विकासन्युज

भ्रष्टचारी उम्मेदवार बन्न नपाउने विद्येयक समितिबाट पारित

काठमाडौं । नेपाली कांग्रेस सांसदले भ्रष्टचारीलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित भएको छ । राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएपछि विद्येयक पारित भएको हो । यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन हालेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्ने माग काँग्रसी साँसदले राखेका थिए ।  

करोडौँ मूल्यको शिलाजीत अलपत्र,आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत

म्याग्दी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजीत उत्खनन हुन सकेको छैन । शिलाजीत उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी करोडौँको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमंगले, मुदी, मुना, ताकम, मराङ, बिमलगायतका पहरामा शिलाजीत पाइन्छ । शिलाजीत उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन् । नुनिलो र टर्रो स्वाद हुने शिलाजीत भिरपहरामा मात्र पाइन्छ । शिलाजीत कालो र सेतो गरी दुई किसिमको हुन्छ । पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रे गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी रोग निको हुने जनविश्वास छ । शिलाजीत को नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजीत उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोड रुपैयाँसम्मको शिलाजित विक्री हुन सक्ने प्रवल सम्भावना रहेको भएता पनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ । बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजीत खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रति १० ग्राम शिलाजीत २५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुन्छ । तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजीत निर्यात हुनेगरेको छ । रासस

सहयोगी विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत

काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।  बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको थियो ।

पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचिकृत

काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो ।  

कागती बेचेर पाँच वर्षमा करोडपति, वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी

झापा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेका छन् । बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत छन् । उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पुर्याएको योगदान स्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका छन् । डेढ लाख रुपैयाँको लगानीमा कृषि कर्म शुरु गरेका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पुर्याएको बताएका छन् । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाएका छन् । डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गरेका उप्रेतीले अहिले वार्षिक डेढदेखि २ लाख कागतीका दाना बिक्री गर्छन् । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उनले सुनाए । कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनका बगैँचामा ३०० कागतीका बोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् । कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा ५० रुपैयाँदेखि ८५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए । उनले भने– “छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई ५० रुपैयाँदेखि ८५ रुपैयाँसम्ममा बिरुवा बिक्री गर्दै आएको छ ।” होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका थिए । उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन् । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उनले भने– “नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।” कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उनको अर्को आयस्रोतको बाटो हो । उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन् । त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उनको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका छन् । उनले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिएका छन् । हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु– उप्रेतीले भने– “माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो”– उनले पाकेका कागतीको दाना देखाउँदै भने–“सुनभन्दा कम छैन, यो कागतीको दाना ।” हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के नइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु– उप्रेतीले भने– “कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।” उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । रासस

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । आइतबार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतबार विभिन्न विमान कम्पनीले गरी १६ वटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् । पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए । अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ । बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरै पटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउँछन् । लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाइ कामसमेत भएको छैन । रासस

श्री एयरलायन्सको काठमाडौँ–धनगढी हवाई उडान शुरु

कैलाली, १९ भदौ । साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले आजबाट फेरि थप एक उडान शुरु गरेको छ । श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक छवटा उडान हुने भएका छन् । साेमबारबाट थपिएकोे उक्त एयरलायन्सको पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा आइपुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए । उहाँले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको जानकारी दिए । यात्रुको चाप बढ्दै गएकाले आजदेखि सो एयरलायन्सले दैनिक दुई उडान गर्न थालेको एयरलायन्सका धनगढी इञ्चार्ज गजेन्द्रबहादुर चन्दले बताए । यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, निजी क्षेत्रको बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले आज थप एक गरी जम्मा दैनिक छवटा उडान हुने भएका छन् । सडक यातायातबाट काठमाडौँसम्मको यात्रा गर्न सास्ती खेपिरहेका यस क्षेत्रका उपभोक्तालाई एकपछि अर्को गर्दै हवाई सेवा थपिन थालेपछि अब भने राहत हुने विश्वास गरिएको छ । विमानस्थलमा दुईवटा जहाजका लागि मात्र पार्किङ र नयाँ रिपिटर पावर भए पनि हाल भने दैनिक उडान थपिन थालेपछि आवश्यक पूर्वाधारको अभाव हुने देखिएको छ । रासस

हाइड्रोजन बमसँगै उछालियो सुनको भाउ, मूल्य १० महिनायताको उच्चतम विन्दुमा

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेसँगै सुनको भाउ ह्वात्तै उकालो लागेको छ । उक्त परीक्षणपछि विश्व युद्धको खतराबढेपछि सुनको भाउ १० महिनाकै उच्चतम बिन्दुमा पुगेको छ । उत्तर कोरियाको छैठौं सफल आणविक परीक्षणले युद्ध निम्त्याउने संशय बढेपछि लगानीकर्ता ‘सेफ हेभन’ मानिने सुनमा आकर्षित भएका छन्, जसले सुनबजार उकालो लागेको हो । रोयटर्सका अनुसार गत नोभम्बर ९ मा प्रति औंस १३३६ डलर पुगेको थियो । सोमबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १० अमेरिकी डलरले बढेर प्रति औंस १३३५ डलर पुगेको छ । सुनको भाउ आइतबार प्रति औंस १३२५ अमेरिकी डलर थियो । उत्तर कोरियाले छैठौं हाइड्रोजन बम सफल परीक्षण गरेपछि सुनको भाउ १३५० डलर सम्म पुग्ने अनुमान गरिएको छ । गत मंगलबार पहिलो सफल आणविक परीक्षण सँगै सुनको भाउ एक हजार रुपैयाँले उकालो लाग्यो । यद्यपी विहिबारसम्म उत्तर कोरिया- अमेरिका बीच वार्ता हुने हल्ला बाहिर आएपछि सुनको भाउ घटेको थियो । तर आइतबार उत्तर कोरियाले छैठौं हाइड्रोजन बमको विष्फोट गराएको छ ।  उत्तर कोरियाले आणविक बम परीक्षण गरेदेखि सुनको भाउमा उकालो लाग्ने क्रम रोकिएको छैन । उत्तर कोरियाको हालको शासन शैली अनि उसका छिमेकीहरुसंगको सम्बन्धका कारण उसको परीक्षणलाई अन्तर्राष्ट्रिय जगतले निकै गम्भीरताका साथ लिएको बिबिसीले जानकारी दिएको छ । ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बैठकबसेपछि अमेरिकी रक्षा सचिव जिम म्याटिसले रोयटर्ससँग कुरा गर्दै भने, ‘सम्पूर्ण सैन्य विकल्पबारे जानकारी गराउन राष्ट्रपतिले निर्देशन दिएका छन् ।’ नेपाली बजारमा उत्तर कोरियाले आणविक बम परिक्षण गरेपछि सुनको भाउ उकालो लागिरहेको छ । सोमबार सुनको भाउ प्रति तोला दुई सय रुपैयाँले बढेको छ । अमेरिका-उत्तर कोरिया बीच वार्ता हुने हल्लापछि सुनको भाउ घटेको थियो । तर ती हल्लालाई चिर्दै उत्तर कोरियाको शक्तिशाली बम परिक्षणले सुन बजारमा तहल्का मच्चाएको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तराष्ट्रिय बजार सुनको भाउ प्रति औंस १२३० सम्म झर्ने धेरैको अनुमान थियो । तर आइबारको अन्तिम कारोबार प्रति औंस १३३५ अमेरिकी डलर पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५६ हजार आठ सय रुपैयाँ सम्म पुगेको सुनको भाउ सोमबार ५७ हजार रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले अनुसार केहि दिनमै सुनको भाउ १३५० डलर पुग्ने अनुमान गरेका छन् । त्यस अनुसार नेपालमा सुनको भाउ प्रति तोला ५८ हजार रुपैयाँसम्म पुग्न सक्ने शाक्यले बताए । परीक्षणपछि पनि सुनको भाउ जुनस्तरसम्म बढ्नुपर्ने हो त्यती धेरे नबढेको शाक्यले बताए । सुनको भाउलाई डलरको भाउले केहि हदसम्म नियन्त्रणमा लिएको उनले बताए । उनले भने, ‘आइतबार १०२.७५ मूल्य रहेको डलर सोमबार १०२.६० पुगेको छ ।’