विकासन्युज

मापदण्ड पालना गर्न सवै स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौं, १३ कात्तिक । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले तय गरेका मापदण्डहरु पुरा गर्न आग्रह गरेको हो । निर्देशिकामा व्यवस्था भएका अनुसार नीजि स्वास्थ्य संस्थामा कम्तीमा दश प्रतिशत शैयामा निःशुल्क उपचारगर्न मन्त्रालयले आग्रह गरेको छ । त्यस्तो दश प्रतिशत शैयामा विपन्न, असहाय, बेबारिसे विरामीहरुलाई उपचार गराउनु पर्ने निर्देशिकामा उल्लेख छ ।निःशुल्क उपचार प्राप्त गर्नका लागि विपन्न, असहाय, बेबारिसे बिरामीहरुलाई स्वयं घोषणा फाराम भर्न लगाई उनीहरुको फोटो सहितको विवरण अस्पतालको परिसरमा सर्वसाधारण सवैले देख्नेगरी टाँस्न आग्रह गरिएको छ। साथै निःशुल्क उपचार प्राप्त गर्नेहरुको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा जस्ता संवन्धित निकायहरुमा मासिक रुपमा विवरण पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले निर्देशिकामा भएका व्यवस्थाहरु कार्यान्वयन भए नभएको बारेमा विभिन्न संयन्त्रहरु परिचालन गरी अनुगमन तथा नियमन गर्ने जनाएको छ । अनुगमनका क्रममा मापदण्डहरु पुरा नभएको पाइएमा कानुन अनुसार कारवाही हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ

नेपाल बंगलादेश बैंकले कमायो साढे २२ करोड नाफा

काठमाडौं, १३ कात्तिक । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ करोड ५० लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीमा जम्मा १२ करोड ४८ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने १० कराेडले बढाएर साढे २२ कराेड नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेर ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । ४ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैंयाँ रहेको छ । नेपाल बैंगलादेश बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १५६ रुपैंयाँ रहेको छ । बैंकको सेयर ९०५ रुपैंयाँमा कारोबार भैरहेको छ ।

नेपाली हवाई उड्डयन सुधार गर्न एयरलाइन्स लाइसेन्स बन्द, चार महिनाभित्रै कालोसूची हटाइने

काठमाडौं १३, असोज । नेपालका वायुसेवाको हवाई उड्डयन सुरक्षा सुधार गर्न एयरलाइन्स बन्द गर्ने निर्णयमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए । पहिलोपटक हवाई उड्डयन सुरक्षा प्रतिवेदन सार्वजनिक गरेपछि गौतमले भने ‘हामीले नेपाली वायुसेवालाई अन्तिमसम्म मौका दिन्छौ, नेपाली वायुसेवा जोगाउने प्रयासमा गर्छौ, तर सुरक्षा मापदण्डपूरा नभए संचालनमा रहिरेको वायुसेवा पनि बन्द गर्न बाध्य हुन्छौं’। नेपालको उड्डयन क्षेत्रको सुधारका लागि नेपालबाट उडान गर्ने वायुसेवालाई दिने उडान अनुमति बन्द गर्ने निष्कर्षमा प्राधिकरण पुगेको पनि उनले बताए । गौतमका अनुसार नेपालको उडड्यन क्षेत्रको कालोसूची हटाउने र नेपाली वायुसेवाको शाख बढाउन पनि प्राधिकरणले थप वायुसेवाई लाइसेन्स बन्द गर्ने निष्कर्षमा पुगेको छ । औपचारिक रुपमा भने प्राधिकरण बोर्ड बैंठकले निर्णय गर्न बाँकी छ । ‘अब उडान सुरक्षाको सुधार नभएसम्म तर, नयाँ लाइसेन्स भने जारी हुँदैन’ उनले भने । नेपालको वायुसेवा युरोपेली युनियन (इयु)को कालोसूचिमा परेको तीन वर्ष पुग्नै लागेको छ । यो अवधिमा प्राधिकरणले आन्तरिक उडानको वायुसेवा सौर्य एयरलाइन्स र हेलिकोप्टरमा अल्टिच्युट हेलिकोप्टरलाई मात्रै उडान अनुमति दिएको छ । उड्डयन कालोसूची हटाउन थप वायुसेवाले उडान अनुमति नपाउने र भएकै वायुसेवा पनि आवश्यक मापदण्ड पूरा नगरे बन्द हुने भनाइ प्राधिकरणको छ । प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार आगामी फेब्रुअरी २०१७ भित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को भ्यालिडिएसन टोली नेपाल आउने भएको छ । यो टोलीले नेपाली वायुसेवा र उड्डयन क्षेत्रको अडिट गरेर नेपाली वायुसेवा इयुमा उडान गर्न पाउने गरी कालोसूची हट्ने दाबी पनि गरे । प्राधिकरणका अनुसार नेपालको वायुसेवा कालोसूचिमा परेपछि भएको सुरक्षा संवेदशीलता र उड्डयन सुरधारको काम धेरै भएको छ । उड्डयन क्षेत्रको सुधारकै लागि प्राधिकरणले हवाई सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । यस्तो प्रतिवेदनमा विश्वको हवाई सुरक्षाको तुलनामा पछिल्लो समय नेपालको उड्डयन सुरक्षा पनि सन्तोषजनक हुँदै गएको छ । हवाइ उडान कालोसूचीमा पर्नुको कारण हवाई दुर्घटनाका कारण पनि एक हो । सरकारले हरेक हवाई दुर्घटना हुँदा दुर्घटना जाँच आयोग गठन गर्ने गरेको छ । आयोगले दिएको सुझाव कार्यान्वयन नै नहुने अवस्थामा हाल ७० प्रतिशत सुझाव कार्यान्वयनको चरणमा पुगेको दाबी पनि प्राधिकरणको छ । हवाई उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षा सुधारको नाममा निजी क्षेत्रका वायुसेवालाई कडाइ गरेर व्यवसायीय वातावरण नविगार्न नेपाली वायुसेवा कम्पनीको भनाइ छ । नेपाली वायुसेवा कम्पनीको अनुसार हवाई उडान सुधार गर्न वायुसेवा कम्पनी र प्राधिकरणको भूमिका उल्लेख हुने पनि बताए ।

मुखर्जीकोलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने, मुखर्जीको भ्रमण गुडवील

काठमाडौं १३, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छिन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो । राजधानी दैनिकबाट । मुखर्जीको भ्रमण गुडवील हुने भारतको भनाइ भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले भ्रमणले दुईपक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउने बताए । यो खबर आजको कान्तिपुरमा छापिएको छ।

रगत अभावमा बिरामीको बिचल्ली, राजधानीमै एक सातादेखि समस्या चर्कियो

काठमाडौं १३, कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार उनी रगत राख्ने भाँडो बोकेर छट्पटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । इन्द्रको आडैमा छट्पटाइरहेका रामेछापका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए उनी । गिरी एक्ला थिएनन् । अरू पनि आत्तिदै भएजति आफन्तलाई फोन गरिरहेका थिए । त्यहाँ रगत लिन चाहनेहरुको भीडले त्यही संकेत गरिरहेको थियो, कि राजधानीमा रगतको अभाव छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

दौरासुरुवाल लगाउने बढे, सिलाउने बढेनन्, दौरा सुरुवाल सिलाउन ४ महिनासम्म पर्खनुपर्ने बाध्यता

काठमाडौं १३, कात्तिक । सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको छ । धनकुटा नगरपालिका ५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छन् उनी । उनले पोहर साल दौरा सुरुवाल कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए । लगाउनेको संख्यामा बढोत्तरी भएपनि सिलाउने व्यक्तिको अभाव वा कमी हुदा सिलाउन दिएको लामो समय कुर्न पर्ने वाध्यता रहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

अब २० वर्ष पुगेका सवारीसाधन ‘आउट’, २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापित

काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो । त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । २ वर्षभित्रै नेपालभरबाट दुई दशक पुराना सवारी विस्थापितगर्ने अभियान सुरु हुने भएको छ । ‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’ नेपाल समाचारपत्र दैनिकबाट।

भारतीय कर्मचारीको ‘सहुलियत भ्रमण’ मा नेपाल, ५ लाखभन्दा बढी भारतीय कर्मचारीलाई यस्तो सुविधा

काठमाडौं १३, कात्तिक । भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा पठाउने र त्यसका लागि सुविधा उपलब्ध गराउने गरेको छ । प्रतिवर्ष ५ लाखभन्दा बढी भारतीय कर्मचारीले त्यस्तो सुविधा लिने गरेका छन् । भ्रमण सूचीमा नेपाल थिएन । नेपालका तर्फबाट आग्रह भएपछि भारतले सूचीमा राख्ने आश्वासन दिएको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकारले त्यस्तो सूचीमा पार्न आग्रह गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यसले नेपालको पर्यटनमा फाइदा पुग्ने बताए । भारतले अन्य मुलुकबाट पनि नेपाल प्रवेश गर्न सक्ने सुविधासमेत उपलब्ध गराउन लागेको छ । चीनले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै आएको छ । नेपालको आग्रहबिनै चीनले दुई वर्षअघि सूचीमा नेपाललाई राखेको थियो । चिनियाँ कर्मचारीको नेपाल भ्रमणमा रुचि बढ्ने र युरोप अमेरिकाभन्दा सस्तो पनि हुने भएपछि उनीहरूको नेपाल मोह बढेको थियो । अघिल्लो वर्ष मंसिर र पुस महिनामा चीनका करिब पाँच सय सरकारी अधिकारीले नेपालको भ्रमण गरेको जानकारी परराष्ट्र मन्त्रालयसँग छ । अनौपचारिक रूपमा पर्यटक भएर आउनेहरूको सूची भने सरकारसँग हुँदैन । परिणाम चाँडै देखिनेछ ःमहत दिल्लीमा बिहीबार सम्पन्न नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर फर्केका परराष्ट्रमन्त्री महतले बैठक सफल र उपलब्धिमूलक रहेको बताए । ‘विगतमा भएका सम्झौता, आयोजना एवं सहयोगको कार्यान्वयनमा भारतीय पक्षबाट पनि सकारात्मक जवाफ पाएका छौं, यसको परिणाम चाँडै देखिन्छ,’ उनले भने । विगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकेका कैयौं आयोजना र सम्झौता कार्यान्वयनका लागि दुवै पक्षबाट जुटेको सहमतिको माइन्युटमा हस्ताक्षर गरिएको पनि उनले बताए । अघिल्लो बैठकमा जस्तै यसपटक संयुक्त वक्तव्य जारी नभएका बारे उनले भने, ‘हस्ताक्षर गरेर माइनुट साटासाट गरिसकेपछि किन आवश्यक रह्यो र संयुक्त वक्तव्य उल्लेख छ । कन्तिपुर दैनिकबाट ।