सिजी ब्राण्डका साना घरायसी सामाग्रीको बिक्री बढ्दो
काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्री बढ्दै गएको छ । विक्रेताहरुको अनुसार सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य एकदमै उचित र गुणस्तरीय युक्त रहेको उनीहरुले बताए । उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको कम्पनीले जनाएको छ ।
दुई ठुला कम्पनीको सय वर्ष पुरानो नाता टोडियो, किन टाढिए वर्लपुल र सियर्स ?
न्यु-योर्क । अमेरिकाको डिपार्टमेन्ट स्टोर सियर्सले विश्वविख्यात कम्पनी वर्लपुलका उत्पादन नबेच्ने भएको छ । मूल्यमा विवाद आएपछि स्टोरले कारोबार नगर्ने भएको हो । यसले एक शतकको व्यापार साझेदारी पनि टुंगिएको छ । केमार्टको नामबाट परिचित सियर्स होल्डिङ्सले वर्लपुलको नयाँ मूल्य प्रणालीलाई नमान्ने बताएको छ । यो कदमले अमेरिकाको लोकप्रीय ब्राण्ड माइट्याग र किचेनएडलाई प्रभाव पार्छ । वर्ल पुलले यसै साता कच्चा पदार्थमा भाउ बढेको बताँउदै उत्पादनको पनि मूल्य बढाएको थियो । वर्लपुलका प्रमुख कार्यकारी मार्क बिचरले वर्लपुलको सियर्ससँग ३ प्रतिशत मात्र कारोबार रहेको बताएका थिए । यद्दपी न्युयोर्कको दिउसोको सेयर कारोबारमा १० प्रतिशतले गिरावट आएको थियो । डिपार्टमेन्ट स्टोरमा प्रमुख स्थान कायम गर्नुपूर्व सियर्सले मेल अर्डर क्याटालग सुरु गरेको थियो । ब्यापारीहरुले अनलाइनबाट बिक्री गर्न थालेपछि सियर्सले पछिल्ला वर्षहरुमा सयौं स्टोरहरु बन्द गरेको छ । सियर्स होल्डिङ्सले गत सातादेखि आफ्ना कामदारलाई वर्लपुलका सामान बोक्न निषेध गरेको थियो । मंगलबार सियर्सले जारी गरेको विज्ञप्ती अनुसार वर्लपुलले उचित मूल्यमा सामान बेच्न छोड्ने बताएको छ । वाल स्ट्रिट जर्नलका अनुसार यी दुई कम्पनीले सन् १९१६ देखि पहिलो अटोम्याटिक वाशर ल्याउदै काम सुरु गरेका थिए । सस्तो प्रतिस्पर्धा बिचरले मूल्यको विषयमा जानकारी खुलाउन चाहेको बिबिसीले जनाएको छ । यद्दपी सस्तो मूल्यमा प्रतिस्पर्दाले नाफा ११ प्रतिशतले घटेको बताउदै उनले लगानीकर्तालाई सजक गराएका थिए । अमेरिकामा सामसङ र एलजीको आयातले आफ्नो व्यवसायलाई असर पारेकोमा कम्पनीले अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगबाट समाधान खोजिरहेको छ । सियर्सले वर्लपुलको केनमोर ब्राण्डको कारोबारलाई भने निरन्तरता दिने बताएको छ । आउदो गर्मीमा अमेजनमा पनि केनमोरको उत्पादन बेच्ने सियर्सले जानकारी दिएको छ । विश्व बजारमा विख्यात वर्लपुलको नेपालमा पनि बजार रहेको छ ।
अलैँचीको भाउ दशकयताकै कम, किसान भए पीडित
तेह्रथुम । म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) २५ हजार रूपैयाँको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्। ढकाल भन्छन्, “अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक भएकाले नयाँ उत्पादनको पाँच मन अलैँची यस वर्ष पहिलो पटक मैले खरिद गरेँ ।” गत वर्ष यही याममा ढकालले नयाँ उत्पादनको अलैँची प्रतिमन ८० का हजारले खरिद–बिक्री गरेका िथए । तर अहिले अलैँचीको मूल्य झण्डै तेब्बरले घटेको छ । गत वर्ष प्रतिकिलो २ हजार ५ सयका दरले खरिद गरेको अलैँची अहिले प्रतिकिलो ६५० मा झरेको छ । पछिल्लो समय किसानको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिएको अलैँचीको मूल्य घटेपछि नयाँ फसलको कारोबारसमेत बजारमा सुस्त छ । साना व्यापारीले अलैँचीको कारोबार गर्न मानेका छैनन् । “विसं २०६५ मा प्रतिमन ३० हजारका दरले अलैँची खरिद–बिक्री भएको थियो”, सक्रान्तिका अलैँची व्यापारी दीपेश सिटौलाले भने, “अलैँचीको मूल्यमा ह्वात्तै आएको कमीले किसान मात्र हैन, व्यापारी पनि पीडित भएका छौँ ।” आफुले ८० हजार प्रतिमनका दरले खरिद गरेको करिब ५० मन अलैँची अहिलेसम्म गोदाममै थन्किएको ढकाल बताउछन् । विगत वर्षमा दशैँ–तिहार जस्ता चाडबाडको मुखमा नयाँ फसलको करिब ४० प्रतिशत कारोबार भइसक्थ्यो । तर यस वर्ष कारोबारको शुरुवातै नभएको व्यापारी बताउँछन् । चाडबाडको समय सम्ममा अलैँचीको मूल्यमा सुधार होला भन्ने आशा गरेका किसान मूल्य झन् ओरालो लागेपछि निराश भएका छन् । मूल्य घटेपछि अलैँची खेतीमा लागेका किसान निराश भएका छन् । व्यवसायीका अनुसार विगत केही वर्ष अलैँचीको उत्पादनमा अत्यधिक ह्रास आएको थियो । उत्पादन घटे पनि व्यवसायीले अलैँची मौज्दात राखेका थिए । बजारमा अलैँचीको कृत्रिम अभाव भएपछि मूल्य ह्वात्तै बढ्यो । गत वर्षदेखि अलैँचीको उत्पादनमा वृद्धि भयो । उत्पादन वृद्धि भएको र मौज्दात राखेको अलैँची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य खस्किएको हो । “बजारको मागभन्दा उत्पादन बढी भएकाले अलैँचीको मूल्यमा भारी गिरावट आएको हो”, अलैँची व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भन्नुभयो । पुर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी अलैँची विदेश निर्यात हुन्छ । अलैँची व्यवसायी महासङ्घका अनुसार यसको निर्यातबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । यसमध्ये पाँच अर्ब बढी किसानको हातमा पुग्छ । नेपालबाट ९९ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ । भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भन्दै दोष लगाएपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको व्यवसायी बताउँछन् । व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष नेपाल आफूहरुकै हेलचेक्र्याइँले समस्या आएको बताउछन् । जस्तोसुकै अलैँची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानको भएकाले पनि मूल्यमा गिरावट आएको नेपालको भनाइ छ । अलैँचीको मूल्य आकाशिएपछि मिसावट गर्ने र तौल बढाउन राम्ररी नसुकाउनेलगायत कारण अलैँचीको गुणस्तर खस्किएको हो । अलैँचीको मुख्य बजार झापाको बिर्तामोड हो । अलैँचीका ठूला व्यापारी पनि यही केन्द्रित छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालय पनि विर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची बिर्तामोडमा संकलन भएर विदेश निर्यात हुने गरेको छ । तेह्रथुमबाट मात्र वार्षिक करोडौँ रुपैयाँको अलैँची विदेश निर्यात हुने गरेको छ । आव २०७३/७४ मा जिल्लाबाट ३१ करोड ३७ लाख बराबरको २५० मेट्रिक टन अलैँची निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । रासस
भूकम्पपीडितलाई १४ हजार क्युफिट काठ वितरण
काठमाडौं । टिम्बर कर्पोरेशन नेपाल लिमिटेडले काठमाडौँ उपत्यकामा १४ हजार १९१ क्युफिट काठ वितरण गरेको छ । भूकम्पले क्षति पुर्याएका घर, सम्पदा तथा सार्वजनिक संघसंस्थाको भवन निर्माणका लागि उक्त परिमाणमा काठ वितरण गरेको हो । हालसम्म काठमाडौँमा ४ हजार ८६४, भक्तपुरमा ८ हजार १८४ र ललितपुरमा ६९८ क्युफिट काठ उपलब्ध गराएको कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए। तीनवटै जिल्लामा सम्पदा निर्माणका लागि ४४४ क्युफिट काठ वितरण गरेको छ । कर्पोरेशनले गत जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो । विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२ लाई स्वीकृत गरेको थियो । तर काठ वितरणमा भने ढिलाइ भएको थियो । निर्देशिकाको परिच्छेद ५ को दफा ११ मा भूकम्पप्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको थियो । महाप्रबन्धक लौडारी टिम्बरले सबै जिल्लामा उपलब्ध गराउन नसक्ने अवस्था आएकाले काठ वितरण प्रक्रियामा ढिलाइ भएको बताउनुहुन्छ । “उपत्यका बाहेकका अरू जिल्लामा जिल्ला वन कार्यालयले भूकम्पपीडितलाई काठ उपलब्ध गराउनेछ,” उनले भने। टिम्बरले भूकम्पपीडितलाई प्रतिक्युफिट २ हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपुर्जा र घर निर्माणको नक्सा हेरेर मात्र काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले चालु आवमा १ लाख १५ हजार क्युफिट काठ भूकम्पपीडितलाई उपलब्ध गराउनेछ । अहिले कर्पोरेशनसँग भएको काठ भूकम्पपीडितलाई अपुग हुने लौडारीको भनाइ छ । कर्पोरेशनले कैलाली, कञ्चनपुर, नवलपरासी, चितवन, बारा, पर्सा, रौतहट, मोरङ, सुनसरी र उदयपुरबाट काठ ल्याउने गरेको छ । रासस –––
पुननिर्माण प्राधिकरणका सिइओको घोषणाः असार भित्रै सबै भूकम्प पीडित आफ्नै घरमा
काठमाडौं । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले असार अगावै सबै भूकम्प पीडित आफ्नैै घरमा बस्न पाउने घोषणा गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा प्राधिकरणका सिइओ भुषालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा ईन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरुलाई घरमा सार्ने योजनाका साथ आफुले काम आरम्भ गरिसकेको बताएका हुन् । भुसालले भने,‘प्राधिकरणको नेतृत्वमा म चौथो व्यक्ति हुँ, यसअघिका सबै सिईओले राम्रै काम गर्नुभएको हो, तर जनतालाई तत्काल परिणाम चाहिने भएकाले केही काम नभएको जस्तो देखिएको मात्रै हो, सबै सिईओलाई धन्यवाद छ, उहाँहरुले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्ने मेरो लक्ष्य छ ।’ जीवनका ३४ वर्ष सरकारी सेवामा बिताएको जानकारी गराउँदै निर्देशक भुसालले भने,‘मैले सरकारी तहमा रहेर केही काम गर्ने अवसर पाएको छु, म राजनीतिक दबावलाई वास्ता गर्दिन, कर्मचारीहरुले आफ्नो कतव्र्य पुरा गर्ने हो, मुलुक र जनताको सेवामा समर्पित हुने हो, अनावश्यक राजनीतिक दबावलाई सुन्नुपर्छ भन्ने छैन ।’ उनले अघि थपे,‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक ईन्जिनियर उपल्ब्ध गराउने छौँ, इन्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ, काम गर्ने मानिस चाहिएको छ, हामीले पीडित जनताका आँशु पुच्छनको लागि हातहरु उठाउनुपर्छ ।’उनले आफ्नो ३ वर्षे कार्यकालभरि कसैको दवाबमा नपरी जनताको हितमा काम गर्ने प्रण गर्दै भने,‘सरकारले मलाई ३ वर्षको जिम्मा दिएको छ, बाँकी केही समय पनि मैले पाउनेछु, यस अवधिमा धरहरा, वसन्तपुर दरबार, सिंहदरवार, रानीपोखरी र भूकम्प प्रभावित जिल्लाका संरचनालाई उठाउनेछु ।’ भुसालले आफू स्कुले जीवनदेखि नै कक्षामा प्रथम हुँदै उच्चशिक्षा प्राप्त गर्दासम्म प्रथम नै स्थान हाँसिल गरेको स्पष्ट पार्दै भने‘म आज यो स्थानमा कुनै राजनीतिक दलबलको हिसावमा आएको छैन्, सरकारले राजनीति भन्दा परको व्यक्तिलाई पुर्ननिर्माणको जिम्मा दिएको छ, यो विश्वासलाई मैले पुरा गर्नेछु, म सबैको मत जित्नेगरि काम गर्ने विश्वास दिलाउँछु ।’
नेप्सको अध्यक्षमा रविनकुमार नेपाल, सञ्चालकमा ८ जना चयन
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सञ्चालक समितिको अध्यक्षमा रविन कुमार नेपाललाई सर्वसम्मत रुपमा चयन गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको ६२ औं संचालक समितिको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो । साथै, कम्पनीको असोज २९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाबाट ८ जना नयाँ सञ्चालकहरु चयन भएका छन् । जसमा जनता बैंक नेपालका पृथ्वीनारायण श्रेष्ठ, सनराइज बैंकका रविन कुमार नेपाल, प्राइम कमर्सियल बैंकका भाइराजा तुलाधर, बैंक अफ काठमाडौंका प्रविनप्रकाश क्षेत्री, माछापुच्छ्रे बैंकका नारायण प्रकाश भुजु, नेपाल बांगलादेश बैंकका रत्नतारा वैद्य, सिटिजन्स् बैंक इन्टरनेशनलका सन्जीव कुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन चयन भएका छन् । १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्जन ३.२) र पीसीआई पीआईएन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आइरहेको छ । साथै, यस कम्पनीले १० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
एक महिना भित्रै ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा, सेयर लगानीकर्तालाई राहत
काठमाडौं । ब्रोकर कम्पनीहरुले एक महिनाभित्रै मार्जिन ल्याण्डिङको सुबिधा पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले एक महिनाभित्रै ब्रोकर कम्पनीहरु मार्फत निश्चित मात्रामा मार्जिन ल्याण्डिङ सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।‘एक महिना भित्रै ब्रोकर कम्पनीहरु मार्फत मार्जिन ल्याण्डिङको सेवा दिने गरि विभिन्न मोडालिटीमा छलफल भैरहेको छ’, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्याण्डिङको सुविधा दिनेबारे अध्ययन गरेरको थियो । सोही अध्ययनको निष्कर्षका रुपमा तयार पारिएको प्रतिवेदनका आधारमा बोर्डले ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा दिन लागेको हो ।‘कस्तो ब्रोकर कम्पनीलाई कतिसम्म मार्जिन ल्याण्डिङ गर्न दिने भन्नेबारे एउटा निचोडमा पुगेका छौं, अब ब्रोकर कम्पनीसँग प्रस्ताव मागदैछौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने । बोर्डको अध्ययनले ब्रोकरको स्वपुँजीबाटै मार्जिन ल्याण्डिङको सेवा दिने, ब्रोकर कम्पनीले बैंक ग्यारेण्टी गरिदिने लगायतका चारवटा मोडल प्रस्ताव गरेको छ । ब्रोकर कम्पनीहरुले मार्जिन ल्याण्डिङको सुविधा पाउने हो भने लगानीकर्ताले सेयर किन्नु पूर्व नै ब्रोकर कम्पनीहरुबाट ८० प्रतिशतसम्म कर्जा पाउने छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि मार्जिन ल्याण्डिङको सुबिधा दिनेबारे बोर्डसँग छलफल भएको बताए । ‘स्वपुँजी वा सापटीबाट दिन सकिनेबारे हामीले सुझाव दिएका थियौं, सेयरको मूल्य कति घटेपछि ऋण फिर्ता लिने भन्नेबारे पनि सुझाव दिएका थियौं’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने ।
नारायणगढ-मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ । ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि छ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको चर्चा गर्दै उनले भने “अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छौं ।” यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो । वर्षा र चाडपर्वको समय भएकाले सवारी साधन रोक्न छाडिएको थियो । सडक खण्डको विभिन्न ठाउँमा करिब आठ सय मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ । जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको आयोजना प्रमुख यादव बताए । ठेकेदार कम्पनीलाई फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने छ भन्दै उनले आगामी अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको जानकारी दिए । आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ । भूकम्प, नाकाबन्दी, बाढी पहिरोलगायतका कारण शुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पु¥याइँदैछ । यस अघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षा, निर्वाचन लगायतका समयमा रोकिएको कामको मिति थपिएको होे । हालसम्म ५७ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख यादवले बताए । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार सात किलोमिटर पाँच सय मिटर सडक एकपत्र कालोपत्रे गरिएको छ । सबै ठाउँमा तीन पत्र कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा तीन सय मिटर हाराहारीका दरले कालोपत्रे गर्नसकिने उनले बताए । फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौँडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने इञ्जिनियर खनालले बताएका छन् । सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । ३ नं मा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षा अघिसम्म भने काम सकिने उनले बताए । इञ्जिनियर खनालले भने “आउँदो वर्षामा यो सडकका कारण जनताले दुःख पाउँदैनन् ।” नारायणगढ मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ, भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ । रासस