विकासन्युज

७२ लाख खर्चेर धौवादीको फलाम जाचिँदै, ८ महिनामा नतिजा

काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासीस्थित धौवादीमा रहेको खानीको फलाम जाँच्न ७२ लाख खर्चने भएको छ । विभागले चालु आर्थिक बर्षको बजेटबाटै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्टका लागि ८० लाख बजेट पाएको थियो ।  विभागले भारतीय सरकारी कम्पनी नेशनल मेटालर्जिकल लेबोरेटोरिजमा फलामको मेटालर्जिकल टेष्ट गराउने प्रक्रिया अघि बढाएको थियो । २ चरणमा हुने मेटालर्जिकल टेष्टका लागि भारतीय कम्पनीले २० लाख र २५ लाख भारतीय रुपैंयाँ लाग्ने बताएको थियो । भारतीय कम्पनीले प्रस्ताव गरेको लागत बमोजिम नै परिक्षणको योजना बनाएको हो । तर भारतीय कम्पनीले सम्झौता(एमओयु) गर्नुपर्ने अडान राखेको छ । नेपालका अन्य खानीहरुको परिक्षण र उत्खननकै जिम्मा मागेपछि विभाग सतर्क भएको छ । ‘भारतले मेटालर्जिकल टेष्ट अघि एमओयु गर्नुपर्ने र अन्य खानीहरु समेत आफैंले टेष्ट र अन्वेषण तथा उत्खनन गर्नुपर्ने अडान राखेको छ ।’, खानी विभागका उप महानिर्देशक राम प्रसाद घिमिरले भने । मेटालर्जिकल टेष्टका लागि विभागले सिनियर डिभिजनल इञ्जिनियर कृष्णदेव झा र अर्का एक जना इञ्ज्निियरलाई जिम्मेवारी दिएको छ । झाले सोही भारतीय कम्पनीमा अध्ययन गरेका थिए । ‘मैले भारतको नेशनल मेटालर्जिकल लेबोरेटोरिजबाटै अध्ययन गरेको हुँ, त्यसैले त्यही टेष्ट गराउन सहज हुन्छ’, झाले भने । उनले पहिलो चरणको टेष्ट ४ महिनामा सकिने र त्यसको लागत २५ लाख भारतीय रुपैंयाँ हुने पनि बताए । त्यस्तो दोश्रो चरणको टेष्टका लागि पनि ४ महिना नै लाग्ने र त्यसको लागत २० लाख पर्ने उनले जानकारी दिए । भारतीय कम्पनीसँग सम्झौता भएको ८ महिनामा धौवादी खानीको फलामको गुणस्तर र उपयोगीताबाट तथ्य जानकारी प्राप्त हुने उनको भनाई छ ।धौवादीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाईमा फैलिएको फलाम खानी छ । विभागले त्यहाँ १०६ मिटरसम्म ड्रिल गरेर फलामको नमुना संकलन गरिसकेको छ । २ हजार किलो नमुनालाई भारतीय ल्याबमा टेष्ट गराउने योजना विभागले बनाएको हो ।

१ करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम

काठमाडौँ, १७ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए  । बैठकले स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ । त्यसैगरी, तेस्रोलिङ्गी मतदाताको सङ्ख्या १७० रहेको आयोगले जनाएको छ । स्वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन् । डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणवश यकिन हुन नसकेको जनाउँदै आयोगले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण प्राप्त भएपछि मतदाता नामावलीमा समावेश गरिने जनाएको छ । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ । रासस

भारतबाट थप ५५ मेगावाट बिजुली आयात नहुने, लोडसेडिङ हटाउन विद्युत प्राधिकरणलाई चुनौती

काठमाडौं  । लोडसेडिङ हटाउन भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली आयात नहुने भएको छ । ढल्केबरमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) संग नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडेपछि थप बिजुली आयात नहुने भएको हो । थप बिजुली आयात नुहने भएपछि विद्युत प्राधिकरणलाई लोडसेडिङ मुक्त कायम राख्न चुनौती थपिएको छ । विद्युत प्राधिकरणले ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण गरेर भारतको मुज्जफपुरबाट यो वर्ष २ सय मेगावाट बिजुली आयातको तयारी गरेको थियो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन १३२ केभीमा चार्ज गरेर १४५ मेगावाटसम्म बिजुली आयात भएको छ । यो वर्ष ४ सय केभी क्षमताको प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर आपूर्ति बढाउने प्राधिकरणको योजना थियो । प्राधिकरणले सीसीपीजीसंग ठेक्का तोडेको प्रवत्ता प्रवल अधिकारीले बताए । ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु नभएकाले थप बिजुली आयात नहुने उनले स्पष्टपारे । “यो वर्ष ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट २ सय मेगावाट बिजुली आयात गर्ने तयारी भएको थियो” अधिकारीले विकास न्युजसंग भने “ठेक्का तोडिएपछि थप बिजुली आयातको संभावना रहेन । यो वर्ष १४५ मेगावाट मात्र आयात हुने अवस्था आएको छ । सीसीपीजीसंग ढल्केबर, इनरुवा र हेटौडा गरी ३ वटा सवस्टेशन निर्माणको ठेक्का तोडिएको उनले जानकारी दिए । उनका अनुसार ३ वटा सवस्टेशनको काम रोकिएको छ । ढल्केबरमा ८० प्रतिशत काम सकिएको र २ महिनाभित्र सवस्टेशन सञ्चालनमा आउने थियो । टनकपुरमा १ सय एमबीए क्षमताको ट्रान्सफरमर जडान गरेर आयात बढाउन सकिने उनले बताए । अधिकारीका अनुसार त्यहाँ ५० एमबीएको ट्रान्सफरमर छ । यसअघि सीसीपीजीले ठेक्को तोड्ने भएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सव–स्टेशन निर्माण सक्न ४ बुदे निर्णय गराएका थिए । सिसिपिजीले सव–स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । यो सव–स्टेसन बनेको भए भारतबाट थप ५५ मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने थियो । यो वर्षको हिउँदमा भारतबाट ४ सय ८० मेगावाटसम्म बिजुली ल्याउर्ने प्राधिकरणको तयारी थियो । प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारणलाइनको ठेक्का तोडी करिब ३० करोड रुपैया“ बैक ग्यारेन्टी जफत गरेपछि सीसीपीजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव–स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए । गत वर्ष प्राधिकरणले हिउ“दमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारणलाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो । सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बाँकी छन् । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव–स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव–स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । यसले आयोजनाको लागत पनि बढाएको छ । प्रसारणलाइनको क्षमता बढाउदै लगेर सन् २०१९ सम्म ४ सय केभीमा चार्ज गर्ने योजना छ । आउदो हिउँदमा लोडसेडिग हटाउन भारतबाट ५८० मेगावाटसम्म बिजुली किन्ने योजना विद्युत् प्राधिकरणको छ । कुलेखानी आयोजनाको जलासय पनि नभरिने र सवस्टेशन नबनेका कारण ५५ मेगावाट बिजुली नआउने भएपछि माग व्यवस्थापन गर्न प्राधिकरणलाई जटिलता थपिएको छ ।    

एमाले, माओवादी केन्द्र र नयाँशत्तिबीच चुनावी तालमेल गर्ने सहमति, एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र एउटै कम्युनिष्ट पार्टी गठन गर्नेसहित ३ दलबीच ६ बुँदे सहमति भएको छ । सहमतिमा केन्द्र र प्रदेशको दुबै चुनावमा तालमेल गर्ने र त्यसलगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । ३ वटै दलले चुनावलगतै एकिकृत कम्युनिष्ट पार्टी बनाउने उद्घोष समेत गरेका छन् । दलका प्रमुख नेताहरुले सहमतिलाई ऐतिहासिक भनेका छन् । सहमति गरेका पार्टीबीच एकआपसमा आरोप प्रत्यारोप नगर्ने सहमति भएको छ । यस्तै अन्य राजनीतिक दललाई पनि समेट्ने तयारी ३ दलको छ ।  

हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन

काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ । सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् । विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो । १५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ । भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने । कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ । यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ । यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए । यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ । यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।

इसेवाले गैर कानुनी काम गरेको खुलासा

काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीले गैर कानुनी काम गरेको खुलासा भएको छ । ढकाल प्रबन्ध निर्देशक(एमडी) रहेको इसेवा नामक कम्पनीले भिओआइपीकै शैलीमा राजश्व छलि तथा नेपाली मुद्रा गैर कानुनी रुपमा विदेश पठाउँदै आएको रहस्य फेला परेको हो । इसेवाले भाइबर आउटको रिचार्जका लागि भन्दै लाखौं नेपाली मुद्रा गैर कानुनी रुपमा बिदेश पठाएको हो । इसेवाले भाइबर आउटको रिचार्जका नाममा गैर कानुनी कारोबार गरेको तथ्य फेला परेसँगै नेपाल दुर सञ्चार प्राधिकरणले असोज १० गते सार्वजनिक सूचना प्रकाशित गरेर भाइबर आउटको रिचार्ज नबेच्न भनेको थियो । तर इसेवाले त्यस अघि नै ३ महिनासम्म भाइबर आउटको रिचार्जमा लाखौं कारोबार गरिसकेको थियो । ‘इसेवाले भाइबर आउटको रिचार्ज गरेको थाहा पाएपछि नै हामीले सार्वजनिक सूचना निकालेर त्यस्तो नगर्न भनेका हौं’, दुर सञ्चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरणको नियमन विभाग प्रमुख समेत रहेका निर्देशक विजय कुमार रायले भने । प्राधिकरणले भाइबर आउट मार्फत हुने फोन कललाई भिओआइपी सरह गैर कानुनी कारोबारे सूचिमा राख्दै आएको छ । यद्यपी इसेवाले ३ महिनासम्म गरेको गैर कानुनी कामबाट भने मुक्ति पाएको छ । इसेवाले ३ महिनासम्म भाइबर आउटको रिचार्ज गरेको देखियो, त्यस वापत कुनै कारवाही हुन्छ वा हुन्न ? भन्ने विकासन्युजको प्रश्नमा प्राधिकरणका निर्देशक रायले भने–‘उसले यस अघि राम्रो काम गर्दै आएको छ, त्यसले अबदेखि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन नगर्ने सर्तमा उसलाई छाडेका छौं ।’ इसेवाका प्रबन्ध निर्देशक ढकालले पनि भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको स्विकार गरे ।‘हामीले २ देखि ३ महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेका हौं, प्राधिकरणले सूचना निकाल्नु भन्दा अघि नै हामीलाई जानकारी दिएको थियो र हामीले त्यस्तो सेवा बन्द गरिसकेका थियौं’, ढकालले विकासन्युजसँग भने । उनले भाइबर आउटको रिचार्ज सेवा सञ्चालनलाई ठुलो बिषय बनाउन नहुने दावी समेत गरे । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको थियो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबारबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेपछि हामी चनाखो भएका हौं, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीन्छ’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने । उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । प्राधिकरणले तीन महिनासम्म भाइबर आउटको रिचार्ज सेवा सञ्चालन गरेको इसेवालाई पहिले राम्रो काम गरेको भन्दै उन्मुक्ति दिएको हो । प्राधिकरणले मौखिक रुपमा भाइबर आउटको रिचार्ज सेवा बन्द गर्न आग्रह गरेर मात्रै सार्वजनिक सूचना निकालेको हो । इसेवाले यस अघि पनि अनधिकृत रुपमा नेपाल विद्युत प्राधिकरणको विल पेमेन्ट लगायतका सेवा सञ्चालन गरेर सेवाग्राहीसँग शुल्क असुल्दै आएको थियो । पछिल्लो पटक भने विद्युत प्राधिकरणले महशुल उठाउन इसेवा लगायतका कम्पनीसँग सेवा शुल्क नलिने सर्तमा सम्झौता गरेको छ।

राष्ट्र बैंकले डेढ अर्ब लगानी गर्दै, बैंक तथा वित्तीय संस्थासंग माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको बचत रकम लगानी गर्ने भएको छ । एक वर्षे मुद्धती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । रकम कात्तिक १ देखि लगानी गरी आउदो ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । असोज २२ गतेसम्म प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ । वाणिज्य बैंकमा १ अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीका ७ करोड ४० लाख रुपैयाँ लगानी गर्ने केन्द्रीय बैंकले जनाएको छ ।  

विद्युत् प्राधिकरणले ३ महिनामा गर्यो १०९ मेगावाट बिजुली खरिद सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । प्राधिकरणले न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ७ वर्ष अर्थात ०७९ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना बाहेक सबै निजी लगानीमा निर्माण हुन लागेका हुन् । पीपीए भएपछि मात्र आयोजनाले बैंकबाट कर्जा पाउछन् ।माथिल्लो त्रिशुली ३ बी प्राधिकरणलको पनि ३० प्रतिशत लगानी हुनेछ । पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पछिल्लो समयमा प्राधिकरणले सोलारको पीपीए खुला गरेपछि एक दर्जन बढी आयोजना बिजुली बिक्रीको लाइनमा छन् । पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् । यी मध्ये ३२ मेगावाटको करुवासेती आयोजना आउदो ०७९ साल बैशाखमा सम्पन्न हुने भएको छ । माथिल्लो त्रिशुली ३ बी ०७८ को असोजमा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । यसैगरी ३ महिनामा विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ । २०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ । प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।