विकासन्युज

कतार एयरवेजले ल्यायो ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ योजना, सिट बुकिंगमा ५० प्रतिशत छुट

काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ । सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास यात्रुले दूई सिट बुक गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । नयाँ योजनाले लिजर तथा विजनेश यात्रुलाई आफ्ना परिवार, मित्र लगायतसंग आफ्नो यात्रा योजना बनाउन सघाउने कम्पनीको विश्वास छ । कतार एयरवेजको बृहत्त गणतब्य सञ्जाल मध्य कुनैपनि स्थानका लागि यात्रा गर्दापनि यसको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत यात्रुले फस्र्ट वा विजनेश क्लास क्याविन्समा यात्राका लागि बुकिंग गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने एयरवेजले जनाएको छ । दूई सिट एकै पटक बुक गर्दा यात्रुका लागि छुट योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एहब अमिनले भने यो पृथक योजनाले परिवार, मित्रजन लगायतसंग छुट सहित हाम्रो बहुचर्चित पाँच तारे सेवाको उपभोग गर्दै निस, प्राग र डब्लिन जस्ता रोचक गणतब्यकमा यात्राको मज्जा लिन सक्नेछन् । अक्टोबर ९ देखि १६ भित्र बुकिंग गर्ने यात्रुले ३१ मे २०१८ सम्म यात्रा गर्दा यो योजनाको फाइदा लिन सक्नेछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष लम्बिने, ठेकेदारको लापर्बाही

काठमाडौं । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै आठ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो । हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा आठ महिनाको अवधि छ । निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । विमानस्थल निर्माणका लागि अहिले आवश्यक १० लाख घनमिटर अर्थात् झण्डै ढेड लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको भए पनि पछिल्लो समय सोही कम्पनीले प्रभावकारीरुपमा काम अघि बढाएको शर्माले बताए । “चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले समस्या आएको हो, अहिले काम राम्रो भइरहेको छ कामको कार्यशैली हेरेर बरु केही महिना समयावधि बढाएर भए पनि यही कम्पनीलाई अघि बढाउने योजनामा छौँ”, उनले भने । चिनियाँ कम्पनीले काममा ढिलाइ गरेपछि बीचमै ठेक्का तोडेर नयाँलाई दिने वा पुरानैलाई चेतावनीसहित सक्रिय गराउने भन्नेमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिनाअघि चेतावनीयुक्त निर्देशन दिँदै चिनियाँ कम्पनीलाई काम अघि बढाउन भनेको थियो । दुई महिनाको कार्यशैली हेरेर निर्णय लिने जनाएको थियो । दुई महिनाको प्रतिवेदन आइसकेको र पहिलाको भन्दा सन्तोषजनक काम गरेको पाइएकाले अहिलेकै कम्पनीलाई अघि बढाउने मनःस्थितिमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रहेको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा क्यानका महानिर्देशक सञ्जिव गौतमले भैरहवा विमानस्थलको काम पछिल्लो समय सन्तोषजनक रहेकाले अझै उसको कामको प्रगति हेरेरमात्रै निर्णयमा पुगिने बताए । समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रगति सम्बन्धमा पर्यटनमन्त्री, विभागीय प्रमुख र मातहत निकायका प्रमुखसँग छलफल गरेको हो । पर्यटनमन्त्री जितेन्द्र देवले गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक नभएको बताए । विमानस्थलको निर्माण प्रगतिबारे सरोकार भएका सबै निकायसँग चरणबद्ध गम्भीर छलफल भई नीतिगत निर्णय गरेर मन्त्रालयले दुई महिनाको कार्यप्रगति हेर्ने र सन्तोषजनक नभए अन्य विकल्पमा जाने निर्देशन दिइसकेको र उक्त अवधि पनि सकिएकाले अब समीक्षा गरी निर्णयमा पुग्ने उनको भनाइ छ । मन्त्री देवले ठेकेदार कम्पनीको लापर्बाहीले राष्ट्रिय गौरवको आयोजना नै अन्योल हुने अवस्था आएकाले अब, निर्माण कम्पनीलाई जनशक्ति तथा उपकरण बढाएर काममा तीव्रता दिन आग्रह गरिने बताए । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदारबीच भुक्तानी विवादले निर्माणमा अवरोध आएको र यसको टुंगोका लागि जनशक्ति तथा उपकरण बढाएर काम शुरु भइसकेको जानकारी दिए । चिनिया ठेकेदार कम्पनीका प्रतिनिधि जेरियनले पर्याप्त जनशक्ति र आजारका साथ काम अघि बढाइएको र विद्युत् तथा अन्य निर्माण सामग्रीको सहजता भएको खण्डमा काम प्रभावकारीरुपमा अघि बढ्ने बताए । विमानस्थल निर्माणको तीन किलोमिटर धावन मार्गमा ग्राभेल भइरहेको छ । माटो, ढुंगा र गिट्टीको सहजीकरण चुनौती बनेको आयोजनाको भनाइ छ । टर्मिनल भवनलगाय अन्य पूर्वाधारको काम धमाधम भइरहेको छ । शुरुमा २७७ र थप ५०० गरी जम्मा ७८७ बिगाहा क्षेत्रफलमा तीन किमीभन्दा लामो धावनमार्ग भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको कूल लागत छ अर्ब २२ करोड रुपैयाँ रहेको छ । विमानस्थलको मुख्य चुनौती जग्गा अधिग्रहणको मुआब्जा हो । आयोजनाका अनुसार पाँच बिगाहा जग्गाको करिब रु २३ अर्ब मुआब्जा दिनुपर्ने छ जबकि अहिले २५ करोड रुपैयाँ अर्थात् जम्मा रकमको दुई प्रतिशत मात्र मुआब्जा वितरण गरिएको छ । रुपन्देहीमा निर्माणाधीन सो विमानस्थाल निर्माणबाट ६०० घरपरिवार विस्थापित तथा दुई हजार परिवार प्रभावित भएका छन् । समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले विमानस्थल निर्माण ढिलाइबारे चासो लिँदै चाँडो निर्माणका लागि हालको ठेकेदार कम्पनीलाई नै केही समय दिएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समिति सदस्य एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, भरतबहादुर खड्का, चूडामणि जंगली, पुष्कर आचार्य, गीता वाग्ले, प्रभा बज्राचार्य, पेम्बा लामा, लालबाबु यादवलगायतले धारणा राखेका थिए ।

निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या

  काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् ।    

सोमबार नेप्से परिसूचक १५०१ अंकमा, ३१ करोडको सेयर कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक ८ दशमलब १२ अंकले झरेर १५०१ अंकमा अडेको छ । बजार खुलेको करिब २ घन्टामा ओरालो लागेर १४९३ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा भने केही माथि उकालो लागेको छ । आइतबारको तुलनामा सोमबारको परिसूचकमा केही सुधार देखिएता पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आइतबार ४१ करोडको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ घटी हो । सोमबार सबैभन्दा बढी नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी, सिद्धार्थ चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोे छ । बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । उता सबैभन्दा बढी लक्ष्मी भ्यालू फण्ड १का लगानीकर्ताले भने करिब ४ प्रतिशत कमाएका छन् । समूहका आधारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४७ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने समान्य ४ अंकले उकालो लागेको छ ।

सात वटा स्थानीय तहमा बैंक नहुँदा समस्या, आर्थिक कारोबार गर्न कठिनाइ

इलाम । इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ । “कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,” फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले भने । बैंककै काम लिएर स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उनले बताए । चालू आवको बजेट वक्तव्यमार्फत सरकारले बृद्धभत्ता, शिक्षक भत्तालगायत स्थानीय तहमा जाने सबै प्रकारका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाममा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराइज, एक्सल, माछापुच्छ्रे, एनआइसी एसिया बैंकलगायतका निजी तथा सरकारी बैंकले सेवा दिइरहेका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । रासस

माउण्ट मकालुलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई असोज २३ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।

एनबी इन्स्योरेन्स र पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । सोमबार मात्रै एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । एनबी इन्स्योरेन्सको २७ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । त्यस्तै, सोही दिन पूर्णिमा विकास बैंकको ६६ हजार ९११ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।

मिर्गौला रोगीलाई १० लाख रुपैयाँ सहयोग

चितवन । दुवै मिर्गौला बिग्रिएर सहयोगको प्रतिक्षामा रहेका चितवनको खैरहनीका हरेराम महतोको उपचारका लागि देश विदेशबाट १० लाख रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त भएको छ । चितवनकोे सिर्जनशील थारु समाजले शुरु गरेको ‘हरेराम बचाउ अभियान’ मार्फत अहिलेसम्म करिब १० लाख रुपैयाँ सहयोग संकलन गरी परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष कारी महतोले जानकारी दिए । वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका चितवनको खैरहनी नगरपालिका–१ बहेराका हरेराम महतोको दुवै मिर्गौला काम नलाग्ने भएपछि उनी घर फर्किएका थिए । ३५ वर्षीय हरेराम महतोको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । डाइलासिस भने चितवनको भरतपुर अस्पतालमा भइरहेको छ । उनको उपचारका लागि आएको सम्पूर्ण रकम १० लाख ४० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र अझै सहयोग आउने क्रम जारी रहेको अभियन्ता कारी महतोले बताए । उनको उपचारका लागि पोर्चुगलबाट दुई लाख रुपैयाँ, दक्षिण कोरियाबाट ८० हजार रुपैयाँ, अष्ट्रेलियाबाट दुई पटक गरी ७५ हजार रुपैयाँ, अमेरिकाबाट एक लाख ३५ हजार रुपैयाँ, क्यानडाबाट ४० हजार रुपैयाँतथा साउदी, युएई, कतार र मलेसियामा रहेका नेपालीबाट उक्त रकम सहयोग भएको हो । पाँच महिना अघि बिरामी भएका उनलाई आफ्नै श्रीमती विन्दुले मिर्गौला दिने तयारी गरिएको छ । उनको मिर्गौला प्रत्यारोपणको तयारी गरिए पनि हेमोग्लोविन कमी भएकाले हुन नसकेको चिकित्सकको भनाइ उद्धृत गर्दै हरेराम महतोले जानकारी दिए । उपचारका लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए । रासस