सेयर बजारमा दशैंको लक्की सेभेन प्रभाव, कारोबार भने १४ करोड मात्रै
काठमाडौं । निरन्तर घट्दै गएको सेयर बजार दशैपछि सुधार हुने संकेत देखिएको छ । दशैसकिए लगतै मंगलबार पहिलो दिन सेयर बजार खुल्दा झण्डै ७ अंकले बढेको छ । बजार बढेपछि नेप्से परिसुचक १ हजार ५५६ अंकमा पुगेको छ । मंगलबार बैकिङ, व्यापार, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार सामान्य वृद्धि भएपनि कारोबार कम भएको छ । मंगलबार १४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ७६४ रुपैयाँमा ४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
पर्यटक प्रवेश शुल्क उठाउन शुरु
सल्लेरी, सोलुखुम्बु । खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट २ हजार रूपैयाँका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले जनाएको छ । नेपाल पर्यटन बोर्ड र टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक २ हजार रूपैयाँ शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाएपनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका कुनै पनि काम नगरेकाले गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अक्टोबर १ तारिखकै दिन मन्जोमा रहेको टिम्स कार्ड चेकपोष्टसमेत हटाएको गाउँपालिकाले जनाएको छ । यस कार्यबाट पर्यटक दोहोरो मारमा परेका छन् भन्दै पर्यटन व्यवसायी नाम्गेल शेर्पाले सो निर्णयले पर्यटकले विगतमा रु पाँच हजार ३९९ प्रवेश शुल्क बुझाउनुपर्नेमा अहिले रु सात हजार ३९९ बुझाउनुपर्छ । टान र पर्यटन बोर्डलाई टिम्स कार्ड वितरणको जिम्मा दिएको अवस्थामा गाउँपालिकाको निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको टिप्पणी छ । टानका महासचिव कर्ण लामाले गाउँपालिकाको यो अपरिपक्क निर्णयले गाउँपालिकालाई नै असर पर्ने हँुदा तत्काल निर्णय सच्चाउनुपर्नेमा जोड दिनुहुन्छ भने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने संवैधानिक अधिकारको प्रयोग गर्दै आफूहरुले पर्यटक प्रवेश शुल्क निर्धारण गरेको बताए । रासस
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार, पुरस्कार राशी ११ लाख अमेरिकी डलर
स्टकहोम । सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ । मानिसको शरीरले पनि बिहान घाम उदाउँदा, दिउसो र साँझ अथवा घाम अस्ताउँदा के कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा उनीहरुको अनुसन्धान केन्द्रित रहेको थियो । तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार बिजेताका रुपमा घोषणा गरिएको उक्त समितिले सोमबार जनाएको छ । वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोजब्यास र माइकल डब्ल्यु.याङ्ले ‘सकार्डियन रिदम’ बारे गहन अनुसन्धान गरेका थिए । उनीहरुको यो संयुक्त अनुसन्धानका लागि यस पुरस्कार पनि संयुक्त रुपमा दिइएको छ । ‘सकार्डियन रिदम’ भनेको मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो । यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ । उनीहरुको अनुसन्धानअनुसार मानव शरीरले समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्ने गर्दछ । यसैका कारण राति मानिसलाई निद्रा लाग्छ भने बिहानीको समयको पनि शरीरको घडीले नै जानकारी दिन्छ र निद्राले छोड्छ । यस बायोलोजिकल क्लकले मानिसको मनको भाव (मुड), तापक्रम र विभिन्न हर्मोनहरुको अवस्थाको बारेमा पनि निर्धारण गर्ने गर्छ । पुरस्कार छनोटसम्बन्धी नोबेल समितिका सदस्य जुलिन जिराथले सोमबार स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा भने – यस चिकित्साशास्त्रतर्फको यस बर्षको यो अनुसन्धान महत्वपूर्ण हो यस अनुसन्धान र ती बैज्ञानिकहरु नोबेल पुरस्कार प्राप्त गर्न योग्य छन् । यस अनुसन्धानबाट मानिस निकै टाढाको यात्रामा रहेका बेला पनि एक महादेशदेखि अर्काे महादेशमा जादा समयमा पर्ने फरक र परिवर्तित समयका कारण शरीरले थाहा पाउने चाललाई यसले सहज बनाउने छ । त्यस्तै जहाजको लामो यात्राका क्रममा पनि शरीरलाई ‘जेट ल्याग’ हुने जस्ता शारीरिक प्रतिक्रियाको मापनमा पनि यो अनुसन्धानले सहयोग गर्ने र यसले मानवको स्वास्थ्य समृद्धिमा सहयोगी सिद्ध हुने पनि जिराथले जानकारी दिए । यो शारीरिक चाल मानिसमा मात्र नभएर बोटबिरुवा, प्राणी तथा अन्य जैविक वस्तुहरुमा पनि देखिने गरेको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ । यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ । रासस
स्थानीय तहमा अझै बैंक पुगेनन, ४ घण्टासम्म हिड्नु पर्ने वाध्यता
काठमाडौं । स्थानिय तहमा बैंक नपुगेपछि दुर्गम जिल्लामा वित्तीय कारोबार गर्न कठिनाई भएको छ । सरकारले जेठ २९ गते गठन भएका सबै स्थानिय तहमा वाणिज्य बैंकको एउटा शाखा हुने गरी सेवा विस्तार गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई भनेको थियो । नेपाल राष्ट्र बैंकले पनि यसका लागि प्रक्रिया अघि बढाए पनि अझै १४ दुर्गम जिल्लाका अधिकाँश स्थानिय तहमा बैंक पुग्न सकेका छैनन् । हिमाली र दुर्गम पहाडी जिल्लाका स्थानिय तह छन । जिल्ला सदरमुकाममा बैंक भएपनि गाउँमा छैनन् । तेह्रथुमका तीन स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका फेदाप गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र फेदाप गाउँपालिकामा अझै पनि बैंक खुलेका छैनन् । बैंक नहुँदा सर्वसाधरण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनीधिलाई समस्या भएको छ । निर्वाचनपछि सबै अधिकार गाउँ आउँदासमेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । अझै पनि बैंकको काम लिएर चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परेको छ । यस्तै म्याग्दीको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ । राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई दुई महिनाभित्र ३५२ वटा स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)मा शाखा विस्तार गर्न भने पनि हालसम्म दुर्गम जिल्लामा बैंक पुगेका छैनन् । स्थानीय तहका लागि सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको । सो रकम स्थानीय तहको संचित कोषमा सोझै निकासा गर्ने व्यवस्था गरिएको र स्थानीय तहले संचित कोष खाता ‘क’ वर्गको बैंकमा मात्र खोल्न सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था कार्यान्वयन गर्नको लागि स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा अनिवार्य भएको छ । ७५२ स्थानीय तह मध्ये हालसम्म ३९२ वटा स्थानीय तहमा मात्र ‘क’ वर्गको बैंक शाखा भएको र ३५२ वटा स्थानीय तहमा अझै ‘क’ वर्गका बैंक पुगेका थिएनन् । प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको छ । ४११ वटा मध्ये अधिकांश गाउँपालिका निकै दुर्गममा छन् । अधिकांशमा सडक सुविधा, बैंको कार्यालय राख्न उपयुक्त भवन जस्ता भौतिक संरचनाका साथै बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको छ । जसका कारण बैंकका शाखा खोल्न निकै अप्ठेरो देखिएको छ । संघले २५० वटा शाखा खोल्नका लागि प्रस्ताव गरेको छ । नयाँ शाखा खुलेपछि ६०० वटा स्थानीय तह अर्थात ८० प्रतिशत जनतामा बैंकिङ पहुँच पुग्नेछ ।
कर्मचारीको दशैंः एक दिने टिकादेखि ह्विस्कीको चुस्कीसम्म
काठमाडौं । दशैं पर्वले सिंगो नेपाली समाजलाई जोड्ने प्रयास गरिरहेको छ । आर्थिक गतिबिधि र चहलपहलले दशैं अब हिन्दुहरुको मात्रै चाड नभएर सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भैरहेको छ । नेपालकै पनि बिभिन्न ठाउँमा दशैं मनाउने तौर तरिका फरक छन् । यस्तो छ पाँच जना सरकारी कर्मचारीहरुको दशैं योजना दशैंमा हल्का चुस्कीः निरज गिरी, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड मेरो मावली पनि काठमाडौंमै छ । ससुराली पनि यतै छ । बुवा आमा सबै जना काठमाडौंमै हुनुहुन्छ । हामी दशैंमा मान्न २० जना जति भेट हुन्छौं । हाम्रो परिवार अझै पनि संयुक्त परिवार नै हो । बुवा आमाको हातबाट टिका र आशिर्वाद लिन्छौं । पुर्णिमाको दिन बाहेक सबै दिन हामी टिका लगाउने र आशिर्वाद दिने काममा व्यस्त हुन्छौं । मलाई सेकुवा साह्रै मन पर्छ । साथी भाई भेट्दा हल्का चुस्की पनि लगाइन्छ । दशैंमा पनि आफन्तजनसँग बसेर एक दुई पेग लगाउँछु । कुन ब्राण्डको पिउने भन्ने त्यस्तो बिशेष रोजाई छैन् । टिका एक दिन मात्रै लगाइन्छः राजुरमण पौडेल, निर्देशक, बीमा समिति यसपालीको दशैं काठमाडौंमै मनाउने हो । नवमीको दिनदेखि मात्रै दशैं सुरु हुन्छ । आमा र दाईको हातबाट टिका लगाउने हो । मेरी छोरी र भतिज विदेशमा छन् । परिवारका बाँकी सदस्य सबै भेला हुन्छौं । म तास फिटिक्कै खेल्दिन् । अलि अलि ह्विस्कीको चुस्की लगाउँछु । एक दुई पेग भए पुग्छ । मात्तिने गरि पिउँदिन् । स्पेशल ब्राण्ड पनि छैन् । मासुको आइटम मन पर्छ । बिशेष गरि खसीको मासुमा मेरो रोजाईमा पर्छ । हामी एक दिन मात्रै टिका लगाउँछौं । यो पश्चिम नेपालको चलन हो । म काठमाडौं आएको त २० बर्ष भयो तर पनि दशैंको टिका लगाउने चलन भने अझै पनि एक दिन नै कायम छ । रक्सी नखाएको डेढ दशक भयोः राजेन्द्र पण्डित, सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक म फुलपातिको दिन दशैं मान्न पुख्र्याैली घर तनहुँ आएँ । हाम्रो परिवारमा दशैं मनाउन ११ जना जम्मा भएका छौं । बुवा आमाको हातबाट टिका लगाउने हो । हामी दशमीको दिन मात्रै टिका लगाउँछौं । बरु त्यो दिन राती १२ बजेसम्मै टिका लगाउँछौं तर एकादशीबाट टिका लगाउने चलन छैन् । म टिका लगाएर एकादशीकै दिन काठमाडौं फर्कने योजनामा छु । मलाई गाउँका उत्पादन मन पर्छ । लोकल खसिको कबाब मलाई मन पर्ने आइटम हो । काँक्रोको अचार भनेपछि हुरुक्कै हुन्छु । रोलरोटी पनि मलाई असाध्यै मन पर्छ । मैले रक्सी नखाएको १७ बर्षपछि भैसक्यो । बरु साथीभाइहरुको समुह पुगेन भने म्यारिज र कल ब्रेक खेल्न भने तयार हुन्छु । दशैंमा उत्पात पढ्ने योजना छः प्रकाशभक्त उपाध्याय, सिडिई, रेल विभाग यसपालीको दशैं काठमाडौंमै मनाइन्छ । मेरो खुट्टामा समस्या छ, आराम गरिरहेको छु, त्यसकारण दशैंमा चितवन झरिन्न । बुवाको हातबाट टिका र आशिर्वाद थापिन्छ । हामी तनहुँबाट चितवन झरेका हौं, त्यसकारण हाम्रो टिका एक दिन मात्रै हुन्छ । टाढाबाट आफन्तलाई मात्रै टिकाको भोली पल्ट पनि टिका लगाइदिन्छौं नत्र दशैंको टिका एक दिन मात्रै लगाउने चलन छ । मलाई कबाव साह्रै मन पर्छ । रक्सी खान्न । तास त मैले जीवनमै समाएको छैन् । यसपाली खुट्टाले साथ दिएको छैन, त्यसैले दशैंमा उत्पात पढ्ने योजना छ । मलाई फुर्सदको समय पढ्न मन लाग्छ । त्यसैले यसपालीको दशैं भनेको पढेरै बिताउने योजना छ । परिवारसँग टिका लगाउने, भेटघाट गर्ने अनि मज्जाले पढेर बस्ने योजना बनाएको छु । रक्सी खान्न, ससुराली पनि जान्नः मिनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दुर सञ्चार प्राधिकरण मेरो घर गोरखा हो । फुलपातिका दिन गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ मा रहेको पुख्र्यौली घर आएँ । बुवासहित हाम्रो घरमा १८ जनाको भेट हुन्छ दशैंमा । श्रीमति र छोरीसहित ३ जना हामी काठमाडौंबाट जान्छौं । बुवाकै हातबाट दशैंको टिका थापिन्छ । म माछा मासुमा खासै रुचि राख्दिन् । दुध, घ्यु, पनिर जस्ता आइटममा अलि बढि नै रुचि छ । म रक्सी पनि खाँदिन र तास, कौडा खोल्ने बानी पनि छैन् । साथी भाईको अनुरोधमा पनि म तास खेल्दिन् । ससुराली धनकुटा भएकाले यसपाली दशैंमा ससुराली जाने कार्यक्रम पनि छैन् । टिकाको भोली पल्टै काठमाडौं फर्कन्छु । ससुरालीको पनि काठमाडौंमा घर चैँ छ । पुर्णिमाको दिनसम्ममा ससुरालीबाट कोहि काठमाडौं आउनु भयो भने टिका लगाउन चैँ जान सक्छु । तर दशैंमा धनकुटामा ससुराली जाने कार्यक्रम भने छैन् । गोरखा पुगेका बेला त्यहाँ सूचना प्रबिधीको अवस्था, नागरिकको गुनासो र सुलभ तथा गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भन्नेबारे केहि छलफल गर्ने कार्यक्रम पनि बनाएको छु ।
आयात बढेपछि विदेशी मुद्रा संचिति घट्यो, राष्ट्र बैंक भन्छ एक वर्षको आयात धान्न पुग्छ
काठमाडौं । आयात बढेपछि विदेशी विनिमय सञ्चिति पनि घटेको छ । विदेशी मुद्रा संचिति घटेर १० खर्ब ७८ रुपैयाँमा सीमित भएको छ । गत असारमा विदेशी विनियम संचिती १० खर्ब ७९ अर्ब ५२ करोड रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.२ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४१.५, १०० र ४१.३ प्रतिशत रहेका छन् । गत साउनमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर रहेको थियो । साउनमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०२.२९ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२.८६ रहेको थियो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले गत साउनमा सरकारको २ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ नगद मौज्दात कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
२८ बाणिज्य बैंकले तिर्छन बार्षिक २६ अर्ब ७८ करोड कर, कुन बैंकको कति ? (सूचिसहित)
काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमै २६ अर्ब ७८ करोड कर तिरेका छन् । ठुला करदाता कार्यालयका २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २६ लाख ५९ हजार १ सय ५१ रुपैंयाँ १० पैसा कर तिरेका हुन् । यो कर रकम तीनै बैंकहरुले आर्थिक बर्ष २०७२/७३ मा तिरेको भन्दा ६ अर्ब ४९ करोड अर्थात ३१.९८ प्रतिशतले बढि हो । सो आर्थिक बर्षमा ३० वटा बाणिज्य बैंकहरुले २० अर्ब २९ करोड ९४ लाख ७० हजार ७ सय ६८ रुपैंयाँ ५० पैसा कर तिरेका छन् । ३० वटा बैंकमध्ये ग्राण्ड बैंकलाई प्रभु बैंकले मर्ज गरेको थियो भने लुम्बिनी बैंकलााई जनता बैंकले अक्वायर गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले ३० प्रतिशत आयकर, १० प्रतिशत घर बहाल कर, १५ प्रतिशत ब्याजकर र ५ प्रतिशत शिक्षा शुल्क तिर्ने गरेका छन् । सबै भन्दा धेरै कर तिर्ने बैंकको सूचिमा नविल बैंक एक नम्बरमा रहेको छ भने दोश्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक छ भने तेश्रो नम्बरमा कृषि विकास बैंक परेको छ । कम कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा भने जनता बैंक परेको छ । थोरै कर तिर्ने बैंकहरुको सूचिमा सिभिल बैंक दोश्रो र एनसीसी बैंक रहेको छ । नविल बैंकले गत आवमा २ अर्ब २१ करोड कर तिरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ३ करोड राजश्वमा योगदान दिएको छ । त्यस्तै कृषि विकास बैंकले १ अर्ब ६४ करोड तिरेको छ । जनता बैंकले जम्मा ५ करोड ४९ लाख मात्रै कर तिरेको छ । त्यस्तै, सिभिल बैंकले ३२ करोड ३५ लाख र एनसीसी बैंकले ४२ करोड ९४ लाख मात्रै कर तिरेका छन् ।
तलव तथा ज्यालादर साढे ६ प्रतिशत बढ्यो
काठमाडौं । कर्मचारी तथा मजदुर तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको औसत तलव तथा ज्यालादर बढेको छ । वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १४.६ र ज्यालादर सूचकाङ्कमा ४.४ प्रतिशतले वृद्धि भएको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहको तलब बढेपछि समग्र ज्याला सूचकाङ्क बढेको हो । नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको १०.६, शिक्षाको ५.८ र सार्वजनिक संस्थानको ४.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः २.८, ८.९ र २.१ प्रतिशतले वृद्धि भएको छ ।