नरेन्द्र विष्ट

आन्दोलनले राजधानीको ट्राफिक अस्तव्यस्त, जोर बिजोर प्रणाली लागू गर्ने मुद्दा कहाँ पुग्यो ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय विभिन्न संघसंस्थाहरूले गर्दै आइरहेको आन्दोलनका कार्यक्रमले उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले पछिल्लो १० दिनयता ट्राफिक व्यवस्थापनमा सास्ती भइरहेको बताए ।  विभिन्न आन्दोलन तथा विरोधका कार्यक्रमले प्रहरीलाई निकै चुनौती थपिएको उनको भनाइ छ । उनले भने, ‘हामीले अहिले जुन ठाउँमा आन्दोलनहरू भइरहेका छन् त्यो ठाउँको अवस्था हेरेर व्यवस्थापन गरिरहेका छौं । हामीलाई निकै चुनौती छ ।’ अहिले माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरू विगत एक सातादेखि आन्दोलनरत छन् । जसमा देशभरबाट डेढ लाख शिक्षक तथा कर्मचारी सहभागी छन् । उनीहरू सडकमै सुतेर, सिट्ठी फुकेर, कालो मास्क लगाएर तथा अन्य क्रियाकलाप गरेर आन्दोलन गरिरहेका छन् । यस्ता खालका विभिन्न आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त हुँदै आएको हो ।  ४ हजार सवारीसाधन कारबाहीमा ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने २ हजार ५ सयदेखि ४ हजार जनालाई दैनिक कारबाही गर्दै आएको प्रवक्ता गिरीले जानकारी दिए । उनका अनुसार अनुसार प्रत्येक दिन उपत्यकामा २५ सयदेखि ४ हजार जनालाई कारबाही गर्ने गरिएको छ ।  उपत्यकाको भक्तपुर, कोटेश्वर र कलंकी क्षेत्रमा सबैभन्दा बढी हुने गरेको उपत्यका कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।  उनले भने, ‘हामीले प्रत्येक दिन २ हजार ५ सयदेखि ४ हजार जनालाई कारबाही गर्ने गरेका छौं । जसले नियम उल्लंघन गर्छ त्यसलाई कारबाही गरिन्छ । अहिले उपत्यकामा ट्राफिक व्यवस्थापनमा सास्ती भइरहेको छ, किनभने पछिल्लो १० दिनयता विभिन्न आन्दोलनका कार्यक्रम भइरहेका छन् ।’ प्रवक्ता गिरीले उपत्यकाभित्र चल्ने सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु हाल्न पाउने व्यवस्था रहेको जानकारी दिए । उनले लामो दूरीमा चल्ने सवारीसाधनबाहेक उपत्यकाभित्र चल्ने गाडीमा क्षमताभन्दा बढी यात्रु राख्न पाउने यातायात व्यवस्था विभागको नियमावलीमा उल्लेख गरिएको बताए । हाल उपत्यकामा निकै प्रदूषण छ । यही सन्दर्भमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने आवश्यक रहेको तर कुनै निर्णय नभएको उनले जानकारी दिए । उनले भने, ‘जोर बिजोर प्रणाली लगाउने/नलगाउने विषयमा सरकारले निर्णय गर्ने हो तर अहिलेसम्म निर्णय भएको छैन । यसबारे हामीलाई जानकारी नै छैन ।’  ट्राफिक नियम उल्लंघन गर्नेले अनलाइनबाट कक्षा लिन पाउने  उपत्यका प्रहरी कार्यालय काठमाडौंका अनुसार नियमविपरीत सवारीसाधन उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन प्रस्ताव गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा सो प्रस्ताव पठाएको प्रवक्ता गिरीले बताए ।  उनका अनुसार लेन अनुशासन पालना नगरेको, तीव्र गतिमा सवारी दौडाएको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको र रातो बत्तीमा सवारी चलाउनेलाई अनलाइन प्रविधिबाट कक्षा लिन प्रस्ताव गरिएको छ । उनले भने, ‘प्रहरी प्रधान कार्यालयमा पठाएका छौं । उताबाट निर्णय भएर आएपछि मात्रै लागू गरिनेछ । यो कक्षा लिनका लागि नागरिक एपको प्रयोग गर्नुपर्ने हुन्छ ।’  अब नियमविपरीत चलाइने सवारीसाधन बन्द  नियमविपरीत रहेका सवारीसाधन सञ्चालनमा रोक लगाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँग यातायात मन्त्री देवेन्द्र दाहालले छलफल गरेका छन् । छलफलमा गृहमन्त्रालयसँग समेत समन्वय गरिने मन्त्रालयले जनाएको छ । नियमविपरीत सञ्चालन आइरहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने यातायात मन्त्री दाहालको भनाइ छ ।  यस्तै, निर्माण स्थलहरूमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने जनाइएको छ । काठमाडौं उपत्यका र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै मन्त्री दाहालले वैकल्पिक सडकको रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे । यसैगरी, दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारीसाधन तथा यात्रुहरूलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै माल वाहक तथा यात्रु वाहक गाडीलाई उपयुक्त समय मिलाएर पास गर्नै व्यवस्था मिलाएकोसमेत बताइएको छ । 

संयुक्त वक्तव्यपछि नाडा नफुटेको चौधरीको दावी, अझै अन्यौलमा अटो शो

काठमाडौं ।  लामो समयदेखि अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट छुट्टिएर बनेको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा)  दुवै संस्था एकअर्काका परिपूरक भएर जाने विषयले अटो क्षेत्र तरंगित बनेको छ । अटो क्षेत्रमा नाडा हुँदाहुँदै अर्को संस्था जन्मिनु र नाडा अटो शो संकटमा परेको चर्चा सेलाउन नपाउँदै नाइमा र नाडा एक अर्काको परिपूरक भएर जाने विषय एकाएक चर्चामा आएको हो । नाइमाको आधिकारिक घोषणा नै भएको छैन । नाइमाले आगामी वैशाख ४ गते मात्रै आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने बताएको छ । तर, आइतबार नाडा र नाइमाले संयुक्त रूपमा अटो क्षेत्रको विकासका  लागि सहकार्य गरेको भन्दै विज्ञप्ति निकाले । यसले अब नाडाले अटो शो गर्छ वा नाइमाले पनि आफ्नै आयोजनामा अटो शो गर्छ भन्ने आममानिसमा खुलदुली छ ।  संयुक्त विज्ञप्ति र तस्बिरहरू सार्वजनिक गरिए पनि आगामी भदौमा हुने नाडा अटो शोलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने कुनै छलफल नै भएको छैन । हालसम्म नाडाले घोषणा गरेको अटो शोमा तीन व्यावसायीक घरानाबाहेक कसैले पनि इच्छा देखाएको छैन । जसका कारण नाडा अटो शो के हुन्छ र कसरी अगाडि बढ्छ भन्ने अन्यौल कायमै छ । यो विषयमा नाइमा र नाडालाई बुझ्दा उनीहरूले अहिले कुनै छलफल नभएको बताउँछन् ।  नाइमामा आवद्ध रहेका एक सदस्यका अनुसार सहकार्य गर्ने तर अटो शोलगायत अन्य सबै कामहरू छुट्टाछुट्टै गरिने बताए ।  ती सदस्यले भने, ‘हामीले नाडालाई आयातकर्ताका रूपमा सहयोग गर्नेछौं । सहकार्य भनेको एउटै भएर जाने भनेका होइनौं । दुवै संस्थाको काम एउटै प्रकृतिको भएकाले हामीले सँगै जाने भनेका हौं । तर कामहरू फरक फरक नै हुन्छन् । नाडाले आफ्नो तरिकाले गर्छ भने हामीले आफ्नो तरिकाले गर्छौं ।’  'तपाईंलाई लाग्न सक्छ नाइमा नाडासँग मिलेर एउटै अटो शो गर्छन् भनेर तर हामी नाडा अटो शोमा सामेल हुदैनौं । हामीले मोबिलिटीको आयोजना गर्छाैं । मोबिलिटीको तयारी तीव्र रूपमा भइरहेको छ । अब छिट्टै स्टल बुकिङ खुलाउछौं,’ ती सदस्यले भने ।  उनले नाडा अटो शोमा आफूहरू सामेल हुन नसक्ने दाबी गरे । नाइमाले मोबिलिटी शो स्टल बुकिङको तयारी गरिरहेको समेत उनले जानकारी दिए ।  नाडाका अध्यक्ष करण चौधरी भने नाडा नफुटेको दावी गरिरहेका छन् ।  उनले विकासन्यूजलाई भने, ‘हामीले संयुक्त विज्ञप्ति निकालेका छौं । भ्रम फैलाइएको थियो । त्यही भ्रमलाई पुष्टि गर्नलाई छलफल गरेका हौं र नाडा  र नाइमा दुवै संस्थामा सदस्यहरू आवद्ध छन् ।’ उनले उक्त छलफलमा नाडा अटो शोका विषयमा कुनै छलफल नभएको बताए । अझै धेरै दिन बाँकी रहेकाले यसबारे पछि नै छलफल गरिने भनाइ उनको छ । भर्खरै पोखरामा नाडाको नेतृत्वमा सम्पन्न भएको वाडा अटो शोमा विभिन्न ३० वटा ब्राण्डका गाडीहरू सहभागिता रहेको थियो । वाडा अटो शोमा सबै गाडीहरू उपस्थित हुनुले नाडा अटो शोमा पनि उत्तिकै सहभागी रहने नाडाका एक सदस्यले दावी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा अटो शो सम्पन्न गरेका छौं। राम्रो भएको छ । धेरैले बुकिङ गराएका थिए । नाडा अटो शोमा पनि धेरैले स्टल बुकिङ गर्ने अपेक्षा गरेका छौं ।’  यद्यपि ती सदस्यका अनुसार भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शोमा हालसम्म चार पाङ्ग्रेतर्फ तीन ठूला कम्पनीबाहेक अन्यले स्टल बुकिङ गराएका छैनन् । यसैगरी, दुई पाङ्ग्रेतर्फ दुई कम्पनीले स्टल बुकिङ गराएका छन् ।  यता केही अटो व्यवसायीहरूले नाडा अटो शो नहुन सक्ने औंल्याउँछन् । नाइमासँग एक-अर्कासँग परिपूरक भएर जाने विज्ञप्ति जारी पछि नाडा अटो शो हुनेमा अटो व्यवसायीहरू मौन छन् । 

भारतमा नेपाली सामग्री निर्यातमा सहज, ‘बीआईएस’ प्रमाणपत्र भयो नवीकरण

काठमाडौं । भारतले केही समय अघि देखी रोक्का गरेको नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका सामग्रीहरुको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । निर्यात सहजीकरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेको कूटनीतिक पहलपछि  प्रमाणपत्रहरूको नवीकरण गरिएको हो ।  मन्त्री भण्डारीले आफ्नो औपचारिक भारत भ्रमणका बेला समकक्षी पीयूष गोयलसँगको भेटका क्रममा यस विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तुहरु भारत निर्यात गर्न र भारतीय बजारमा विक्रि वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।  यसैगरी गत पौष २७ र २८मा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय बैठकमा ‘बीआइएस’ प्रमाणपत्र प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणको विषयमा विशेष छलफल भएको थियो । उति बेला यो विषय नेपालका तर्फबाट प्राथमिकताका साथ उठेपछि भारतीय पक्षले समस्या समाधानको लागि प्रतिबद्धता जनाएको थियो ।  भारत सरकारले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेको छ । २८ फेव्रअरी २०२५मा राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी(भारतीय) तथा विदेशबाट आयात हुने सामग्रीमा ‘बीआइएस’ अनिवार्य गरेको हो ।  भारतले ‘बीआइएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बीआइएस प्रमाणपत्र नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीहरू समेत भारत गएका थिए ।    ‘बीआइएस’ प्रमाणपत्र प्राप्त गरेपछि निर्यात सहज हुने नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । उनले भारतले अहिले धमाधम बीआईएस नवीकरण गरिरहेको बताए । उनले भने ‘अहिले अहिले १०–१२ वटा उद्योगले बीआईएस नवीकरण भएको छ, अरू उद्योगको पनि आउने क्रममा छ । हाम्रो नयाँ प्रमाणपत्र प्राप्त गरेका हौँ, जसले गर्दा निर्यात सहज हुनेछ ।’ केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्याइएका ३४ ट्रक प्लाइउड बीआईएस प्रमाणपत्रको अभावमा नाकामै रहेको उनले बताए ।  केही सिमेन्ट कम्पनीहरूले पनि बीआईएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात हुन लागेको बताएका छन् । अहिले एक महिना म्याद बाँकी रहेका दुई–तीन वटा सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका छन् भने, नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगहरू एक महिनाभित्र बीआईएस पाउने सूचीमा रहेको उद्योगीहरूको भनाई छ  ।