४५ जिल्लामा बन्यो मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय, आजैदेखि सञ्चालनमा
काठमाडौं । निर्वाचन आयोगले आजदेखि ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । त्यस्तै प्रदेश नम्बर ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नम्बर ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि २०७४ कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ ।
गणपती माइक्रोफाइनान्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गणपती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा कात्तिक ९ गते सम्पन्न भएको छ । सभाको सभापतित्व संस्थाको सञ्चालक समितिका अध्यक्ष युबराज भण्डारीले गरेका थिए । हाल यस संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोवार शुरु गरेको यस संस्थाले २०७४ साल असोज मसान्तसम्म उठाउन बाँकी ऋण रकम २५ करोड ८७ लाख रुपैयाँ तथा बचत रकम ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । हाल १२ जिल्लामा २० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रम संचालन भई रहेको छ ।
पोल खुल्ने डरले भारतबाट ग्याँस आपूर्ति गर्न उद्योगी तयार
काठमाडौं । सरकारले छानविन गर्ने भएपछि ग्याँस उद्योगीले भारतबाट एलपिजी ग्याँस आपूर्तिलाई निरन्तरता दिने भएका छन् । आपूर्ति मन्त्रालयले भारतमै गएर ग्यास बुलेटबारे छानबिन गर्ने भनेपछि पोल खुल्ने डरले उद्योगीहरु ग्याँस आपूर्ति गर्न तयार भएका हुन् । भारतबाट ग्याँस बुलेट ल्याउने प्रक्रिया नरोकिने नेपाल एलपी ग्याँस उद्योग संघले जानकारी दिएको छ । ग्याँस उद्योगीले झुटो विवरण देखाएर बढी क्षतिपूर्ति माग गरेको आशंकामा मन्त्रालयले छानबिन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि उद्योगीले पोल खुल्ने डरले नोभेम्बरदेखि ग्याँस आपूर्ति नगर्ने कार्यक्रम फिर्ता लिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीले भने, ’भारतमा उद्योगीले दाबी गरे अनुसार ४ सय थान बुलेट नभई जम्मा ५३ वटा मात्र निर्माण भएको जानकारीमा आएपछि मन्त्रालयले छानबिन गर्ने निर्णय गर्याे । ढाकछोप गर्न उनीहरु भारतबाट ग्याँस ल्याउन तयार भएका हुन् ।’ २०७३ असार २७ गते नेपाल आयल निगमले नेपाली नम्बर प्लेटका ७७५ थान बुलेटलाई सञ्चालन अनुमति दिएको थियो । नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न दिन भारतले स्वीकृती नदिएपछि पछिल्लो समय व्यवसायीले सरकारसँग लगानीको क्षतिपूर्ति दावी गरिरहेका थिए । भारतबाट एक्सप्लोसिभ प्रमाणपत्र नपाएर ४ सय थान नेपाली ग्याँस बुलेट भारतमा अलपत्र परेको भन्दै उद्योगीले सरकारसँग क्षतिपूर्तिको माग गरेका थिए । करिब ५ अर्ब रुपैयाँको क्षतिपूर्ति माग गर्दै उद्योगीले नोभेम्बरदेखि ग्याँस आपूर्ति नगर्ने समेत सरकारलाई चेतावनी दिएका थिए । अन्त्यमा भारतबाट प्राप्त चिठ्ठी बन्यो आधार नेपाल एलपी ग्याँस उद्योगीले नोभेम्बरपछि भारतीय ग्याँस ढुवानी कम्पनीसँग ग्याँस ढुवानी नगर्ने सहमती भइसकेको बताँउदै ग्याँस आपूर्तिमा अवरोध पुग्ने निश्चीत रहेको बताएका थिए । गत असार १५ मा भारतीय ग्याँस ढुवानी कम्पनी इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले आपूर्ति मन्त्रालयलाई पत्राचार गरी नेपालमा एलपी ग्यास ढुवानी नरोकिने जानकारी दिएको थियो । सोही पत्रलाई आधार बनाएर ग्याँस आपूर्तिलाई निरन्तरता दिने निष्कर्शमा पुगेको ग्याँस उद्योगी बताउछन् । उक्त पत्रमा आगामी नोभेम्बरदेखि नेपालमा ग्याँस ढुवानी सेवा बन्द गर्ने भन्ने नेपाल एलपी ग्यास उद्योग संघको भनाईको इण्डो नेपाल बल्क ट्रान्सपोर्ट एशोसिएसनले औपचारिक रुपमा खण्डन गरेको थियो ।वरिष्ठ उपाध्यक्ष कुशप्रसाद मल्लीले भारतीय कम्पनीले पठाएको पत्रलाई आधार मानेर ग्याँस आपूर्ति गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘भारतीय कम्पनीले नै ढुवानी नरोक्ने भएपछि हामीलाई समस्या भएन ।’ यद्दपी यसअघि भारतीय कम्पनीले पत्र पठाएर आफ्नो एकाधिकार कायम राख्न खोजेको आरोप लगाउँदै संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले नोभेम्बरदेखि ग्याँस आपूर्ति नगर्ने अडान लिएका थिए । विकासन्युजसँग कुरा गर्दै घिमिरेले नेपाली उद्योगी र भारतका ग्याँस ढुवानीकर्ताबीच भएको सहमती कार्यान्वयन गराएर छाड्ने पक्षमा ग्यास उद्योगी रहेको दाबी समेत गरेका थिए । थप पढ्नु होस् :- ‘भारतीय बुलेटमा ग्याँस ल्याउँदैनौं’ मन्त्रीले फर्जी अनुमतिको फाइल खोजेपछि…. २०७३ साउन ३० गते आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मोटो रकम चलखेल गरी कानुनी प्रक्रिया मिच्दै पेट्रोलियम पदार्थ ट्यांकर र ग्याँस बुलेटलाई फर्जी अनुमति दिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको थियो । आपूर्ति मन्त्रालयले ढुवानी विनियमावली बनाएर मात्र ग्याँस बुलेट खरिद प्रकिया अघि बढाउनुपर्ने भन्दै व्यवसायीलाई स्वीकृती दिन रोक लगाएको थियो । तर व्यवस्थापिका सांसद-उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमलाई साढे ७ सय ग्याँस बुलेट खरिद प्रक्रिया अघि बढाउन निर्देशन दियो । गत असोज ५ गते नेपाली ग्याँस बुलेटका विषयमा मन्त्रालय र निगमबीच छलफल चल्यो । मन्त्रालय स्रोतका अनुसार उक्त छलफलमा खड्काले गोप्यरुपमा व्यवसायीलाई १९९ थान ग्याँस बुलेट खरिद गर्न अनुमति दिएको कुरा निगमका पदाधीकारीले अवगत गराएका थिए । नेपाली ग्याँस बुलेटको विषय जटिल बन्दै गएपछि तत्कालिन मन्त्री शिवकुमार मण्डलले बुलेट खरिद अनुमति सम्बन्धी फाइल नै पुनरावलोकन गर्ने निष्कर्शमा पुगेका थिए ।
तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री
उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस
मंसिर १० र २१ गते हुने निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्वीकृत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान दिएकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन् । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मकरुपमा परिचालन गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका हुन् । रासस
नेपाली मौलिक खानाको विश्वव्यापीकरण, पर्यटन व्यवसायमा टेवा
काठमाडौं । अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सकिने व्यवसायीले बताएका छन् । स्थानीय रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले शुरु गरिएको ‘नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ ले अन्तर्राष्ट्रिय जगतमा नयाँ पहिचान स्थापित गर्न सकिने उनीहरुको धारणा छ । होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल र सेफ्स एशोसिएसन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानमा नेपालका प्रतिष्ठित सेफ, व्यावसायिक ‘फुड टेक्नोलोजिस्ट’, ‘डाइटिसियन’ लगायतको पनि सहभागिता रहेको छ । यसै सन्दर्भमा बुधबार साँझ लैनचौरस्थित ‘सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’ परिसरमा स्थानीय खानाका परिकारको प्रदर्शनी आयोजना गरियो । व्यावसायिक सेफबाट तयार गरिएका २६ प्रकारका स्थानीय रैथाने खाना राखिएको थियो । चामल, कोदो, फापर, गुन्द्रुक, च्याउ, आलु, भटमास, बदाम, स्थानीय जडीबुटी तथा मासुका विभिन्न स्वादिष्ट परिकार प्रदर्शनीमा राखिएको थियो । नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताए । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने अभियानको दाबी छ । नेपालीले विश्व बजारमा होटल रेस्टुरेन्ट सञ्चालन गरेका तर त्यहाँ, इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन् भन्ने उद्देश्यले अभियान शुरु गरिएको व्यवसायी कर्ण शाक्यले बताउनुभयो । उनका अनुसार प्रदर्शित मौलिक खानामध्ये २० परिकारका छनोट गरी विदेशीको स्वाद र रुचीअनुरुपको बनाई आकर्षक ढंगले प्रस्तुत गरिने छ । अभियानको दोस्रो चरणमा ठूलो ‘फुट फेस्टिभल’ आयोजना गरी नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गरिने जनाइएको छ । सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । सिल्भर माउन्टेन कलेजकी प्रबन्ध निर्देशक आभा शाहले नेपाली मौलिक खानालाई विदेशी रेस्टुराँमा प्रवद्र्धन गर्ने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साह बढेको बताएका छन् । कार्यक्रममा पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्र संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस
‘छेक्यो डाडा’ बोलको गीत सार्वजनिक, १ हप्तामा २५ हजार पुग्न सफल (भिडियो सहित)
काठमाडौं । रेशमी पर्दाले गीतको सफलतापछी गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेका छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजार पुग्न सफल भएको छ । उक्त गीतमा भरत देउरालीको शब्द, संगीतलाई बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमले निर्देशन गरेका हुन् । साथै, उक्त गीतमा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका छन् । (भिडियो हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
२० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि तयारी
काठमाडौं । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड रुपैयाँ ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए । करिब एक अर्ब ५५ लाख रुपैयाँ ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ । उक्त मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको बताइएको छ । विभिन्न समयमा भएका राजनीतिक अस्थिरता तथा राजनीतिक नियुक्तिले गर्दा विसं २०५४ देखि मिल सञ्चालन हुन सकेको छैन । परोक्ष तथा अपरोक्ष गरी करिब १५ हजारलाई रोजगारी दिन सक्ने सो मिल सञ्चालन गरी बेरोजगारी घटाउन पर्नेमा उद्योग राज्यमन्त्री लामाले जोड दिँदै सरकारलाई केही घाटा लागे पनि मिल सञ्चालन गरिने बताए । सो मिलको इतिहासलाई हेर्ने हो भने विसं २००४ मा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेताले मजदुर आन्दोलन गरी राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीसमेत बनेका थिए । रासस