आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्याउने विश्वास लिएको छ।
अडानीले अम्बानीलाई पछि पारे, रियालन्स इन्डस्ट्रिजसँगको गत वर्षको सम्झौता दोब्बर
काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले २०२४ मा लगानीकर्ताहरूलाई नकारात्मक प्रतिफल दियो । दश वर्षभन्दा बढी समयपछि पहिलो पटक यस्तो भएको हो । यसका साथै मर्जर र प्राप्तिको सन्दर्भमा पनि अडानी समूहले रिलायन्स इन्डस्ट्रीजमाथि अग्रता लिएको थियो। बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार गौतम अडानीका कम्पनीहरूले गत वर्ष ६.३२ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका थिए भने रिलायन्सले केवल ३.१४ अर्ब डलरको मर्जर र अधिग्रहण सम्झौतामा हस्ताक्षर गर्न सफल भएको थियो । २०२३ को तुलनामा अडानीको सम्झौता २६५.३ प्रतिशतले बढेको छ भने रिलायन्सको सम्झौता ६४.२ प्रतिशतले घटेको छ । रिलायन्स भारतकाे दोस्रो ठूलो औद्योगिक घराना हो भने अडानी समूह तेस्रो ठूलो औद्योगिक घराना हो । टाटा समूह पहिलो नम्बरमा छ । विगत ६ वर्षदेखि रिलायन्स र अडानी समूहबीच मर्जर र अधिग्रहणमार्फत आफ्नो क्षेत्र विस्तार गर्न प्रतिस्पर्धा भइरहेको छ । सन् २०२४ मा देशमा कुल ९८.७ बिलियन मूल्यको एमएन्डए सम्झौताहरू भएका थिए, जसमध्ये शीर्ष ५ सूचीबद्ध कम्पनीहरूको हिस्सा लगभग १५.२८ प्रतिशत छ । आम्दानीको हिसाबले शीर्ष १० समूहहरूको हिस्सा १६ प्रतिशत छ । यदि हामीले विगत पाँच वर्षको तथ्याङ्क हेर्यौं भने रिलायन्सले २०२० मा २६.०८ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । त्यसपछि कम्पनीले आफ्नो खुद्रा र दूरसञ्चार उद्यममा रहेको आफ्नो हिस्सेदारी बेचेको थियो । २०२२ मा अडानी समूहले १६.५६ अर्ब डलरको सम्झौता गरेको थियो । यसमा सिमेन्ट क्षेत्रमा समूहको प्रवेश समावेश थियो । सन् २०२४ मा जेएसडब्ल्यूले २.३२ अर्ब डलरको सम्झौता गरेको थियो भने टाटा समूहले १.६६ अर्ब डलरको एमएन्डए सम्झौता गरेको थियो । बिर्ला एभीले १.६४ अर्ब डलरको सम्झौता गरेको थियो । यसैगरी, लार्सन एण्ड टुब्रोले ०.२७ अर्ब डलरको सम्झौता गरेको थियो । निजी इक्विटी र सार्वभौम लगानीकर्ताहरू एमएन्डएमा महत्त्वपूर्ण खेलाडीको रूपमा देखा परेका छन् । सन् २०२३ मा भारतीय कम्पनीहरूले कुल ८३.२ अर्ब डलरको सम्झौता गरेका थिए भने सन् २०२२ मा यो संख्या १९३.२ अर्ब डलर थियो । यो सन् २०२१ मा १४१.६ अर्ब डलर, २०२० मा ११५.४ अर्ब डलर र २०१९ मा ११६.३ अर्ब डलर थियो ।
अमेरिकामा धेरै खर्च भएपछि नेपालमै जमे अल्बर्ट, बाँचिरहेका छन् तनावरहित र आनन्दमय जीवन
काठमाडौं । अल्बर्ट ग्रिनवुड हाल ५६ वर्षका भए । उनले आफ्नो करिअरभर राम्रो तलब दिने जागिर गरे तर, उनी अमेरिकामा बढ्दो मुद्रास्फीतिप्रति चिन्तित थिए । अवकाशपछि जीवन कठिन हुनेछ भन्ने डरले उनलाई गाजेको थियो । बढ्दो खर्चबाट थकित ग्रिनवुडले धेरै अमेरिकीहरूजस्तै विदेश जाने निर्णय गरे । ग्रिनवुड नेपाल आएका हुन्, यहाँ थोरै अमेरिकीहरू बस्छन् । उनकी श्रीमती काठमाडौंमै हुर्केकी थिइन् । उनी आफ्नो परिवारसँग नजिक रहन र कम लागतमा राम्रो जीवन बिताउन यहाँ सरेका हुन् । धेरै अमेरिकीहरू आजकल अवकाश लिनको लागि सस्तो ठाउँ खोजिरहेका छन् । ग्रिनवुड सन् २०२३ मा यहाँ आएका हुन् । त्यसबेलादेखि उनको बचत र अवकाश आम्दानीले जीवनलाई कम तनावपूर्ण र रमाइलो बनाएको छ । ग्रिनवुड दर्जनौं अमेरिकीहरूमध्ये एक हुन् जो अवकाश पछि विदेशमा बसोबास गरिरहेका छन् । उनले अमेरिकामा अवकाशको लागतको बारेमा चिन्ता व्यक्त गरे । धेरै अमेरिकीहरू अवकाशको लागि पूर्ण रूपमा तयार छैनन् । धेरै सेवानिवृत्तहरू भन्छन् कि उनीहरूको बचत प्रायः पर्याप्त हुँदैन । न्यूयोर्क र बोस्टनमा अध्ययन ग्रिनवुड फिलाडेल्फियामा हुर्केका थिए । उनले आफ्नो कलेज शिक्षा न्यूयोर्क र बोस्टनमा गरे । उनले एमबीए गरेका छन् । धेरै ब्रान्ड व्यवस्थापन र व्यवसाय विकास कार्यहरू उनले सम्हालेका छन् । आफ्नो करिअरको केही वर्षभित्रै उनले राम्रो कमाउन थाले । त्यसपछि उनी न्यूयोर्क सहरको एक एसियाली खाद्य कम्पनीको बिक्री प्रमुख बने । ग्रिनवुडले ५५ वर्षको उमेरमा अवकाश लिए । ग्रिनवुडलाई थाहा थियो कि उनी अमेरिकामा आरामसँग अवकाश लिन सक्छन् । तर, उनी बढ्दो स्वास्थ्य सेवा लागतको बारेमा चिन्तित थिए । उनले कम्पनीबाट स्वास्थ्य बीमा पनि लिएका थिए, तर त्यो त्यति राम्रो थिएन । उनी न्यूयोर्कको जाडो र देशको राजनीतिक वातावरणबाट पनि थकित थिए । उनी र उनकी ३९ वर्षीया श्रीमती आईभीएफमार्फत बच्चा चाहन्थे । तर, यसको लागत ६० हजार डलर (८३ लाखभन्दा बढी) अनुमान गरिएको थियो । बढ्दो घर भाडाले उनीहरूलाई अन्य विकल्पहरू पनि विचार गर्न बाध्य बनायो । उनी न्यूयोर्क सहरको उत्तरमा रहेको वेस्टचेस्टर काउन्टीमा रहेको एउटा सानो घरको भाडा प्रति महिना ३ हजार ५०० डलर (४ लाख ८४ हजार ५००) तिर्थे । भाडा र अरू सबै कुराको बीचमा राम्रो तलब हुँदा पनि बचत गर्ने धेरै ठाउँ थिएन । उनलाई न्यूयोर्कको सामाजिक वातावरण धेरै आक्रामक लाग्यो । उनी अवकाशमा बाँच्न सक्षम हुन सक्थे होला । तर, उनी कुन स्तरमा यो काम गर्छन् भन्ने सोचमा थिए । २०२३ मा श्रीमतीसँग नेपालमा बसोबास ग्रिनवुड र उनकी श्रीमती अवकाशपछि नेपाल जान चाहन्थे । केही वर्षको आर्थिक योजनापछि उनीहरू मे महिनाकाे पहिलाे दिनै यहाँ आए । काठमाडौं आउनुभन्दा एक वर्ष अगाडि ग्रिनवुडले आफ्नो घर बेचेका थिए । उनले सबै महत्त्वपूर्ण काम पहिले नै सम्पन्न गर्ने प्रयास गरे । उनले आफ्ना बिरालाहरूलाई नेपाल कसरी लैजाने भनेर पनि निर्णय गरिसकेका थिए । उनी आफ्नी श्रीमतीमार्फत प्राप्त गरेको दीर्घकालीन भिसालाई अन्तिम रूप दिँदै राजाको दरबार नजिकै भाडाको घरमा केही समय बसे । उनले सहरको एक भव्य क्षेत्रमा बगैंचासहितको चार बेडरुम भएको घर लगभग १,१५० डलर (१ लाख ५९ हजार १९७ रुपैयाँ) मा भाडामा लिए । अमेरिकाकाे तुलनामा यहाँ भाडामात्र सस्तो नभइ खानाको मूल्य लगभग आधा छ । जबकि औषधिहरू प्रायः एक तिहाइ मूल्यमा उपलब्ध हुन्छन् । ग्रिनवुड र उनकी श्रीमतीले बिजुलीमा महिनाको ३५ डलर (करिब ५ हजार रुपैयाँ) खर्च गर्छन्, जुन सधैं लगभग उस्तै रहेको उनको भनाइ छ । उनीहरूको मोबाइल योजना प्रति महिना लगभग ७ डलर (करिब एक हजार ) छ । उनी फोहोर व्यवस्थापनको लागि हरेक छ महिनामा २२ डलर (३ हजार रुपैयाँ) तिर्छन् । ग्रिनवुडले लगानीबाट प्रति महिना लगभग ३ हजार (४ लाख १५ हजार) कमाउँछन् । उनले आफ्नो अवकाशमा यात्रालाई महत्त्व दिएका छन् । यसमा थाइल्याण्ड, जापान र सिंगापुरको यात्रा समावेश छ । उनले लामो पैदल यात्रा, लेखन र सामुदायिक संलग्नताको दिनचर्या अपनाएका छन् । बालबालिका हुर्काउन अमेरिकाभन्दा यहाँ सस्तो र सुरक्षित छ । आईभीएफ उपचारको लागत लगभग ३ हजार डलर (४ लाख १५ हजार रुपैयाँ ) छ । काठमाडौंमा बालबालिकाको स्वास्थ्य सेवा राम्रो छ । उनकी श्रीमतीका आफन्तीहरू उनीहरूनजिकै बस्छन् जसले आफ्नो बच्चाको हेरचाह गर्न मद्दत गर्न सक्छन् । उनीहरूले कसरी आरामदायी रहने भन्ने बारेमा मार्गदर्शन दिइरहेका छन् ।
चितवन महोत्सवमा स्काईवेलले बेच्यो १ करोडको गाडी
काठमाडौं । चितवन महोत्सवको अवसरमा स्काईवेलले एक करोड रुपैयाँ बराबरको गाडी बेचेको छ । स्काईवेलका लागि नेपालको आधिकारिक विक्रेता जी मोटर्सले चितवन महोत्सव, २०८१ को अवसरमा कम्पनीको उच्च रेन्ज (६२० किलोमिटर) दिने स्काईवेलले ईटी फाइभ बेचेको जनाएको हो । महोत्सवमा नै गाडीको बुकिङ र डेलिभरी गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भने नेपालको बाटो सुहाउदो १९७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र सबैभन्दा बढी रेन्ज दिने भएकाले नै आकर्षण रहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पारसमणी गेलालकाअनुसार उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण भनेको नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको गाडी हो । युरोपियन बजारमा निकै अब्बल प्रमाणितसहित बिक्री वितरण भइरहेकाले स्काईवेलमा खास आकर्षण देखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । महोत्सवको अवसमार प्रबन्ध निर्देशक गेलालले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई नै मुख्य आधार क्षेत्र बनाएर स्काईवेलको सेल्स, शोरुम्, सर्विश र पार्ट्सहरू उपलब्ध गराउने बताएका छन् । चितवनका ग्राहकलाई सहज रूपमा सेल्स, सर्भिस उपलब्ध गराउने प्रतिबद्द्ता ब्यक्त गरेका गेलालले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको प्रीमियम ईटी५ नेपाली बजार एबम ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटी फाइभ एसयूभी बिक्री–बितरण भइसकेका छन् भने चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ भएको कम्पनीले जनाएको छ । ईटी फाइभ, बिई इलाभेन मोडेलसँगै हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयुभी बिक्रीका लागी उपलब्ध रहेका छन् ।
नेपाल एसबीआई बैंकको सीईओ बने रामकुमार तिवारी, २६ वर्षको बैंकिङ अनुभव
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । उनीसंग २६ वर्षको बैंकिङ अनुभव रहेको छ ।
सत्कार दिवस २०२५ सम्पन्न
काठमाडौं । होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए । अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरू र भावी दिनको योजना तथा कार्यक्रमहरूको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखाजोखा हुने बताए । उनले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेको, १ लाख १६हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरूले २२ लाख ग्राहकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको छ भन्दै तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको बताए । अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन् । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकोले समस्या झन् बढेको अध्यक्ष शाहले बताए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे । उनले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए । कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो । उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवद्र्धनमा सघाउ पुर्याउने मुर्धन्य सेफहरूलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रमलाई सघाउ पुर्याउने विभिन्न प्रायोजकहरूलाई समेत सम्मान गरिएको थियो । सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायीहरु, सरोकारवालाहरू र लब्धप्रतिष्ठित व्यक्तित्वहरूको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा साना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने देखिएकाे बताए । उनले यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताए । उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरु विना दर्ता सञ्चालनमा रहेको दुःख व्यक्त गरे । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत उनकाे भनाइ छ । सहभागीहरुलाई संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे । सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो भने उक्त साधारणसभाले संघलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गर्यो । कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो ।
तोलामा १२ सयले बढ्यो सुनको मूल्य
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । १२ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५६ हजार ६०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० मा किनबेच भएको थियो ।
केएनपी नेरोलेकको फेस्टिभ स्किम अन्तर्गत शिव नारायण मण्डलले जिते ५ लाखको सुन
काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले फेस्टिभ स्किम अन्तर्गत ग्राहकहरुलाई केएनपिको रंगमा दंग बनाउने अवसर ल्याएको थियो । यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो । बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिव नारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट टिभी विरगंजका ध्रुब प्रसाद गुप्ताले जितेका छन् । केएनपिको पर्वसँगै रंगमा दंग, ५ लाख बराबरको सुन सँग योजनामा केएनपिको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टिभी र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो । यस योजनाको विजेता लक्की ड्र मार्फत पुस २८ गते कान्तिपुर टिभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रुपमा चुनिएको थियो । साथै थप १०० भाग्यशाली ग्राहकले केएनपिको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन् ।