विकासन्युज

सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनीको साधारणसभा भाडियो

काठमाडौं । सेयरधनीबीच कुटाकुट भएपछि विशाल बजार कम्पनी लिमिटेडको साधारणसभा भाडिएको छ । मंगलबार राजधानी आयोजना गरिएको वार्षिक साधारणसभामा सेयरधनीबीच कुटाकुट र माइक खोसाखोस भएपछि भाडिएको हो ।नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेसनल ट्रेडिङ लिमिटेडका तर्फबाट लवराज जोशीको सञ्चालक अवधि २ वर्षअघि सम्पन्न भएपनि सञ्चालकको रुपमा रहेको र साधारणसभाको कार्यसूचीमा सञ्चालक समितिको निर्वाचन नभएपछि सेयरधनीले दुबै सञ्चालकलाई लखेटेका थिए । सापकोटा र जोशीको पदावधी ०७२ कात्तिकमा सकिएको थियो । सर्वसाधारणको ६५ प्रतिशत स्वामित्व रहेको छ । खाद्य संस्थान र नेसनल ट्रेडिङको गरी साढे ३४ प्रतिशत स्वामित्व रहेको छ । उच्च अदालत पाटनले असार ७ गते परामदेश जारी गरी साउन मसान्तसम्म वार्षिक साधारणसभा गर्न आदेश दिएपछि मंगलबार साधारणसभा बोलाइएको थियो । कम्पनीको साधारणसभा अनिश्चित भएको छ । कम्पनीका सेयरधनी सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । नेपालको पुरानो कम्पनी विशाल बजारमा चरम भ्रष्टाचार हुने गरेको छ । विशालबजार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख रुपैयाँ छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य ३०३० रुपैयाँ छ । कम्पनीको प्रबन्ध पत्रमा ११ जना सञ्चालक समिति रहने व्यवस्था छ । तर हाल यस कम्पनीमा २ जना मात्र सञ्चालक छन् । कम्पनी ऐन अनुसार लिमिटेड कम्पनीमा कम्तिमा ३ जनाको सञ्चालक समिति हुनु पर्छ । यस्तै कम्तिमा एक जना महिला सञ्चालक हुनु पर्ने नयाँ व्यवस्था छ । कम्पनी ऐनका यी व्यवस्थालाई विशाल बजारका सञ्चालक समिति र व्यवस्थापन समितिले अवज्ञा गर्दै आएका छन् ।  

चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारवाही, कर्जा प्रवाह गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्था पालन नगर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न समेत नपाउने भनिएका छ । तर, राष्ट्र बैंकले लिएको यो नीति कागजी डकुमेन्ट भएकोले निक्षेप संकलन गर्न जाने ग्राहकलाई राष्ट्र बैंकले गरेको व्यवस्था बैंक तथा वित्तीय क्षेत्रले पालन गरे नगरेको सर्वसाधारण ग्राहकलाई थाहा हुँदैन। बैंकहरूले गरेको यो व्यवस्था भने फितलो देखिएको छ । राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ जारी गर्दै तोकेको समयमा पुँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न समेत रोक लगाएको छ । बैंकले नगद लाभांश वा बोनस सेयर घोषणा तथा विवरण गर्न रोक लगाउने भएको छ । बैंकले शाखा विस्तार गर्न समेत रोकलगाएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था पुरा गरे/नगरेको विवरण निक्षेप कर्ता तथा कर्जा कर्जा लिन चाहने ग्राहक तथा सर्वसाधारणको जानकारी लागि सम्बन्धित बैंकको वेव साइटमा राख्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकले २०७३/७४ को वित्तीय विवरणमा प्रस्तावित वोनश सेयरलाई चुक्ता पुँजी गणना गर्ने भने छुट दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले आठ अर्ब, ‘ख’ वर्गका विकास बैंकले दुई अर्ब ५० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तर तथा चारदेखि १० जिल्ला कार्यषेत्र भएका वित्तीय कम्पनीले ८० करोड र एकदेखि तीन जिल्ले कार्यक्षेत्र भएका फाइनान्सहरूले ४० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कोशी, गण्डक र टनकपुर बाँधको चावी नेपालको हातमा हुनुपर्ने, सिंचाइ मन्त्रालयले बुझायो १० बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न भारत भ्रमणका क्रममा बाढी र डुवान समस्या समाधानका लागि छलफल हुने भएको छ । गत शुक्रबारदेखिको अविरल वर्षाले तराइका जिल्लामा बाढी र डुवानबाट ठुलो धन र जनको क्षति भएपछि सिंचाइ मन्त्रालयले डुवान नियन्त्रणका लागि १० बुँदे सुझाव प्रधानन्त्री देउवालाई बुझाएको हो । कोशी, गण्डकी र महाकाली नदीमा ठुला बाँधले गर्दा नेपाली भूभाग वर्षेनी डुवानमा पर्ने गरेको भन्दै यस विषयमा प्रधानमन्त्री स्तरिय बैठकमा कुरा उठाउन सिंचाइले सुझाव दिएको सचिव रामनन्दप्रसाद यादवले जानकारी दिए । कोशी, गण्डकी र टनकपुर बाँध भारतीय प्राविधिकको निन्त्रणमा हुदा समयमा बाँधका ढोका नखोल्दा नेपाली भूभाग डुवानमा पर्न गई ठुलो धनजनको क्षति भएपछि नेपाली प्राविधिकको हातमा बाँधको ढोका खोल्ने अधिकार हुनुपर्ने गरी छलफल गर्न सुझाएको उनले बताए । नेपालीको हातमा पनि बाँधको चावी हुनुपर्ने उनको भनाई छ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बिहान बसेको बैठकमा बोल्दै सचिव यादवले कोशी, गण्डकी र महाकाली सम्झौताले नेपाली जमिन डुवानमा परेकाले नेपालीले बाँधको ढोका खोल्न पाउनुपर्ने व्यवस्था आवश्यक भएको बताए । यता बाढीले तराईमा कृषि र सिंचाइमा मात्रै साढे १५ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । बाढीले कृषिमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सिंचाइ संरचनामा हालसम्म १२ अर्ब रुपैयाँ बराबरको क्षतिपुगेको मन्त्रालयले जनाएको छ । साँसदहरुले बाढी नियन्त्रणका लागि भारतसंग छलफल गर्न सरकारको ध्यानकर्षण गराएका थिए ।

तराइमा बाढीले कृषि र सिंचाइमा गरी साढे १५ अर्बको क्षति, कृषि र सिंचाइ मन्त्रालयले राहत घोषणा गर्दे

काठमाडौं । गत शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीले  कृषि र सिंचाइमा मात्रै साढे १५ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । बाढीले कृषिमा ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकासमन्त्री रामकृष्ण यादवले बताए । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिको बुधबार बिहान बसेको बैठकमा क्षतिका बारेमा जानकारी दिदै धानवाली नष्ट हुनुका साथै खोतियोग्य जमिन पनि खोलाहरुले कटान गरेको बताए । बैठकमा मन्त्री यादवले कृषिका लागि २, ३ दिनभित्र राहतका कार्यक्रम घोषण हुने जानकारी दिए । बाढी र डुवानले गर्दा तराइमा धानबाली र खेतीयोग्य जमिनमा व्यापक क्षति भएको प्रारम्भीक अध्ययनले देखाएको उनले बताए । यस्तै सिंचाइमन्त्री सञ्जयकुमार गौतमले बाढीका कारण सिंचाइ संरचनामा हालसम्म १२ अर्ब रुपैयाँ बराबरको क्षतिपुगेको बताए । उनले क्षतिग्रस्त संरचनाको निर्माण सुरु भइसकेको बताउदै मन्त्रालयले तत्काल २३ करोड रुपैयाँ निकासा गरेको जानकारी दिए । सिंचाइमा धेरै क्षति भएको बताउदै उनले २० अर्ब रुपैयाँ पुग्ने संभावना रहेको जानकारी दिए । सिंचाइको क्षतिग्रस्त संरचना बनाउने अर्बो रुपैयाँ लाग्ने मन्त्री गौतमले जानकारी दिए ।

सानिमामाई हाइड्रोको नाफा २८ गुणा बढ्यो

काठमाडौ ।  गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा २८ गुणा बढाएको छ । गत असारसम्म कम्पनीले २९ करोड २६ लाख रपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्ष उसले २८ करोड रुपैयाँ बढी नाफा कमाएको बुधबार सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख गरिएको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना सञ्चालन गरिरहेको सानिमाले गत आवमा बिजुली बिक्रीलगायत अन्य शिर्षकबाट कुल ८० करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी ४० करोड ३१ लाख रुपैयाँ मात्र थियो । एक वर्षमा सानिमाले आम्दानी दोब्बर बढाएको छ । कम्पनीको सेयर पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाटका दुईटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन साउन २७ गतेदेखि खुला भइसकेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।    

सूर्या लाइफले कमायो ९ करोड, प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ८ करोड ३९ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ३२ करोड ४६ लाख रहेको छ । भने जीवन बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । | यो बीमा कम्पनीले गत आवसम्ममा १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्कमार्फत आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ८ हजार रहेको छ । यसको बोनस दर प्रति हजार रु ३५ देखि ७० रुपैयाँसम्म रहेको छ । यसको प्रति सेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले कमायो २३ करोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बीमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा ४ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ७५ हजार ९१ रहेको छ । यसको बोनस दर ६१ देखि ८० रुपैयाँसम्म छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १७ करोड

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ४२ करोड ६७ लाख छ । यसले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको गत आवसम्मको कुल बीमा शुल्क आर्जन १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसले जारी गरेको विमालेखको संख्या १ लाख १३ हजार ९५८ रहेको छ । यसको नबीकरण भएको विमालेखको संख्या १ लाख १३ हजार छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४७८ रुपैयाँ ६७ पैसा रहेको पनि उल्लेख छ ।