइरहेको छ । तर विस्तारको गति भने निकै सुस्त छ । सवारी साधनहरू उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामध्ये सबभन्दा व्यस्त नाका हो– नागढुंगा । ‘यो सडक खण्डसँगै काठमाडौं उपत्यकाका अन्य बेहाल सडकबारे दैनिक गुनासो आउने गर्छन्,’ हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले भने, ‘हामीले गुनासालाई सम्बन्धित निकायमा पठाउँदै आएका छौं ।’ स्थानीय र आम जनता मात्र होइन, यातायात व्यवसायीले समेत दसैंअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै गएर उक्त सडक खण्ड सुधार गर्नुपर्ने माग राखेका थिए । ‘यो सडकमा गाडी गुड्न सक्ने स्थिति नै छैन । त्यसैले हामीले अरू केही गर्न नसके पनि ठूला खाल्डोमा ग्राबेलसम्म हाल्न आग्रह गरेका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । कान्तिपुर दैनिकबाट ।

जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र, पीडित कामदारले ३ महिनादेखि काम र तलब दुबै पाएनन

काठमाडौं ११, कात्तिक । साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । कान्तिपुर दैनिकबाट ।

अंगभंग भए चालकको लाइसेन्स खारेज, सवारी तथा यातायात व्यवस्था ऐन कडा आउँदै

काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । कान्तिपुर दैनिकबाट ।

विदेशी कोर्सलाई धरौटी अनिवार्य, कक्ष ८ सम्म ८ लाख र १२ सम्म १५ लाख रुपैयाँ चाहिने

काठामाडौं ११, कात्तिक । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ । फाइल तस्बिर शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। यो नियम यसअघि अर्थमन्त्रालयको अनुमति लिइसकेका विद्यालयलाई भने लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ। विदेशी पाठ्यक्रमअनुसार पढाइ हुने शैक्षिक संस्थामा पढ्न चाहने हरेक विद्यार्थीले राजस्वलगायत दुई हजार तिर्नुपर्ने नयाँ व्यवस्था नियमावलीले गरेको छ । प्रस्ताव अनुसार विदेशी शिक्षण संस्थासँग सम्बन्ध लिएर नेपालमा कक्ष ८ सम्म पठाउने संस्थाले ८ लाख रुपैयाँ र कक्षा १२ सम्म पठाउने विद्यालयले १५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।

घरबाट भाग्दा ७० लाख चोरी मुद्दा, कुवेतमा काम गर्न गएकी एक महिला मुद्दा खेप्दै

काठमाडौं ११, कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि कुवेत पुगेकी ती महिलाले नेपाली समुदायका तर्फबाट कानुनी प्रतिरक्षा गर्न वकिल पाएपछि पुनरावेदनमा अपिल गरेकी हुन् । पीडितलाई प्रवासी नेपाली श्रमिक संघ (जिफन्ट सपोर्ट समूह) ले कुवेत ट्रेड युनियनको समन्वयमा कुवेती वकिल जुटाएको अध्यक्ष अर्जुनबहादुर बस्नेतले बताए । ‘६ वर्षसम्म एउटै मालिकको घरमा काम गर्दै आएकी थिएँ । मालिकले दुई—दुई वर्षमा घर पठाउने सर्त गरेका थिए । करार अवधि सके पनि घर नपठाएपछि आफ्नो राहदानी मात्रै लिएर घरबाट भागेर बाहिर निस्किएको थिएँ,’ महिलाको भनाइ उद्धृत गर्दै संघका महासचिव गणेश राउतले भने, ‘बाहिर आएपछि कसरी घर फिर्ने भनेर भौंतारिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।’ कान्तिपुर दैनिकबाट छ ।

माइक्रोम्याक्सको क्यान्भास स्प्राक टु प्रो नेपाली बजारमा, मूल्य ८ हजार रुपैयाँ मात्र

काठमाडौं, १० कात्तिक । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ मोबाइल क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू३५१ (क्यान्भास स्प्राक टु प्रो) मा विशेष किसिमको प्रोसेसर रहेको छ । यो १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा सञ्चालित छ । १.२ जिगा हर्ज क्वाड–कोर प्रोसेसरद्धारा ले गर्दा यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५.०’’ एफडब्लुभिजिए आइपिएस डिस्प्ले र फोनमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । ८ जिबी रोम रहेको यो फोनमा ५ एमपि हाइ रिजोलुसन अटोफोकस रियर क्यामेराको साथ(साथै सेल्फीका लागि टु एमपि फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । यसमा ५ एमपि प्राइमरी र २ एमपि फ्रन्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको मार्समल्लो ६.० अपरेटिंग सिस्टममा आधारित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा उक्त मोबाइलको मूल्य ८ हजार ४१५ रुपैयाँ मात्र रहेको कम्पनीले जनाएको छ ।