विकासन्युज

विद्युत प्राधिकरणले भन्यो: तिहारमा बत्ती कम बाल्नुस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न भनेको छ । बढी बिजुली माग हुने साँझको समयमा उच्च भोल्टेजका बत्ति, हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इनडक्सन हिटर, वाटर पम्प जस्ता उपकरण प्रयोग नगर्न अनुरोध गरेको हो । प्राधिकरणले साँझ ५ देखि राती १० बजेसम्म प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ । बढी बिजुली खपत हुने उपकरण प्रयोगमा ल्याउदा वितरण ट्रान्सफरमर, फिडर लाइन ओभरलोड भइ ट्रिप हुने र बिजुली आपूर्ति समेत बन्द हुने भन्दै प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्ने अनुरोध समेत गरेको छ । तिहारमा साँझका बेला दीपावली गर्नका लागि बढी बिजुलीको माग हुने र सोही अनुपातमा आपूर्ति गर्न कठिन हुने प्राधिकरणको भनाई छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात हुने छ ।  

प्रभु इन्स्योरेन्सले १९ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद जारी गर्ने, पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, सोही बैठकले १९.२० प्रतिशत बोनस सेयर पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हाल कम्पनीको पुँजी ५७ करोड ७५ लाख रुपैयाँ रहेको छ । १९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ । बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ४६ प्रतिशत हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रद सेयर पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २१ गते हुने भएको छ । सो प्रयोजनको लागि आगामी कात्तिक ७ गते कम्पनीको बुक क्लोज हुँदै छ ।

नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने महानगरपालिकाको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने भएको छ । असार ३० देखि ८ गतेसम्म सम्पन्न महानगरपालिका नगरसभाको बैठकले नक्सा पास नगरि बनाइएका, नक्सा पास भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई वैधानिकता दिने निर्णय गरेको हो । ‘पास गरिएको नक्सा भन्दा धेरै निर्माण भएका घर र नक्सा पास नगरिएका भवनहरुलाई एक पटक स्वीकृतिको अवसर दिने निर्णय भएको छ, कार्यविधि पनि बनिसकेको छ’, काठमाडौं महानगरपालिकाका अधिकृत महेश काफ्लेले भने । ‘भवन निर्माण इजाजत विपरित निर्माण भएका तथा स्विकृति लिइएको भन्दा विपरित प्रयोजनमा प्रयोग गरिएका भवनहरुको स्थलगत विवरण संकलन गरी जमिनको क्षेत्रफल, भवनको सवलता, सुरक्षा आदि पक्षको विश्लेषण गरि के कुन प्रायोजनमा कुन हदसम्म भवन यथावत कायम राखी उपयोग गर्न सकीने हो प्राविधिक रुपमा यकिन गरी त्यस्ता भवनहरुलाई निश्चित मापदण्डको आधारमा नियमित र प्रमाणिकरण गरिने छ ।’, महानगरपालिका नगरसभा बैठकको निर्णयमा लेखिएको छ । नगरसभाको बैठकको निर्णय अनुसार महानगरपालिकाले कार्यबिधी समेत निर्माण गरिसकेको छ । ‘कार्यविधि लेखेका छौँ तर बोर्डले पास गर्नुपर्ने हुन्छ, अहिलेसम्म पास भइसकेको छैन । नक्साको डिजाइन हेरेर वा मापदण्ड मिचेको छ, छैन हेरेर मात्र त्यस्ता भवनलाई वैधानिकता दिने हो ।’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । उनका अनुसार काठमाडौं नगरपालिकामा २५ सयको हाराहारीमा नक्सा पास भएको भन्दा बढी तल्लाका भवनहरु छन् । नक्सा पास नगरिएका र पास नगरिएको नक्सा भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई मापदण्ड पुरा गरेको खण्डमा मात्रै प्रमाणिकरण गरिनेछ । ‘नक्सा पास नगरिएको र बढि संरचना निर्माण गरिएका भवनहरुले भवन निर्माण संहिता पालना गर्न सक्ने अवस्थामा प्रमाणिकरण गरिन्छ’, महानगरपालिकाका प्रवक्ता कार्कीले विकासन्युजसँग भने ।

टीसीएल स्मार्ट टिभीहरुको माग बढ्दो, उपभोक्ताहरु प्रतिक्षा गर्न बाध्य

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टीसीएलका स्मार्ट टिभीहरुको माग बजारमा बढ्दो छ । स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टीसीएलका टिभीहरुको मूल्य पनि ग्राहकहरुको क्षमता भित्र रहेको छ । ३२ इन्च देखि ६५ इन्च सम्मको टिभीहरु अहिले सम्म पनि धमाधम बिक्री भएर कतिपय टिभीहरुका लागि ग्राहकहरुले अग्रीम बुकिङ्ग पनि गरिरहेको कम्पनीले जनाएको छ । गुणस्तरिय उत्पादन सँगै टीसीएलले आफ्ना उपभोक्ताहरुको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा यसपाली चाडपर्वलाई लक्षित गरि “हातमा हात्ती पकेटको साथी” योजना ल्याएको छ । नेपालका लागि टीसीएल टिभीको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स प्राली रहेको छ ।

कैलाश विकास बैंकको नयाँ शाखा बाँकेको कोहलपुरमा

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले बाँकेको कोहलपुरमा आफ्नो ३९औँ शाखा स्थापना गरी आइतबारदेखि कारोवारको शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले गरेका हुन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ३९ पुगेका छन् भने एटीएम संख्या १९ पुगेका छन् । बैंकले निकट भविश्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । उक्त पूजींमा न्यूनतम १० प्रतिशतका दरले मात्र बोनस सेयर जारी गरे पनि नेपाल राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुग्नेछ । यस संस्थाले हाल सम्म १८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

नेपाल क्रिकेट डिभिजन २ मा घटुवा, मुल कारण वर्षा

काठमाडौं । नेपालको क्रिकेट खेल स्तर घटेर डिभिजन २ मा झरेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि अंक तालिकाअनुसार नेपाल डिभिजन २ मा झरेको हो । वर्षाका कारण खेल नभएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन पुनः सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ ।

विश्व बैंकको वार्षिक बैठकमा अर्थसचिवको ब्रिफिङः मध्यम आय भएको मुलुक बन्न कठिन

काठमाडौं । आगामी सन् २०३० सम्म नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नती र दीगो विकास विकास लक्ष्य (एसडीजी) हासिल गर्न ठुलो रकम अभाव देखिएको छ । नेपालसंग पर्याप्त लगानी गर्न पुँजी नभएकाले दुबै लक्ष्य प्राप्त गर्न सरकारलाई ठुलो चुनौति भएको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले बताए । विश्व बैंकको वोर्ड अफ गभर्नसको वार्षिक बैठकलाई सम्बोधन गर्दे उनले बजेटको कमी हुने बताएका हुन् । मध्यआय भएको मुलुकमा रुपान्तरण हुन एसडीजी लक्ष्य हासिल गर्न वार्षिक साढे ७ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्ने भन्दै यसका लागि ठुलो लगानी आवश्यक पर्ने उनले सो अवसरमा उनले जानकारी दिए । सार्वजनिक क्षेत्रको कमजोर कार्यन्वयन क्षमताले गर्दा लक्ष्य प्राप्त गर्नमा अवरोध देखिएको उनको भनाई थियो । नेपाल एकात्मक राज्य प्रणालीबाट संघीयतातर्फ गएको भन्दै ठुला पुर्वाधारको विकास गर्न अब धेरै लगानी आवश्यक पर्ने जानकारी गराए । नेपालको समग्र आर्थिक अवस्था उत्साहजनक भएपनि अझै अनेकौ चुनौतिको सामना गरिरहनु परेको सो अवसरमा अर्थसचिव सुवेदीले जानकारी दिए । भत्किएका पुर्वाधार निर्माण गर्न पर्याप्त पुँजीको अभाव, भूकम्प र तराइमा हालसालै आएको बाढी र डुवानले ठुलो क्षति गरेको उनले बैठकलाई जानकारी गराए । उनले गत वर्ष नेपालको आर्थिक वृद्धि ७.९ प्रतिशत, उपभोक्ता मूल्यवृद्धि २.८ प्रतिशतमा सीमित भएको र आन्तरिक स्रोत परिचालन २७ प्रतिशत बढेको सचिव सुवेदीले जानकारी दिए । बाह्य क्षेत्रसंगको व्यापारको अवस्था मजवुत रहेको र १३ महिनाका लागि वस्तु तथा सेवा आयात धान्ने वैदेशिक मुद्रा संचितीमा रहेको उनले बताए । उनले पुननिर्माणको गति बढेको समेत जानकारी दिए । लगानीमैत्री वातावरणमा सुधारसंगै निजी लगानी बढेको, विश्व प्रतिस्पर्धाको सुचकमा सुधारआई ८८ औं स्थानमा आएको, स्थानिय तहको चुनाव सफलतापुर्वक सम्पन्न भएको, ७५३ तहमा ३५ हजार प्रतिनिधि निर्वाचित भएको, पहिलोपटक संघीयता कार्यन्वयन केन्द्रीत बजेट आएको र कुल बजेटको १८ प्रतिशत अर्थात २ खर्ब २५ अर्ब रुपैयाँ सिधै स्थानिय तहमा पुगेको उनले सो अवसरमा जानकारी दिए । नेपाल प्रान्त र संघको निर्वाचनमा आफनो ध्यान केन्द्रीत गरेको समेत उनले जानकारी दिए ।  

बीमकका संस्थागत सुशासन निर्देशिका संशोधन हुँदै, सीईओको तलब बढ्ने

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्ने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ रिजिड (संकीर्ण) देखिएकोले यसलाई समयसापेक्ष बनाउन संशोधनको तयारी भईरहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताएका छन् । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा प्रमुख कार्यकारी अधिकृतको तलव सीमा कम भएको, प्रमुख कार्यकारी अधिकृतको योग्यता अरु क्षेत्रको तुलनामा बढी राखिएको, बीमा कम्पनीहरुको खर्च गर्ने कटौति गर्दै कम्पनीको अधिकार बीमा समितिमा खिचिएको, सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा, कम्पनीका काममा सञ्चालक तथा सीईओ विदेश जानुपर्दा पनि बीमा समितिको स्वीकृति लिनुपर्ने लगायतका बुँदामा बीमकहरुको तर्फबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ । त्यस्तै, बीमा सेवाको प्रचार प्रचार कमी भएको तथ्यलाई सबैले स्वीकार गरेपछि बीमा सेवा सम्बन्धी प्रडक्टहरुको प्रबद्र्धन, ब्राण्ड डेभलपमेन्ट तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्न बीमा समितिले तोकेको सीमाप्रति बीमा कम्पनी, विज्ञापन एजेन्सी, सञ्चार माध्ययमहरुले आलोचना गर्दै आएका छन् । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबारको शुभारम्भ गर्दे समितिका अध्यक्ष चिरन्जीवि चापागाईले सीईओको तलव बढाउने संकेत दिएका छन् । ‘बीमा क्षेत्रको विकासमा क्षमतावान व्यक्तिहरुलाई आकर्षित गर्नु पर्ने देखिएको छ । संस्थागत सुशासन निर्देशिकामा कुनै पनि बीमा कम्पनीमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा कम पाउनेको तलव र प्रमुख कार्यकारी अधिकृतको तलव १५ गुणा भन्दा बढी हुनुहुँदैन भनिएको छ । साधारणसभाबाट अनुमोदन गरेको अवस्थामा २५ गुणासम्म हुन सक्ने भनिएको छ । यसमा केही खुकुलो नीति आवश्यक भएको हामीले महसुश गरेको छौं’ चापागाईले भने । त्यस्तै, बीमा क्षेत्रमा जनशक्ति विकासको लागि इन्स्योरेन्स ट्रेनिङ इन्स्टीच्यूट स्थापना गर्नको लागि बीमक संघसँग छलफल भईरहेको बताए । पुर्नबीमाको ब्रोकर लाइसेन्स विदेशीले मात्र पाएको भन्दै अध्यक्ष चापगाईले ब्रोकर लाईसेन्स नेपालीलाई पनि दिने तयारी भएको जानकारी दिए । आइतबारदेखि कारोबार सुरु गरेको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा पोलिसी जारी गरेको छ । रिलायबल सावधिक जीवन योजना, रिलायवल करोडपति, रिलायवल अग्रिम भुक्तानी, रिलायवल उच्च शिक्षा जीवन योजना सार्वजनिक गरेको छ । हाल कम्पनीको जारी पुंजी २ अर्ब २० करोड रुपैयाँ रहेको, प्रवद्र्धकतर्फबाट १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भएको र साधारण सेयर (आईपीओ) निष्कासन गरेर कम्पनीले चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने तयारी भईरहेको कम्पनीको प्रमुख कार्यकारी नारायणबाबु लोहनीले जानकारी दिए ।