विकासन्युज

कर्णालीको पर्यटन विकासको करोडौँ बजेट धुलोमै उडेर सकिन्छ

जुम्ला । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको गुनासो बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बिनियोजित सो बजेट विगतका योजनाझैँ पुनःपदमार्ग, मन्दिर, धर्मशाला, विश्रामस्थल र भ्यू टावर निर्माणमै खर्च हुने गरी प्रस्ताव स्वीकृत गरिएको छ तर समिति स्थापनाको सात वर्षसम्म पर्यटकीय महत्व राख्ने दीर्घकालीन र नयाँ ठोस योजना भने त्यस्तो केही देखिँदैनन् । समितिले कर्णालीका पाँचवटै जिल्लामा सञ्चालन गर्ने योजना कनिका छराईको अवस्थामा छ । निर्माण गरिने पर्यटनका योजनाको कुनै उपलब्धि नदेखिएको यहाँस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दिलबहादुर महतको टिप्पणी छ । “राजनीतिक आस्थाका आधारमा योजना वितरण गरिन्छ, त्यो कार्यकर्ताको चित्त बुझाउनमा मात्र सीमित हुन्छ,” अध्यक्ष महत भन्छन्, “ उद्देश्यअनुरुप काम नहुँदा बजेट दुरुपयोग भएकाले अब जिम्मेवार पक्षले स्तरीय कार्यक्रम तय गर्नुपर्ने भएको छ । ” गैर सरकारी संस्था महासङ्घका जिल्लाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्बद्ध मन्त्रालयबाट यसरी करोडौँ रकम कर्णाली भित्रिदा पनि कार्यकर्ता पाल्नेबाहेक अरु केही नभएको बताउछन्। झाडु लगाएर बजेट खर्च गर्ने प्रवृत्तिबाट माथि उठेर प्रतिफल निस्कने योजना निर्माणगरी अघि बढ्नुपर्ने उनको भनाइ छ । पर्यटन पूर्वाधार विस्तारका लागि आएको बजेट गलत ठाउँमा प्रयोग भएको स्थानीय पर्यटनविद् सरोज शाहीेको गुनासो छ । “ पर्यटन प्रवद्र्धनको नाममा मठमन्दिर बनाउने बाहेक अरु केही नभएकाले उद्देश्य राम्रो भए पनि समितिसँग पर्यटनको कुनै योजना छैन, बरु हामीसँग भएका पर्यटकीय सम्पदालाई सपार्ने नाउमा बिगार्ने र बजेट धुलोमा उडाउने काम भएको छ,” पर्यटनविद् शाही को भनाइ छ । पर्यटकीय योजना बन्न नसकेका कारण यो समस्या देखिएको समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्याय बताउछन् । “ठोस योजना बन्नु पर्दछ र पर्यटकीय क्षेत्रमा गौरवका आयोजना निर्माण गरिनुपर्छ । यसका लागि यहाँका राजनीतिक दल, होटल तथा पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालासँग छलफल गर्ने योजना बनाएको छु” निर्देशक उपाध्यायको भनाई छ । उनका अनुसार चालु आवमा जुम्लामा २४, कालीकोटमा १३, हुम्लामा ११, मुगुमा १३ र डोल्पामा १८ गरी जम्मा ७९ योजना स्वीकृत भएका र तिनको सम्झौता हुने काम अघि बढिरहेको छ । सञ्चालित ७२ योजनामा ४३ पदमार्ग र ३६ मन्दिर, धर्मशाला र भ्यू टावर निर्माणका छन् । प्राप्त रु चार करोड ६८ लाखमा रु २४ लाख चालुगत र बाँकी सबै पर्यटन पूर्वाधार विकासमा खर्च गरिने सो समितले जनाएको छ । रासस

परिसंघले देखायो पुर्वाधार सम्मेलनका ७ उपलब्धी

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआइ)ले दोश्रो पुर्वाधार सम्मेलनबाट ७ वटा उपलब्धि प्राप्त भएको जनाएको छ । पुर्वाधार सम्मेलनका सफलता र त्यसले दिएको सन्देशबाट जानकारी दिन पत्रकार सम्मेलन गर्दै परिसंघले सात उपलब्धिीको फेहररिस्ता सार्वजनिक गरेको हो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले आगामी एक सय बर्षका लागि उपयुक्त भौतिक पुर्वाधारको निर्माण आवश्यक रहेको सन्देश दिन सम्मेलन सफल रहेको दावी गरे । नेपालमा कहाँ र कस्तो पुर्वाधार आवश्यक पर्छ भन्ने रोडम्याप बनाउन पनि सम्मेलन सफल रहेको उनलेब ताए । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागीता तथा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुको सहभागीताले पनि सम्मेलनबाट सकारात्मक सन्देश गएको उनको भनाई थियो । यस्ता छन परिसंघले देखेका ७ उपलब्धी १) नेपाल लगानीको आकर्षक र भर्जिन गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको, २) नेपालको निजी क्षेत्र प्रो एक्टिम, क्रियाशील र सक्षम हुँदै गैरहेको छ भन्ने सन्देश प्रवाह भएको, ३) पूर्वाधारमा लगानी नगरी दीगो आर्थिक विकास सम्भव छैन भन्ने तथ्यमा सहमति भएको, ४) नेपाल पूर्वाधार क्षेत्रमा लगानी बढाउने पीपीपी मोडल उत्तम विकल्प हो भन्ने तथ्य उद्घाटित भएको ५) नेपालको आर्थिक विकासमा ऐक्यवद्धता जनाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय जागरुक भएको, ६) सरकारले छिटो, छरितो, प्रणालीगत र गुणस्तरीय तवरबाट पूँजीगत खर्च गर्नु आवश्यक रहेको, ७) नेपालमा आर्थिक विकासका लागि के कस्तो पूर्वाधारको आवश्यकता छ भन्ने सन्दर्भमा आइडिया हण्ट गरिएको जसले नयाँ पुस्तालाई पुर्वाधार विकासमा सहभागी बनाउने

२० हजार ओखलढुंगा बासीको जिवनस्तर उकास्ने सिरिसे पुल चाँडै

काठमाडौं । निर्माण आरम्भ भएर पनि सम्पन्न नभएको ओखलढुंगास्थित लिखु खोलाको सिरिसे पुल चाँडै निर्माण हुने भएको छ । ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद रामहरी खतिवडा र स्थानियको पहलमा लामो समयदेखि निर्माण रोकिएको पुल अब निर्माण आरम्भ भएको हो । सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार र स्थानिय बासिन्दाको उपस्थितीमा गरेको वृहत छलफलपछि पुल निर्माणले गति लिएको हो । भ्याट बाहेक ५ करोड ८६ लाख लागतका सो पुल निर्माण सम्बन्धी सम्झौतामा २०६९ असार ३४ हस्ताक्षर भएको थियो । २ आर्थिक बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको हालसम्म ५० प्रतिशत काम मात्रै भएको छ । ‘२० हजार ओखलढुंगा बासीको जीवनसँग जोडिएको सिरिसे पुलको निर्माण अब चाँडै सकिन्छ, अब म आफैं ढुंगा बोक्न आउनु पर्छ भने पनि तयार छु तर पुल निर्माण हुन्छ’, सांसद खतिवडाले भने । उनले पुल निर्माणमा संकटकाल घोषणा गरेर काम अघि बढाउने र सबै खाले अवरोध चिर्न आफु तयार रहेको स्पष्ट पारेका थिए । पुलको माथी राखिने स्टिल स्टल ट्रसको डिजाइन भर्खरै पास भएको छ । चीतवनस्थित जलप नेपालले त्यसको निर्माण गरिरहेको छ । १८० टन तौलको पुलको तौल अहिले बढेर १९५ टन पुर्याइएको छ । दोलखाको ओम वुद्ध जेभीले पुल निर्माणको जिम्मा पाएको थियो । सांसद खतिवडाले आगामी दशैंमा पुल तयार भैसक्ने गरि काम गर्न निर्देशन पनि दिए । अन्य तीन वटा पुलको निर्माण गरिरहेको कम्पनीले भने आगामी फागुनमा पुल तयार पार्ने बताएको छ । स्थानिय बासिन्दा जीत बहादुर रोक्काले ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको आरोप लगाए । त्यस्तै, अर्का स्थानिय देवेन्द्र पौडेलले पनि ठेकेदारको लापरवाही नै पुल निर्माणमा ढिलाईको कारण भएको बताए । केहि स्थानिय डनहरुको अवरोधनले पनि पुल निर्माणलाई पछि धकेलेको आरोप लगाए । गाम्नाङटार, टार केराबारी, येसम, श्रीचौर, पोकली, नर्वदेश्वर लगायत १४ गाबिसका २० हजार नागरिकको जीवनस्तर उकास्न सो पुलले सहयोग पुर्याउने छ ।

शाइन रेसुङ्गा ९औं वर्षमा प्रवेश, स्टेक होल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बुधबारबाट स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्ने भएको छ । साथै, बैंकले नयाँ वसपार्कदेखि मिलनचोकसम्मको रोड डिभाइयरमा रोटरी क्लब अफ बुटवल साउथसँगको सहकार्यकमा वृक्षारोपण गरि उक्त वृक्षको संरक्षण गर्ने जनाएको छ । उक्त अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निमार्ण गरि उक्त भवनमा केन्द्रिय कार्यालयको संचालन तथा वित्तीय साझरता अभिवृद्धि गर्दै यस क्षेत्रको रोजाईको बैंक बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायमा राख्दै सम्पूर्ण स्टेकहोल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने जनाएको छ । हाल बैंकको १० जिल्लामा कार्यक्षेत्र रहेको छ । साथै, बैंकले २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरेहेको छ । अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको बैंकले बैंकिङ् सुविधा पहुँचमा अत्यन्त जोड दिएको जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकले २०७३ पुस मसान्तसम्मा ९ अर्ब २० करोड रुपैयाँ निक्षेप र ८ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले २६ करोड ८ लाख रुपैयाँ सञ्चालन मूनाफा कमाएको बैंकको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताएका छन् ।

बीमा र ब्रोकर कम्पनी खोल्ने मेगा बैंककाे विशेष प्रस्ताव कानुन विपरित, साधारणसभाले पास गरेपनि राष्ट्र बैंकले स्वीकृत नदिने

काठमाडौं । मेगा बैंक नेपालले इन्स्योरेन्स कम्पनी खोल्ने र सेयर ब्रोकर कम्पनी खोल्ने विशेष प्रस्ताव हचुवाको भरमा अगाडि सारेको पाइएको छ । बैंकले कानुनी पक्षको अध्ययन नगरी र नियामक निकायसँग परामर्श नगरी बीमा कम्पनी र सेयर ब्रोकर कम्पनी खोल्ने निर्णय गरेको र सो निर्णयलाई विशेष प्रस्तावको रुपमा आगामी साधारणसभामा लैजान लागेको पाइएको छ । फागुन २ गते बसेको बैंक सञ्चालक कमितिको १६९ औ बैठकले स्वदेशी तथा विदेशी लगानीमा सञ्चालित इन्स्योरेन्स कम्पनीको आंशिक वा पुरै सेयर खरिद गर्ने तथा नयाँ कम्पनी स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मेगा बैंक नेपालका सञ्चालक तथा उच्च व्यवस्थापक बैंकले साधारणसभा लैजादै गरेको विशेष प्रस्ताव नम्बर ४ (१)मा भनिएको छ ‘कुनै स्वदेशी तथा विदेशी कम्पनी, फर्म, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा सञ्चालनमा रहेको कुनै बीमा कम्पनीको पुरै वा आंशिक सेयर खरिद गरी वा बैंकको सहायक कम्पनी स्थापना गरी जीवन वा निर्जीवन बीमा सम्बन्धी काम गर्ने ।’ त्यस्तै विशेष प्रस्ताव नम्बर ४ (३)मा ‘सम्बन्धित निकायको स्वीकृत लिई धितोपत्र दलाल सम्बन्धी कार्य गर्ने’ उल्लेख गरिएको छ । बीमा समितिले नयाँ लाइसेन्स खुला गरेमा भने नयाँ कम्पनी खोल्ने, नयाँ लाईसेन्स पाउन नसकेमा पुरानो कम्पनी खरिद गरेर बीमा कारोबार गर्ने तयारी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । ‘मैले नविल बैंकमा हुँदै इस्योरेन्स कम्पनी खोल्ने प्रस्ताव गरेको थिएँ । त्यतिखेरा अगाडि बढाउन सकिएन । अब मेगा बैंकले बीमा कम्पनी खोल्छ र त्यो नेपालको बैकिङ इतिहासमा नयाँ र पहिलो हुन्छ’ शाहले विकासन्युजसँग भने । तर बीमा कम्पनी र ब्रोकर कम्पनी खोल्न बैंक तथा वित्तीय संस्थालाई अधिकार नभएको नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘कानुनले तोकेभन्दा बढी काम बैंकले गर्न सक्दैनन्, अहिलेको कानुन र नियामावलीले बैंकलाई सहायक कम्पनीको रुपमा बीमा र ब्रोकर कम्पनी खोलेर काम गर्ने अधिकार दिएको छैन’ ती अधिकारीले भने । यसअघि एक बैंकले ब्रोकर कम्पनी खोल्न साधारणसभाबाट निर्णय गराएर राष्ट्र बैंकसँग अनुमति मागेको तर राष्ट्र बैंकले अस्वीकार गरेको ती अधिकारीले जानकारी दिए । राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनको नम्बर २० अनुसार बैंक तथा वित्तीय संस्थाले मर्चेन्ट बैंकिङ र लघुवित्त कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । ‘त्यसबाहेक अन्य कारोबार गर्न सहायक कम्पनी खोल्न राष्ट्र बैंकले स्वीकृति दिदैन’ उनले विकासन्युजसँग भने–‘साधारणसभाले निर्णय गर्दैमा राष्ट्र बैंकले नियम कानुन वाहिर गएर स्वीकृति दिदैन ।’ यसअघि नेपाल बैंकले पहिलो पटक सहायक कम्पनीको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी खोलेको थियो । राष्ट्र बैंकले बीमा कम्पनीमा बैंक तथा वित्तीय संस्थाको सेयर बढीमा १० प्रतिशत मात्र लिन सक्ने र सहायक कम्पनीको रुपमा बीमा कम्पनी चलाउन नपाउने व्यवस्था गरेपछि नेपाल बैंकले पनि नेपाल इन्स्योरेन्स कम्पनीको सीमा भन्दा बढीको सेयर बिक्री गरिसकेको छ ।

‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ चैत २ गतेदेखि ४ गतेसम्म हुने

काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु बीच संतुलन’ को मूल नाराका साथ चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ गतेदेखि शुरु हुने भएको छ । काठमाडौंको याक एण्ड यती होटलमा आयोजना हुने उक्त सम्मेलन चैत ४ गते सम्म सञ्चालन हुनेछ । सम्मेलनमा करिब ७ वटा प्रमुख उद्देश्यहरुलाई अपनाई संचालन गरिने छ । लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौति तथा कठिनाईहरुमा नियामक र सेवा प्रदायकको वीचमा प्रभावकारी र अग्रगामी सेवा पुर्याउन साझा बुझाईको विकास तथा समाधान लागि विभिन्न दृष्टिकोण तथा सुझाव दिइने छ । लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरु बीच अन्तरकृया तथा सम्वाद गरिने छ । सेन्टर फर माइक्रोफाइनान्स नेपाल(सीएमएफ)का अनुसार उक्त सम्मेलनमा मानवीय मूल्य सहित सामाजिक र वित्तीय उद्देश्यहरुमा सन्तुलन ल्याउने बीच छलफल गरिने छ । अन्तराष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको बिकासको गति र नेपालको संदर्भमा ती बिषयहरुको सांदर्भिकता वर्णनका साथै लघुवित्तको क्षेत्रमा नियामक निकायबाट घोषित नीति, तथा यसले पारेका प्रभावहरुको समिक्षात्मक मूल्यांकन गरिने छ । साथै, लघुवित्तको आगामी लक्ष तथा कार्यक्रमहरुमा आवश्यक परिवर्तनका निम्ति सुझाव प्रतिवद्धताहरुको घोषणा गरिने छ । विद्यमान प्रमुख मुद्दा तथा अवसरहरुलाई सम्वोधन गर्ने गरी जिम्मेवारी र समय सीमा सहितको साझा प्रतिवद्धताको घोषणा र यसको निरन्तर अनुगमन गरिने सीएमएफले जनाएको छ । सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८०० को सहभागीता हुने अपेक्षा गरिएको छ । लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, सेवामा विविधता, उद्यमशिलता विकास, विमाको नविनतम अभ्यास, मूल्य श्रृंखला, वित्तीय साक्षरता, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २० विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ । यस सम्मेलनले लघुवित्त क्षेत्रका प्रमुख सकारात्मक पक्षहरु र प्रभावकारिता बृद्धिका क्षेत्रहरुको पहिचान गरी मार्गचित्र निर्माण गर्न सहयोग गर्नेछ ।

सेयर बजारमा दोहोरो अंकले ओरालो, कारोबार रकममा २६ करोडको गिरावट

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि उतारचढाव आएको छ । बुधबार कारोबार खुलेको झण्डै एक घण्टाको अवधिमा परिसूचक करिब २० अंकले झरेर १३३८ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने हल्का सुधार भएको देखिन्छ । सो दिन बजार बन्द हुँदा नेप्से परिसूचक १३ दशमलब ४६ अंकले झरेर १३४४ दशमलब ११ अंकमा अडिएको छ । परिसूचक जस्तै सेयर कारोबारमा पनि भारी रकमले गिरावट भएको छ । मंगलबार ६० करोडको कारोबार भएको सेयर बजारमा बुधबार करिब २४ करोड रुपैयाँको अन्तरले गिरावट आएको छ । सो दिन जम्मा ३४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३७ कम्पनीको कारोबार भएको दिन ७ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा उत्पादन समूह स्थिर रहेको छ भने कारोबार भएका बाकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले ओरालो लागेको छ ।

ग्यास उद्योगहरु मर्ज गराउन संसदीय संमितिको निर्देशन, नयाँ उद्योग खोल्न रोक

काठमाडौं । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिलेले दुई वा दुई भन्दा बढी ग्यास उद्योग मर्ज हुन चाहेमा मर्ज हुने व्यवस्था मिलाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । साथै समितिले नयाँ ग्यास उद्योगहरु स्थापनाको स्वीकृति नदिन निर्देशन दिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले यसअघि दिएका निर्देशन आपूर्ति मन्त्रालयले पालना नगरेको भन्दै आपत्ति पनि जनाएको छ । बजारमा पेट्रोलियम पदार्थको हाहाकार हुँदा आपूर्ति मन्त्रालय र नेपाल आयल निगम मौन बसेको भन्दै सो समितिले आपूर्ति व्यवस्था सहज बनाउन दुबै निकायलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने तर्फ अहिलेसम्म भएको काम र भण्डारणस्थलहरुको जग्गा प्राप्तिमा अहिलेसम्म भएको कामको विवरण तीन दिनभित्र उपलब्ध गराउन समितिले आयल निगमलाई निर्देशन दिएको छ ।