विकासन्युज

नेपाल क्रिकेट डिभिजन २ मा घटुवा, मुल कारण वर्षा

काठमाडौं । नेपालको क्रिकेट खेल स्तर घटेर डिभिजन २ मा झरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि अंक तालिकाअनुसार नेपाल डिभिजन २ मा झरेको हो । वर्षाका कारण खेल नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन पुनः सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ ।

विश्व बैंकको वार्षिक बैठकमा अर्थसचिवको ब्रिफिङः मध्यम आय भएको मुलुक बन्न कठिन

काठमाडौं । आगामी सन् २०३० सम्म नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नती र दीगो विकास विकास लक्ष्य (एसडीजी) हासिल गर्न ठुलो रकम अभाव देखिएको छ । नेपालसंग पर्याप्त लगानी गर्न पुँजी नभएकाले दुबै लक्ष्य प्राप्त गर्न सरकारलाई ठुलो चुनौति भएको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले बताए । विश्व बैंकको वोर्ड अफ गभर्नसको वार्षिक बैठकलाई सम्बोधन गर्दे उनले बजेटको कमी हुने बताएका हुन् । मध्यआय भएको मुलुकमा रुपान्तरण हुन एसडीजी लक्ष्य हासिल गर्न वार्षिक साढे ७ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्ने भन्दै यसका लागि ठुलो लगानी आवश्यक पर्ने उनले सो अवसरमा उनले जानकारी दिए । सार्वजनिक क्षेत्रको कमजोर कार्यन्वयन क्षमताले गर्दा लक्ष्य प्राप्त गर्नमा अवरोध देखिएको उनको भनाई थियो । नेपाल एकात्मक राज्य प्रणालीबाट संघीयतातर्फ गएको भन्दै ठुला पुर्वाधारको विकास गर्न अब धेरै लगानी आवश्यक पर्ने जानकारी गराए । नेपालको समग्र आर्थिक अवस्था उत्साहजनक भएपनि अझै अनेकौ चुनौतिको सामना गरिरहनु परेको सो अवसरमा अर्थसचिव सुवेदीले जानकारी दिए । भत्किएका पुर्वाधार निर्माण गर्न पर्याप्त पुँजीको अभाव, भूकम्प र तराइमा हालसालै आएको बाढी र डुवानले ठुलो क्षति गरेको उनले बैठकलाई जानकारी गराए । उनले गत वर्ष नेपालको आर्थिक वृद्धि ७.९ प्रतिशत, उपभोक्ता मूल्यवृद्धि २.८ प्रतिशतमा सीमित भएको र आन्तरिक स्रोत परिचालन २७ प्रतिशत बढेको सचिव सुवेदीले जानकारी दिए । बाह्य क्षेत्रसंगको व्यापारको अवस्था मजवुत रहेको र १३ महिनाका लागि वस्तु तथा सेवा आयात धान्ने वैदेशिक मुद्रा संचितीमा रहेको उनले बताए । उनले पुननिर्माणको गति बढेको समेत जानकारी दिए । लगानीमैत्री वातावरणमा सुधारसंगै निजी लगानी बढेको, विश्व प्रतिस्पर्धाको सुचकमा सुधारआई ८८ औं स्थानमा आएको, स्थानिय तहको चुनाव सफलतापुर्वक सम्पन्न भएको, ७५३ तहमा ३५ हजार प्रतिनिधि निर्वाचित भएको, पहिलोपटक संघीयता कार्यन्वयन केन्द्रीत बजेट आएको र कुल बजेटको १८ प्रतिशत अर्थात २ खर्ब २५ अर्ब रुपैयाँ सिधै स्थानिय तहमा पुगेको उनले सो अवसरमा जानकारी दिए । नेपाल प्रान्त र संघको निर्वाचनमा आफनो ध्यान केन्द्रीत गरेको समेत उनले जानकारी दिए ।  

बीमकका संस्थागत सुशासन निर्देशिका संशोधन हुँदै, सीईओको तलब बढ्ने

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ रिजिड (संकीर्ण) देखिएकोले यसलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भईरहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतको तलव सीमा कम भएको, प्रमुख कार्यकारी अधिकृतको योग्यता अरु क्षेत्रको तुलनामा बढी राखिएको, बीमा कम्पनीहरुको खर्च गर्ने कटौति गर्दै कम्पनीको अधिकार बीमा समितिमा खिचिएको, सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा, कम्पनीका काममा सञ्चालक तथा सीईओ विदेश जानुपर्दा पनि बीमा समितिको स्वीकृति लिनुपर्ने लगायतका बुँदामा बीमकहरुको तर्फबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ । त्यस्तै, बीमा सेवाको प्रचार प्रचार कमी भएको तथ्यलाई सबैले स्वीकार गरेपछि बीमा सेवा सम्बन्धी प्रडक्टहरुको प्रबद्र्धन, ब्राण्ड डेभलपमेन्ट तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्न बीमा समितिले तोकेको सीमाप्रति बीमा कम्पनी, विज्ञापन एजेन्सी, सञ्चार माध्ययमहरुले आलोचना गर्दै आएका छन् । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबारको शुभारम्भ गर्दे समितिका अध्यक्ष चिरन्जीवि चापागाईले सीईओको तलव बढाउने संकेत दिएका छन् । ‘बीमा क्षेत्रको विकासमा क्षमतावान व्यक्तिहरुलाई आकर्षित गर्नु पर्ने देखिएको छ । संस्थागत सुशासन निर्देशिकामा कुनै पनि बीमा कम्पनीमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा कम पाउनेको तलव र प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुनुहुँदैन भनिएको छ । साधारणसभाबाट अनुमोदन गरेको अवस्थामा २५ गुणासम्म हुन सक्ने भनिएको छ । यसमा केही खुकुलो नीति आवश्यक भएको हामीले महसुश गरेको छौं’ चापागाईले भने । त्यस्तै, बीमा क्षेत्रमा जनशक्ति विकासको लागि इन्स्योरेन्स ट्रेनिङ इन्स्टीच्यूट स्थापना गर्नको लागि बीमक संघसँग छलफल भईरहेको बताए । पुर्नबीमाको ब्रोकर लाइसेन्स विदेशीले मात्र पाएको भन्दै अध्यक्ष चापगाईले ब्रोकर लाईसेन्स नेपालीलाई पनि दिने तयारी भएको जानकारी दिए । आइतबारदेखि कारोबार सुरु गरेको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा पोलिसी जारी गरेको छ । रिलायबल सावधिक जीवन योजना, रिलायवल करोडपति, रिलायवल अग्रिम भुक्तानी, रिलायवल उच्च शिक्षा जीवन योजना सार्वजनिक गरेको छ । हाल कम्पनीको जारी पुंजी २ अर्ब २० करोड रुपैयाँ रहेको, प्रवद्र्धकतर्फबाट १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भएको र साधारण सेयर (आईपीओ) निष्कासन गरेर कम्पनीले चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने तयारी भईरहेको कम्पनीको प्रमुख कार्यकारी नारायणबाबु लोहनीले जानकारी दिए ।

पाँचथरमा रानीटार विमानस्थल बन्दै, लागत ५५ करोड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पाँचथरको रानीटारमा विमानस्थल बनाउने भएको छ । क्यानले पाँच वर्षमा काम सक्ने लक्ष्य सहित फिदिम नगरपालिकामा विमानस्थल बनाउन लागेको हो । मेची पहाडी जिल्ला ताप्लेजुङको सुकेटारमा बाहेक अन्य जिल्लामा विमानस्थल छैन । प्रस्तावित विमानस्थल निर्माण भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमवासी लाभान्वित हुनेछन् । एयरपोर्ट निर्माण भएपछि पाँचथरको रमणीयस्थल पाथिभरा, माईपोखरी, तिम्बुपोखरी, सिलौटी र कन्चनजंङघा, कुम्भकर्ण, मनास्लु हिमश्रृङला लगायत महत्वपूर्ण पर्यटकीयस्थलहरु छन् । विमानस्थल निर्माण भएपछि पाँचथरको पर्यटकीयस्थलहरुमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । क्यानले करिब ८ वर्ष अगाडी विस्तृत सर्वेक्षण पुरा गरेपनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा विमानस्थल निर्माण हुन सकेको थिएन । २०६९ सालमा क्यानले आवश्यक भएका विभिन्न आठ स्थानमा विमानस्थल बनाउने योजना ल्याएको थियो । सोही अन्तर्गत रानीटार विमानस्थललाई पनि प्रस्ताव गरेपछि यसको काम अघि बढेको हो । आगामी असारम सान्तसम्ममा विमानस्थल निर्माणकार्य सुरु गर्नुपूर्व आवश्यक टेन्डर प्रक्रिया पुरा गर्ने ईञ्जिनियर नरविक्रम थापाले जानकारी दिए । क्यानले प्रस्तावित विमानस्थलका लागि वातावरणिय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेको छ ।  प्रतिवेदनमा उल्लेख भएअनुसार सो स्थानमा वन क्षेत्रसहितको १५.०९ हेक्टर क्षेत्रफलको सरकारी जग्गा, १.२ हेक्टरको निजि र अन्य गरी जम्मा १८.१९ हेक्टर जग्गामा ६७० मिटर लामो र ४० मिटर चौडा धावन मार्ग तथा विमान स्थाललाई आवश्यक पर्ने सहायक संरचना निर्माण गर्न लागिएको हो । क्यानले आवश्यक राय सुझावका लागि सो प्रतिवेदन सम्बन्धित सरोकारवाला निकायलाई पठाइएको थापाले बताए । उनले भने, ’विभिन्न सरोकारवाला निकायहरुबाट विज्ञहरुको टोली गठन भएको छ । सो टोलीले प्रतिवेदन अध्ययन गरेर दिएको राय सुझाव संकलन गर्न कम्तीमा १ महिना लाग्छ । त्यसपछि चार महिना लगाएर त्यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्छौं । चालु आर्थिक वर्षको अन्तिममा सम्पूर्ण औपचारिकताका प्रक्रिया पुरा गरेपछि विमानस्थलको निर्माण काम सुरु हुन्छ ।’ विमानस्थल निर्माणमा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ । ६७० मिटर लामो हवाई मैदान (रनवे) निर्माणका लागि १६ करोड ५४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रस्तावित विमानस्थलको लम्बाइ एकहजार मिटर र चौढाइ दुइ सय ५० मिटरको हुनेछ ।

एनबीआईको नवौँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ५ प्रतिशत लाभांस दिने प्रस्ताव पारित

काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । एनबीआईको आइतबार राजधानीमा सम्पन्न नवौ वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिनुका साथै वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन र नगद प्रवाह विवरण पारित गरेको छ । सो अवसरमा बैंकिङ्ग क्षेत्रका दक्षजनशक्ति अभिवृदि गर्न माथिलो तहको कोर्स चाटर्ड एसोसियट्स नेसनल बैंकिङको सुरुवात भएको जानकारी गराइएको थियो । यस कोर्सले कर्मचारीलाई आधुनिक बैंकिङ्ग प्रणाली सम्बन्धी ज्ञान दिनुका साथै कर्मचारीलाइ  दक्ष बैंकिङ्ग कार्यसम्पादनमा  मदत पुग्ने एनबीआईका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बताए । प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिब सुब्बाले, एमबीए कोर्स संचालन गर्नको आपmनो विदेशी साझेदारसंग परामर्श भइरहेको जानकारी गराए ।

स्थानीय सरकार सञ्चालन ऐनमा लाल मोहर, यस्ता छन् स्थानीय तहका अधिकार(सूचिसहित)

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा लाल मोहर लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ प्रमाणिकरण गरेसँगै यो ऐन कार्यान्वयनमा आएको हो ।(कानुनको पूर्ण पाठकालागि यहाँ क्लिक गर्नुहोस) अब यहि ऐनले दिएको अधिकार अनुसार नै स्थानीय तहले आफ्ना काम कारवाही गर्न पाउनेछन् । ‘स्थानीय सरकार सञ्चालन बिधेयक प्रमाणिकरण भएको छ, अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउँछ, ऐनले स्थानीय सरकार सञ्चालनमा रहेका असहजता हटाउँछ’, स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले विकासन्युजसँग भने । उनले ऐनसँग नबाझिने गरि स्थानीय तहले नै कतिपय कानुनहरु बनाएर लागु गराउन सक्ने पनि बताए । ऐन कार्यान्वयनमा आएसँगै स्थानीय विकास मन्त्रालयले नमुना कानुनका रुपमा पठाएका ६० प्रतिशत कानुनहरु खारेज हुनेछन् । कर, दस्तुर र जिससका काम कारवाहीबारेका परिपत्र भने यथावत नै रहनेछन् । ऐन अनुसार नियमावलीहरु बनाएपछि ती परिपत्रहरु पनि खारेज हुनेछन् ।  

सनराइज बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । “हामी सङ्ग-सङ्गै” भन्ने मूल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रिधारा बाट शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गुँरागाई, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरिएको थियो । बैंकद्वारा आयोजित उक्त र्यालीमा नायब महाप्रबन्धकहरु आशाराणा अधिकारी, अपछकुमार यादब, रबिनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो । बैंकको प्रधान कार्यालय गैह्रिधाराबाट शूरु भएको र्याली गोमा गणेश, प्रहरी पेट्रोल पम्प, नक्शाल भगवती, जैनमन्दिर चोक, कमलपोखरीे, कमलादी गणेशस्थान, घण्टाघर, रत्नपार्क ,जमल, बिश्वज्योती, दरबारमार्ग, हात्तिसार, नागपोखरी, राजदरबार पूर्वीगेट हगंदैे पूनः गैह्रिधारामा आएर समापन भएको थियो । सोहि दिन बैंकको उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । साथै, बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य जस्तै रक्तदान कार्यक्रम, बाग्मती सरसफाइ कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, बृद्घाश्रम तथा अनाथालयमा आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम रहेको छ ।

‘फियाट पुन्टो इभो प्योर’ कार नेपाली बजारमा, मूल्य २६ लाख ९५ हजार रुपैयाँ

काठमाडौं । नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट् ब्रान्डको इन्ट्रि लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन-रोड डाइनामिक्स जस्ता विशेषता छन् । ४ सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट् ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार ४५ लिटर क्षमताको फ्युल ट्यांक रहेको नयाँ कारले २०.३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार ३ वटा एक्साइटिङ कलरमा उपलब्ध छ । पर्फेक्ट फेमिली कारको छवि बनाउन सफल पुन्टो इभो प्योर भारतमै उत्पादन गरिएको भए पनि युरोपेली इन्जिनियरिङ मापदण्डलाई पालना गरी बनाइएको हो । हाइड्रोलिक एड्जस्टेबल पावर स्टेरिङले ‘रोड फिल’लाई प्रत्याभुत गर्छ र यसमा बेस्ट इन क्लास ग्राउन्ड क्लेरेन्स (१९५ एमएम) छ जुन नेपाली सडकको अवस्थाका लागि उत्तम छ । ‘पुन्टो इभो प्योरको आगमनले फियाट्को पोर्टफोलियो अझ बलियो बनेको छ । ग्राहकहरुले फियाट्को डिजाइन, स्टाइलिङ र अनरोड डाइनामिक्सलाई सदा प्रशंसा गरेका छन् । अब उनीहरुले आकर्षक मूल्यमा गुणस्तर र आधुनिक फिचरले भरिएको युरोपियन ह्याचब्याक खरिद गर्न सक्नु हुनेछ,’ लाइफ अटोमोबाइलका चिफ जेनेरल म्यानेजर सुरज मानन्धनरले भने । पुन्टो इभो प्योरको निर्माण गर्दा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । इन्जिन इमोबिलाइजर, क्रम्पल जोन, डबल क्र्यांक प्रिभेन्सन सिस्टम, फायर प्रिभेन्सन सिस्टम, स्मार्ट वाइपर र सेन्ट्रल लकिङ यसका उदाहरण हुन् । पुन्टो इभो प्योरको इन्टेरियर पाँच जना यात्रीका लागि पुग्ने गरी निकै स्पेसियस बनाइएको छ । यसको बुट स्पेस पनि निकै ठूलो छ जसले गर्दा यो कार विकेन्डका लागि उपयुक्त बनेको छ । कारमा डिस्ट्यान्स टु इम्प्टी इन्डिकेटर, एभेरेज फ्युल इफिसेन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मि हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटर लगायतका सुविधाहरु रहेका छन् । लाइफ अटोमोबाइलले फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ ।