सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि, ३० प्रतिशत निष्काशन गर्ने प्रस्ताव
काठमाडौं । सिभिल बैंकको हकप्रद सेयरमा वृद्धि भएको छ । बैंकले पूँजी योजना अनुसार ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त हकप्रद वृद्धि सम्बन्धि निर्णय बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । यस अघि बैंकले सेयरधनीहरुलाई २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई पुनरावलोकन गरि बैंकले युनिक फाइनान्स लि. र हामा मर्चेन्ट एण्ड फाइनान्स लि.लाई प्राप्ति गर्ने भएको छ । उक्त दुई कम्पनी प्राप्ति पश्चात बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । साथै, बैंकले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीमा सो मात्राको(अर्थात ३० प्रतिशत) हकप्रद सेयर जारी गर्न लागेको हो ।
फास्ट ट्रयाकपछि निजगढ विमानस्थल पनि सेनालाई, ६ लाख ८४ हजार रुख काटेर पहुँच मार्ग बनाउने
काठमाडौं । सरकारले निजगढ विमानस्थलको प्रारम्भिक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको छ । सरकारले केहि समय अघि मात्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । केहि समय अघि बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणको प्रारम्भिक कार्य नेपाली सेनालाई दिने निर्णय गरेको हो । ‘निजगढ विमानस्थलको प्रारम्भिक कार्य नेपाली सेना मार्फत सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको छ, सेनाले पनि सरकारले दिएको जिम्मेवारी पुरा गर्ने भनेको छ’, पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । सरकारले विमानस्थलको ८० वर्ग किलोमिटरको बाहिरी सडक निर्माण र ६ लाख ८४ हजार रुख काट्ने जिम्मा नेपाली सेनालाई दिएको हो । हाल सो विमानस्थलको वातावरिणय प्रभाव मुल्यांकन(इआइए)को ६० प्रतिशत काम सम्पन्न भैसकेको छ । इआइएको काम सकिएपछि वन मन्त्रालयसँग रुख काट्ने अनुमति मागिनेछ । रुख कटान र पहुँच मार्ग निर्माणका लागि पर्यटन मन्त्रालयले ४ अर्ब बजेट मागेको छ । सरकारले चालु आवको बजेटमा मुआब्जा र डिपिआर निर्माणका लागि एक अर्ब ५० करोड बजेट विनियोजन गरेको थियो । ‘पहुँच मार्ग निर्माण र वन रुख काट्नका लागि पर्यटन मन्त्रालयले चार अर्ब बजेट मागेको छ, अर्थ मन्त्रालय पनि सकारात्मक छ’, अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख मधु कुमार मरासिनीले भने । हाल विमानस्थल निर्माण क्षेत्रको ११० विगाह जमिनको मुआब्जा वितरण प्रक्रिया सुरु हुन लागेको छ । मुआब्जा दर पनि कायम गरिसकिएको आयोजना प्रमुख हरि अधिकारीले जानकारी दिए । त्यस्तै, १६०० सुकुम्बासी परिवारको घरबासका लागि पनि सरकारले उपयुक्त व्यवस्थानको तयारी गरिरहेको छ ।
विश्वज्योती मलमा १० दिने मोबाइल महोत्सव शुरु, पुरानो मोबाइल साट्न पाइने
काठमाडौं । नयाँ वर्षको उपलक्ष्य पारेर जमलमा रहेको विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो । सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो । आधा दर्जन बढी ब्राण्डका मोबाइल कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले मोबाइल मार्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिंग पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै साथनमा दिने हाम्रो लक्ष्य हो । महोत्सव अवधिमा हामीले पुरानो मोबाइल साट्ने, निशुल्क मोबाइल मर्मतको अफरका साथै भारी छुटको व्यवस्था गरेका छौं ।’ महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ । बुधबारदेखि सुरु भएको मोबाइल महोत्सव १० दिनसम्म चल्नेछ । बुधबारदेखि सञ्चालनमा आएको मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सव पछि पनि मोबाइल मर्मतको सुविधा पाउने छन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनु पर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहत पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।
हल्ला र अनुमानको भरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलेको/चलाइएको हल्ला र आधारहीन अनुमानको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरि लगानी गर्न आग्रह गरेको हो । साथै, लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न बोर्डको अनुरोध छ । हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको धितोपत्र बजारको विभिन्न हल्लाका पछि लाग्दा कतिपय लगानीकर्ताहरु मारमा पर्ने भएकाले बार्डले यस विषयमा ध्यानाकर्षण गराएको हो । धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने बोर्डले जनाएको छ । साथै, बोर्डले विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहने कुराको पनि जानकारी गराएको छ ।
सेयर बजारमा २ अर्ब रुपैयाँको सेयर कारोबार, सबैभन्दा बढी सुर्या लाइफको
काठमाडौं । बुधबार सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा करिब १० करोड रुपैयाँ बढी हो । बजारमा सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकै दिन १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कम्पनीको सेयर मूल्य पतिकत्ता १२८४ रुपैयाँ रहेको छ । सो दिन कारोबार रकममा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बुधबार परिसूचक ६ दशमलब ७५ अंकले घटेर १७०३ दशमलब ०७ अंकमा झरेको छ । कारोबार भएका होटल, विकास बैंक, फाइनान्स, उत्पादन मूलक , फाइनान्स र अन्य समूहको परिसूचक उकालो लागेका छन् । त्यस्तै, बीमा, हाइड्रोपावर र बैंकिङ समस्हका परिसुचक राताम्मे भएका छन् ।
तिनाउ डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्दै, वैशाख ६ गते बुक क्लोज
काठमाडौं । तिनाउ डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ३५ प्रतिशत(१०ः३.५ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी वैशाख ६ गते कम्पनीको बुक क्लोज हुने छ । हाल बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ५०७ रुपैयाँमा कारोबार भइरहेको छ ।
चीनमा ७ दशमलव ६ प्रतिशत मूल्य वृद्धि
बेजिङ । मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको उत्पादक मूल्य सूची दरमा वृद्धि भइ सात दशमलव छ प्रतिशत पुगेको हो । चीनियाँ तथ्याङ्क विभागले शून्य दशमलव आठ प्रतिशतका दरले मूल्यसूची वृद्धि हुने पूर्वानुमान गरे पनि गत महिना मूल्य वृद्धि दर शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको जनाएको छ । चीनियाँ पक्षले यस किसिमको मूल्यवृद्धि चक्र कति लामोसम्म जारी रहने हो भन्ने चिन्ता व्यक्त गरेको छ । रासस
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु हुँदै
ललितपुर । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु भएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा जनसङ्ख्या तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त आयोजनामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी वातावरणविद्हरुले जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, नीतिनिर्माता र विज्ञहरुबीच ज्ञान, अनुभव आदानप्रदान तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययनका निष्कर्षबारे छलफल गर्नेछन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा हिन्दूकुश क्षेत्रमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानसहित १५ देशका नीतिनिर्माता, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र युवा गरी करिब दुई सय जनाको सहभागिता रहेको छ । सम्मेलन उद्घाटनका अवसरमा बोल्दै जनसङ्ख्या तथा वातावरण मन्त्रालयसम्म सचिव डा विश्वनाथ ओलीले जलवायु परिवर्तनबाट जनजीविका, गरिबीमा मात्र नभई भौतिक पूर्वाधारमा पनि असर गरेको उल्लेख गरेका छन् । यहाँले यस असरबाट बच्न सरकारले विभिन्न नीति, संस्थागत संरचना र सम्बन्धित सरोकारवालासँग समन्वय गरी लापा, नापालगायत विभिन्न कार्यक्रम कार्यान्वयन गरिरिहेको जानकारी दिए । इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले जलवायु परिवर्तनबाट खासगरी पर्वतीय मुलुकका बासिन्दा बढी प्रभावित भएकाले उनीहरुको पानी, ऊर्जाजस्ता आधारभूत सेवाका लागि हिन्दुकुश क्षेत्रमा राष्ट्रबीच सहयोग एवम् समन्वय अभिवृद्धिमा जोड दिइएको उल्लेख गरे । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहका अध्यक्ष डा होयसुङ ली, कार्यसमूह पहिलोका सहअध्यक्ष डा पान्माओ जाई, दोस्रो समूहका डा जोय जाक्विलाइन पेरिस र तेस्रो समूहका सहअध्यक्ष डा प्रियादर्शी आर.शुक्लाले समूहमार्फत जलवायु परिवर्तन क्षेत्रमा गरिएका विभिन्न अध्ययन प्रतिवेदनका बारेमा प्रकाश पारेका थिए । रासस