विकासन्युज

भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू

भारत । भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ। नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसदले पारित गरेको नयाँ कानून सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी र नागरिक समाज समूहले गरेको व्यापक विरोध प्रदर्शनको परिणामस्वरुप यो महत्वपूर्ण कानुन लागू भएको हो । रासस

विर्तामोडमा ६ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे

झापा । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरपालिकाले छ वर्षको अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताइन् । उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । ‘हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौं’, उनले भनिन, ‘अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।’ नगर क्षेत्रमा एक सय ८४ ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक विछ्याउने काम भएको छ । सो अवधिमा विपन्न समुदायका लागि पाँच सय ३७ आवास निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिए । उनका अनुसार पालिकाले तीन वटा झोलेङ पुल, आठ वटा फलामे पुल र दुई सय ३४ किलोमिटर क्षेत्रमा तटबन्धन गरेको छ भने खानेपानीका लागि छ हजार तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरेको छ । आगामी पाँच वर्षभित्रमा प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिइएको छ । नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेर सेवा दिइरहेको छ । रासस

६ महिना नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छ : सचिव काफ्ले

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए । उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रुपमा विकास हुने जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने बताए । धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्ववद्यालय सबै मिल्न आवश्यक रहेको बताए । संसारमै नभएका कुराहरु रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने जिकिर गरे । ‘मान्छेहरुलाई ६ महिना भन्दा बढी कुनै मानिसले रिसर्च गर्छ भने त्यसलाई स्टुडेण्ट भिसाको रुपमा दिऔँ । १५ लाख पर्यटक मध्ये ५ लाख मान्छे स्टुडेण्ट ल्याऔँ न । सरकार, समुदाय, निजी संस्थाले केके गर्नुपर्छ त्यसको छलफल गरौँ’, उनले भने । सचिव काफ्लेले विश्वविद्यालयको शिक्षलाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताए ।

भूकम्पको नौ वर्षपछि २ करोडमा असनको ‘इटाचापा’ को पुनःनिर्माण

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौं महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ । विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौं महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा मा पुनःनिर्माण थालिएको उनले सुनाए । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उनले बताए । ल्हासा–काठमाडौं यात्राका क्रममा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए ।

एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ । एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन् । विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी सङ्घीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो । सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ । हस्ताक्षर समारोहमा बोल्दै नियाजले विकास प्रक्रियामा निजी क्षेत्रको सहभागिताको लक्ष्य हासिल गर्न यो कार्यक्रमले लामो यात्रा तय गर्ने बताए । रासस

४ अर्बको लगानीमा भरतपुर विमानस्थल विस्तार गरिने, नयाँ टर्मिनल बनाउन २ अर्ब खर्च हुँदै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ । महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोध पछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो । प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उहाँकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो । यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतका उपस्थितिमा पटकपटक बैठक बसेका थिए । विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो । यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् । भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुँदैछ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न दुई अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदैछ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ । प्रमुख दाहालले भनिन्, ‘अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।’ चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् । विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसैँ घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यती लगायतका एयरलाइन्सका एटिआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस

सवा २ करोडको खर्चमा बन्यो पालिकाको प्रशासनिक भवन

खोटाङ । जन्तेढुंगा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन् । रासस

प्रहरीद्वारा एक करोडको सामान बरामद

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो । प्रहरीले दुई लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट गैरकानुनी रुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर कुखुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताए । यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताए ।