भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा, ल्याएपनि नल्याएपनि पैसा तिर्नेपर्ने
काठमाडौं । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ । ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए । बिजुली प्रयोगमा ल्याएपनि र नल्याएपनि भारतलाई पैसा भने प्राधिकरणले तिरिरहनुपर्ने हुन्छ । टेक अर पे सर्त रहेकोले त्यहाँबाट विद्युत ल्यानैपर्ने बाध्यता रहेको छ । एक दिन ल्याउन नसके पनि १ करोड २० लाख रुपैयाँ घाटा हुने उल्लेख छ । नागरिक दैनिकबाट ।
चीनसँग ३ सम्झौता: किमाथांका, हिल्सा, कोरला, ओलाङचुङगोला नाकालाई व्यवस्थित बन्दै
काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालसँग सीमा जोडिएका पुराना र नयाँ नाका सबैलाई व्यवस्थित र अत्याधुनिक बनाउनुपर्ने बताएका छन्। दुईपक्षीय सहकार्य बलियो बनाउन आर्थिक गतिविधिले मुख्य भूमिका निर्वाह गर्ने उल्लेख गर्दै वाङले त्यसका लागि नाका व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन्। चिनियाँहरूले लगानी गर्न र दुईपक्षीय व्यापारिक गतिविधि बढाउन चाहिरहेको अवस्थामा स्टेट काउन्सिलका वरिष्ठ नेतासमेत रहेका वाङको यस्तो धारणा आएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालका १५ जिल्लाको सिमाना जोडिएको छ। ती हरेक जिल्लाबाट चीनतर्फ कुनै न कुनै खालको सडक मार्ग छ। त्यसमध्ये चीनले पछिल्लो समय रसुवागढी र तातोपानीसँगै किमाथांका, हिल्सा, कोरला, ओलाङचुङगोलालगायत नाकालाई व्यवस्थित गर्ने बताउँदै आएको छ। मंगलबार भएको द्विपक्षीय वार्तामा वाङले दुईपक्षीय सहयोग र सहकार्य बढाउन कनेक्टिभिटी पहिलो प्राथमिकता रहेको बताए। उनले भने, ‘हामी सडक सञ्जालमा जति धेरै जोडिन सक्छौं उति धेरै सहकार्य हुनेछ।’ नेपाल–चीनबीच आर्थिक गतिविधि बढिरहेको भन्दै उनले नेपालको विकास, पर्यटन, पूर्वाधारमा चीन सधैं सघाउन तयार रहेको स्पष्ट पारेको पनि सहभागीहरूले बताए। चीनले रसुवागढी–केरुङ नाकालाई मात्र बढी महत्त्व दिएको टिप्पणी भइरहेको अवस्थामा चिनियाँ उपप्रधानमन्त्रीले भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई थप व्यवस्थित र सहज बनाउन सहयोग गर्ने बताए। उनकै उपस्थितिमा मंगलबार नै कोदारी राजमार्गको स्तरोन्नतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसअनुसार चीनले काठमाडौं–कोदारी सडक चौडा र रसुवागढीको टिमुरेमा पुल निर्माण गर्न करिब १५ अर्ब रुपैयाँ (एक अर्ब आरएमबी) सहयोग गर्नेछ। तत्कालीन राष्ट्रपति रामवरण यादवले बोआओ फोरममा सहभागी हुने क्रममा तीन वर्षअघि चीन भ्रमण गर्दा नै यो रकम सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो। चीनले तातोपानी नाकाको स्तरोन्नति र रसुवागढी–केरुङ नाकाको व्यवस्थापन सँगै अघि बढाउन लागेको हो। दुवै नाकालाई नयाँ नाकाझैं मर्मत र व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै चिनियाँ पक्ष बढी सकारात्मक बनेको हो। अर्थसचिव शान्तराज सुवेदीले कोदारी राजमार्ग चौडा भएपछि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरे। चीनसँग सम्झौता १. आर्थिक तथा प्राविधिक सहयोग सम्झौता २. लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनको खाका सम्झौता ३. पेट्रोलियम पदार्थको अन्वेषणसम्बन्धी सम्झौता कान्तिपुर दैनिकबाट ।
बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट, बाढीबाट बचेका अन्नपात जोगाउनै मुस्किल
काठमाडौं । बाढीपीडितहरु आआफ्नो घर छोडेर बाहिरै बस्नुपरेको बाध्यता छ । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ । बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको बताएका छन् । पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।पाँच दिनदेखि उनिहरु छिमेकी बस्तीको सुरेन्द्र पटेलको घरमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुलाई सोही बास्तीका बासिन्दाले आश्रयसहित खाना पनि दिइरहेका छन् । सो बस्तीका चुल्हाइ पीडितले आफ्नो घरको गहुँलगायतका चोरी भएो बताएका छन् । बाढीले सबै बगाएका र भएका अन्नपात पनि विग्रएको कारण चोरी डकैति बढ्न थालेको छ । नेपाल समाचारपत्रबाट ।
सीसीडी रेसियो सीमा असोजसम्म ल्याइसक्नु पर्ने
काठमाडौं । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) तोडेका बैंक तथा वित्तीय संस्थाले आउदो असोजभित्र सीमा भित्र ल्याइसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असारसम्म सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई सहुलियित दिदै असोजसम्म पु¥याउन निर्देशन दिएको छ । सीसीडी रेसियो ८० र २० कायम गरिएको छ । असोजसम्म पनि सीसीडी रेसियो सीमामा नल्याउने बैंक तथा वित्तीय संस्थामाथि बढी प्रवाहित हुने कर्जा रकममा बैंक दरले हुन आउने बराबरको रकम हर्जाना लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ । वित्तीय घर्षण बढेर संकटपुर्ण अवस्था आएपछि सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले असारसम्म सीमामा ल्याउनु भनेकोमा पुनः ३ महिनालाई थप गरेको हो ।
वाणिज्य बैंकले २५ प्रतिशत प्राथमिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा लगानी बढाउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे वाणिज्य बैंकले कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि यस क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान थियो । यो वर्ष यस्तो कर्जा ५ प्रतिशत बढेको छ । वाणिज्य बैंकले कृषिमा १०, जलविद्युतमा ५, पर्यटनमा ५ र निर्यातमुलक, साना तथा मझौला उद्योग, औषधी र सिमेन्ट र तयारीपोशाक उद्योगमा ६ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था गरिएको थिएन् । केन्द्रीय बैंकले विकास बैंक र वित्त कम्पनीले प्राथमिक क्षेत्रमा प्रवाह गर्नुपर्ने प्रतिशत क्रमश १५ र १० प्रतिशतलाई यथावत राखेको छ । नयाँ व्यवस्थाअनुसार कर्जा लगानी नभएको पाइए हर्जना लगाइने राष्ट्र बैंकले जनाएको छ ।
चेम्बरले बाढीपीडितका लागि एक करोड रुपैयाँ बराबरको राहत दिने, डिजास्टर रिलिफ सेल गठन
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितहरुका लागि राहत स्वरुप एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। चेम्बरको मंगलबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरो पीडितका लागि सो रकम बराबर मूल्यको नगद एवं जिन्सी दिने निर्णय गरेको हो । दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि राहत पुर्याउन चेम्बरले २३ सदस्यीय डिजास्टर रिलिफ सेल गठन गरेको छ । डिजास्टर रिलिफ सेलको संयोजकमा चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल एवं सहसंयोजकमा दीपक मलहोत्रा र किसन अग्रवाल रहेका छन् । बाढीपीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारीका लागि पनि पहल गर्ने चेम्बरले निर्णय गरेको छ । बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
मार्जिन लेण्डिङमा कडाई, प्राथमिक पुँजीको ४० प्रतिशत मात्र लगानी गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा (मार्जिन लेण्डिङ) मा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे सेयर कर्जा सीमा घटाएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने छन् । यसअघि प्राथमिक पुँजी बराबर सेयरमा लगानी गर्न पाउने व्यवस्था थियो । एउटा सूचिकृत कम्पनीको सेयरको हकमा आफनो प्राथमिक पुँजीको १० प्रतिशत भन्दा ननाघने गरी मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । प्राथमिक पुँजी भन्नाले अघि त्रैमाशको लेखापरीक्षण भएको वित्तीय विवरणलाई बुझिने राष्ट्र बैंकले सपष्ट पारेको छ । यस्तै १ अर्ब रुपैयाँ बहुबैकिङ कर्जा उपयोग गरिरहेका ऋणीको कर्जालाई सहवित्तीयकरणमा परिणत गर्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख छ । विपन्न कर्जाअन्र्तगत लघुवित्तीय संस्थालाई प्रवाह गर्ने कर्जाको हकमा यो निर्देशन लागु नहुने भएको छ ।
नेशनल हाइड्रो पावरको नेतृत्व हाथवेले पाएन, अब के हुन्छ सेयर मूल्य ?
काठमाडौं । विगत एक महिनामा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर प्रतिकित्ता १३० रुपैयाँबाट १६५ रुपैयाँ पुग्यो । यसरी सेयरको मूल्य वृद्धि हुनुको कारण कम्पनीको वित्तीय अवस्थामा सुधार भएर होइन । नेशनल हाइड्रो पावर कम्पनीको नेतृत्व हाथवे इन्भेष्टमेन्ट कम्पनीले लिने पूर्वतयारीसँगै कम्पनीको सेयर दैनिक १० प्रतिशतसम्मले वृद्धि भएको थियो । हाथवे इन्भेष्टमेन्टको तर्फबाट अम्बिकाप्रसाद पौडेलले सबैको सहमति भएमा नेशनल हाईड्रो पावरको नेतृत्व लिन आफू तयार भएको बताएका थिए । तर बंगलबार सम्पन्न नेशनल हाईड्रोपावरको साधारणसभाबाट सर्वसहमतिमा चुनिएका सञ्चालकहरुको सूचिमा पौडेलको नाम छैन । निर्वाचित कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, एलसन श्रेष्ठ, नवराज नेपाल र सुशिला कुमारी शर्मा छन् । नबराज नेपाल हाथवे इन्भेष्टमेन्ट नेपालको बोर्ड मेम्बर हुन् । तर नेशनल हाईड्रोपावरमा उनको प्रतिनिधित्व हाथवेबाट सस्थागत नभई व्यक्तिगत लगानीकर्ताको हैसियतमा भएको हाथवे इन्भेष्टमेन्ट नेपालका प्रबन्ध निर्देशक अम्बिका पौडेलले बताए । नेशनल हाइड्रोपावरको साधारणसभा पूर्व हाथवेले उक्त कम्पनीको नेतृत्व गर्ने विषयमा छलफल भएको, त्यसमा आफूले सकारात्मक भूमिका खेलेको तर हालको बोर्डमा हाथवेको तर्फबाट कुनै पनि प्रतिनिधित्व नभएको उनले बताए । मंगलबार नै नेशनल हाइड्रोपावरको सेयर कारोबार उच्च भएको छ । मंगलबार मात्र नेपाल स्टक एक्सचेन्जमा नेशनलको ४ करोड ६१ लाख ४५ हजार ६९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१६ करोबारबाट २ लाख ८० हजार कित्ता सेयर किनबेच भयो । मंगलबार सो कम्पनीको सेयर प्रतिकित्ता १५९ देखि १७१ रुपैयाँमा कारोबार भयो र २६५ रुपैयाँमा कारोबार बन्द भयो । के हाथवे इन्भेष्टमेन्ट कम्पनीले नेशनल हाइड्रोपावर कम्पनीको सेयर बेच्न थालेको हो रु लगानीकर्तामा आंशका पैदा भएको छ । हाथवेले नेशनल हाईड्रोबाट हात झिकेको अवस्थामा यस कम्पनीको सेयर मूल्य घट्ने अनुमान गरिएको छ । नेशनल हाइड्रो पावर नेपाली सेयर बजारको सर्वाधिक विवादस्पद कम्पनी हो । २१ वर्ष पुरानो यस कम्पनीले अहिलेसम्म सेयरधनीलाई एक रुपैयाँ पनि लाभांश बाँढ्न सकेको छैन । यस कम्पनीको सेयर मूल्य कहिले ३५ रुपैयाँमा झरेको छ त कहिले ७०० रुपैयाँ नाघेको इतिहास छ । सेयर मूल्यमा ज्यादा उतारचढाब हुने यस कम्पनीको सेयरबाट संगठित रुपमा प्ले गर्ने थोरै लगानीकर्ताले मनग्य कमाएका छन् भने असंगठित धेरै लगानीकर्ताले निद्रा हराम हुनेगरी गुमाएका छन् ।