विकासन्युज

लुम्बिनी बिकास बैंकको नयाँ शाखा कुरिनटारमा

काठमाडौं । लुम्बिनी बिकास बैंकले  कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको तथा निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंको डिल्लिबजारमा रही देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जालहरु र १२ वटा एटीमबाट बैकिङ्ग सेवाप्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।

ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० सम्म बन्द

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० गतेसम्म बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ३० प्रतिश हकप्रद सेयर बिक्री गर्ने भएपछि सेयर दर्ता बन्द गरिएको बैंकले जनाएको छ ।

बोर्डमा आधा दर्जन कम्पनीको ७९ करोडको बोनस सेयर दर्ता

काठमाडौं । धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको बोनस सेयर दर्ता भएको छ । गत साउनदेखि हालसम्म ७८ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ७८ लाख ८८ हजार कित्ता दर्ता भएको बोर्डले जनाएको छ । साउनयता सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

नेप्सेको सीईआेमा ५ जना छनौट, व्यसायीक याेजना माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्तिका लागि ५ जनाको नाम शिफारिश भएको छ । सीईओ नियुक्तिका लागि शिफारिश गर्न गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र सीताराम थपलियालाई अन्तरवार्ताका लागि छनौट गरेको छ । व्यवसायिक योजना र अन्तरवार्तापछि छनौट हुने उम्मेदवार नेपाल स्टकको सीईओ हुने छ ।

आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने भएको छ । बिहीबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको हो । लाभाँश दिने निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुने छ ।

छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच बैंंकएस्योरेन्स सम्झौता

काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

अघि बढ्यो केरुङ-काठमाडौं रेल, रसुवागढी यात्रा एक घण्टामै

काठमाडौं । नेपाल र चीनबिच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको काम अघि बढाउने सम्झौता भएको छ । चीन भ्रमणमा रहेका उप प्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले रेल मार्ग निर्माण अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । नेपाल र चीनलाई जोड्ने सो रेल चीनको ह्लासा–सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका प्रवेश गर्नेछ । रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको रेल काठमाडौंबाट धादिङको कुरिनटार हुँदै एउटा लाइन पोखरा जानेछ भने अर्काे लाइन लुम्बिनी लाग्नेछ । चिनियाँ उच्च नेतृत्वसँगको भेटमा परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा नेपालका सबै राजनीतिक दल एकमत रहेको जानकारी दिएका थिए । वान वेल्ट वान रोडबारे नेपालमा एकमत रहेको बताएपछि मात्रै चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो । काठमाडौं-रसुवागढी यात्रा एक घण्टामै रेल मार्गले काठमाडौंबाट चिनियाँ नाका केरुङको दुरी एक घण्टामै सिमित गराउनेछ । यस अघि चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुरुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको थियो । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै हुने उल्लेख गरेको थियो । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सिमित गर्न सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुने उल्लेख छ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्ने उल्लेख छ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । कम्पनीले १८ अर्ब चिनियाँ मुद्रा खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको थियो । चाइना रेल वे इन्टरनेशनलको सो प्रस्ताव रेल विभागमा २०७३ पुस ११ गते २३६ नम्बरमा दर्ता गरिएको थियो । सो कम्पनीले ३० प्रतिशत नेपाल सरकारले लगानी गर्ने र ७० प्रतिशत चीन सरकारले सहुलियत ऋण उपलब्ध गराउने मौखिक प्रस्ताव गरेको थियो ।