बाढीपीडितका लागि प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट ५० करोड निकासा
काठमाडौं । सरकारले बाढीपीडितको उद्दार, राहत र क्षतिपूर्तिका लागि ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले विपदका निम्ती सञ्चित रहेको प्रधानमन्त्री दैवी कोष उद्धार कोषबाट सो रकम निकासा गरेको हो । बुधबार बसेको प्रधानमन्त्री दैवी कोष उद्धार कोष सञ्चाल समितिको बैठकले गत विहिबारदेखि अविरल वर्षाका कारण आएको बाढीका कारण पीडित लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको मौज्दात रकम एक अर्ब मध्ये ५० करोड रुपैयाँ गृह मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा निकासा गर्ने निर्णय भएको छ । समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा विभिन्न वाणिज्य बैंकहरुमा रहेको ५० लाख भन्दा कम मौज्दात भएमा बैंकको खाता अन्यमा सारी यस्ता खाता बन्द गर्ने निर्णय गरेको छ ।
चौधरी फाउण्डेसनद्धारा बाढीपीडितलाई राहत वितरण शुरू
काठमाडौं । चौधरी फाउण्डेसनले बाढी पीडितहरूलाई तत्काल राहत पुर्याउन प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, कम्बल, म्याट लगायतका सामाग्री वितरण शुरू गरेको छ । फाउण्डेसनका छुट्टाछुट्टै टोली सुनसरी, सप्तरी, चितवन, नवलपरासी र बर्दियामा बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमापुगी राहतवितरण शुरू गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पुर्याउन फाउण्डेसनबाट छुट्टाछुट्टै टोली खटाई राहत वितरण गर्ने निर्णय लिइएको हो । चौधरी ग्रुपद्वारा उत्पादित तयारी खानेकुराहरु बाढीपिडितलाई वितरण गरिएको छ । जसमा वाईवाई चाउचाउ, वाईवाई भुजिया, रियो जुस र रियो पानी रहेका छन् । यी खाद्यान्न पीडितका हातमा पर्ना साथ उपभोग गर्न सकिने भएकाले पीडितलाई तत्कालै राहत पुग्ने विश्वास गरिएको छ । यसका साथै पीडितहरुलाई कम्बल, ओछयाउने म्याट पनि वितरण गरिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले मंगलबार सप्तरी जिल्लाका बाढीबाट सर्वाधिक प्रभावित कदमाहा र जोगिनियामा पुगि राहत वितरण गरेको छ । बुधबार सुनसरीको देवानगञ्ज र हरिनगर लगायत गाउँमा राहत वितरण गरिएको छ । चितवनको दक्षिणी भेग मेघौलीको सुकुम्बासी वस्तीमा पनि राहत वितरण गरिएको छ । त्यसैगरि नवलपरासीको सरावल गाउँपालिकाको भुजवा गाउँमा राहत वितरणका लागि टोली प्रस्थान गरिसकेको छ । बर्दियामा प्रमुख जिल्ला अधिकारी बिष्णु थापालाई एक हजार प्याकेट राहत सामाग्री हस्तान्तरण गरिएको छ । स्थानीय प्रशासनले तत्कालै ति सामाग्री बाढीपीडितलाई वितरण गर्ने प्रतिवद्धता जनाएको छ । फाउण्डेसनले काठमाडौं, नवलपरासी र बर्दिया स्थित चौधरी ग्रुपका कार्यालयहरूमार्फत् राहत वितरणको अनुगमन गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका ग्रुपका डिलर र डिस्ट्रिब्युटरहरूलाई पनि परिचालन गरिएको छ । यससँगै फाउण्डेसनले पीडितहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘हेल्थ किट’ पनि वितरण गर्ने तयारी गरेको छ । जसमा अत्यावस्यकीय औषधी लगायत प्राकृतिक प्रकोपका समयमा स्वस्थ रहन सहयोग पुर्याउने सामाग्रीहरु रहनेछन् । ‘तराई क्षेत्र बाढी र डुवानको चपेटामा परेको छ । हजारौंब्यक्तिको जनधनक्षती हुनुका साथै विस्थापित हुनु परेको छ । यस्तो विपत्तीको समयमा मानवीय सहयोगका हात बढाउनु हाम्रो परम्परा हो’, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने ‘चौधरी फाउण्डेसन बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ । प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न म सबैमाआव्हानगर्दछु ।’ अध्यक्ष चौधरीले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गरेका छन् ।
पत्रकार महासंघका सचिव ध्रुव लम्साललाई रेडक्रसको सहयोग
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले १६०० थान प्राथमिक उपचार र सरसफाइ कीट नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्साललाई सोसाइटीको केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघको यही भाद्र ४ र ५ गते काठमाडौंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनका प्रतिनिधि एवं सहभागीहरुलाई वितरण गर्ने उद्देश्यले उपलब्ध गराइएको प्राथमिक उपचार तथा सरसफाइ कीटको मूल्य प्रति थान रु २१० (दुइसय दश) रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । सो किटमा साबुन, मञ्जन, दाँतमाझ्ने मञ्जन र ब्रस, मास्क, पानी शुद्धिकरण ट्याबलेट, जीवनजल, हेन्डीप्लास्ट जस्ता सामग्रीहरु रहेका छन् । सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापाले पत्रकार महासंघको केन्द्रीय महाधिवेशनको सफलताको शुभकामना सहित टोकन सहयोगको रुपमा सामग्री उपलब्ध गराउन पाएको खुशी व्यक्त गरेका छन् । साथै, उनले यसले दुई संस्था बीचको पारस्परिक सहयोग आदानप्रदानलाई अझ बलियो बनाउने बताए । यस्तै महासंघका सचिव लम्सालले नेपाल रेडक्रसले गत भूकम्पका बेला पनि पत्रकारहरुका लागि त्रिपालहरु उपलब्ध गराई गुन लगाएको स्मरण गर्दै रेडक्रसबाट प्राप्त यो सरसफाइ सामग्रीको कीट पनि महाधिवेशन प्रतिनिधिहरुसम्म पुर्याइने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देबेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरि न्यौपाने, केन्द्रीय सदस्य र विभागीय एवं कार्यक्रम प्रमुखहरुको सहभागिता रहेको थियो ।
एनआईबिएल समृद्धि फण्ड-१ले १८ प्रतिशत नगद लाभांश दिने, भदौ १३ गते बुक क्लोज
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ १३ गते फण्डको इकाई दर्ता किताब बन्द(बुक क्लोज) हुने छ । उक्त लाभांश दिने निर्णय साउन ३१ गते बसेको फण्डको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले उक्त लाभांश वितरणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन ब्यवस्थापनलाई निर्देशन दिएको छ ।
अपी पावरले ४८ मेगावाट क्षमताका २ आयोजना बनाउँदै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ४८ मेगावाट क्षमताको दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अपीले ४० मेगावाटको माथिल्लो चमेलिया र ८ मेगावाटको माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेकाले चाँडै सम्पन्न हुदै छ । २ आयोजना सम्पन्न भएपछि अपीको जडित क्षमता साढे ५६ मेगावाट पुग्ने छ । नौगाड र चमेलिया सुदुरपश्चिमको दार्चुला जिल्लामा पर्छ । चेमिलया आयोजनाको संभाव्यता अध्ययनका लागि कम्पनीले ऊर्जा मन्त्रालयबाट सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । यस्तै माथिल्लो नौगाड आयोजना निर्माणधिन अवस्थामा रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरणमा उल्लेख छ । नाफा घट्यो गत आवमा कम्पनीको नाफा घटेको छ । गत असारसम्म कम्पनीले ७ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा अपीको नाफा ८ करोड ८ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेर गत आवमा १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी १२ कारोड २० लाख रुपैयाँ थियो । अपीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । आयोजना बनाउन अपीले हकप्रद सेयर निष्कासन गरेको छ । अपीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ छ ।
समीट माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्दै, कहिले हुँदै छ बुक क्लोज?
काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले शतप्रतिशत(१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि यस संस्थाले आगामी भदौ ९ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बैंकको साधारणसभाले पारित गर्नु पर्ने छ ।
भाका नाघेको ऋण एक वर्षसम्म नतिरे कालोसूचीमा, राष्ट्र बैंककाे नयाँ व्यवस्था
काठमाडौं । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँ या सो भन्दा बढीको कर्जा सुविधा लिएर ऋण तिर्ने भाका नाघेको एक वर्षसम्म कर्जा भुक्तान नगरेमा ऋणी कालो सूचिमा पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ऋणीले ऋण तिर्न नसकेको कारण र अवस्था नखुलाइ जानी जानी भाका नघाएमा वा नियमवश ऋण नतिरेमा कालो सूचीमा राख्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यसका साथै कर्जाको दुरुपयोग गरेमा अथवा जुन प्रयोजनका लागि कर्जा लिइएको हो सो परियोजनमा उपयोग नगरी अनेत्र उपयोग गरेमा ऋणी कालो सूचीमा पर्ने छ । ऋणीको कावुलभन्दा बाहिरको अवस्था बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप तथा दैवी प्रकोप परेमा, कालोसूचीमा समावेश हुनु अघि नै रुग्ण उद्योग पुनरुत्थान समितिको सिफारिशमा पुनरकर्जा प्रदान गरिएमा ऋणीले पुनरकर्जा उपयोग गर्न पाउने समयावधिसम्म ऋणीलाई कालो सूचीमा राख्न पाइने छ । नेपाल सरकारले ग्राहकलाई जायजेथा तथा व्यवसाय संचालनमा स्थान अधिग्रहण गरेमा पनि ऋणी कालोसूचीमा पर्ने छैन । भाका नाघेको कर्जाको साँवा ब्याज चुक्ता गरेमा वा ऋणीको खातामा पर्याप्त मौज्दात नभइ चेक जारी गरेको व्यक्ति कालोसूचीमा समावेश भएकोमा सो व्यक्तिले उक्त चेकको रकम चेक जारी गरेको व्यक्तिलाई भुक्तान गरेमा पनि ऋणी कालोसूचीबाट हट्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । ऋणीलृे सुरक्षणमा राखेको सामान तथा सम्पत्ति दुरुपयोग गरेमा, ऋणी गायव भएमा, प्रचलित कानुन बमोजिम ऋणी टाट पल्टेमा, इजाजतपत्र प्राप्त संस्थाले ऋणी विरुद्ध अदालतमा मुद्दा दायरा गरेको अवस्थामा, ऋण असुली न्यायधिकरणमा उजुरी दिएको अवस्थामा पनि राष्ट्र बैंकको यस्तो व्यवस्था आकर्षित हुनेछ । नक्कली चेक, ड्राप्ट, विदेशी मुद्रा, क्रेडिट÷डेविट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी ठगी गर्ने, कुनै व्यक्ति, फम, कम्पनी, वा संस्थाले इजाजपत्रपाप्त संस्थासँग लिएको कर्जा वा सो कर्जाको लिखतको भाखाभित्र चुक्ता नगरी राखेमा पनि कालोसूचीमा पर्न सक्ने व्यवस्था गरिएको छ । ५० हजारभन्दा मुनिको कर्जाको लागि भने कर्जा अपलेखन गर्दाृ भने ऋणीलाई समावेश नगरी कर्जा अपलेखनमात्र पनि गर्न सक्ने छ । खातामा प्रर्याप्त रकम नभइ खेक जारी गरेमा उक्त व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था कालोसूचीमा पर्न सक्ने छ ।
लक्ष्मी बैंकको नयाँ शाखा रामेछापको मन्थलीमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा रामेछापको मन्थलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा बैंकको यो पहिलो शाखा हो । अब लक्ष्मी बैंकको शाखा संजाल ६८, ३ हस्पिटल सेवा काउन्टर, ८९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकले आ.व. २०७३/७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । साथै, सोही अवधिमा यस बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।