२३ वर्षमा प्रवेश गर्यो राष्ट्रिय सहकारी बैंक : सेवालाई थप प्रभावकारी बनाउने बैंकको प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले २३औँ स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा सम्पूर्ण सेयर सदस्य, सहकारी संघसंस्था, नियामक निकाय, सरोकारवालासहित शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै सहकारी मूल्य र सिद्धान्तमा आधारित भएर अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दिवसको अवसरमा बैंकले विगतका कठिनाइहरूमाथि विजय प्राप्त गर्दै आगामी दिनहरूमा अझ सशक्त, पारदर्शी र सदस्यमैत्री सेवा प्रणालीमार्फत सहकारी क्षेत्रको मूल्य मान्यता अनुरूप वित्तीय पहुँच विस्तारमा योगदान पुर्याउने उल्लेख गरेको छ । कोभिड महामारी, नियामकीय जटिलता र विप्रेषणलगायतका विभिन्न चुनौतीहरूबीच बैंकले समावेशी वित्तीय सेवामार्फत सदस्य केन्द्रीत कारोबारमा निरन्तरता दिँदै आएको छ । सेयर सदस्य सहकारी संस्थाहरूको बैंकमा उच्च लगानीप्रतिको विश्वासलाई विशेष उपलब्धिका रूपमा लिँदै बैंकले सशक्त र सकारात्मक पहलकदमीका साथ अघि बढ्ने जनाइएको छ । बैंकले सेवा प्रणालीलाई संस्थागत गर्दै पारदर्शी कारोबार, डिजिटल रूपान्तरण, सुलभ पहुँच, र व्यावसायिक सेवा प्रवाहमार्फत सहकारी आन्दोलनलाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो आगामी यात्रामा सहकारी मूल्य–मान्यता पालना गर्दै दीर्घकालीन असर पार्ने योजनालाई प्राथमिकता दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ ।
युनाइटेड इदी मर्दी हाइड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई
काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नै तयारी गरेको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । २०७९ साल चैत ११ गते सम्पन्न कम्पनीको १५औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइएको हो । सोहीअनुसार गत साउन १४ गते बुधबार, दुबै कम्पनीबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा युनाइटेड इदी मर्दी हाइड्रोपावरका प्रबन्ध निर्देशक रोशन केसी र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन्। हालसम्म तीन वर्षदेखि लगातार नगद लाभांश र बोनस सेयर वितरण गर्दै आएको कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको जारी तथा चुक्ता पूँजी ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीद्वारा प्रवर्द्धित ७ मेगावाट क्षमताको मर्दी खोला जलविद्युत आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ र ९ मा अवस्थित छ । आयोजनाले २०७६ साल असोजदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा 'लघु कर्जा अतिरिक्त सुरक्षण योजना' सार्वजनिक
काठमाडौं । ऋणीको मृत्यु, स्थायी अशक्तता वा परियोजना नष्ट हुँदा बैंक तथा वित्तीय संस्थाहरूलाई लाग्न सक्ने संभावित घाटाबाट जोगाउन, निक्षेप तथा कर्जा सुरक्षण कोषले 'लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२' सार्वजनिक गरेको छ । कोषले भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेको हो । कार्यक्रममा क वर्ग, ख वर्ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा लघु कर्जा विभाग प्रमुखहरू सहभागी थिए । कोषले घोषणा गरेको यो नयाँ सुरक्षण योजनाले चालू सुरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँसम्मको लघु कर्जा सुरक्षण गर्नेछ । यो योजनाले ऋणी तथा उनको पतिरपत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजना पूर्णरूपमा नष्ट भएको अवस्थामा बाँकी कर्जाको १०० प्रतिशत (शतप्रतिशत) दाबी भुक्तानी दिने प्रावधान गरेको छ । बैंक तथा वित्तीय संस्थाले यो योजनाको सदस्यता लिनका लागि नियमित सुरक्षण शुल्कमा अतिरिक्त ०.१५ प्रतिशत मात्र थप शुल्क तिर्नुपर्नेछ । यस योजनाले लघु, साना तथा मझौला उद्यममा प्रवाहित कर्जा सुरक्षण गर्न सहुलियत दिने विश्वास गरिएको छ । कोषका अनुसार, अब बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षणका लागि धितो जस्ता झन्झटरहित रुपमा कर्जा प्रवाह गर्न सक्नेछन्, जसले सुलभ, सरल र सुरक्षित कर्जा प्रवाह प्रणालीमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
मधेसमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी
धनुषा । मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । यससँगै प्रदेशमा बीमा गराउनेको सङ्ख्या करिब १३ प्रतिशत पुगेको छ । मधेस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उनले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताए । प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई निःशुल्क बीमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखले केही सहिद परिवारलाई बीमामा आबद्ध गरिएको उनले बताए । सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइसराइ गरेर गएकाले पूर्ण रूपमा सहिद परिवारलाई बीमामा समावेश गर्न कठिन भएको उनको भनाइ छ । उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बीमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप रु एक लाखको बीमा सीमा थप गरिएको छ । नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ । मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो । बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए । रासस
वर्षाले सप्तकोशी नदीमा पानीको वहाव उच्च
इनरुवा । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।
तराई-मधेशको बाँझो जमिनमा पानी पुर्याउने जिम्मा बराललाई, भने- कुनै बहानाबाजीमा छुट छैन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ । बरालले विभागको ३० औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गरेका छन् । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गरेका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गरेका हुन् । विभाग मातहतका ठूला सिँचाइ आयोजनामा काम गरिसकेका अनुभवी र विज्ञको रुपमा चिनिन्छन् । उनले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव सँगालेका छन् । पद बहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहतका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । ‘हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।’ नवनियुक्त महानिर्देशक बरालले राष्ट्रिय गौरवका आयोजनालाई सधैँ भरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोड दिए । विभाग मातहतका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । ‘राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ,’ उनले भने, ‘तराई-मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझो रहेको उल्लेख गर्दै सिँचाइको समस्यालाई ‘द्रुत मार्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिन्छ, यसका लागि विभाग तयार छ ।’ ‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उनले ‘टिमको स्प्रिट’मै रहेर सबैले अहोरात्र खटिनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै नवनियुक्त महानिर्देशक बरालले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू नौ वर्षमा काठमाडौं आएर विभागमा पाइला टेकेको अनुभव सुनाए । ‘हामी अहिले आर्थिक वर्षका सुरुआतमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असम्भव केही हुँदैन । यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पूरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पूरा गर्न सकिन्छ,’ उनले भने । आर्थिक वर्ष सुरुआती महिनाको आधा समय गुज्रँदा समेत विभाग मातहतका आयोजनाका दुइवटा मात्रै बोलपत्र आएको जनाउँदै उनले सर्व सम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरूलाई आग्रह गरे । हाल विभागमा ६०१ जनाको दरबन्दी रहेको छ । ‘एकीकृत जलस्रोत व्यवस्थापनको माध्यमबाट सन्तुलित, स्थिर तथा दिगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भर पर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्य गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्यूनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानि नोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य हो,’ उनले भने, ‘जलस्रोत तथा सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषि योग्य भूमिमा वर्षैभरी दिगो एवं भर पर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउने दायित्व हो ।’ निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले जलस्रोत तथा सिँचाइ विज्ञलाई नयाँ महानिर्देशक पाएकामा खुसी व्यक्त गरे । उनको कार्यकालमा विभागले ऐतिहासिक काम गर्ने उनले विश्वास व्यक्त गरे ।
एनआईसी एशियाले घोषणा गर्याे ४ म्युचुअल फण्डको लाभांश, साढे ३६ करोड रुपैयाँ नगद बाँड्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ म्युचुअल फण्डहरुको लाभांश घोषणा गरेका हुन् । एनआईसी एशियाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डका लागि गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत अर्थात् १० करोड ३० लाख २० हजार रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत अर्थात् १० करोड ८१ लाख २५ हजार रुपैयाँ र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत अर्थात् ७ करोड ९५ लाख ३२ लाख ४१० रुपैयाँ नगद लाभांस वितरण गर्ने भएको हो । प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन २८ गते बुधबारसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछ ।
प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय संसदका महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।