विकासन्युज

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

भारतीय राष्ट्रपतिको सम्मानमा १० करोड खर्च हुने अनुमान, धुर्मुस र सुन्तलीले निर्माण गरेको नमूना बस्ती भन्दा महँगो

काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान नेपाल सरकारले गरेको छ । भ्रमणका क्रममा अहिलेनै सबै खर्च विवरण नआएपनि भ्रमणका क्रममा गरिएको तयारी तथा बसाइलगायतका खर्चले यति रकम पुग्न सक्ने अनुमान नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले गरेका हुन् । अधिकारीहरुले खाना, खाजा, स्वागतद्वार, होटेल खर्च, गाडी र जहाज भाडा, तेल, सुरक्षालगायतका खर्चमा सो खर्च हुने अनुमान गरेको हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो भने भ्रमणमा भएको खर्च सबै अर्थ मन्त्रालयले बेहोर्ने छ । ‘हाल भएको खर्चको बिल, भरपाई तथा कागजातका आधारमा उक्त खर्च बेहोर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । जहाज तथा खानपीनमा बढी खर्च हुने अनुमान अर्थ तथा परराष्ट्र मन्त्रालयले गरेको छ । राष्ट्रपति मुखर्जीसँग आएका भारतीय पहुना तथा उनीसँगै जनकपुर तथा पोखरा जाने नेपालीका लागि आज बुद्ध एयरको दुई वटा भाडामा लिएको छ । मुखर्जीसँग ६० जना पाहुँनाआएका छन् । जहाजका लागि अतिबढी खर्च हुँदै छ भने बसोबास तथा खानपान गरी सबै खर्चलाई एकिकृत गर्दा करिब १० करोड रुपैयाँ भेट्ने अनुमान गरिएको हो । डेढ वर्षअघि गएको भूकम्पका कारण अधिकांश भुकम्प पीडित संघारमा आएको जाडो पालमुनिनै विताउन वाध्य रहको अवस्थामा अथिति सत्कारमा भएको ठूलो खर्चलाई स्वभाविक मान्न नसकिने अधिकारीहरु बताउँछन् । एकातिर भूकम्प पीडित जनता यो जाडोमा पनि कठाङ्ग्रिने अवस्थामा पुगेका छन् भने सरकार भने भीभीआईपीको सम्मान तथा स्वागतमा व्यस्त छ । तिहार यता प्राय अधिकांश सरकारी कार्यालयमा काम सुचारु हुन सकेको छैन । देशलाई नै ठप्प जस्तै पारेर सरकार एकसाताअघिदेखि राष्ट्रपति आगमन र भ्रमणको तयारीको व्यवस्थापनमा जुटेको छ । अहिले राष्ट्रपतिको भ्रमणमा गरिएको तामझाममा लागेको खर्चलाई एकत्रित गर्दा सो खर्चले धुमुस सुन्तलीले निर्माण गरेका जस्ता १ सयभन्दा बढी घर निर्माण देखिएको छ । उनीहरुले एउटा घर करिब ७ लाखमा निर्माण गरेको बताएका छन् । यदि प्रतिघर १० लाखसम्मका दरले खर्च गरेर बनाउँदा पनि एक सयभन्दा बढी घर बन्ने अनुमान सरकारी उच्च अधिकारीले नै गरेका हुन् ।

उपत्यकाका तीन जिल्लामा ९४ हजार भूकम्प पीडितलाई घर बनाउन तीन लाख, अनुदान सम्झौता सुरु

काठमाडौं, १९ कात्तिक । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाका ९४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि ३ लाख रुपैंयाँ दिने भएको छ । उपत्यकाको घरधुरी सर्वेक्षणबाट ९४ हजार परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको हो । ‘उपत्यकाका तीन जिल्लाको घरधुरी सर्वेक्षण सकिएको छ, ९४ हजार परिवारलाई लाभग्राहीको सूचिमा राखेका छौं र धमाधम सूचि प्रकाशित भैरहेको छ’, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख गणेश वस्तीले विकासन्युजसँग भने । आयोजनाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा धमाधम अनुदान सम्झौताको कामलाई अघि बढाएको छ । जस अनुसार तारकेश्वर नगरपालिकामा कात्तिक ११ गतेबाटै अनुदान सम्झौता आरम्भ गरिएको छ भने कार्यबिनायक नगरपालिकामा कात्तिक १८ गतेबाट काम अघि बढेको छ । त्यस्तै, शंकरापुर नगरपालिकामा पनि अनुदान सम्भौता सुरु भैसकेको छ ।भक्तपुर जिल्लामा भने शुक्रबारबाट अनुदान सम्झौता सुरुहुने आयोजना प्रमुख वस्तीले जानकारी दिए । वस्तीले लाभग्राहीको विवरण प्रकाशित गर्न सम्बन्धीत वडा कार्यालयहरुलाई निर्देशन दिइसकिएको बताए । लाभग्राहीको विवरण प्रकाशित गरेसँगै आवश्यक कागजात जुटाएर नगरपालिकाका वडा कार्यालय र गाबिसहरुमा अनुदान सम्झौता गर्न सकिन्छ । उपत्यकाका तीनै जिल्लाका भूकम्प पीडितलाई मंसिरको पहिलो सातादेखि निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने लक्ष्य अनुसार काम अघि बढिरहेको पनि उनले जानकारी दिए ।

अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने सम्भावना

काठमाडौं, १९ कात्तिक । अर्जेन्टिनाले सन २०१८ मा रुसमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगीता खेल्न नपाउने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजा स्वयंले नै अर्जेन्टिना विश्व कप छनौटका लागि चुनौतीपुर्ण अवस्थामा पुगेको खुलासा गरेका हुन् । फिफाले विश्व कप छनौट खेलिरहेको बोलिभियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही गरेपछि अर्जेन्टिनाको विश्वकप खेल्ने सम्भावनामा कम भएको हो । बोलिभियाले चिलीलाई बराबरीमा रोकेको थियो भने पेरुलाई २ गोलले पराजित गरेको थियो । तर फिफाले बोलिभियालाई चिली र पेरुसँग ३ गोलले पराजित भएको नजिता घोषणा गरिदिएको छ । यसले चिलीलाई थप २ अंक प्राप्त भएको छ र ऊ पाँचौं नम्बरमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट चार मुलुकले आगामी विश्वकप खेल्न पाउनेछन् । तर हालसम्म अर्जेन्टिना सो समुहको ६ औं नम्बरमा रहेको छ । अब अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहेको छ । जसमा ब्राजिल र कोलम्बिया जस्ता बलिया प्रतिष्पर्धीसँगको खेल्नुपर्नेछ । नोभेम्र १० मा अर्जेन्टिनाले ब्राजिल र १५ तारिखका दिन कोलम्बियासँग प्रतिष्पर्धा गर्नेछ ।

रानीदेखि धरानसम्मको सडक चारलेनको बन्ने

मोरङ, १९ कात्तिक । विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ । दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो । सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण हुने सम्भावना न्यून रहेको बताए । सो सडकलाई ६ लेनको बनाउने प्रस्ताव गरिए पनि विभिन्न कारणले चार लेन मात्रै बन्ने भएको हो । सडक विस्तार हुँदा दुहवीका पक्की र कच्ची गरी एक सय ७७ घर र इटहरीको मूलचोकबाट दक्षिणतर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलाठूला पक्की घर रहेका छन् । योजनाअनुसार ६ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक ६ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का छैन । मुुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ । जोगवनीदेखि विराटनगरको पहडगछ लगायतका क्षेत्रमा ६ लेनको सडक हुने आयोजनाले भन्दै आएपनि सो मार्गमा पर्ने दुहवी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेको भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो । सडकमा दायाँबायाँ तीनरतीन लेन हुने र मध्य भागमा दुईतिर सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ । सडकसँगै पैदल यात्रीका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ । सडक आयोजना प्रमुख दीपक भट्टराईका अनुसार दुहवीबजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरू दुई बिघा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनु पर्नेभएकाले जग्गा उपलब्ध गराइदिन भनी सडक विभागलाई पत्रचार गरिसकेको छ । उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेको र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घरजग्गाभन्दा घर भत्काउँदा ठूलो क्षति हुनेहुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहवीबजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ । सरकारले घरजग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराइको छ । सडक विस्तारका लागि चालु आवमा दुहवीको उत्तरदेखि इटहरीको मूल चौकभन्दा केही दक्षिणसम्मको ठेक्का लागेको छ । दुहवीदेखि इटहरी र विराटनगरबजार क्षेत्रको सडक निर्माणका लागि यस वर्ष दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो । यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो । विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ । ठेक्का लागिसकेको सडकमध्ये २०६९र०७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा ठेक्का लागेको थियो । अघिल्लो वर्षसम्म ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र चारवटाको २० प्रतिशत काम सकिएको प्रमुख भट्टराईको भनाइ छ । रासस

अझै सुरु भएन ललितपुरको गोल्डेन टेम्पलको पुनःनिर्माण

ललितपुर, १९ कात्तिक । गत वर्षको भूकम्पमा चर्किएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को डेढ वर्ष बित्दासमेत पुनःनिर्माण सुरु हुन सकेको छैन । मुख्य मन्दिरमा केही नभए पनि परिसरका भवन चर्किएको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकाशरत्न धाख्वाले बताए । उनले भने, “छानाहरु पूरै नखसे पनि खस्केका छन् ।” झिँगटी र इँटाहरु खस्केको र भित्ता पनि चर्किएको उनले बताए । भूकम्पका समयमा सानो चर्किएको ठाउँमा पनि पराकम्पनले गर्दा ठूलो भएको छ । परिसर ९मुख्य मन्दिर दायाँ–बायाँको भवन०मा पहिलो र दोस्रो तलामा मर्मत गरेर मजबुत बनाउनुपर्नेछ । तेस्रो तलामा भत्काएर नै गर्नुपर्ने उनले बताए । उनले भने, “पहिलेको स्वरुपमा कुनै परिवर्तन नआउने गरेर पुनःनिर्माण गर्नुपर्ने छ ।” भारतीय दूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारी प्रक्रिया लामो हुँदा सहयोग लिन कठिनाइ भएको उनले बताए । पुरातत्व विभागले स्वीकृति दिएपनि पुनःनिर्माण प्राधिकरणले स्वीकृत नगर्दा ढिलाइ भइरहेको उनले बताए । उनले भने, “सबै निकायबाट स्वीकृति लिएर चाँडो पुनःनिर्माण गरेर हामी पहिलेको स्वरुपमा फर्काउन लागेका छौँ ।” यो महाविहार सबैभन्दा ठूलो सर्वसङ्घ ९सदस्यहरु० भएको महाविहार भएको स्थानीयवासीको दाबी छ । रासस

भक्तपुरका भूकम्प पीडितसँग कात्तिक २५ देखि अनुदान सम्झौता

भक्तपुर, १९ कात्तिक । भक्तपुरका भूकम्प प्रभावितलाई अर्को सातादेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार वितरण गरिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न गाउँगाउँमा सूचना जारी गरिएको छ । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ध्रुप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली जिल्लाको ६ वटै नगरपालिकामार्फत वडा कार्यालयमा बिहीबार टाँस गरिएको बताए । उनले भने–“लाभग्राहीको अन्तिम नामावली बिहीबार सबै नगरपालिकामार्फत वडा कार्यालयमा टाँस गरिएको छ, अब सात दिनपछि अनुदान सम्झौता सुरु हुन्छ ।” लाभग्राहीको नामसहितको सूचना टाँस गरिएकोमा गैरभूकम्पप्रभावित वा दुईवटा घर भएका भूकम्प प्रभावितको नाम परेको भए उजुरी दिन र वास्तविक भूकम्प प्रभावितको नाम नपरेको भए गुनासोको फाराम भर्न उनले सबैलाई आग्रह गरे । आगामी कात्तिक २५ गतेदेखि नामावली भएका र उजुरी वा दाबी विरोध नपरेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिने समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिए । अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान रकम लिन सकिने व्यबस्था गरेको उनले बताए । दोस्रो किस्ता वितरण गर्नुअघि नै प्राधिकरणको संयन्त्रले मालापोत कार्यालयमार्फत र गाउँगाउँमा पुनः सर्वेक्षण गर्दा दुईवटा घर भएका वा गैरभूकम्प प्रभावितले अनुदान रकम लिएको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाही गरी जरिवानासहित रकम फिर्ता गराइने बताए । भक्तपुरमा अहिलेसम्म २४ हजार नौसय दुईजना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक पाठकले जानकारी दिए । मध्यपुरथिमि नगरपालिका–१, २, ३, ५, ६, ७, ९ र १० वडाबाट नामावली आउन बाँकी भएपनि अन्य पाँचवटा नगरपालिकाबाट भने अन्तिम नामावली आइसकेको छ । यसअनुसार भक्तपुर नगरपालिकामा ६ हजार आठ सय ८८, नगरकोट नगरपालिकामा चार हजार नौ सय १९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार दुई सय ८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६ सय १७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार एक सय ४० जना लाभग्राहीको पहिचान भएको छ । अनुदान लिन भूकम्प प्रभावित लाभग्राहीले आफ्नो वडा कार्यालयमा नागरिकताको सक्कल, नागरिकताको प्रतिलिपि तीन थान, लालपुर्जाको प्रतिलिपि तीन थान, तस्बिर तीन थान र भूकम्प प्रभावित भएको परिचयपत्रको प्रतिलिपि तीन थान साथमा लैजानुपर्नेछ । रासस

भूकम्पपीडितहरु शिविरमै गलैंचा बुन्न थाले, ८० परिवारका महिलाले गलैंचा बुन्न थाले

काठमाडौं १९, कात्तिक । पहिराले गाउँ फर्कन नसक्ने अवस्था सिर्जना भएपछि घर खर्च चलाउन भूकम्पपीडितले शिविरमै व्यवसाय सुरु गरेका छन् । भूकम्पको डेढ वर्ष बित्दा पनि सरकारले पुनर्वास व्यवस्था नगरेपछि छाप्रोमै पीडितले गलैंचा बुनेर जीवन गुजारा गर्न थालेका हुन् । जिल्लाको मध्य भेकका गाउँबाट आएका झन्डै ८० परिवारका महिलाले गलैंचा बुन्न थालेका हुन् । भूकम्पले बस्ती चिराचिरा परेपछि भागाभाग गर्दै स्थानीय बाँसखर्क भन्ने स्थानमा छाप्रो हालेर बसेको पीडितहरू घर बनाउन गाउँ फर्कन सकेका छैनन् । ‘के गर्नु र जीवन चलाउनैपर्‍यो,’ शिविरकी सिर्जना तामङले भनिन्, ‘गलैचा बुनेर महिनाको आठ हजारसम्म कमाउँछु ।’ सेलाङ ७ बाट विस्थापित सिर्जनाका पति मजदुरी गर्छन् । आम्दानीले बिहान बेलुकीको गुजारा चलाउन कठिन भएपछि उनले दुई छोरीलाई पनि गलैंचा बुन्न लागेकी छन् । उनका अनुसार गलैंचा बुन्न सिक्नेहरू पनि धेरै छन् । स्थानीय चेवे गाउँकी माइली तामाङका अनुसार गलैंचा बुन्ने व्यवसाय विस्थापितको जीवन धान्ने माध्यम बनेको छ । उनी भन्छिन्, ‘सरकारले पहिरो नजाने ठाउँ देखाएन, अब केही नगरी गुजारा नचल्ने भयो । विदेशी प्राविधिक सहयोगमा सुदूरपश्चिमकी एक महिलाले सुरु गरेको उक्त कारखाना माइली र सिर्जना मात्र होइनन्, विस्थापित सबैजसो महिलाको आयआर्जनको थलो बनेको छ । कान्तिपुर दैनिकबाट ।