विकासन्युज

सिटिजन्स बैंकले शुरु गर्यो बैंकाइन्स्योरेन्स सेवा, सूर्य लाइफ इन्स्योरेन्ससँग सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकाइन्स्योरेन्स सेवा शुरु गरेको छ । उक्त सेवा सम्बन्धी सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । यस बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको हो । यस सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

महालक्ष्मी बैंकको ८ प्रतिशत बोनस पारित, यति डेभलपमेन्ट बैंकसँग मर्ज हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ७.९० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राका दरले बोनस सेयर वितरण गर्ने भएको छ । साथै, उक्त सभाले यति डेभलपमेन्ट बैंक सँग गाभ्ने/गाभिने प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरी, सभाले आगामी ४ वर्षको लागी ७ जना संचालकहरु चयन गरेको छ । जसअनुसार संस्थापक समूह अन्तर्गत संजय गिरी, राजेशकुमार रौनियार, माधव लाल श्रेष्ठ तथा प्रेमकुमार उलक निर्वाचित भएका छन् । साथै, सर्वसाधारण समूह अन्तर्गत डबल बहादुर शाह, बिरेन्द्र कुमार संघाई तथा श्यामसुन्दर रुङ्गटा  निर्वाचित भएका छन् । निर्वाचन पश्चात बसेको संचालक समितिको बैठकले राजेशकुमार रौनियारलाई अध्यक्ष समेत चयन गरेको छ । गत चैत्र मसान्त सम्ममा बैंकको कूल निक्षेप ११ अर्ब ९१ करोड रुपैयाँ तथा कर्जा सापट ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै उक्त अवधीमा बैंकले ३४ करोड रुपैयाँ संचालन मुनाफा हासिल गरि सकेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ए.बि.बि.एस., मोवाईल बैकिंग, एस.एम.एस, सेफ डिजोजिट भल्ट (लकर) तथा ए.टि.एम. सेवा उपलव्ध गरांउदै आएको छ ।

एनबी इन्स्यारेन्सले १०० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ ४ गते बुक क्लोज

काठमाडौं । एनबी इन्स्यारेन्स कम्पनीले सर्वसाधारणकोलागि शतप्रतिशत (१०० %) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ ४ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १८ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १८६१ रुपैयाँमा कारोबार भएको छ ।

बन्दैछ स्मार्ट काठमाडौंः नक्सापासको हस्ताक्षर पनि अनलाइनबाटै, प्रमाण पत्र घरमै पाइने

काठमाडौं । अब काठमाडौं महानगरपालिकामा नक्सा पास गर्दा गर्नुपर्ने हस्ताक्षर पनि अनलाइनबाटै गर्ने व्यवस्था मिलाएको छ । गत साउनदेखि अनलाइन नक्सापास गर्दै आएको महानगरले नागरिकलाई थप सुविधा हस्ताक्षर पनि अनलाइनबाटै गर्ने सुविधा थपेको हो । घरबाटै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन् । महानगरले यो व्यवस्था लागू गर्न नीतिगत निर्णय गरिसकेको छ । केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम शुरू हुन्छ । हस्ताक्षर समेत अनलाइनबाट हुने भएपछि अब महानगरवासीले यस किसिमको सेवा लिनको लागि पाउने झन्झटबाट मुक्त हुने भएका छन् । अनलाइनबाट नक्साको काम भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । ‘नक्सा पासका अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था थियो,’ कामपाका इञ्जिनीयर राम थापाले भने ‘अब हस्ताक्षर समेत अनलाइनबाटै हुने भएको छ । यसका साथै कामपाले भवन निर्माणका लागि महानगरबाट नक्सा पास गरे/नगरेको अध्ययन गर्न इञ्जिनीयरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन शुरू गरेको छ । अनुगमनका बेला नक्साविपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा त्यसलाई अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले जानकारी दिएको छ ।

एनसेललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स, देशैभर फोरजी सेवा विस्तार गर्ने

काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स पाएको छ । दुर सञ्चार सेवाको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा सञ्चालनका लागि टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिएको हो । ‘फोरजी सेवा सञ्चालनका लागि एनसेलललाई टेक्नोलोजी न्युट्रालिटीको लाइसेन्स दिने निर्णय भएको छ, कम्पनीले अब देशका प्रमुख शहरहरुमा फोरजी सेवा विस्तार गर्नेछ’, दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विकासन्युजसँग भने । अर्यालका अनुसार एनसेलललाई ९०० मेगाहर्ज र १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटीको अनुमति दिइएको हो । अहिले यी दुबै फ्रिक्वेन्सीमा २ जी र ३ जी सेवा सञ्चालन भैरहेको छ । एनसेलले ९०० मेगाहर्जमा ३ जी सेवालाई ग्रामिण क्षेत्रमा विस्तार गर्ने तयारी गरेको छ भने १८०० मेगाहर्जबाट फोरजी सेवा सञ्चालन गर्नेछ । एनसेलले यहि जुन १ तारिख देखि फोरजी सेवा आरम्भ गर्नेछ । हाल नेपाल टेलिकमले १८०० मेगाहर्जमा टेक्नोलोजी न्युट्रालिटी मार्फत काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालन गरिरहेको छ । फोरजी सेवामा एनसेलको प्रवेशले गुणस्तर र शुल्कमा प्रतिष्पर्धा हुने र उपभोक्ताले लाभ पाउने प्राधिकरणका प्रवक्ता अर्यालले बताए । एनसेलले आगामी १२ महिनाभित्रै ३ जी सेवालाई ६० प्रतिशत जनताको पहुँचमा पुर्याउने रोडप्याप पेश गरेको छ । त्यस्तै, सन २०१८ भित्र ८५ प्रतिशत जनताको पहुँचमा ३ जी सेवा विस्तार गर्ने पनि कम्पनीको प्रस्तावमा उल्लेख गरिएको छ । एनसेलले सन २०१८ भित्र ठुला १५ वटा शहरमा फोरजी विस्तार गरिसक्ने बताएको छ ।

कृषि विकास बैंकले कमायो एक अर्ब ५७ करोड

काठमाडौं । कृषि विकास बैंकले नौ महिनामा १ अर्ब ५७ करोड नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आवको सोही अवधीमा कमाएको भन्दा ३६ करोडले बढि हो । बैंकले गत आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले पाँच अर्ब ९३ करोड ब्याज आम्दानी गरेर २ अर्ब ७७ करोड ब्याज खर्च गरेको छ । बैंकले नौ महिनामा ८९ अर्ब निक्षेप संकलन गरेर ८८ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ । ३ दशमबल ३० खराब कर्जा भएको कृषि विकास बैंकले ३९ करोड राइटब्याक प्राप्त गरेको देखिन्छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २१९ रुपैंयाँ ९२ पैसा रहेको छ ।

बाहुबली–२ को कमाई ७५० करोड भारु

काठमाडौं । भारतीय चलचित्र बाहुबली–२ ले प्रदर्शनको एक हप्तामै ७५० करोड भारुको कारोबार गरेको छ । जम्मा २५० करोड भारुमा निर्माण गरिएको बाहुबली–२ ले संसारभरबाट एक हप्तामै ७५० करोड आम्लानी गरेको हो । यो चलचित्रले दैनिक १०० करोड भन्दा धेरै आम्दानी गरिरहेको छ । बाहुबलीको पहिलो पार्टले ६५० करोड आम्दानी गरेको थियो । हिन्दी, तामेल, मलायम र तेलगु भाषामा तयार भएको बाहुबली २ ले सबै भन्दा धेरै कमाउने भारतीय फिल्मको रेकर्ड बनाउने पक्का भएको छ । आमिर खानको पिकेले सबै भन्दा बढि ७९२ करोड कमाएको रेकर्ड छ । बाहुबली २ ले पिकेको रेकर्ड तोड्न अब ४२ करोड मात्रै बाँकी छ । अझै पनि यो फिल्म हेर्न दर्शक ओइरिररहेका छन् ।

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’, एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम

काठमाडौं । देशकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, स्थानियवासीलाई सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एसियाले यो अवार्ड प्रदान गरेको हो । एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो । टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तिय प्रर्दशन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासन लगायतका मापदण्डका आधारमा प्रोजेक्टहरुको मुल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए  । बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् । “राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफ ग्रीड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्य लिई संचालन गरिएको यो प्रोजेक्टले अन्र्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं । यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधै कटिवद्घ रहेको छ भन्ने प्रमाण हो,” एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्स्ले भने । यो परियोजनामा एनसेल तथा स्थानिय लघुग्रीड संचालक घाम पावर नेपाल प्रा.लिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रशारण लाइन नपुगेका खोटाङ्ग तथा उदयपुर जिल्लाका समुदायहरुमा उर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । यसले स्थानिय तहमा नयाँ अवसरहरुको सिर्जना गरेको छ । यो आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरुमाझ एनसेलको मोबाइल सेवा पुगेको छ । लघुग्रीडहरुसँग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएकाले स्थानिय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको सिर्जना भएको छ । भरपर्दो मोबाइल सेवा तथा उर्जा आपुर्तिका कारण साना तथा मझौला उद्योगहरु जस्तै ईलेक्ट्रिक ग्राइन्ङिङ्ग मिल, कम्प्युटर सेन्टरहरु, रेस्टुरेन्ट र पेट्रोल पम्पहरु खुलेका छन् र स्थानिय स्तरमा नै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । विद्यालय जाने बालबालिकाहरुले साँझमा अबेरसम्म पढ्न लेख्न पाएका छन् । धुँवा तथा मटितेलका बत्तिहहरुले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुबाट मुक्ति मिलेको छ । समाजमा विभिन्न योगदान पुर्याए वापत एनसेल गत वर्ष पनि अन्र्तराष्ट्रिय पुरस्कारहरुबाट सम्मानित भएको थियो । कम्पनीले ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स्’ विधामा जिएसएमएबाट  ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।