कुलप्याडको नयाँ स्मार्टफोन ‘कुल वान’ नेपाली बजारमा, ६४ जिबिसम्म स्टोरेज
काठमाडौं । जय मा ईन्टरकन्टिनेन्टल प्रालीले नेपाली बजारमा नयाँ कुलप्याड ‘कुलवान प्लस ६४ जिबि’ सार्वजनिक गरेको छ । कुलप्याडकुल वानमा १३+१३ एमपी ड्युल रियर क्यामरा रहेको पहिलो फोन रहेको कम्पनीको दाबी छ । फोनमा एफ/२.० एपर्चर र ड्युल टोन एलडिडि फ्लयास सहित १३ मेगापिक्सल जोडी सेन्सर रहेको छ । पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रोले डेप्थ, डिटेल र ब्राइटनेसको सन्तुलन मिलाउन सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । ८ मेगापिक्सलको सेल्फि क्यामरा रहेको यो फोनमा एफ/२.० एपर्चर सहित ८० डिग्री वाइड एंगल लेन्सपनि छ । यो फोनमा ६४ बिट अक्टा कोर क्वालकम स्न्यापड्रागन ६५२ एसओसी, ४ जिबि एलपिडीडीआर३ र्याअम र एड्रेनो ५१० जिपियु पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
सोमबार साढे ९ अर्बको ट्रेजरी बिल्स अाउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे ९ अर्ब रुपैयाँको ट्रेजरी बिल्स निष्कासन गर्न लागेको छ । राष्ट्र बैंकले बोलकबोलबाट सरकारका लागि यो रकम जुटाउन लागेको हो । २८ दिनका लागि ३ अर्ब, ९१ दिनका लागि साढे २ अर्ब, १८२ दिनका लागि २ र एक वर्षका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल्स उपकरणमार्फत सरकारलाई रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ६६ अर्ब रुपैयाँ ट्रेजरी बिल्समार्फत सरकारलाई रकम उपलब्ध गराउने भएको छ ।
दरबारमार्गका पसल खुलाउन एफएनसिसिआईको दबाब, आपूर्ति मन्त्रीले भने, ‘पहुँच छ भन्दैमा जे गरेपनि हुन्छ ?’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीको पसल खुलाउन सरकारलाई दबाव दिएका छन् । सिलबन्दीले व्यापारीको छवि बिग्रेको बताउँदै शुक्रबार महासंघले आपूर्ति मन्त्री शिवकुमार मण्डलसँग व्यवसायीका पसल खोल्न अनुरोध गरेका छन् । महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेकोले शिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको मन्त्रालयले जानकारी दिएको छ । त्यसको जवाफमा मन्त्री मण्डलले कार्वाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरेका छन् । ‘कम बिजकमा सामान भित्रयाएको र ठगीने कुरा पनि अस्वभाविक देखिएकोले नियत नै ठगी गर्ने भयो भने राम्रो गर्दैन’ मन्त्री मण्डलले भने, ‘मर्का परेको विषयमा छलफल गर्नुस तर व्यक्तिले राज्य ठग्नु ठीक भएन ।’ आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कार्वाही हुने स्पष्ट पारेका छन् । ‘यो विषय कानुनी रुपमा हल हुन्छ, विद्यमान कानुनले जे दिएको छ त्यसै अनुसार हुन्छ’ उनले भन्नुभयो ‘गलत गरेको छ भने दण्डित हुन्छ हैन भने केही हुन्न ।’ उनले पहुँच छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने प्रबृत्ति अन्त्य गर्न पनि व्यवसायीलाई आग्रह गरेका छन् । उपभोक्तालाई सहज र सुलभ तरीकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा पुगेको ठाउँमा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेकोले गलत काम गर्ने कार्वाहीको भागीदार हुने उनको भनाई छ । ‘राज्यको शसक्त उपस्थिती भएको ठाउँमा त मेरो पहुँच छ जे गरेपनि हुन्छ भन्ने हुन्छ भन्ने अभिव्यक्ति छ भने सर्वसाधरणलाई कस्तो व्यवहार होला ?’ मन्त्री मण्डलले भने – ‘राज्यमा नियम कानुन छ भन्ने कुराको प्रत्याभूति होस्, अस्त व्यस्तताको अवस्था ट्र्याकमा जाओस भन्ने हाम्रो उद्येश्य हो ।’
दरबारमार्गका व्यवसायी विरुद्ध ‘ठगी मुद्दा’को प्रमाण जुटाउँदै सरकार
काठमाडौं । बढी मुनाफा लिएर उपभोक्ता ठगी गर्ने दरबारमार्गका व्यवसायीलाई आपूर्ति व्यवस्थापन विभागले शुक्रबार बयान लिन थालेको छ । विभागले सिलबन्दीमा परेका दरबारमार्गका व्यवसायीविरुद्ध प्रमाण जुटाउन थालेको छ । जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि विभागले आवश्यक प्रमाण जुटाइरहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । विभाग नेतृत्वको निरिक्षण टोलीले अनुगमनमा असिमित मुनाफा लिएर सामान बिक्री वितरण गरिरहेको अवस्थामा सिलबन्दी गरेको थियो । टोली तीन दिनभित्र आवश्यक कागजात सहित पेश गर्नका लागि दिएको निर्देशनका आधारमा दरबारमार्गका नौ वटा ब्राण्डेड शपका सञ्चालकहरुसँग बयान थालिएको विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए । उनले भने, ‘हामीले व्यवसायीसँग बयान लिइरहेका छौं । कतिपय व्यवसायी आइपुगेका छन् कोही आउन बाकी नै छन् । लागत तथा सञ्चालन खर्च महंगो पर्ने भएकाले महंगोमा बेच्नुपरेको उनिहरुको तर्क छ ।’ सिलबन्दीमा परेका पसलका सञ्चालक विरुद्ध मुद्दा दायरका लागि थप प्रमाण जुटाउन आवश्यक रहेको श्रेष्ठले बताए । यस विषयमा थप अनुसन्धानका लागि अर्थ मन्त्रालयसँग सहायता लिने उनले जानकारी दिए । उनले भने, ‘बिल बीजक, कर तथा भन्सार शुल्कको विषयमा अनुसन्धान गर्नुपर्छ । उनिहरुसँग स्पष्टिकरण लिइ अर्थ मन्त्रालयसँग मिलेर थप अनुसन्धान गर्छौं । त्यसपछि मुद्दा दायरको प्रक्रिया अघि बढाउँछौं ।’ व्यवसायीले बिक्री गरेका सामान ब्राण्डेड भएको दाबी गरेकाले त्यसको गूणस्तरपनि छानबिन गर्नुपर्ने भएको श्रेष्ठले बताए । उनले भने, ‘ब्राण्डेड सामानको गूणस्तरको त्यसको भन्सारले गर्ने मूल्यांकन अनुसार अनुसन्धान जारी रहेको छ ।’ विभागले दरबारमार्गका नौ वटा ब्राण्डेड शपहरुमा सिलबन्दी गरेको थियो । सिलबन्दीको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलनमा छन् । व्यवसायीले क्षतिपूर्तिको माग गर्दै दरबार मार्गका पसलहरु अनिश्चितकालिन बन्द गरेका हुन् । दरबारमार्गका व्यवसायीले बेच्ने समानमा कानुनले २० प्रतिशतको मार्जिन नतोकेकाले बढी मूल्यमा सामान बेच्नु गलत नभएको दाबी गरेका छन् । सरकारले सिलबन्दी नतोडेसम्म आन्दोलन फिर्ता नलिने दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपतिले बताए । शुक्रवार आपूर्ति विभागले ४० प्रतिशत भन्दा बढी मुनाफा लिएर बिक्री वितरण गरिरहेको अवस्थामा न्यूरोडका दुई ठुला ब्राण्डेड शपमा सिलबन्दी गरेको छ । विभागको नेतृत्वमा गएको टोलीले तिरुपति लिर्वट जुत्ता र फिट वेल सुज प्रालिमा सिलबन्दी गरेको हो ।
भारतीय ब्राण्डका घरायसी सामान नेपाली बजारमा, मिक्चरदेखि टावर फ्यानसम्म
काठमाडौं । शुभानी इन्टरप्राइजेजले भारतीय ब्राण्डका होा अप्लायन्स नेपाली बजारमा ल्याएको छ । शुक्रबारदेखि भारतीय होम एप्लायन्स ब्राण्ड एमसी कोएका उत्पादनको नेपालमा बिक्री सुरु गरिएको हो । शुभानी इन्टरप्राइजेजले नेपालमा पहिलो पटक सो ब्राण्डको विक्रि सुरु गरेको हो । यो ब्राण्ड भारत लगायत अन्य २४ देशमा यसको बजार विस्तार भएको छ । यसको ब्राण्डमा मिक्चर ग्राइन्डर, फुड प्रोसेसर, जुसर मिक्सर ग्राइन्डर, इन्डक्सन, एयर कुलर, टावर फ्यान लगायतका उत्पादन रहेको छ । आगामी दुई वर्ष भित्र नेपाली बजारमा आफ्नो व्यापक बजार विस्तार गर्ने उद्देश्यसहित उक्त उत्पदन सार्वजनिक गरिएको कम्पनीका कार्यकारी निर्देशक रुपकुमार क्षेत्रीले बताए । ‘बजारमा उपलब्ध अन्य होम एप्लायन्सभन्दा एमसी कोए शुलभ र गुणस्तरिय छ’, उनले भने । कम्पनीले आउँदो दिनमा एयर कन्डिस्नर, वाटर डिस्पेन्सरलगायतका अन्य उत्पादन बजारमा ल्याउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
राष्ट्र बैंकमा ३० बर्षे कार्यकाल हटाइँदै, यी हुन लाभग्राही आधा दर्जन हाई प्रोफाइल
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको सेवा अवधीमा रहेको ३० बर्षे कार्यकाल हटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । राष्ट्र बैंक सञ्चालक समितिले गत असार १८ गते सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा कर्मचारी सेवा नियमावली परिमार्जन एंव संसोधन सुझाव समिति गठन गरेको थियो । ३० बर्षे सेवा अवधी हटेमा आधा दर्जन हाइ प्रोफाइल सहित ३ सय कर्मचारीको जागिरे अवधी १२ बर्षसम्म बढ्नेछ । ५८ बर्षे सेवा अवधीको व्यवस्था लागु भएमा जागिरे अवधी बढ्ने हाइप्रोफाइलहरुमा केहि कार्यकारी निर्देशक र केहि सहायक निर्देशकहरु रहेका छन् । कार्यकारी निर्देशक रमेश पोखरेल, निमित्त कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एजेन्द्र लुईटेल, बासुदेव अधिकारीले लाभ पाउनेछन् । उनीहरुको जागिरे अवधी ८ बर्षसम्म वृद्धि हुनेछ । त्यस्तै, निर्देशक तथा सहायक प्रवक्ता राजेन्द्र पण्डित, केशब थापा, मुकुन्द महत, निमित्त निर्देशक बलराम पौडेल, रमण नेपाल लगायतको जागिरे अवधी पनि थपिनेछ । यीनीहरुको जागिर न्युनतम ३ बर्षदेखि ८ बर्षसम्म थपिने राष्ट्र बैंक श्रोतले बतायो । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रेग्मीको नेतृत्वमा गठन भएको समितिको सिफारिसका आधारमा सञ्चालक समितिले ३० बर्षे सेवा अवधी खारेज गरेर ५८ बर्षे उमेर हद सुरु गर्न लागेको हो । राष्ट्र बैंकले वित्तिय क्षेत्र सुधार कार्यक्रम लागु गरेपछि २०६२ सालदेखि ३० बर्षे सेवा अवधी कार्यान्वयनमा आएको थियो । ‘कर्मचारीको सेवा बिनियमावली परिमार्जन एंव संसोधन सुझाव समितिले दिएको रिपोर्ट अनुसारको रिपोर्ट सञ्चालक समितिमा पुगेको छ, तर सञ्चालक समितिले पारित गरिसकेको छैन’, राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सञ्चालक समितिका कम्पनी सचिव राजेन्द्र पण्डितले विकासन्युजसँग भने । पण्डितसहितको एउटा टोलीले शुक्रबारै अर्थ मन्त्रालय पुगेर सञ्चालक समिति सदस्य समेत रहेका अर्थ सचिव शान्तराज सुवेदीलाई ३० बर्षे सेवा अवधी हटाउने निर्णयमा मनाउने प्रयास गरेर फर्केको थियो । श्रोतका अनुसार गभर्नर, दुई जना डेपुटी गभर्नर, अर्थ सचिव शान्तराज सुवेदी र श्रीराम पौडेलले ३० बर्षे सेवा अवधी हटाउन सहमति जनाईसकेका छन् । ३० बर्षे सेवा अवधी संसोधन नभएमा २६ जना, आगामी जेठमा ७० जना, मंसिरमा ४० जना कर्मचारीले अनिवार्य अवकास पाउने थिए ।
एनआईसी एशिया बैंकले गर्यो ४ पटकमा १ करोड १० लाख डलर आयात
काठमाडौं । एनआईसी एशिया बैंकले विदेश जाने नेपालीका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्न डलरको आयात गरेको छ । डेढ महिनाभित्र बैंकले १ करोड १० लाख डलर आयात गरिसकेको छ । डेढ महिनाअघि ल्याएको ६० लाख डलर सटही भइसकेपछि पुनः ५० लाख डलर आयात गरेको बैंकका कर्पोरेट कम्युनिकेसन प्रवन्धक मेघेन्द्रप्रकाश गिरीले बताए । थप डलर आयातका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए । बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेको संख्यासंगै र डलरको माग पनि बढ्ने भएपछि चौथो पटक ५० लाख डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन थालेको हो । यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखामा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ । यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकलाई पर्न गएको असजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकलाइ डलर आयात गर्न अनुमति दिएपछि विदेशबाट डलर आयात गर्ने थालेको हो । यस्तो कारोबारमा एनआईसी एशिया पहिलो बैंक बनेको छ । डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने बैंकले जनाएको छ । कागजात पूरा गरी आउनेलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ । बैंकले हालका लागि काठमाडाैं भित्रका ३२ शाखा कार्यालयबाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । विदेश जाने ग्राहकहरुलाई भीसा इन्टरनेसनलेको डेविट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको बैंक जनाएको छ ।
२ दिनमै १९ हजार भन्दा बढी उपभोक्ताले गरे दशैंको बेला सस्तो मेलाको अवलोकन
काठमाडाैं । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रो दिन सम्ममा १९ हजार भन्दा बढी उपभोक्ताले मेला स्थल अवलोकन गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाइने भएकै कारण उपभोक्ताको घुइँचो लागेको मेला संयोजक दिपेश जोशीले बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलामा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शंशेर राणाले पनि अबलोकन गरेका छन् । अबलोकन पछि अध्यक्ष राणाले उपभोक्ताले सस्तो सामान पाउने र व्यवसायीले पनि आफ्नो स्टकमा रहेका सामानको कारोबार गर्न पाउने मेला दुबै पक्षका लागि फाइदाजनक भएकोे बताए । बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका रहेको कम्पनीले जनाएको छ । मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।