सीआर भण्डारी

नेप्सेको पुनर्संरचनासहित अपूरा सबै काम पूरा गर्छु {अन्तर्वार्ता}

गत चैत महिनादेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका चूडामणि चापागाईंसँग बैंकिङ, बीमा लगायत क्षेत्रमा साढे २ दशक काम गरेको अनुभव छ । विसं. २०५९ मा त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर गरेका चापागाईंको प्रारम्भिक करियर सामुदायिक क्याम्पसहरूमा अध्यापनबाट सुरु भयो । साथै केही पाठ्यपुस्तक लेखनमा समेत योगदान पुर्याएका चापागाईंले एक दशक वाणिज्य बैंकमा काम गरे । त्यसपछि जीवन बीमा क्षेत्रमा ८ वर्ष उच्च व्यवस्थापन तहमा कार्य गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको उनीसँग पूँजी बजारमा प्रविधिकरण, सुदृढीकरण, नियामकसँग समन्वय तथा लगानीकर्ता शिक्षामा ऊर्जा थप्ने जोस जाँगर छ । प्रस्तुत छ नेप्सेको पुनर्संरचनासँगै भावी योजना तथा कार्यक्रमसँग सम्बन्धित रहेर चापागाईंसँग विकासन्युजका लागि सीआर भण्डारीले गरेको अन्तर्वार्ता ।  नेप्सेको सीईओको जिम्मेवारी लिनु भएको दुई महिना नाघ्यो । सुधारका प्रयास के-के गर्नुभयो ? नेप्सेको सीईओमा मेरो नियुक्ति ‘सही मान्छे, सही ठाउँ र सही समयमा’ भएको मैले महसुस गरेको छु । किनभने मसँग बैंकिङ, बीमा र पुँजी बजारका विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । साथै पुँजी बजारसँगै सम्बन्धित रहेर प्राध्यापन क्षेत्रमा समेत काम गरेको अनुभव छ । म पुँजी बजारका लागि नयाँ होइन । नेप्सेको जिम्मेवारीमा आइसकेपछि यसका आन्तरिक र सूचना प्रविधिबाहेक नयाँ अनुभव गरिनँ । आएको भोलिपल्टदेखि नै मैले यो संस्थालाई सहज रूपमा सञ्चालन गरिरहेको छु ।  नेप्सेका विभिन्न शाखा, उपशाखा, महाशाखा, विभागमा कार्यरत कर्मचारीहरूसँग विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि मैले यहाँका कर्मचारीहरूमा तनाव व्यवस्थापन आवश्यक महसुस गरेँ । लगत्तै मैले यस संस्थाका कर्मचारीहरूलाई तनाव व्यवस्थापन (स्ट्रेस म्यानेजमेन्ट) को तालिममा सहभागी गराए ।  मैले प्रत्येक शुक्रबार ‘सीईओ टक’ को कार्यक्रम राखेको छु । सीईओ पद अस्थायी हो । नेप्सेको सीईओ भएँ भनेर कर्मचारी र सबै सरोकारवालासँग म घमण्ड गर्दिनँ । हाम्रो जीवन अस्थायी छ भने पदमा घमण्ड गरेर के नै गर्नु छ र ? त्यसकारण म अस्थायी हुँ, मसँग डराउनु पर्दैन, मनमा लागेका विचार, संस्थाको हितमा हुने आईडीयाहरू खुलेर राख्नुहोस् भन्छु । सीईओ टक कार्यक्रम प्रभावकारी भएको छ ।  यस संस्थामा को–को सीईओ हुनुभयो भनेर कर्मचारीहरूलाई सोध्दा फाइल नै पल्टाउनुपर्छ भन्ने जवाफ दिनुभयो । त्यसपछि नेप्सेको ‘वेटिङ रुम’मा नेप्सेका पूर्वसीईओहरूको फोटो राख्न लगाएको छु । उहाँहरूको सम्मानको लागि फोटो राखिएको हो । किनभने उहाँहरूले पनि यो संस्थाको हितका लागि योगदान दिनु भएको थियो, जोखिम लिएर निर्णय गर्नुभएको थियो । यस्तै, संस्थाको पूर्व अध्यक्षहरूको पनि फोटो फ्रेम टाँस्ने काम भइरहेको छ । नेप्सेको सीईओ सरकारले नियुक्ति गर्ने भएकाले सीईओको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने काम भएको छ ।  म चैत २० गते सपथ खाएर नेप्सेमा आबद्ध भएको हुँ । वैशाख १ गतेदेखि नेप्सेका कर्मचारीहरू व्रत बस्नु भएको छ । त्यो व्रत पेटको होइन, दिमागको हो । ९० दिनसम्म कसैको कुरा नकाट्ने, नकारात्मक कुरा नगर्ने, खण्डन नगर्ने, आफ्नो पदप्रतिस्ठा, योग्यता वा टीओआरमा दिएका काम गर्ने, सुझाव सल्लाह दिँदा सकारात्मक ढंगबाट दिने हो । जसबाट यो भवनमा सकारात्मक सोचाइको माहोल नै बनोस् । एक दिनमा हाम्रो दिमागबाट ६० हजार विचार (सोचाइ) निस्किन्छन् । जसमध्ये ४०/५० हजार विचार सकारात्मक आओस्, ५/१० हजार नकारात्मक आए पनि सकारात्मक सोचले त्यसलाई हटाइहाल्छ । त्यसैले नेप्सेका कर्मचारीहरू ९० दिनको व्रतमा हुनुहुन्छ । विगतमा खण्डन गर्ने बानी भएका पनि अहिले सकारात्मक ढंगबाट कुरा गर्नु हुन्छ । हालै मात्र ‘नमस्कार! नेप्सेमा हार्दिक स्वागत छ, हामी मुस्कानसहितको सेवा दिन तयार छौं’ लेखिएको ऐना नेप्सेको सिँढीमा राखिएको छ । संस्थाभित्र यी सामान्य विषय हुन् तर यसले सबैलाई सकारात्मक ऊर्जा दिन्छ र आन्तरिक वातावरण राम्रो बनाउन भूमिका खेल्छ ।  अड लट अर्थात् १ कित्तादेखि ९ कित्तासम्मको कारोबार गर्न प्रणालीमा गाह्रो छ । यसलाई सहजीकरण गर्न आन्तरिक रुपमा प्राविधिक प्रक्रियामा छ । बजारले छिट्टै थाहा पाउने गरी यो काम हुँदैछ ।  पुँजी बजारमा विभिन्न ठाउँमा नेप्सेको नाम आउने गरेको छ । सीडीएससीमा जानुपर्ने चिठ्ठी नेप्सेलाई आउँछ । नेप्सेले फेरी सीडीएससीलाई पठाउनुपर्ने हुन्छ । पुँजी बजारमा क्रियाशील कुनै कम्पनीको वेबसाइट सुस्त हुन्छ तर नेप्सेको प्रणाली ढिला चल्यो भनेर गलत व्याख्या हुन्छ, समाचार नै बन्छ । यसमा नेप्सेको ब्राण्डिङ बढी भयो । त्यसैले जे भएको त्यो बजारलाई जानकारी दिनुपर्छ भन्ने हरेक १५ दिनको शुक्रबार सञ्चारकर्मीहरूसँग मिडिया टक गर्दैछु ।  अन्तर्राष्ट्रिय अभ्यास अनुसार ब्रोकर सदस्यहरूले आफैले टीएमएस व्यवस्थापन गर्ने चलन छ । ब्रोकर सदस्यले राखेको सर्भर, इन्टरनेट ढिलो चलेर, डाटा स्टोरेज सानो भएर, नेप्सेको नट्स लगायत धेरै कारण टीएमएस सुस्त हुन सक्छ । तर, नेप्सेको नाम जोडेर आउने गरिन्छ । विनियमावली अनुसार ब्रोकर सदस्यले आईटीमा २ जना कर्मचारी अनिवार्य राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम सबै ब्रोकर सदस्यलाई सर्कुलर जारी गरेर आइटी कर्मचारीको तथ्याङ्क माग्यौ । ९२ वटा ब्रोकर सदस्यबाट आईटी कर्मचारीको विस्तृत विवरण आएपछि जेठ १६ गते ९२ ब्रोकरका सीईओ र आइटी अधिकृतसहित २ सय जनाको उपस्थितिमा साढे ८ बजेदेखि साढे ५ बजेसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यो नेप्सेको ऐतिहासिक कार्यक्रम हो भनेर ब्रोकरका सीईओहरूले प्रतिक्रिया दिनु भएको छ । एएमएल/सीएफटी र संस्थागत सुशासनमा नियामक निकाय पनि बस्छ र ब्रोकर कम्पनीहरू बस्नु पर्छ । यदि बस्नु भएन भने कानुन बमोजिम नियम अगाडि बढ्छ भन्ने जानकारी गराइएको छ । नेप्सेको सुपरीवेक्षणले ११ बजेदेखि ३ बजेसम्म कारोबार सूक्ष्म अध्ययन गरिरहेको हुन्छ । कारोबारमा गडबड देखिएमा तत्कालै सुपरीवेक्षणको टोली ब्रोकर कम्पनीमा पुगेर अध्ययन गर्ने कामको सुरुवात भएको छ । अवस्था हेरिकन, जानकारी दिएर वा नदिई ब्रोकर कम्पनीहरूमा सुपरीवेक्षण थालिएको छ । टिएमएस एकाउन्टसहित सेयर बजारमा जोडिएको ४१ लाखभन्दा बढी लगानीकर्तासँग प्रत्यक्ष जोडिएर, फ्रन्टलाइन रहेर काम गर्ने ब्रोकर सदस्यलाई नियमको पूर्ण पालना गराउन विशेष जोड दिएका छौं । अब हामी बजारमा म्यानुपुलेशन गर्ने लगानीकर्ताहरुको पहिचान गर्ने र त्यस्तालाई कानुनी कारवाही गर्ने दिशामा केन्द्रित छौं । बजारमा म्यानुपुलेशन गर्ने, गलत अभ्यास गतिविधि गर्ने लगानीकर्तासँग ब्रोकर कम्पनीको मिलेमतो देखियो भने त्यसलाई हामी झनै गम्भीर रुपमा लिनेछौँ ।  सही मान्छे, सही ठाउँ र सही समयमा आबद्ध भएको बताउनु भयो, कसरी ?  नेप्सेको पुनर्संरचनाको सन्दर्भमा म आफूले आफूलाई भाग्यमानी सम्झेको छु । वार्षिक नीति तथा कार्यक्रममा पनि नेप्सेको पुनर्संरचना गर्ने भनेर आएको छ । बजेटमा त विगतमा पनि आएको थियो तर, नीति तथा कार्यक्रममा पहिलो पटक आएको हो । त्यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा पनि नेप्सेको पुनर्संरचना गर्नुपर्ने विषय उल्लेख गरिएको छ । साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनमा पनि यो विषय समेटिएको छ । अर्थमन्त्रालय, धितोपत्र बोर्ड यसमा सकारात्मक छ । मैले बैंक र बीमा कम्पनीहरूमा काम गर्दा संस्था मर्जरको मर्म भोगिसकेको छु । संस्थागत पुनर्संरचना सम्बन्धी धेरै कुरा सिकेको छु । तसर्थ वर्षौदेखि प्रयास भएको तर कार्यान्वयन हुन नसकेको नेप्सेको पुनर्संरचनाको काम अब कार्यान्वयन हुन्छ । पुँजी बजार पनि बुझेको, कम्पनी व्यवस्थापन पनि जानेको, संस्थागत पुनर्संरचनाको अनुभव पनि भएको र नेप्सेको पुनर्संरचना कार्य सरकारको प्राथमिकतामा पनि परेकाले सही मान्छे, सही ठाउँ र सही समय भनेको हुँ ।  आर्थिक वर्ष २०६२/६३ को बजेटदेखि निरन्तर नेप्सेको पुनर्संरचना गरिने विषय उल्लेख हुँदै आएको छ । ठ्याक्कै २० वर्ष भएछ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सोही वाक्य छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा सोही विषय राख्नु पर्ला कि नपर्ला ?  २०६२ सालदेखि निरन्तर बजेटमा यो विषय आइरहँदा प्रश्न गर्नु स्वभाविक छ । तर, नेप्सेको बहालवाला सीईओको हैसियतले भन्नुपर्दा यो पटक अवश्य पनि पुनर्संरचना हुन्छ । पुनर्संरचनाको पुनरावलोकन मेरो टिमलाई दिइसकेको छु । बजेटको चिठ्ठी आउने बित्तिकै काम सुरु हुन्छ । म एकदमै विश्वस्त छु कि अर्काे वर्ष तपाईंले यो प्रश्न गर्न पाउनु हुन्न, प्रश्न गर्ने ठाउँ नै बाँकी राखिन्न ।  सरकारले नेप्सेको विकल्पमा नयाँ स्टक ल्याउने तयारी पनि गरिरहेको छ नि ? नयाँ स्टक एक्सचेञ्ज आउँछ भन्ने विश्वास मलाई लागेको छैन । अर्थमन्त्रालय पनि अनभिज्ञ छ । बजार पनि सानो छ । आजको दिनमा नेप्सेमा म्युचुअल फण्ड बाहेक २७२ कम्पनी मात्रै सूचीकृत छन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने नेपालमा एउटा संस्थाका लागि मात्रै बजार उपयुक्त देखिन्छ ।  नेप्सेको हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । धितोपत्र बोर्डले पुँजी वृद्धि गरेर ३ अर्ब रुपैयाँसम्म पुर्याउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीको संख्या पनि बढ्दै गएको, नेप्सेले आफ्नो क्षमता पनि वृद्धि गर्नुपर्ने र प्रविधिमा आधारित संस्था भएकाले प्रविधिमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ । पुनर्संरचना गर्दा विकल्पका रुपमा वैदेशिक रणनीतिक साझेदारमा प्रविधि भित्र्याउन उपयुक्त देखिएको छ । यसो गर्न सकियो भने अन्तर्राष्ट्रिय स्तरको प्रविधि र प्रणाली युक्त नेप्से बन्छ । लगानीकर्ताहरुको हकहित पनि सुरक्षित हुन्छ । समयसापेक्ष ऐन कानुन संशोधन गरेर विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रडक्ट पनि सूचीकरण गर्न सकिन्छ । ग्लोबल भिलेजको अवधारणा अघि बढेको समयमा नेपालको स्टक एक्स्चेञ्जलाई पनि अन्तराष्ट्रिय स्तरको स्टक एक्स्जेञ्ज बनाउन सकिन्छ ।  तपाईंले पनि विदेशी रणनीतिक साझेदार भित्र्याउने भन्नुभयो । नेप्सेका पूर्व सीईओहरूले पनि हामीसँग यही भनुहुन्थ्यो । सरकारी संस्थानमा नेपाल वायुसेवा निगमदेखि नेपाल टेलिकमसम्म, निजी क्षेत्रका बैंक, बीमादेखि आईटी कम्पनीहरूमा कार्यकारी प्रमुखहरूले विदेशी रणनीतिक साझेदार ल्याउने घोषणा गर्छन् । तर सफल कोही छैनन् । विदेशी लगानीकर्ताले ५१ प्रतिशतभन्दा बढी सेयर खोज्छन् । नेप्सेबाट मेजोरिटी सेयर बेच्न सरकार तयार छ ?  वैज्ञानिक थोमस अल्वा एडिसनले ९ हजार ९९९ पटकसम्म बिजुली बत्ती बाल्ने प्रयास गर्दा पनि असफल हुनु भयो । तर, १० औँ हजार पटकमा बत्ती बल्यो । नेप्सेको पुनर्संरचना पनि त्यस्तै हो । विगतमा नेप्सेका सीईओ र अध्यक्षको ठूलो योगदान छ, धेरै प्रयास भएका छन् । त्यसको फल २०८२ सालमा आउँछ । विगतमा धेरै विदेशी रणनीतिक साझेदारसँग छलफल भएको देखिन्छ । उहाँहरू आउन इच्छुक हुनुहुन्छ तर बहुमत सेयर मागेको देखिँदैन । न्यूनतम् सहभागितामा पनि आउन इच्छुक रहेको अनौपचारिक जानकारी भइसकेको छ । त्यसकारण बहुमत सेयर दिनुपर्दैन । साथै, नेप्सेले ३० प्रतिशत आईपीओ जारी गर्न सक्ने विकल्प पनि रहेको छ । नेपाल सरकारले नेप्सेमा बहुमत सेयर लिइराख्न चाहन्छ कि निजी क्षेत्रलाई बहुमत सेयर दिन पनि तयार हुन्छ ?  पटक पटकको औपचारिक वा अनौपचारिक छलफलमा सरकारको सेयर स्वामित्व हाल जति छ, त्यसलाई नै निरन्तरता दिने भनिएको छ । १ अर्ब पुँजी हुँदा सरकारको ५८.९ प्रतिशत सेयर स्वामित्व छ । ३ अर्ब पुँजी पुगेपछि १९.५ प्रतिशत सेयर स्वामित्व कायम रहन्छ, रकम उही नै हुन्छ । भोलुम बढ्ने भयो, प्रतिशत घट्छ । र, यो विषय छलफलकै क्रममा छ ।  नेपाल बैंक, नेपाल पुनर्बीमा जस्ता संस्थामा सरकारले गुमाएको बहुमत सेयर अनेक गरेर फिर्ता लिएर छाड्यो । कम सेयर हुँदा कम्पनीको अध्यक्ष, सीईओ सरकारको नियन्त्रण हुन्छ, निजी क्षेत्रले लिन्छ भन्ने डर सरकारी कर्मचारीमा देखिन्छ । नेप्सेमा सरकारी कर्मचारीको लोभ नहोला र ?  तपाईंको प्रश्नमा मेरो सहमति छैन । किनभने सरकारले निजीकरणलाई जोड दिएको छ र निजी क्षेत्रलाई समावेश गराएर मात्रै संस्थानहरूको उन्नती प्रगति हुन्छ भनेर पटकपटक विभिन्न ठाउँमा भनेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि सरकारको मुख्य सेयर होल्ड गर्ने भन्दा पनि निजी क्षेत्रको सहभागितामा संस्थाको वृत्ति विकास हुन्छ भन्ने रहेको छ । सरकारको धारणा पनि यही नै रहेको छ भन्ने हाम्रो बुझाइ छ । नेप्से पुँजी बजारको उन्नत किसिमको अभ्यास गर्ने एउटा माध्यम हो । पुँजी बजारमा समान हैसियतमा सबैलाई प्रवेश दिनुपर्छ भन्ने मान्यता छ । एउटा कम्पनी मात्रै भयो भने प्रतिस्पर्धा हुँदैन भन्ने बुझाइ छ । त्यसकारण नेप्सेलाई प्रतिस्पर्धी संस्था आवश्यक रहेको तर्क पनि गरिन्छ । नयाँ स्टक एक्सचेञ्ज आउनै हुन्न भन्ने आधार के हुन् ? सूचीकृत कम्पनीको तथ्याङ्क हेर्ने हो भने अझै ५/७ वर्ष अर्काे स्टक एक्सचेञ्ज चाहिँदैन । अर्काे स्टक आउने सम्भव छैन ।  सेयर बजारमा ट्रेड गर्नेहरू निकै तनावमा बाँचिरहेका पाइन्छ । नेप्सेका कर्मचारीहरू पनि सेयर बजारमा भिडिरहेका कारण उनीहरुका लागि तनाव व्यवस्थापनको तालिम आवश्यक परेको हो ?  त्यो हुनै सक्दैन । आन्तरिक सुशासनले नेप्सेका कर्मचारीहरूले सेयर कारोबार गर्न पाउँदैनन् । कर्मचारीको एकाघरले पनि कारोबार गर्न पाउँदैन । आईपीओसम्म भर्न पाउँछ । नेप्सेमा ३० वर्ष पूरा काम गरेपछि कर्मचारीले अनिवार्य अवकाश पाउँछ । त्यसले गर्दा कर्मचारी संख्या घट्दै गएको देखिन्छ । तर, नियुक्ति गर्दा सरकारी प्रक्रियामा जानुपर्ने हुन्छ । विभिन्न अपुष्ट खबरले कर्मचारी माथि अनेक आक्षेप लाग्ने गरेको छ । सामान्य नागरिक सरह जागिर गर्ने कर्मचारीलाई मनोबल बढाउन र आफूले गल्ती नगरे पनि आक्षेप लागि सकेपछि तनाव हुन सक्छ । पुँजी बजार संवेदनशील भएकाले कुनै कम्पनीको गल्तीलाई नेप्सेको गल्ती भनेर बुझेका हुन्छन् । कसले के बोल्छ त्यसमा पनि नेप्से जोडिने गरेको छ । डेढ महिना जति सीईओ रिक्त रहेको बेला कर्मचारीको मनोबल बढाउनुपर्ने देखियो । गल्ती नगर्नु, नडराउनु र केही आयो भने ह्याण्डल कसरी गर्ने भन्ने हिसाबले तालिम दिनु परेको हो ।  नेप्सेमा कम्पनीहरूको पहिलो सूचना आउँछ । नेप्सेबाट चुहावट हुन्छ, नेप्सेका कर्मचारीहरू ठूला ट्रेडरलाई सूचना बेचेर पैसा कमाउँछन् भन्ने आरोप लाग्छ नि ? बजारले त्यसरी भन्नु सचेत गराएको हो । त्यति सचेत गराएपछि हामी पनि सजग हुनुपर्छ । म आएको २ महिना भयो । साढे ९ बजेदेखि साढे १० बजेसम्म सिनियर लेभलको कर्मचारीसँग दैनिक मन्थन गरिरहेका हुन्छौं । यो संस्थालाई कसरी सुधार गर्ने, के कस्ता असल अभ्यास गर्ने, नेप्सेको ब्राण्डलाई प्रभावकारी बनाउन हामी अग्रसर छौं । यदि कुनै कर्मचारीले त्यस्तो गर्नु भयो र प्रमाण छ भने कारवाही प्रक्रियामा जान्छौं ।  सेयरमा तपाईंको लगानी कति छ ?   केही कम्पनीमा आईपीओ भरेको छु । सानिमा रिलायन्समा कर्मचारी सेयर छ । म पुँजी बजारको लगानीकर्ता थिइन किनभने म जागिरे थिए । जागिरे भएपछि पढ्न पाउँदैनथे । डेप्थमा जान सक्दैनथे । बजार ट्रेण्ड बुझ्दैनथे । अन्तर्राष्ट्रिय सूचनामा अभाव हुन्थ्यो । विविध कारणले म ट्रेडर थिइनँ, लगानीकर्ता थिए । नेपाल धितोपत्र बोर्डभन्दा पहिला नेप्सेको स्थापना भएको हो । तर, दुईवटै संस्थाको प्रमुख राजनीतिक नियुक्तिबाट आउँछ । कहिलेकाहीँ सेबोनको निर्देशन नेप्सेले नटेरेको, नियामकको हैसियतमा सेबोनलाई स्वीकार नगर्ने, हामीभन्दा कान्छो संस्थाको हाकिमले निर्देशन दिँदा कार्यान्वयन गर्न इन्कार गरेको विगतमा देखिन्थ्यो । समय समयमा सेबोन र नेप्सेबीच सम्बन्धमा दरार आउने गरेको छ । यस्तो किसिमको दरार र द्वन्द्व तपाईंको कार्यकालमा पनि देखिने हो कि ? विगतमा के भयो त्यसको बारेमा म बोल्न चाहन्नँ । तर, मैले त्यसरी विश्लेषण गरेको छैन । नेप्सेको आफ्नो दायरा, कार्य क्षेत्रभित्र रहेर काम गर्नुपर्छ । र, धितोपत्र बोर्डले पनि आफ्नो कार्य क्षेत्रभित्र रहेर काम गर्नुपर्छ । नेप्सेको विनियमावली संशोधन गर्दा धितोपत्र बोर्डबाट स्वीकृत लिनुपर्ने हुन्छ । त्यसैले नेप्सेको नियामक धितोपत्र बोर्ड नै हो । म आइसकेपछि सिडिएससी, नेप्से र धितोपत्र बोर्डका प्रमुखको मासिक बैठक बस्दै आएका छन् । हामीबिच समन्वय र सहकार्यमा कुनै समस्या छैन ।  सेयर कारोबारमा नेप्सेले पाउने कमिसन बढी भयो भन्ने गुनासो बजारमा धेरै छ । नेप्सेको नाफा पनि उच्चदरको छ । सेयर कारोबारमा कमिसन घटाउन तपाईंले मिहिनेत गर्नु हुन्छ ? यो नीतिगत तहबाट निर्णय गर्ने विषय हो । संस्थाले वर्षाैंदेखि आर्जन गरिरहेको वा स्थापित शुल्कलाई म घटबढ गर्छु भन्दा नेप्सेको सीईओको दायराभित्र त्यो पर्दैन । सञ्चालक समिति र सेबोनले निर्धारण गर्छ । स्थापित भएको शुल्कलाई सीईओको हैसियतले घटबढ गर्छु भन्न मिल्दैन । तर, धेरै वा कम भयो भन्ने विषयमा छलफल गर्न सकिन्छ । विगतमा १ खर्बको बजार हुँदा पाउने शुल्क र ४० खर्बको बजार पुगेपछि पाउने शुल्कमा परिवर्तन गर्न जरुरी छ भनेर व्यवस्थापकीय सिद्धान्तबाट पनि हेर्न सकिन्छ होला नि ? हेराई सकारात्मक गर्न सकिन्छ । लगानीकर्ताहरूले कारोबारमा कति शुल्क तिर्नुपर्छ, पुँजीगत लाभकर कति तिर्नुपर्छ भन्ने थाहा पाउनु भएको छ । सेयर कारोबार गर्दा त्यसको पनि हिसाब गर्नुहुन्छ । तर, दीर्घकालीन लगानीकर्ताले शुल्कको विषय उठाउनु हुन्न, ट्रेडरले उठाउनु स्वभाविक हो ।  पुँजी बजारमा ४१ लाख लगानीकर्ताहरुमध्ये १० प्रतिशतले मात्रै बुझेर लगानी गर्नु हुन्छ, ९० प्रतिशत लगानीकर्ताले पुँजी बजारको ज्ञान लिन आवश्यक छ भनेर एक जना विज्ञले भन्नु भयो । सेयरमा लगानी गर्नुपर्छ, पैसाले पैसा कमाउनुपर्छ, पैसालाई पनि जागिरमा लगाउनुपर्छ । जस्तो म जागिर गर्छु, तलब आउँछ । साथै मैले गरेको लगानीबाट लाभांश वा प्रतिफल पनि आउँछ । तर, जोखिम पनि छ भनेर बुझ्न जरुरी छ । कुनै कम्पनीमा ५ लाख रुपैयाँ लगानी गर्दा त्यो कम्पनीको बारेमा ५० लाख रुपैयाँ लगानी गरे सरह जानकारी हुनुपर्छ । तर, ५० लाख रुपैयाँको लगानी गर्नेसँग ५ लाख रुपैयाँको मात्रै ज्ञान रहेको मैले पाएको छु । तर, उहाँहरूले शुल्कमा जोड दिनुहुन्छ । पैसा लगानी गर्नु हुन्छ, ज्ञानमा लगानी गर्नु हुँदैन । साथीभाइलाई सोधेर वा कसैले भनेका आधारमा मात्रै लगानी गर्ने परिपाटी पनि छ । अबको ४ वर्षपछि स्टक मार्केट कस्तो देख्न सकिन्छ ? तपाईंको कार्यकालमा के-के हुन्छन् ? म भाग्यमानी छु । किनभने मभन्दा अगाडिका सबै सीईओको फल मैले खाने भएको छु । उहाँहरूले इफोर्ट लगाउनु भयो, अहिले पुनर्संरचनामा जाने भयो । पुनर्संरचना विदेशी रणनीतिक साझेदारसँग भयो भने नेप्से अन्तर्राष्ट्रिय स्तरको बन्नेछ । जसलाई ऐतिहासिक कायापलट मानिन्छ । आन्तरिक सञ्चालन सुधार निरन्तर भइरहन्छ । नीतिगत सुधार गर्न आवश्यक छ । पुँजीबजार एनआएरएनलाई सहजीकरण गर्ने, सरकारको बण्डलाई कारोबार योग्य बनाउने काम पनि हुन्छ । नेप्से पुँजी बजारको पनि राजधानी जस्तै हो । तर, नेप्सेमा त्यस किसिमको पूर्वाधार छैन । तपाईंको कार्यकालमा पूर्वाधारमा जोड दिनु हुन्छ ?  तपाईंको ठाउँमा म थिए भनेपनि यो प्रश्न गर्थे । तर, सबैको समय आउँछ । ६७ लाखभन्दा बढी डिम्याट खाता छन् । उहाँहरू सबैलाई नेप्से थाहा छ । अब भवन युनिक वा स्टक एक्सचेञ्जको जस्तो देखाउँदा राम्रो हुन्छ । तथापी यो संस्थाको आफ्नै जग्गा छ, एउट भवन छ । तत्काल आत्तिएर अनुत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्ने हतार छैन । डाटा सेन्टरका लागि भने आगामी वर्षदेखि लगानी गर्नुपर्ने देखिन्छ । अहिले दुखमसुखम डाटा सेन्टर चलाइरहेका छौं । यस्तै हामीलाई अहिलेसम्म डेडिकेडेट लाइन छैन । डेडिकेडेट लाइनका लागि विद्युत प्राधिकरणमा निवेदन दिएका छौं । किनभने ११ बजेदेखि ३ बजेसम्म हामीले अलर्टमा बस्नुपर्ने हुन्छ । जेनेरेटर, ब्याट्री भएपनि लामो समयसम्म ग्याप भयो भने त्यसलाई पूर्णता दिन डेडिकेटेड लाइन जोड्न आवश्यक छ ।  नेप्सेमा भएको तथ्याङ्क आधिकारिक हुन्छन् । सबैले विश्वास गर्नुहुन्छ । तर, कहिलेकाहीँ सूचीकृत कम्पनीको तथ्याङ्क सही नभएको देखिन्छन् । सूचना अपेडटमा ध्यान नदिएको पाइन्छ । नेप्सेले सूचीकृत संस्थालाई किन प्रभावकारी रुपमा सूचना उपलब्ध गराउन लगाउँदैन ? संगठित संस्थालाई सार्वजनिक सूचनामार्फत वा परिपत्र जारी गरेर वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक सूचना समयमा अपलोड गर्न निर्देशन दिएका छौं । त्यसका लागि हामीले प्रणालीलाई सहज बनाएका छौं । जस्तो सञ्चालक समिति परिवर्तन भएको छ भने त्यसको इडिट गर्न सक्ने गरी सिस्टम सहज बनाइएको छ । साथै, बोनस सेयर, हकप्रद सेयर अपडेट गर्दा कुनै त्रुटी भएको छ भने सच्याउन लगाएर मात्रै अपडेट गर्ने गरिएको छ । नेप्सेको कारोबार प्रभावित हुने गरी सूचीकृत संस्थाहरूले सूचना प्रवाह गर्छन् । जस्तो कम्पनीले लाभांश घोषणा गर्छ । कहिलेकाहीँ नियामकबाट स्वीकृत भएर आउँदैन । यसले सम्बन्धित कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने भएकाले लगानीकर्तालाई असर पर्ने गरेको छ । यसलाई कसरी नियन्त्रण गर्नु हुन्छ ? म आएपछि त्यस्तो अभ्यास भएको देखिदैन । यसलाई सिन्सियर रुपमा धितोपत्र बोर्डले आवश्यकता अनुसार स्पस्टीकरण सोध्ने काम गर्छ । नेप्सेले पनि आफ्नो दायराभित्र रहेर कम्पनीलाई स्पष्टीकरण सोध्ने गरेको छ । पब्लिकको सेयर सहज रुपमा कारोबार भइरहँदा संस्थापक सेयरमा सहजता छैन । नेप्सेले संस्थापक सेयर कारोबारलाई सहज बनाउन के गरिरहेको छ ? नेप्सेमा सूचीकृत संस्थाको संस्थापक सेयरका विषयमा स्पष्ट व्यवस्था छ । बजार मूल्यको ५० प्रतिशत कममा १० प्रतिशत थपेर मूल्य निर्धारण गरेर कारोबार गर्नु पर्ने स्पष्ट व्यवस्था छ । सोही अनुसार क्यापिटल गेन ट्याकस पनि लिने गरिएको छ । कुनै बैंकको सेयर मूल्य २२० रुपैयाँ छ भने त्यसको आधा ११० रुपैयाँ हुन्छ । ११० रुपैयाँमा १० प्रतिशत जोडेर १२१ रुपैयाँभन्दा मुनीमा कारोबार गर्नु हुँदैन । त्यो भन्दा माथि गर्नुपर्ने हुन्छ । सूचीकृत नभएको संस्थाको हकमा बुक भ्यालूको आधार लिइन्छ । जस्तो १२० रुपैयाँ बुक भ्यालू छ भने त्योभन्दा माथिको कारोबारलाई स्वीकार गरिन्छ । १२० रुपैयाँ बुक भ्यालू छ तर त्यो भन्दा कम मूल्यमा कारोबार भयो भने हामी स्वीकार गर्दैनौं ।  संस्थापक सेयर खरिदबिक्रीका लागि बिक्रेताले खरिदकर्ता, खरिदकर्ताले बिक्रेता खोज्नुपर्ने अवस्था छ । यो अभ्यास सहज भएन । यसलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा केही सोच्नु भएको छ ? यो विषयमा सोच्न भ्याएको छैन । आगामी दिनमा छलफल गर्छाैं । 

बैंक र बीमाका लगानीकर्ताको साढे ३ खर्ब रुपैयाँ बन्धक !

काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साधारण (पब्लिक) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो भने संस्थापक (प्रमोटर) सेयरको ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्बको मात्रै कारोबार भयो । जुन साधारणको सेयर कारोबारको तुलनामा ३ प्रतिशत मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले भने । उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, सहज व्यवस्था नहुँदा संस्थापक सेयर कारोबार थोरै मात्रै खरिद बिक्री हुने गरेको उनी बताउँछन् । जबकी साधारण सेयर खरिदकर्ता र बिक्रीमा कुनै कठिनाइ वा कडाइ छैन । नेप्सेमा साधारण सेयर बिक्रेता र खरिदकर्ता भएपनि संस्थापक सेयरका लागि भने छैनन् । किनभने संस्थापक सेयर खरिद बिक्रीका लागि प्रणाली नै बनिसकेको छैन । जस्तो नेप्सेमा एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपीओ संस्थापक सेयर । बैंकको साधारण सेयर दैनिक कारोबार भइरहेको हुन्छ भने संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । संस्थापक सेयर खरिद बिक्री प्रक्रियामा फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणको स्वीकृतिदेखि अन्य थुप्रै नियम पालना गर्नुपर्ने हुन्छ । २०८१ चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७० पुगेको छ । जसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका छन् ।  सूचीकृत कम्पनीको ८ अर्ब ७२ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको ६ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ बराबरको ६ अर्ब ३१ करोड ३६ लाख कित्ता सेयर रहेको छ । जसमा संस्थापकको ३ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँको ३ अर्ब ६७ करोड ४ लाख कित्ता र सर्वसाधारणको २ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँको २ अर्ब ६४ करोड ३२ लाख कित्ता सेयर रहेको छ  तर, संस्थापक सेयर बन्धकजस्तै बनेको छ । संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी ‘फ्रिज’ भएर बसेको दनुवारको भनाइ छ ।  कुन क्षेत्रको कति सेयर ? नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार सूचीकृत १९ वाणिज्य बैंकको ३ खर्ब ६४ अर्ब २५ करोड रुपैयाँको ३ अर्ब ६४ करोड २५ लाख ७१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये संस्थापक समूहको २ खर्ब १ अर्ब १४ करोड रुपैयाँको २ अर्ब १ करोड १४ लाख ४४ हजार कित्ता र सर्वसाधारण समूहको १ खर्ब ६३ अर्ब ११ करोड रुपैयाँको १ अर्ब ६३ करोड ११ लाख २६ हजार कित्ता सेयर छन् ।  नेप्सेमा सूचीकृत विकास बैंकहरूको ४२ अर्ब २० करोड १९ लाख रुपैयाँको ४२ करोड २० लाख १९ हजार कित्ता सेयर छन् । जसमध्ये संस्थापकको २१ अर्ब ७९ करोड ६३ लाख रुपैयाँको २१ करोड ७९ लाख ६३ हजार कित्ता र सर्वसाधारणको २० अर्ब ४० करोड ५५ लाख रुपैयाँको २० करोड ४० लाख ५५ हजार कित्ता सेयर रहेका छन् ।  फाइनान्स कम्पनीहरूको १४ अर्ब २१ करोड ९२ लाख रुपैयाँको १४ करोड २१ लाख ९२ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ७ अर्ब ३८ करोड ९५ लाख रुपैयाँको ७ करोड ३८ लाख ९५ हजार कित्ता र सर्वसाधारणको ६ अर्ब ८२ करोड ९६ लाख रुपैयाँको ६ करोड ८२ लाख ९६ हजार कित्ता सेयर रहेका छन् । नेप्सेमा ५२ लघुवित्त संस्थाको ३८ अर्ब ३७ करोड ५० लाख रुपैयाँको ३८ करोड ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको २३ अर्ब ७३ करोड ३ लाख रुपैयाँको २३ करोड ७३ लाख ३ हजार कित्ता र सर्वसाधारणको १४ अर्ब ६४ करोड ४६ लाख रुपैयाँको १४ करोड ६४ लाख ४६ हजार कित्ता सेयर रहेका छन् । नेप्सेका अनुसार सूचीकृत जीवन बीमा कम्पनीहरूको ६७ अर्ब ७० करोड ७६ लाख रुपैयाँको ६७ करोड ७० लाख ७६ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ४१ अर्ब ५ करोड ३० लाख रुपैयाँको ४१ करोड ५ लाख ३० हजार कित्ता र सर्वसाधारणको २६ अर्ब ६५ करोड ४६ लाख रुपैयाँको २६ करोड ६५ लाख ४६ हजार कित्ता सेयर छन् । निर्जीवन बीमा कम्पनीहरूको २७ अर्ब ६७ करोड २३ लाख रुपैयाँको २७ करोड ६७ लाख २३ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको १४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँको १४ करोड ८९ लाख ५२ हजार कित्ता र सर्वसाधारणको १२ अर्ब ७७ करोड ७१ लाख रुपैयाँको १२ करोड ७७ लाख ७१ हजार कित्ता सेयर रहेका छन् । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नागरिक लगानी कोष र एचआईडीसीएलको ७६ अर्ब ९३ करोड १७ लाख रुपैयाँको ७६ करोड ९३ लाख १७ हजार कित्ता सेयर सूचीकृत छन् । जसमध्ये संस्थापकको ५७ अर्ब ३ करोड २२ लाख रुपैयाँको ५७ करोड ३ लाख २२ हजार कित्ता र सर्वसाधारणको १९ अर्ब ८९ करोड ९४ लाख रुपैयाँको १९ करोड ८९ लाख ९४ हजार कित्ता सेयर रहेका छन् । माथि उल्लेखित समूहका कम्पनीबाहेक अन्य क्षेत्रका कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको छ । तर, एउटै संकेत (सिम्बोल) नम्बरमा कारोबार भइरहेका छन् भने मूल्य पनि एउटै रहेको छ । तर, संस्थापक सेयरको लागि निश्चित समय लकइन अवधि तोकिएको हुन्छ ।  बैंक विज्ञ अनलराज भट्टराई संस्थापक बन्धक बनाएर राख्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँछन् । संस्थापक सेयरधनीले आफूसँग रहेको सेयर सम्पत्ति देखाउँदा पनि सहज रुपमा कर्जा नपाउने गरेको उनको भनाइ छ । उनका अनुसार यदि कसैले १५ प्रतिशत साधारण सेयर लिएको छ भने उसले जति पनि कर्जा लिन पाउँछ । तर, २ प्रतिशत संस्थापक सेयर छ भने कर्जा लिन पाउँदैन । ‘कुनै पनि सम्पत्तिलाई चलायमान बनाउनुपर्छ, बन्धक बनाएर राख्नु हुँदैन । संस्थापक सेयर सहज रुपमा कारोबार नै हुन पाइएन । सबै संस्थापक सेयरधनीले व्यवस्थापनमा नियन्त्रण गर्दैनन् । तर, संस्थापक सेयरलाई नियन्त्रण कायमै राख्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन,’ उनले भने ।   

एउटै सम्पत्तिको दुइटा मूल्य, सरकारले आफ्नै गलत नीतिले गुमाइरहेको छ ठूलो राजस्व

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार (जेठ १२ गते) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को साधारण (पब्लिक) सेयर प्रतिकित्ता २१७ रुपैयाँमा अन्तिम कारोबार भयो । सोही दिन बैंकको संस्थापक (प्रमोटर) सेयर (एनआईएमबिपीओ) प्रतिकित्ता १६० रुपैयाँमा अन्तिम कारोबार भयो । यस्तै, माछापुच्छ्रे बैंकको साधारण सेयर प्रतिकित्ता २२८ रुपैयाँमा अन्तिम कारोबार हुँदा संस्थापक सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ मात्रै छ । नबिल बैंकको साधारण सेयर प्रतिकित्ता ४९८ रुपैयाँमा अन्तिम कारोबार हुँदा संस्थापक सेयरको मूल्य भने ३०१ रुपैयाँ मात्रै छ । यी केही उदाहरण मात्रै हुन् । पुँजी बजारमा सूचीकृत सबै बैंक तथा वित्तीय र बीमा कम्पनीहरूको संस्थापक र साधारण सेयरको मूल्यमा व्यापक भिन्नता रहेको देखिन्छ । संस्थापक सेयरको मूल्य साधारण सेयरको मूल्य भन्दा धेरै कम रहेको छ । जस्तो लक्ष्मी सनराइज बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २२४.७ रुपैयाँ छ भने संस्थापक सेयरको मूल्य १०३ रुपैयाँ मात्रै छ ।  नेप्सेमा सूचीकृत बैंक तथा बीमा कम्पनी संस्था एउटै भएपनि मूल्य भने दुइटा रहेका छन् । तर, नेप्सेमै सूचीकृत बैंक तथा बीमा कम्पनी बाहेक अन्य कम्पनीहरूको सेयर मूल्य भने एउटै छ । जस्तो नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को ९१.५३ प्रतिशत अर्थात् १६ करोड ४७ लाख ५४ हजार कित्ता संस्थापक सेयर र ८.४७ प्रतिशत अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता साधारण सेयर छ । तर, कम्पनीको संस्थापक र साधारण सेयर मूल्य समान प्रतिकित्ता ८७९ रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक र साधारण सेयर भनेर छुट्याइए पनि सेयर मूल्य भने एउटै छ । बैंक तथा बीमाको संस्थापक सेयरमा नियमन गर्नु ठिकै भएपनि मूल्यमा भने नियन्त्रण गर्नु उपयुक्त नरहेको जानकारहरू बताउँछन् । कम्पनीको सेयर मूल्यलाई नियन्त्रण गर्दा सरकार आफैंलाई घाटा हुने उनीहरूको तर्क छ । जस्तो सानिमा बैंकको साधारण सेयरको मूल्य ३२१ रुपैयाँ छ भने संस्थापक सेयर मूल्य १६७ रुपैयाँ मात्रै छ । बैंकको संस्थापक सेयर साधारण सेयरको भन्दा १५४ रुपैयाँ सस्तो (ग्याप) छ । जसकारण राज्यले पाउने राजस्व पनि स्वतः घट्न पुग्यो । यदि संस्थापक सेयर कारोबार सहज हुने थियो भने मूल्य पनि साधारण सेयर सरह हुने र राज्यले पाउने कर पनि सोही आधारमा बढ्ने बैंकरहरूको दाबी छ । तर, दुई थरी सेयर कायम गरेर छुट्याउँदा राज्यले करोडौं आम्दानी गुमाइरहेको उनीहरुको तर्क छ ।  ‘सेयर कारोबार हुने एउटै संस्थाको हो, संस्थाले गर्ने आम्दानी एउटै हुन्छ, संस्थापक र साधारण सेयरधनीले पाउने भोटिङ अधिकार पनि बराबर नै हुन्छ, लाभांश पनि बराबर पाउँछ । तर, कर्जा प्रवाहमा नियन्त्रण, सेयर मूल्यमा नियन्त्रण गरिन्छ,’ बैंक विज्ञ अनलराज भट्टराई भन्छन्, ‘नियामकले संस्थापक र साधारण सेयर छुट्याएपनि एउटै वस्तुको दुइटा मूल्य कसरी हुन्छ ? यसरी एउटै संस्थाको दुइटा मूल्य हुँदा सरकारले पाउने राजस्व गुमिरहेको छ ।’ एउटै सम्पत्तिको दुइटा मूल्या तोक्नु ठूलो बदमासी भएको उनको तर्क छ । कुनै पनि देशमा एउटै संस्थाको दुई किसिमको सेयर नहुने बताउँदै उनले यस्तो अभ्यास रोकिनु पर्ने बताए । ‘यस्तो अभ्यासले संस्थापक सेयरधनीलाई सहुलियत दिए जस्तै भयो । कारोबार आन्तरिक रुपमा भइरहेको हुन्छ । कागजमा एउटा सेटलमेन्ट गरिन्छ । नेप्सेमा कारोबार भएको देखिन्छ । तर, वास्तविक मूल्यमा कारोबार भएको देखिदैँन,’ उनले भने, ‘जेमा पनि व्यापार व्यवसाय गर्ने व्यक्ति खराब, कानुन बनाउने निर्माता र कार्यान्वयन गर्ने निकाय मात्रै ठिक भन्ने हुँदैन ।’ बैंकिङ क्षेत्रको कुल पुँजी साढे ७ खर्ब बढी रहेको छ । जसमध्ये ५० प्रतिशत अर्थात् साढे ३ खर्ब भन्दा बढी संस्थापक सेयर रहेको छ । जसले बैंकबाट ऋण लिनु पर्याे भने ५० करोड पनि पाउने अवस्था छैन । यसरी सम्पत्ति बन्धक बनाएर राख्दा अर्थतन्त्र चलायमान हुन नसकेको भट्टराई बताउँछन् । ‘म आफैं बैंकको सीईओ हुँदा कर्जा लिन कोही आउनु भयो भने धितो के छ भनेर सोध्छु । तर, संस्थापक सेयरधनीले आफूसँग सेयर हुँदा पनि कर्जा नपाउने अवस्था बन्यो,’ उनले भने, ‘यदि कसैले १५ प्रतिशत साधारण सेयर लिएको छ भने उसले जति पनि कर्जा लिन पाउँछ । तर, २ प्रतिशत संस्थापक सेयर छ भने कर्जा लिन पाउँदैन ।’ उनका अनुसार कुनै पनि बैंक खुलेको १८/२० वर्ष भन्दा बढी अवधिका छन् । बैंक खोल्दाका संस्थापक लगानीकर्ता अधिकांश परिवर्तन भइसकेका छन् । कुनै संस्थापक मर्जरका कारण एउटाबाट अर्काे बैंकमा पुगिसकेका छन् भने कोही बिक्री गरेर बाहिरिसकेका छन् । संस्थापक सेयरलाई नियनन्त्रण कायमै राख्दा अर्थतन्त्र चलायनमान हुन नसकेको उनको भनाइ छ । ‘संस्थापक सेयर सहज रुपमा कारोबार नै हुन पाइएन । कुनै पनि सम्पत्तिलाई चलायमान बनाउनुपर्छ, बन्धक बनाएर राख्नु हुँदैन । सबै संस्थापक सेयरधनीले व्यवस्थापनमा नियन्त्रण गर्दैनन् । कुनै बैंकमा १ हजार कित्ता सेयर छ भने त्यो संस्थापक सेयरधनीले व्यवस्थापनमा केही पनि नियन्त्रण गर्न सक्दैन । व्यवस्थापनमा नियन्त्रण गर्न सक्ने र गरेकाहरूलाई कडाइ गर्दा हुन्छ,’ उनले भने । नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल संस्थापक सेयरधनी बाहिरिन नदिन हालको व्यवस्था गरेको हुन सक्ने बताउँछन् । सुरुको अभिभावकले नै छोडेर गयो भने कम्पनी धराशायी हुन्छ कि भन्ने अवधारणासहित हालको व्यवस्था बनेको उनको भनाइ छ ।  ‘संस्थापक सेयर बेचेर नबाहिरिउन् भनेर यो व्यवस्था गरेको हुन सक्छ । सुरुको अभिभावकले नै छोडेर गयो भने कम्पनी धराशायी हुन्छ की भनेर हतपत्त बिक्री गर्न नदिएको हो । संस्थापक सेयरलाई खुला छाड्यो भने चाँडै बिक्री गरेर भाग्छन् भनेर नियन्त्रण गर्न खोजेको हो । यदि साधारण सेयर र संस्थापक सेयर मूल्य बराबर भयो भने झन् चाँडै बिक्री गरेर भाग्न सक्ने भएकाले यस्तो व्यवस्था लागू गरेको हुन सक्छ,’ उनले भने । उनका अनुसार खुला बजार नीति अनुरुप जो सुकै संस्थापक आए पनि खुला छोड्नु उपयुक्त हुन्छ । तर, नेपालमा जसले घर बनायो, उसैले छाडेर गयो भने के गर्ने भन्ने हिसाबले यो व्यवस्था लागू गरेको हुन सक्ने उनले बताए । नबिल बैंकका डीसीईओ आदर्श बजगाईं संस्थापक सेयर कारोबार कम र असहज प्रक्रियाले मूल्य पनि कम हुने गरेको बताउँछन् । यदि सहज रुपमा कारोबार हुने थियो भने सरकारले धेरै राजस्व संकलन गर्ने उनको भनाइ छ ।  ‘साधारण सेयर सरह भइदिए सहज कारोबार हुन्थ्यो भने सरकारले क्यापिटल गेन ट्याक्स, राजस्व र कमिसन पनि धेरै आउँथ्यो । तर, संस्थापक सेयर सहज रुपमा कारोबार हुँदैन । एकले अर्काेलाई आपसी सहमतिमा किनबेच गर्छन् । त्यसैले राज्यलाई पनि घाटा भइरहेको छ,’ उनले भने, ‘कर प्रतिशतमा लाग्छ । त्यसैले रकम धेरै हुने बित्तिकै कर पनि धेरै उठ्छ । रकम कम भएपछि कर पनि कम उठ्ने भयो ।’ संस्थापक सेयरधनी बनेर तत्कालै बिक्री गरेर बाहिरिन्छ की भन्ने हिसाबले लक इन पिरियड राखेको उपयुक्त भएपनि सेयर मूल्य भने एउटै हुनुपर्ने उनको धारणा छ । 

सेबोनको ९० रुपैयाँको नेटवर्थ नीति : बजारमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं । गत मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ९० भन्दा कम नेटवर्थ भएका १३ कम्पनीलाई आईपीओ निष्काशनका लागि पुनः निवेदन पेस गर्न निर्देशन दियो । बोर्डको निर्देशन अनुसार १४ वटा कम्पनीलाई पुनः मूल्याङ्कन गरी आईपीओको निष्काशनका लागि फेरी आवेदन दिनुपन  निर्देशन दियो ।  सेबोनले यस्तो निर्देशन दिएका कम्पनीहरु एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबल कार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, रिचेत जलविधुत कम्पनी, बेनी जलविद्युत परियोजना, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी, पुवा खोला–वान हाइड्रोपावर, एकर्ड फार्मास्युटिकल्स, सोपन फार्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकप्टर थिए ।  यस्तै, सानिमा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न नपाउने गरी आवेदन फिर्ता गरेको छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि करिब १२ वर्ष र विद्युत खरिद बिक्री सम्झौताको समाप्त हुने अवधि ५ वर्षभन्दा कम भएकाले निवेदन फिर्ता गराएको धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए । विगतमा आवश्यक कागज (डकुमेन्ट) नपुगेको खण्डमा धितोपत्र बोर्डले कैफियतको रुपमा पत्राचार गरी कागजात पेस गर्न निर्देशन दिने गरेको थियो । तर, यसपटक भने धितोपत्र बोर्डले त्यस्तो नगरी पाइपलाइनको सूचीबाट हटाएर सम्बन्धित कम्पनीहरूलाई पुनः मूल्याङ्कन गरी आईपीओ निष्काशनका लागि निवेदन दिन निर्देशन दिएको छ । अर्थात् यसअघि नेटवर्थ नहेरी आईपीओ निष्काशनका लागि अनुमति दिने गरेको थियो । तर, लेखासमितिको निर्देशनका आधारमा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीले अबदेखि आईपीओ निष्काशन गर्न नपाउने भएका छन् । तर, लामो समयसम्म होल्ड गराएर फिर्ता पठाउँदा निर्माणाधीन कम्पनीहरूको लागत बढ्न पुगेको लगानीकर्ताहरु बताउँछन् । पुँजी संकलनका लागि आईपीओ जारी गर्ने भएकाले लामो समयसम्म होल्ड गराएर फिर्ता पठाउनु सेबोनको गल्ती भएको सम्बन्धित कम्पनीका लगानीकर्ताहरू बताउँछन् । यदि विगतदेखिको व्यवस्था भए पुँजी संकलनको अन्य माध्यम रोज्न सक्थे । तर, त्यो गर्न नपाएर निर्माणाधीन प्रोजेक्टको लागत पनि बढ्न पुगेको उनीहरूको गुनासो छ ।  लगानीकर्ता तुलसीराम ढकाल नेटवर्थ ९० भन्दा पनि १ सय रुपैयाँ भन्दा कम भएका कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिनुपर्ने बताउँछन् । विगतमा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी गर्न दिँदा लगानीकर्ताहरू फसेको उनको भनाइ छ । ‘सर्वसाधारणलाई ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको सेयर भिडाउने अवस्था थियो । सेबोनले अध्ययन अनुसन्धान गरेर ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई फिर्ता पठाएको विषय स्वागतयोग्य छ । किनभने घाटामा भएका कम्पनीमा सर्वसाधारण झुक्किनु भएन । र, घाटामा रहेका कम्पनी जनतालाई भिडाउने कार्य गर्नु भएन । यो काम एकदमै राम्रो छ,’ उनले भने, ‘विगतमा ९० भनदा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी गर्न दिँदा धेरै लगानीकर्ता फसेका छन् । राम्रो कम्पनीलाई पब्लिकमा आउन दिनुपर्छ भने नराम्रा कम्पनीमा सर्वधारण फसाउनु हुन्न ।’ कम्पनी खडा गर्ने, २÷४ वर्ष चलाएर पुँजी बजारमा ल्याएर आफू बाहिरिने परिपाटी रोकिनुपर्ने उनको भनाइ छ । ९० भन्दा कम नेटवर्थ भएका कम्पनीले जहिले ९० भन्दा बढी नेटवर्थ पुग्छ उहिले आईपीओ जारी गर्दा उपयुक्त हुने उनले बताए । पब्लिकको पैसा लिनका लागि हतार गर्नु नहुने उनको धारणा छ । प्रभु क्यापिटलका चिफ बिजनेश अफिसर बासु थपलिया राज्यले नियम बनाएको छ भने कानुनी व्यवस्था अनुसार अघि बढ्नुपर्ने बताउँछन् । प्रोजेक्टहरूको १ सय प्रतिशत सम्पन्न भएपछि मात्रै आईपीओमा जाने भन्दा व्यवहारिक रुपमा फरक पर्न सक्ने उनको भनाइ छ । ‘संस्थापकहरूले लगानी गरेर केही समयपछि नाफा गर्ने सोच बनाएका हुन्छन् । त्यसपछि पुँजी बजारमा ल्याएर थप काम गर्ने योजना बनाएका हुन्छन् । तर, धितोपत्र बोर्डले निर्णय गरेर फिर्ता गरेपछि भविष्यमा अन्य कम्पनीलाई पनि असर गर्न सक्छ,’ उनले भने । आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद प्याकुरेल विगतमा कम्पनीपिच्छे केही अपडेट छ भने पठाउन पत्राचार गर्ने गरेको बताउँछन् । तर, पछिल्लो समय सेबोनको पाइपलाइनमा आईपीओ देखाएर खरिद बिक्री गर्ने अभ्यास बढेकाले सेबोनले हटाएको हुन सक्ने उनको बुझाइ छ । ‘सेबोनमा दर्ता गरेर कम्पनीको आईपीओ आउँदैछ भनेर पाइपलाइनमा देखाउने र प्रिआईपीओ भन्दै बेच्ने गरेका थिए । त्यही भएर सेबोनले हटाएको हुन सक्छ । यसरी हटाएपछि सबैले सहज रुपमा बुझ्ने अवसर पाए । किनभने यसअघि थाहा नपाएको पनि हुन सक्छ । पाइपलाइनमा छ भनेपछि किन्ने गरेका थिए,’ उनले भने, ‘अब ९० भन्दा कम नेटवर्थ रहेछ बुझे । कम्पनीको भ्यालू थाहा पाए । म्यानुपुलेट भएको भनेर सेबोनले हटाएको हुन सक्छ ।’ सेबोनको उक्त निर्णयबाट सेयर किन्दा बुझेर किन्नुपर्छ भन्ने सन्देश गएको उनको भनाइ छ । सेबोनले गरेको यो निर्णयले गलत कार्यहरुको बारेमा लगानीकर्ताहरुलाई केही हदसम्म जानकारी भएको उनले बताए । ‘कम्पनीले दिने प्रतिफल थाहा छैन, ८÷१० वर्षसम्म प्रतिफल दिनै सक्दैन । तर, त्यस्ता कमपनीको सेयर मूल्य उच्च छ । वित्तीय विवरण अनुसार लगानी गरेका छैनन् । जुवा खेलेको जस्तो गर्नु भएन, लगानीकर्ता आफै सचेत हुनुपर्छ,’ उनले भने, ‘सेबोनले गरेको यो निर्णयले गलत कार्यहरुको बारेमा लगानीकर्ताहरुलाई केही हदसम्म जानकारी भए ।’ एनआईसी एशिया क्यापिटलका चिफ अप्रेटिङ अफिसर प्रज्ञरत्न शाक्य सेबोनले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओमा जान नदिनु सकारात्मक रहेको बताउँछन् । संस्थागत सुशानसलाई कडाइ गर्न खोजिएको जस्तो देखिएको उनको भनाइ छ । ‘जस्तो पायो त्यस्तै कम्पनी बजारमा नआओस् भन्न खोजेको छ । किनभने हाम्रा लगानीकर्ताहरु अन्धाधुन्दा लगानी गर्छन् । १० कित्ता त हो नी भन्ने हिसाबले जुनसुकै कम्पनीमा पनि लगानी गरेका छन् । त्यसैले यसलाई कडाइ गर्न खोजेको हो । लगानीकर्तालाई पनि सचेत गर्न खोजेको हो,’ उनले भने । तर, ९० भन्दा कम नेटवर्थ भएका कम्पनी नराम्रो भन्न नमिल्ने उनको तर्क छ । कम्पनी सुरु गरेर एउटा उचाइमा पुर्याएर पब्लिकमा जाँदा संस्थापकहरूको पनि मनोबल बढ्ने उनले बताए । जसबाट कम्पनीको वास्तविक मूल्य पनि स्पष्ट हुने उनको धारणा छ । ‘आईपीओ जारी गर्नु भनेको पुँजी संकलन गर्नु हो । सर्वसाधारणबाट पुँजी संकलन गर्ने कि अन्य विधिबाट संकलन गर्ने भन्ने हो मात्रै हो । राम्रो कम्पनीले आफै पनि पुँजी संकलन गर्न सक्छन्,’ उनले भने, ‘आईपीओ पाइपलाइनमा देखाएर आन्तरिक रुपमा प्रिआईपीओ भनेर कारोबार भइरहेका छन् । त्यस्ता कम्पनीमा वित्तीय विवरण नहेरी लगानी गर्ने लगानीकर्ता सचेत बनेका छन् ।’ नेपाल धितोपत्र बोर्ड (सेबोन)का प्रवक्ता निरन्जय घिमिरे आवेदन रद्द भन्दा पनि पुनः निवेदन दिनु भनेर निर्देशन दिएको बताउँछन् । न्यूनतम दायरा पूरा नभएपछि ती कम्पनीले पुनः आईपीओ निष्काशनका लागि आवेदन दिन सक्ने उनको भनाइ छ ।   

गभर्नरको स्वागतमै राजनीति : एमाले र माओवादी निकट कर्मचारीलाई बाइपास, कांग्रेसी हावी

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले आफ्नै सहकर्मीहरू माथि अन्याय गरेको गुनासो आएको छ । बुधबार नवनियुक्त गभर्नर डा.विश्व पौडेलको स्वागत कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघले अन्य संगठनका कर्मचारीलाई स्वागत कार्यक्रमको जानकारी नदिई आफ्नै संघमा आबद्ध कर्मचारीहरूलाई मात्रै बोलाएर अन्याय गरेको गुनासो नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरूले गरेका हुन् । नेपाल वित्तीय संस्था कर्मचारीले बिहान साढे १० बजेका लागि आफ्ना सदस्य कर्मचारीहरूलाई स्वागतका लागि राष्ट्र बैंकको गेटमा उपस्थित हुन आन्तरिक परिपत्र (सर्कुलर) जारी गरेको थियो । तर, सो विषयमा आफूहरूलाई जानकारी नदिई बाइपास गरिएको अन्य संगठनका कर्मचारीहरूले गुनासो गरेका हुन् । नेकपा एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघकी पूर्वअध्यक्ष गीता पोख्रेल लम्सालले वित्तीय कर्मचारी संघले सर्कुलर जारी गर्दै आफू निकटका कर्मचारीहरूलाई मात्रै बोलाएर अन्य संगठनलाई बाइपास गरेको गुनासो गरिन् । आधिकारिक रुपमा जानकारी नआएपछि आफ्नो संगठनको कार्यालयमा गएर यस विषयमा छलफल गरेको उनको भनाइ छ । ‘बिहान गेटमा वित्तीय कर्मचारी संघका साथीहरूले हामी स्वागत गर्छाैं भनेर सर्कुलर जारी गरेर आफू निकटका कर्मचारीलाई मात्रै बोलाउनु भएछ । त्यसैले हामी गेटमा नबस्ने भनेर कार्यालयमै बसिरह्यौँ,’ उनले भनिन्, ‘तर साढे ३ बजेको स्वागत कार्यक्रममा बोलाइएपछि भने आफ्ना कुराहरू राख्यौँ ।’ उनका अनुसार गभर्नर पौडेलसँग भेटका लागि भोलि (बिहीबार) समय लिइएको छ ।  नेकपा माओवादी केन्द्र निकट संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसी सपथ ग्रहण र पद बहालीको सूचना नआएपछि स्वागतका लागि आफूहरू नगएको जानकारी दिए । ‘कतिबेला सपथ ग्रहण र कतिबेला पद बहाली भन्ने हामीलाई जानकारी थिएन । गभर्नर आउनु भएपछि बेलुका स्वागत कार्यक्रम हुन्छ भन्ने अनुमानसहित हामी तयारी गरिरहेका थियौं । गभर्नरका विषयमा कस्तो किसिमको धारणा राख्ने, कसरी अगाडि बढ्ने भन्ने किसिमले संगठनभित्र छलफल गर्दै थियौं,’ उनले भने, ‘उहाँ आकस्मिक रुपमा आउनु भयो । उहाँ आइसकेपछि मात्रै थाहा भयो कि पद बहाली गरिसक्नु भएछ । त्यतिबेला हामी सबै साथीहरू हाम्रै संगठनको कार्यालयमा बसेर छलफल गरिरहेका थियौं ।’ उनका अनुसार उहाँहरू (वित्तीय कर्मचारी संघ) लाई सपथ ग्रहणदेखि पद बहाली कार्यक्रमका बारेमा जानकारी थियो । त्यसैले उनीहरू शपथग्रहणदेखि कार्यभार सम्हाल्ने सम्म सहभागी भएका थिए । राष्ट्र बैंकको सम्बन्धित विभागले व्यवस्थापन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।  ‘यसमा गभर्नरको दोष छैन, किनकी उहाँलाई जानकारी नहुन पनि सक्छ । भित्री व्यवस्थापनले त्यो कुराहरू थाहा पाएर सर्कुलर गर्नुपर्थ्यो। त्यो कमी कमजोरी भएको छ,’ उनले भने, ‘उहाँले सबैलाई सहभागिता गराएर अघि बढ्ने कुरा गर्नु भएको छ । उहाँले जसरी लैजानु हुन्छ त्यस्तै रेस्पोन्स हाम्रो रहन्छ ।’   साढे ३ बजेको शुभकामना तथा बधाई कार्यक्रममा भने आधिकारिक जानकारी आएपछि आफ्नो धारणा राखेको उनले बताए । विगतको आबद्धतालाई बिर्सिएर राष्ट्र बैंकमा न्यायिक निर्णय र समावेशी सहभागिता गराउनुपर्ने उनको भनाइ छ । एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे गेटमा स्वागतका लागि उपस्थित हुन आधिकारिक सूचना र समयबारे जानकारी नगराउँदा आफूहरू नगएको बताउँछन् । ‘कर्मचारी साथीहरू भेला भएर स्वागत गरेका हुन् । गेटमा भेला भएर उपस्थित हुनका लागि आधिकारिक सूचना थिएन । हामीलाई जानकारी नभएपछि गएनौँ । बैंकको सम्बन्धित विभागहरूले कार्यक्रम आयोजना गर्दा सूचना जारी गर्छ । सोही आधारमा हामी जाने हो,’ उनले भने, ‘बिहान गेटमा स्वागत गर्ने सूचना थिएन । साढे ३ बजेको कार्यक्रमको लागि मात्रै सूचना आयो । त्यसैले पद बहाली कार्यक्रममा सहभागी भएनौँ ।’  कांग्रेस निकट कर्मचारीका अध्यक्ष हरिकृष्ण भट्टराई नवनियुक्त गभर्नरका लागि कर्मचारीहरू स्वःस्फूर्त रुपमा गेटमा पुगेर स्वागत गरेको बताउँछन् । गभर्नर सबै कर्मचारीको हुने भएकाले स्वःस्फूर्त रुपमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । सबै इच्छुक कर्मचारीहरूलाई गभर्नरको स्वागतका लागि बिहान साढे १० बजे गेटमा बोलाइएको उनले बताए । ‘गभर्नर सबै कर्मचारीको हो । आज जतिपनि कर्मचारी उपस्थित भए, उहाँहरू स्वःस्फूर्त रुपमा आएका हुन्,’ उनले भने, ‘पाँच वर्षअगाडि महाप्रसाद अधिकारी गभर्नर भएर आउँदा जुन अवस्था थियो आज पनि त्यही किसिमको वातावरण बनेको मात्रै हो ।’ 

'ममाथि पूर्ण विश्वास गर्दा हुन्छ, सबैले राम्रो भन्ने मौद्रिक नीति ल्याउँछु' {अन्तर्वार्ता }

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले कार्यभार सम्हालेका छन् । बुधबार पदभार ग्रहण गरेका पौडेलले पहिलो निर्णय मुद्रा छपाइसँग सम्बन्धित गरेका छन् । निकै रस्साकस्सीबीच गभर्नर बनेका उनीमाथि चुनौती पनि थुप्रै छन् । गभर्नरका रूपमा राष्ट्र बैंकमा उनको प्रवेश र प्राथमिकताको विषयमा गरिएको संक्षिप्त कुराकानीको अंश गभर्नरमा नियुक्त हुनु भएको छ, अब तपाईंको प्राथमिकता के हो ?  म दुइटा विषयमा बढी जोड दिनेछु । वित्त नीतिले तय गरेका नीतिलाई मौद्रिक नीतिले कार्यान्वयनमा सहयोग गर्छ । मेरो पहिलो प्राथमिकता वित्त नीतिलाई मौद्रिक नीतिले सहयोग गर्ने र दोस्रा, नियमनभन्दा बढी सुपरीवेक्षण गर्ने । धेरै नियम बनाएर मात्रै हुँदैन । सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । बैंकको क्षमता बढाउने हो । बैंकको काम भनेको सर्वसाधारणको निक्षेप जम्मा गर्ने हो । तिनिहरूको निक्षेपको सुरक्षा गर्ने, राम्रो कर्जा नीति ल्याउने, कर्जा नीतिले सहजीकरण गरेको छ/छैन भनेर हेर्ने हो । निरन्तर मूल्याङ्कन गर्ने हो ।  पछिल्लो समय मौद्रिक नीतिप्रति अपेक्षा बढ्दो छ । कसरी सम्बोधन गर्नुहुन्छ ? मैले सधैं नीतिहरू संवादमा आधारित हुनुपर्छ भन्दै आएको छु । हाम्रो देशमा धेरै स्टेकहोल्डर हुनुहुन्छ । सुरुमा मैले आफ्नै सोलुसन ल्याएर त्यही नै गरौं भन्ने पक्षमा म छैन । एक दिन अगाडि नीति ल्याएर त्यसमा जबरजस्ती गराउने काम गर्दिनँ । धेरै विषय हुन सक्छन्, सबैसँग छलफल गरेर मौद्रिक नीति तय गर्छु । त्यसैले सबैले राम्रो अपेक्षा गर्दा ठीक हुन्छ । राष्ट्र बैंकको स्वायत्ततामाथि पनि बारम्बार प्रश्न उठ्ने गरेको छ । तपाईंले राष्ट्र बैंकको स्वायत्तता कसरी जोगाउनुहुन्छ ? ऐनले दिएको अधिकारको हामीले प्रयोग गर्ने हो । झगडा गर्ने कुरा होइन । त्यसैले ऐन अनुसार काम गर्छु । त्यसमा सबै कर्मचारी एकमत नै हुनुहुन्छ । डिमार्केसन कहाँ छ भनेर क्लियर हुनुपर्छ । कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिएको राजीनामा दिनुभएको छ, उहाँको राजीनामा के हुन्छ ?  मेरो हातमा केही पनि आएको छैन । म त भर्खर आएको छु । यो आन्तरिक कुरा हो । पुरानो स्थिति नआउला भन्ने लाग्छ ।  तपाईंमाथि अम्पाएर नै मैदानमा उत्रिएको आरोप छ । यसलाई कसरी लिनु हुन्छ ? रेफ्रीको भूमिकामा रहेको व्यक्तिले दक्ष खेलाडी नदेखेर मैदानमा आउनु भएको हो ? यसमा म केही भन्न चाहँदिनँ । धेरै मान्छे क्षमतावान छन् । मलाई जसले छान्यो उनीहरूलाई गएर सोध्नूहोस् ।  अर्थतन्त्र सुधार हुन सकिरहेको छैन । तपाईं गभर्नर भइसकेपछि अर्थतन्त्रमा सुधार हुने अपेक्षा पनि छ । के के छन् योजना ?  राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान गर्ने काम गर्ने हो । चाहे त्यो पोलिसी रेट होस् वा अन्य । अर्थतन्त्रका धेरै स्टेक होल्डरहरू हुन्छन्, हामीले आफ्नोतर्फबाट गर्ने सबै राम्रो गर्छाैं । साथै अन्य सबै पक्षसँग छलफल गरेर अघि बढ्छौं ।  पहिलो निर्णय के भएको हो ?  पहिलो निर्णय मुद्रा छपाइसँग सम्बन्धित छ । १ हजार रुपैयाँ र ५० रुपैयाँ दरका नोटहरूको डिजाइन गर्ने भनेर निर्णय भएको छ । राष्ट्र बैंकमा मुद्रा डिजाइन समिति हुन्छ । सुरुमा मुद्रा डिजाइन समितिमा पेस गर्न गभर्नरबाट सदर हुनुपर्छ । आजको निर्णय त्यही भएको हो । डिजाइन समितिले पेस गरेपछि सञ्चालक समितिले पारित गर्नुपर्छ । अनि त्यसपछि टेण्डर आह्वान हुन्छ । र, गभर्नरको हस्ताक्षरसहितको नोट आउँछ । 

गभर्नर पौडेललाई पूर्वगभर्नरका सुझाव : अप्रेशनल फ्रिडम कायम राख्नु, देशलाई ग्रे लिष्टबाट हटाउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । पौडेल गभर्नर नियुक्त भएसँगै चुनौती चाङ रहेका छन् । उनीमाथि नेपाललाई ग्रेलिष्टको सूचीबाट बाहिरि निकाल्नुपर्ने चुनौती छ । शिथिल अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने, बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेपलाई लगानीमा रुपान्तरण गर्न कर्जामैत्री वातावरण बनाउनुपर्ने लगायत थुप्रै चुनाीत रहेका छन् । यही बीच राष्ट्र बैंकका पूर्वगभर्नरहरूले उनले आगामी पाँच वर्षमा के कस्ता कार्य गर्नुपर्छ भनेर सुझाव दिएका छन् । तिलक रावल, पूर्वगभर्नर  विश्व पौडेल पढेलेखेको व्यक्ति हो । मसँग धेरै घुलमिल र भेटघाट नभएपनि एकाध सेमिनारहरूमा दुई/चार शब्द मैले पनि बोल्ने र उहाँको बोलि पनि सुन्ने मौका पाएको छु । उहाँ पढेलेखेका राम्रा व्यक्ति हुनुहुन्छ । राष्ट्र बैंकको गभर्नर भएपछि उहाँले आफू कहाँबाट आए, कसरी आए, कसको सहयोगमा आए, कोसँग मेरो संलग्नता वा आवद्धता थियो भन्ने सबै बिर्सेर स्वतन्त्र रुपमा काम गर्नुपर्छ । राष्ट्र बैंकको गभर्नर पदमा बसेपछि आफ्नो लगाव, झुकाब सबै बिर्सेर स्वतन्त्र रुपमा संस्था र देशको अर्थतन्त्रका लागि सहयोग पुर्याउने गरी काम गर्न सक्नुपर्छ । र, देशको अर्थतन्त्र र नेपाल राष्ट्र बैंकको गरिमामा आँच आउने काम कसैलाई गर्न दिन पनि हुन्न र उहाँले पनि गर्नु हुन्न । देशको मौद्रिक नीतिलाई देशको अर्थतन्त्रमा सहयोग पुग्ने गरी तय गर्नुपर्छ । आन्तरिक र बाह्य स्थायित्वलाई खलल नपुग्ने गरी ध्यान दिनुपर्छ । पढेलेखेको व्यक्ति भएको हुँदा राम्रो नै गर्नु हुन्छ भन्ने आशा छ । आफ्नो ‘अप्रेसनल फ्रिडम’ कायम राखेर काम गर्न सक्नुपर्छ ।  तिलक रावल, पूर्वगभर्नर  देशको अर्थतन्त्रको स्थिति राम्रो छैन । अलिअलि गति लिन लागेको भन्ने सुनिएपनि त्यति धेरै राम्रो भएको छैन । सत्तामा भएका व्यक्तिहरूले पनि भन्दै आउनु भएको छ । तर, त्यसको दोषी प्रधानमन्त्री र अर्थमन्त्री मात्रै होइनन् । त्यसैले अर्थतन्त्रलाई सहयोग पुग्ने गरी काम गर्नुपर्छ । त्यसको लागि उहाँले आन्तरिक र बाह्य स्थायित्वलाई ध्यानमा राख्न सक्नुपर्छ । राष्ट्र बैंकको ऐनमा उल्लेख भए बमोजिम सरकारको बजेट सार्वजनिक भएपछि त्योसँग तादम्यता मिलाउने गरी मौद्रिक नीति ल्याउनुपर्छ ।  वित्तीय क्षेत्रमा पनि धेरै समस्याहरू रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित ठूला बैंकको स्थिति पनि राम्रो छैन । लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सकेका छैनन् । ठूला बैंकले ५ प्रतिशतको नगद लाभांश दिन सकेपनि हुन्थ्यो भन्ने स्थितिमा लगानीकर्ताहरु रहेका छन् । त्यसैले सरकार, राष्ट्र बैंक र ठूला बैंकका व्यवस्थापकहरूले गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ ।  माओवादी युद्ध देशमा चर्किएको बेलामा म राष्ट्र बैंकको गभर्नर थिएँ । त्यस्तो विषम परिस्थितिमा पनि बैंक वित्तीय संस्थाहरुले राम्रो पर्फमेन्स गरेका थिए । राम्रो नाफा आर्जन गरेका थिए । सरकारको राजस्वमा ठूलो योगदान पुर्याएका थिए । त्यस्तो परिस्थितिमा पनि राम्रो गरिरहेका बैंक वित्तीय संस्थाहरू अहिले कठिन स्थितिमा छन् । त्यसैले बैंकका व्यवस्थापकहरूले आफ्नो उत्तरदायित्वलाई सम्झेर सुधार ल्याउने गरी काम गर्नुपर्छ । उनीहरुलाई सहज बनाउन अनुकल वातावरण राष्ट्र बैंकले दिनुपर्छ ।  दीपेन्द्र बहादुर क्षेत्री, पूर्वगभर्नर हामीले चैतको २४ गते अगाडि नै गभर्नर पाउनुपर्ने हो । तर, ढिलै भएपनि गभर्नर नियुक्त भएको छ, खुसीको कुरा हो । उहाँले सुरुमा कानूनी झण्झटबाट पार पाउनुपर्छ । त्यहाँबाट पार पाउनु भयो भने आफ्ना सहयोगीहरूसँग सहयोग प्राप्त गर्ने वातावरण श्रृजना गर्नुपर्छ । यी दुईटै बैंकिङ क्षेत्रभन्दा बाहिरिका तत्व हुन् । त्यो सबै गरेपछि उहाँले अर्थतन्त्रको अहिलेको जटिलता हटाउन सक्नुपर्छ । अहिले ब्याजदर निकै घटेको भएपनि बैंकहरूले लगानी गर्न सक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकले ३ प्रतिशत ब्याज तिरेर ४०/५० अर्ब रुपैयाँ खिच्नुपर्ने बाध्यता छ । त्यसमा एउटा व्यवहारिक उपाय ल्याउन सक्नु भयो भने लगानीमा मद्दत पुर्याउँछ । साथै निक्षेपलाई निरुत्साहित हुनबाट रोक्न सक्ने अवस्था हुन सक्छ । हामी ग्रेलिष्टमा परेको हुँदा त्यसबाट बाहिर निस्किनका लागि उहाँले काम गर्नुपर्छ । सरकारले त्यति धेरै फुर्सद पाउँदैन, गफगाफ मात्रै गर्छ र सबै राष्ट्र बैंकको जिम्मा लगाउँछ । धेरै जसो काम बैंक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने हुन्छ । सहकारीमा ठूलो समस्या आयो भनेर अन्तर्राष्ट्रिय हल्ला चलेको छ । सहकारीमा ८६/८७ अर्ब रुपैयाँ घोटला पनि भएको छ । त्यो रकम सहकारीहरुसँग खातामा छ तर जम्मै मोटर र जग्गामा लगानी थुप्रिएको छ । त्यसलाई निकालेर निक्षेपकर्ताहरुको बचत फिर्ता गर्ने र स्वस्थ ढंगले सहकारीलाई सञ्चालन गर्ने चुनौती उहाँको सामु छ ।    दीपेन्द्र बहादुर क्षेत्री, पूर्वगभर्नर चिरञ्जीवी नेपाल, पूर्वगभर्नर आगामी गभर्नरले वित्तीय स्थायित्व, आन्तरिक अर्थतन्त्र चलायमान र ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । साथै सरकारले लिएका आर्थिक विकासका कार्यक्रम तथा नीतिलाई सहयोग गर्दै समग्र आर्थिक उन्नतीलाई टेवा दिने गरी काम गर्नुपर्ने हुन्छ । प्रविधिले असर गर्नेमा वित्तीय क्षेत्र पनि भएकाले प्रविधिमा पनि जोड दिनुपर्ने हुन्छ । प्रविधि पनि छिटोछिटो परिवर्तन भइरहेको छ । अब कृत्रिम बौद्धिकता (एआई)को जमाना आइसकेको छ । केन्द्रीय बैंक आफैले क्रिप्टोकरेन्सी निकाल्नु् पर्ने बेला भइसकेको छ । जबकि कुनै बेला गाउँगाउँमा बैंक पुगेको थिएन । त्यतिबेला गाउँगाउँमा सहकारी, लघुवित्तलाई पुर्याउनुपर्ने अवस्था थियो । अब बैंक गाउँगाउँमा पुग्यो । त्यसैले ठूलो आकारका बैंक र विशिष्टिकृत बैंक आवश्यक भइसकेको छ ।  उहाँले अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको प्रविधिमा नेपालको वित्तीय क्षेत्रलाई पनि त्यसमा गाँस्न सक्नुपर्छ । चाहे नीति नियम होस् चाहे आन्तरिक काम कारवाही होस् हरेक पटक केन्द्रीय बैंकले प्रविधिमा अपग्रेड भइराख्नुपर्छ । समय सापेक्ष वित्तीय क्षेत्रको आकार, दायित्व, जिम्मेवारी बढ्दै गएको छ । वित्तीय क्षेत्रमा ठगी र साइबर अपराध बढिरहेकाले यो चुनौती सामना गर्नुपर्ने हुन्छ ।  केन्द्रीय बैंकले क्षेत्रगत रुपमा मौद्रिक नीति र सरकारले ल्याएको बजेटलाई दृष्टिगत गर्नुपर्छ । बजेटको आर्थिक वृद्धि र मुद्रास्फीतिमध्ये केन्द्रीय बैंकले हेर्ने भनेको मुद्रास्फीति हो । केन्द्रीय बैंकले मनपरी रूपमा बजारमा पैसा जान दिने होइन । पैसालाई सही ठाउँमा लगानी पुगोस् भनेर वित्तीय व्यवस्थापनमा केन्द्रीय बैंकको भूमिका हुन्छ । कुन क्षेत्रमा कति आवश्यक छ, कुन क्षेत्रमा आवश्यक छैन भनेर केन्द्रीय बैंकले हेर्नुपर्छ । 

विद्युतीय सवारीमा कर वृद्धिको त्रास, बैंकमा एलसी खोल्नको भीड

काठमाडौं । बैंकिङ क्षेत्रमा लामो समयदेखि सुस्त बनेको कर्जा प्रवाह पछिल्लो समय केही बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने दिन नजिकिदै गर्दा व्यवसायीले बैंकमा पुगेर धमाधम प्रतिपत्र (एलसी) खोलिरहेका छन् । विगतमा कर्जा प्रवाह भएन भनेर गुनासो गर्ने बैंकरहरू अहिले विद्युतीय गाडी (ईभी)को एलसी खोल्नमा व्यस्त छन् । बजेट निर्माणमा व्यस्त रहेका अर्थमन्त्री विष्णु पौडेलले ईभीमा कर बढाउन लागेको संकेत पाएपछि व्यवसायीहरू बजेटअघि नै गाडी आयात गर्न थालेका हुन् । अर्को साताको बिहीबार बजेट ल्याउने गरी अर्थमन्त्री पौडेलको अहिले दौडधूप निकै बढेको छ । उनले बजेटमार्फत ईभीमा कर बढाउन लागेको सूचना चुहिएपछि व्यवसायीले धेरै गाडी आयातको लागि एलसी खोल्न थालेको बैंकर्सको अनुमान छ ।  अनौपचारिक सूचनाका आधारमा अटाे व्यवसायीहरू धमाधम एलसी खोलेर ईभी भित्र्याइरहेका छन् । कर बढेपछि गाडीको मूल्य बढ्ने हुनाले व्यवसायीले अहिले नै गाडी आयात गरेर बजेटपछि मात्रै बिक्री गर्ने रणनीतिका साथ गाडीको लागि एलसी खोलिरहेका जानकारहरू बताउँछन् ।  अहिले व्यवसायीहरू एलसी खोल्न जोडबलका साथ लागिरहेको बैंकरहरू बताउँछन् । विगतमा बजेटको पूर्वसन्ध्यामा स्टील, डण्डीको एलसी खोल्न माग आउने गरेकोमा पछिल्लो समय ईभीका लागि बढी आउने गरेको बैंकरहरू बताउँछन् । ईभी आयातका लागि एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको एलसी खोलेको बैंकको उच्च अधिकारीले बताए ।  गत वर्ष बजेटअघि तीन हजार बढी गाडी आयात भएका थिए । यस वर्ष पनि सोही हाराहारीमा बजेटअघि सवारी आयात हुने अनुमान गरिएकाे छ । विगतको तथ्याङ्क अनुसार यस वर्ष बजेट अगाडि १० अर्ब रुपैयाँ बराबरको ईभी आयात हुन सक्ने अनुमान बैंकरहरूले गरेका छन् । ग्रीन फाइनान्सिङ अन्तर्गत रहेर बैंकहरूले विद्युतीय सवारीमा जोड दिइरहेका छन् । सरकारको नीति अनुरूप इन्धन खपत कम गर्न विद्युतीय सवारीलाई जोड दिएको बैंकरहरू बताउँछन् । ग्लोबल आइएमई बैंकका अनुसार अघिल्ला महिनाहरूको तुलनामा अहिले एलसीको माग बढेको छ । तर, बैंकले त्यो अनुपातलाई भने अझै उत्साहप्रदका रूपमा लिएको छैन ।  ‘ग्लोबल आईएमई बैंकमा राम्रो भोलुममा एलसी कारोबार भइरहेको हुन्छ । बैंक ठूलो भएकाले पनि बढी हुनु स्वाभाविक हो । विगतको तुलनामा ईभीको एलसी कारोबार बढेको नै छ,’ बैंकका एक उच्च अधिकारीले भने, ‘कर वृद्धिको आशंकाले ईभीको एलसी खोल्नु पर्‍यो भन्दै व्यवसायीहरू बैंकमा आउनुहुन्छ ।’   उच्च दरमा कर बढ्छ भन्ने हिसाबमा व्यवसायीहरू अकस्मात् बैंकमा धाइरहेका छन् । बजारमा माग नहुँदा व्यवसायीहरू उत्साहित नभएपनि मूल्य बढ्छ भन्ने हिसाबले सक्रिय भएर लागिरहेको बैंकका ती अधिकारीले बताए ।  ‘हामीसँग कारोबार गरेर आयात गर्ने व्यवसायीहरूमा एकरूपता नै छ । आक्रामक रुपमा आयात गर्न बैंकले पनि सुझाव दिँदैन । त्यसैले सन्तुलित भएर आयात गरिरहनु भएको छ । बजेटमा धेरै तलमाथि हुन्छ भन्ने हिसाबले आयात गर्नु भनेको हचुवाको भरमा काम गरे सरह हो,’ बैंकका ती अधिकारीले भने, ‘हचुवाका भरमा आयात गर्नेलाई बैंकले सहयोग गर्दैन ।’  सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन आचार्य विगतका महिनाको तुलना गर्दा वैशाख र जेठमा धेरै ईभी आयात हुने गरेको बताउँछन् । साथै गत वर्षजस्तै यस वर्ष पनि सोही ट्रेण्ड रहन सक्ने उनको अनुमान छ । ‘ईभीमा कम्तीमा पनि १० प्रतिशत कर वृद्धिको अनुमान व्यवसायीले गरेका छन् । यदि १० प्रतिशत बढ्यो भने बजेट अगाडि ल्याउँदा त्यसको भन्सार लाग्ने भएन । त्यसैले अगाडि नै आयात गर्नुहुन्छ,’ उनले भने, ‘प्रतिगाडी ३० लाख रुपैयाँका दरले ३ हजार बढी आयात हुँदा १० अर्ब बराबरको एलसी खोलिन्छ । त्यसैले बजेटमा कर बढ्छ भनेर फाइदा लिनका लागि अहिले नै आयात गरिरहेका छन् ।’   सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पनि कर बढाएको थियो । सरकारले किलोवाट अनुसार विद्युतीय गाडीको भन्सार र अन्तशुल्क बढाएको थियो । सरकारले चालु आवको बजेटमार्फत ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत अन्तशुल्क वृद्धि गरेको थियो । अहिले ५० किलोवाटसम्मका ईभीमा भन्सार र अन्तशुल्क गरेर १५ प्रतिशत कर लाग्ने गरेको छ ।  यस्तै, ५१ भन्दामाथि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ भने १०१ भन्दा भाथि २०० किलोवाटसम्मको गाडीमा ३० प्रतिशत भन्सार शुल्क र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।  हाल २०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ । यस्तै, ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लाग्दै आएको छ । अब किलोवाट अनुसार सरकारले १० प्रतिशतसम्म कर बढाउने चर्चा व्यवसायीहरू माझ छ । त्यसकारण पनि एलसी खोलेर व्यवसायीले धमाधम गाडी आयात गरिरहेका छन् ।  सम्बन्धित सामग्री : मदिरामा २० प्रतिशत कर बढ्ने सूचना अर्थबाटै चुहियो, विष्णुले महत र पुनको नीति उल्ट्याउँदै