विकासन्युज

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो

काठमाडौं । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोग) को जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छवटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।  उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एकैपटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए ।  यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उनले बताए । ‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुनसक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो।  ‘ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए,’ उनले भने, ‘तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौं ।’ उनका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ ।  उनले एकैव्यक्तिको मस्तिष्कमा छवटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताए । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमैमात्रामा हुने गर्दछ ।  उनले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताए । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ ।  न्युरो सर्जरी विभाग प्रमुख  डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उनले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गरेका छन् । ‘अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको छु,’ उनले भने, ‘तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्व गर्यौं ।’ अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । उनले अहिले बिरामीको अवस्था ठीक भइसकेको जनाए ।

वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेनजीको माग

काठमाडौं । जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न माग गरेको छ । जेनजी समुहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो ।  जेनजी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले वाइडबडी र लाउडा एयर घोटालाको छानबिन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए ।  अदालतबाट दोषि ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उनले बताए । साथै करार कर्मचारीहरू संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए । निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ । आफूहरूको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरेका छन् । जेनजीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए । जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए । जहाज विक्री गर्दा ग्राउण्डेड गराएर मात्रै विक्री गर्ने गरिएको उनको भनाई छ । उनले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताए ।  जेनजी समुहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पती विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातासँग आबद्ध ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ सेक्सनमा गएर ‘चेन्ज इमेल’ विकल्प छान्दै सहज रूपमा ईमेल ठेगाना अद्यावधिक गर्न सक्छन् ।  यसका साथै बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि ईमेल ठेगाना परिवर्तनको आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । बैंकले समयमै ईमेल ठेगाना अद्यावधिक गरेमा ग्राहकहरूलाई बैंकका सेवासम्बन्धी सूचना, नोटिफिकेसन र महत्वपूर्ण जानकारीहरू सहज रूपमा प्राप्त हुने बताएको छ। यदि ईमेल ठेगाना अद्यावधिक गर्न कठिनाइ भएमा ग्राहकहरूले नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र फोन नं. १६६०–०१–७७७७१, ०१–५९७०१०१० मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले ग्राहकहरूलाई बैंकिङ सेवामा अझ बढी सहजता र सुरक्षा सुनिश्चित गर्नका लागि यो कदम चालिएको जानकारी दिएका छन् ।

गुल्मीका भण्डारीले कृषिबाटै कमाए ३ लाख, २ सय बोट कागतीको उत्पादन बेच्न बाँकी

काठमाडौं । गुल्मीको धुर्कोट–५ बस्तुका कृषक निमकान्त भण्डारीले कृषिकर्मबाटै यस वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका छन् । ६८ वर्षको उमेरमा पनि भण्डारी कृषि पेशामै सक्रिय छन् । भण्डारीका छिमेकी रमेश भण्डारीका अनुसार निमकान्तले यस वर्ष भैँसी बिक्रीबाट मात्रै ८० हजार रुपैयाँ कमाएका छन् । यस्तै, उनले दुईवटा बोका बिक्रीबाट ३९ हजार रुपैयाँ आम्दानी गरेका छन् । केरा बेचेर ५५ हजार र खुर्सानीबाट २५ हजार रुपैयाँ आम्दानी गरेका छन् । निमकान्तले गत सिजनको सुन्तला बिक्रीबाट ८७ हजार रुपैयाँ आम्दानी गरेका थिए । उनी भन्छन्, 'यस वर्ष सवा लाख जतिको सुन्तला बेचिएला ।' उनले आफ्नै खेतमा उत्पादन भएको धान र मकै बेचेर पनि ५० हजार रुपैयाँ कमाएको बताए । साथै, सुकेको घाँस र पराल ३० हजार रुपैयाँमा बिक्री भएको निमकान्तको दाबी छ । उनको बारीमा १०५ गाज केरा, ८ सय बोट सुन्तला र २ सय बोट कागती रहेका छन् । उनले अकबरे खुर्सानीको खेतीसमेत गरेका छन् । उनको गोठमा विभिन्न जातका भैँसी र बाख्रासमेत रहेका छन् ।

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्युनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरुले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे । उनले सबै सञ्चारकर्मीहरुलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए ।  सञ्चारमन्त्री खरेलले भने, ‘मैले सचिवज्युलाई म आएलगत्तैको हप्तामा यो कुरा राखेको पनि छु कि कसरी हामीले अव सामाजिक सुरक्षा कोषको दायरामा पत्रकारलाई, सञ्चारकर्मीलाई ल्याउन सकिन्छ । अब कसरी व्यवहारिक रुपमा सकिन्छ त ? यसको व्यवहारिक पाटो पनि हेर्दै कम्तिमा शुरुवात गरेर अगाडि बढियो । र एउटा फाउण्डेशन, बेसलाईन बनाइयो भने अगाडि बढन सकिन्छ ।’ मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि जानकारी दिए ।   

सेयर बजारमा ७८.८३ अंकको गिरावट, २५ सयमा रोकियो बजार

काठमाडौं । आइतबार सेयर बजारमा भारी अंकले गिरावट आएको छ । जेनजी आन्दोनल, बाढी पहिरो र सुनको मूल्यमा भएको वृद्धि लगायत कारण सेयर बजार ओरालो लागेको लगानीकर्ताहरु बताउँछन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.०५ प्रतिशत अर्थात् ७८.८३ अंकले घटेको छ ।  २ हजार ४ हजार ९३ अंकमा झरेको सेयर अन्तिम समयमा भने २ हजार ५०३.८३ अंकमा बन्द भएको छ । लगानीकर्ताहरुले २५ सय विन्दुलाई बटम लाइनका रुपमा लिएका छन् ।  आज दिनभरीमा ३२४ कम्पनीको सेयर कारोबार हुँदा २४२ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । नेप्सेका अनुसार १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर ६७ हजार पटक किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज बैंकिङ समूह २.३० प्रतिशत, विकास बैंक समूह २.९३ प्रतिशत, फाइनान्स समूह ३.६७ प्रतिशत, होटल तथा पर्यटन समूह ४.८४ प्रतिशत, जलविद्युत समूह ३.७९ प्रतिशत, लगानी समूह ३.१३ प्रतिशत, जीवन बीमा समूह २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.९४ प्रतिशत, लघुवित्त समूह २.८८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९९ प्रतिशत, निर्जीवन बीमा समूह २.३२ प्रतिशत, अन्य समूह ४.७९ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।  आइतबार नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक ३८ करोड ७ लाख ४७ हजार रुपैयाँ बराबर कारोबार भएको छ । यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी होल्डिङ्गको २२ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशत घटेको छ । यस्तै, नेपाल पुनर्बीमाको ९.१५ प्रतिशत, राधी विद्युत पावरको ८.५० प्रतिशत, सीईडीबीको ८.४५ प्रतिशत र विन्धवासिनी हाइड्रोको ८.२७ प्रतिशत सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

झडपमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको बताएका छन् । काबुलमा आइतबार पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् ।  उनका अनुसार जवाफी कारबाहीमा २० पाकिस्तानी चौकीमा कब्जा गरिएको थियो, तर झडप सकिएपछि ती फिर्ता गरिएका थिए । जबिहुल्लाह मुजाहिदको दाबीमा अहिलेसम्म पाकिस्तानको कुनै प्रतिक्रिया आएको छैन । यद्यपि गृहमन्त्री मोहसिन नकवीले शनिबार राति दाबी गरेका थिए कि अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको छ । प्रवक्ताले झडपको क्रममा ९ जना तालिबानका सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरेका छन् । जबिहुल्लाह मुजाहिदले आरोप लगाएका छन् कि आईएसआईएसको प्रमुख पाकिस्तानमा छ र यो संगठन हाल पनि खैबर पख्तूनख्वाह र बलुचिस्तान प्रान्तहरूमा सक्रिय छ । उनले अफगानिस्तानबाट आईएसआईएस नरहेको दावीसमेत गरे । आईएसआईएसका प्रशिक्षण केन्द्र पाकिस्तानमा स्थापित रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको उनले बताए । उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत यात्रा कुनै देशको विरोधमा नभएको र यसमा आपत्ति जनाउन पनि नहुने बताए ।

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर, आफैँले दिएका सुझाव कार्यान्वयनमा चुक्दै अर्थमन्त्री

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको तीन महिना बित्न लाग्दा कार्यान्वयनको अवस्था पोहोरको कमजोर देखिएको छ । सुस्त सरकारी कार्यशैली, पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो ।  सरकारी खर्च, आम्दानीको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत उठाएको छ । अघिल्लो वर्षको यस अवधिमा सरकारले कुल राजस्व १६.६६ प्रतिशत उठाइसकेको थियो । खर्च प्रणाली पनि सरकारको उस्तै कमजोर देखिएको छ । असोज महिना सकिनै लाग्दा अहिलेसम्म सरकारले कुल बजेट १७.२ प्रतिशत खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा सरकारले १७.६८ प्रतिशत बजेट खर्च भएको थियो । कुल बजेट मध्ये चालु आवको समीक्षा अवधीमा तलब भत्तासहितमा हुने खर्च अर्थात चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत बजेट खर्चेको छ भने विकास बजेट एकदमै कम अर्थात विनियोजितको ८ प्रतिशत मात्रै खर्चेको छ ।  रोचक कुरा त, उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष भएर सरकारलाई केही महीनापहिल्यै सरकारी प्रणालीमा रहेका समस्याहरू सुधारका लागि प्रतिवेदन बुझाएका उनै रामेश्वर खनाल अहिले अर्थमन्त्री छन् । उनै अर्थमन्त्री खनाल आफैँले बनाएका सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने तहमा पुगेपनि केही गर्न सकेका छैन् । बजेट कार्यान्वयनमा समेत आफैँले देखाएका समस्यालाई समाधान गर्न खनाल चुक्दै गएको सरकारी निकायले उपलब्ध गराएको तथ्यले प्रष्ट पारेको छ ।