भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद खुला, कात्तिक २४ गतेदेखि आवेदन दिन पाइने
काठमाडौं। भार्गव विकास बैंकले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि सो मात्राको हकप्रदको बिक्री खुला गर्न लागेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता सेयरको हकप्रद निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले कात्तिक २४ गतेदेखि कात्तिक २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको कात्तिक १५ गते बुक क्लोज हुँदै छ ।
सीईओ भन्छन्: बैंकका सुनौला दिन सकिए, ईपीएस घट्दै, लगानीकर्ता निरास हुँदैछन्
काठमाडौं । चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घट्दै गएको छ । चुक्तापुँजी बढेपछि सेयर संख्या थपिदा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो । ईपीएस निरन्तर ओरालो लागेपछि लगानीकर्ताले पहिलाको तुलनामा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल समेत घट्नेछ । चुक्तापुँजी बढेको र पहिलो त्रैमाशमा बैंकले नाफा बढाउन नसकेपछि यो वर्ष लगानीकर्ताले राम्रो ईपीएस नपाउने संभावना बढेको छ । नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् । गत वर्षको तुलनामा यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणले देखाएको छ । २ अर्ब पुँजी हुदा गरेको नाफा र ८ अर्ब रुपैयाँ पुँजी पुगेपछि सोही अनुसार नाफा नबढे यसको ठुलो असर प्रतिफलमा पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थामा यसको संकेत देखिन थालेको छ । गत आवको अन्तिममा पनि अधिकाँश बैंकको ईपीएस घटेको थियो । आगामी दिनमा बैंक तथा वित्तीय संस्थामा लगानी गरेर धेरै प्रतिफल लिने लगानीकर्ताले अबका दिनमा निरास हुनुपर्ने अवस्था आउन लागेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले संकेत गरेको छ । चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्ट बैंक र सिटिजन्स बैंकको ईपीएस गत वर्षको तुलनामा घटेको छ । गत वर्षको पहिलो त्रैमाशमा एभरेष्टको ईपीएस ७८.३१ रुपैयाँ थियो । यस्तै गत आवको असारसम्म आइपुग्दा घटेर ४४ रुपैयाँ ३२ पैसामा सीमित भएकोमा चालु आवको पहिलो त्रैमाशमा झनै घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड रुपैयाँ छ । बैंकले अझै १ अर्ब ८९ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । पुँजी बढाएपछि एभरेष्टको ईपीएस अझै घट्ने देखिएको छ । गत आवको पहिलो त्रैमाशको तुलनामा एभरेष्टका लगानीकर्ताले एक वर्षमा ४३ रुपैयाँ गुमाएका छन् । चालु आवको साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । पहिलो त्रैमाशको वित्तीय विवरण हेर्दा एभरेष्टले नाफा बढाउन सकेको छैन् । सेयर संख्या बढ्ने र आम्दानी सोहीअनुसार नबढ्दा ईपीएसमा कमी आउनु स्वभाविक हो । चालु आवको ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्सको पनि ईपीएस घटेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । गत आवको पहिलो दोस्रो त्रैमाशमा सिटिजन्सको ईपीएस २२ रुपैयाँ ८१ पैसा थियो । गत असारसम्म घटेर १७ रुपैयाँमा झरेको थियो । सिटिजन्सको ईपीएस ७ रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा पनि घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकको पुँजी वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि स्वतः ईपीएस घट्ने र यसले आगामी दिनमा पनि निरन्तरता आउने सानिमा बैंकका सीईओ भुवन दाहाल बताउँछन् । विकास न्युजसंग कुरा गर्दै सीईओ दाहालले भने “बैंकले धेरै नाफा कमाएर सोही अनुसार प्रतिफल दिन्छन् भन्ने दिन अब गए । बैंकका सुनौला दिन (गोल्डेन एज) सकिएको छ ।” दाहालले भने सानिमाको ईपीएस पनि घटेको जानकारी दिदै यसलाई कायम राख्न दवाव बढेको बताए ।सेयरको संख्या ४ गुणा बढेकाले यसलाई कायम राख्न बैंकलाई चुनौति देखिएको बैंकका सीईओको भनाई छ । केही समयअघि विकास न्युजसंग कुरा गर्दै एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालले अबको चुनौति भनेको ईपीएसलाई हालको अवस्थामा कायम राख्नलाई भनेका थिए । अहिले ईपीएस जुन अवस्थामा छ त्यसलाई कायम राख्न सक्नु नै ठुलो उपलब्धी भएको उनको निष्कर्ष थियो ।
राष्ट्र बैंकको कारवाहीपछि गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब, अपी, अरुण र सिद्धकालीमा के हुँदैछ ?
काठमाडौं । संस्थागत सुशासन उल्लंघन गरेर सेयर कारोबार गरेपछि २ करोड १९ लाख रुपैयाँ बराबरको सेयर जफत गरिएका गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब परेको छ । जनता बैंकको सञ्चालक हुँदा गुरुले श्रीमती सावित्रादेवी न्यौपानेका नाममा भित्री रुपमा सेयर कारोबार गरेर संस्थागत सुशासन उल्लंघन गरेको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा सावित्रादेवीको ८५ हजार १ कित्ता सेयर जफत भएको थियो । जनताले जफत गरिएको साधारण सेयर लिलामी प्रक्रिया अघि बढाइसकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ । एउटा पब्लिक कम्पनीमा रहेर वित्तीय अपराध गरेका व्यक्तिलाई अर्काे कम्पनीको नेतृत्वमा बस्न दिँदा पुनः संस्थागत सुशासन उल्लंघन हुन सक्ने भन्दै नेपाल धितोपत्र बोर्डले त्यस्ता व्यक्तिलाई कम्पनीको नेतृत्वमै बस्न नपाउने व्यवस्था ल्याउन लागेको छ । “संस्थागत सुशासन उल्लंघन गर्नेलाई अर्काे पब्लिक कम्पनीको नेतृत्वमा बस्न दिनुहुन्न भनेर बोर्डमा लगानीकर्ताको प्रेसर आएको छ । अहिलेसम्म नीतिले त्यस्तो केसमा केही बोलेको छैन । अब त्यसबारे सोचिरहेका छौं, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । ‘जनता बैंकको सेयर कारोबारले हामीलाई संस्थागत सुशासनको दायरा फराकिलो बनाउनु आवश्यक छ भन्ने निष्कर्षमा पुर्याएको छ’, प्रवक्ता गिरीले भने । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत कम्पनी मध्ये एउटा कम्पनीको सञ्चालक समितिमा वा उच्च व्यवस्थापन समितिमा रहेर बदमासी गरी दोषी ठहर भएको व्यक्तिलाई सूचिकृत अर्को कम्पनीको बोर्डमा वा उच्च व्यवस्थापनमा बस्न अयोग्य हुने गरी मापदण्ड बनाउनेबारे छलफल चलेको गिरीले बताए । एउटा नियामक निकायले संस्थागत सुशासन विपरित काम गरेको भनेर कारवाही गरेको व्यक्तिलाई अर्को नियामक निकायले संरक्षण गर्न नसक्ने गिरीको भनाई छ । जनता बैंकमा अबैध रुपमा सेयर कारोबार गरेर कारवाहीमा परेका न्यौपाने हाल अपि पावर लिमिटेड र अरुण कावेली पावर लिमिटेडमा अध्यक्ष छन् । दुबै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत छ । सिद्धकाली पावर कम्पनीमा पनि न्यौपाने अध्यक्ष छन् । सिद्धकालीले साधारण सेयर (आइपीओ) निष्कासन गर्न बाँकी छ । भतिजा रमेशप्रसाद न्यौपाने अध्यक्ष रहेको अरुण भ्याली हाइडो पावर डेभलपमेन्ट कम्पनी पनि नेप्सेमा सूचिकृत छ । उनकी बुहारी पुजा दाहाल न्यौपाने पनि अरुण भ्यालीका सञ्चालिका हुन् । न्यौपाने परिवारले पब्लिक कम्पनीलाई व्यक्तिगत रुपमा उपयोग गरेको आरोप खेप्दै आएको छ । यहि बेलामा राष्ट्र बैंकले न्यौपाने परिवारको २ करोड भन्दा बढीको सम्पत्ति जफत गर्ने निर्णय गरेपछि उनी र उनको परिवार माथि उनका साझेदार, साधारण सेयरधनी र नियामक निकालले शंकाको व्यवहार गर्न थालेका छन् । के भएको थियो जनता बैंकमा ? न्यौपाने बैंक सञ्चालक रहेका बेला श्रीमती सुमित्रादेवीको नाममा ५२ हजार ४७० कित्ता सर्वसाधारण दोस्रो बजारबाट खरीद गरेका थिए । त्यसपछि ५० प्रतिशत हकप्रदबाट २६ हजार २३५ कित्ता र १२ प्रतिशत बोनसबाट ६ हजार २९६ कित्ता गरी न्यौपानेको कुल शेयर संख्या कुल शेयर संख्या ८५ हजार एक कित्ता पुगेको थियो । त्यस विषयमा उजुरी परेर राष्ट्र बैंकले छानविन थालेपछि न्यौपानेले २०७१ पुस ११ गतेबाट लागू हुने गरी भन्दै बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । राजीनामा देखाइ कारबाहीबाट बच्न उनले यसो गरेका थिए । तर, सञ्चालक समितिले भने २०७३ पुस २१ गते मात्र राजीनामा स्वीकृत गरेको थियो । न्यौपाने जनता बैंकका संस्थापक अध्यक्ष समेत हुन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्स र डाक्टरलाई जागिर खुल्यो
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३५ जनाका लागि जागिर खुलेको छ । प्रतिष्ठानले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर नर्सदेखि प्राध्यापकसम्मका लागि जागिर खुलाएको हो । प्रतिष्ठानले १२ जना सहायक प्राध्यापक तथा प्राध्यापक मागेको छ त्यस्तै, फार्मेसी, नर्सिङ, ल्याबमा २३ जनाका लागि दरखास्त खुलाएको छ । सहायक प्राध्यापक देखि प्राध्यापकसम्मको आवश्यक शैक्षिक योग्यता पुगेकाहरुले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । आँखा रोग, जेरायोट्रिक मेडिसिन, मनोचिकित्सा, समुदाय स्वास्थ्य विज्ञान, शरिर रचना, सुक्ष्मजीव तथा रोग प्रतिरोध विज्ञान, विकृति विज्ञान, नवजात शिशु, चर्मरोग र जीव रसायन तथा मलिक्युर बिषय अध्ययन गरेकाहरुले आवेदन दिन सक्नेछन् । आवेदकहरुले २२५० रुपैंयाँदेखि ३००० रुपैंयाँ दस्तुर तिरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिन सक्नेछन् । त्यस्तै, ल्याब, नर्स र फार्मेसी अध्ययन गरेका आवेदकहरुले सहायक स्तरमा आवेदन दिनका लागि १५०० रुपैंयाँ र अधिकृत स्तरमा आवेदन दिनेले २००० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।
जाडोमा मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ ? यसरी गर्नुस् सुरक्षित बाइक राइडिङ
काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो जमेर बस्ने सम्भावना हुन्छ । कतिपय मानिस जाडोमा बाइकलाई सुरक्षित राख्न छोपेर राख्छन् । वा गर्मी मौसम कहिले आउला भन्दै पुरै सिजन पर्खाईमा बस्छन् । मोटरसाइकका साथै शरीरलाई पनि स्वस्थ राख्न निम्नानुसार बानी अपनाउनुपर्छ । बन्दोवस्तीका साथ निस्कनुस् गियर अप भएर निस्कनु भन्नाले आफूलाई बन्दोवस्तसहित हिड्नु भन्ने बुझिन्छ । जाडोमा बाइक चलाउदा पूर्णरुपमा गियर-अप हुनै निकै आवश्यक छ । फुल लेग, फुल स्लिभका साथ आफूलाई अन्डरआर्मरले ढाक्न सकिन्छ । यसको साथमा ही नेक वार्मर, फग फ्री फेसशील्ड हेल्मेट जस्ता सामान पनि प्याक गर्नुपर्छ । यसले जाडोबाट बचाउने मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण छ । रोक्दै-रोक्दै जाँउ लामो दुरीको यात्रामा लगातार बाइक कुदाउनु जोखिमपूर्ण हुन्छ । बीच-बीचमा बाइक रोक्ने गरौं । सार्वजनिक शौचालयमा रोकिन नबिर्सौं । जहाँ हात सुकाउनका लागि ह्याण्ड ड्रायर्स राखिएका हुन्छन् । यदी शरीर काप्न थाल्यो भने रोकिएर एकछिन टहलिनु उपयुक्त हुन्छ । सरसफाई जाडोमा बाइक कुदाएपछि सरसफाई गर्नु जरुरी हुन्छ । जाडोमा धुलोले गियरमा समस्या आउन सक्छ । चियाँ, कफि र नास्ता लामो दुरीको यात्रामा भोक महसुस नगराउन चियाँ कफि र खाजा लिइरहनुपर्छ । चियाँ र कफीले शरीरलाई न्यानो राख्न मद्दत गर्छ । बाइक मोड बाइकका लागि अतिरिक्त खर्च निकालेर यसमा ग्रिप राख्न सकिन्छ । ग्लव्स, फुट वार्मर्स जस्ता वस्तुको प्रयोगले बाइक चलाउदा चिसोबाट जोगाउनका साथै सुरक्षित राख्न मद्दत पुर्याउछ । सडकमा सावधानी बाइक चलाउँदा सडकमा पनि ध्यानराख्नु उत्तिकै आवश्यक छ । जाडोमा ब्रेकिंङका लागि विशेष ध्यान राख्नुपर्छ । छिटो ब्रेक लगाउनु सुरक्षित बाइक राइडिङमा सहयोगी हुन्छ । टायर ठन्डीमा टायर निकै चिसो रहन्छन् । केहि समयसम्म एक्सिलेरेटर डाउन-अप गरेर मात्र यात्रा सुरु गर्नु उपयुक्त हुन्छ । टायर प्रेशर पनि चेकजाँच गरिरहनुपर्छ । अन्डरवेयर थर्मल अन्डरवेयरको प्रयोगले जाडोमा पनि यात्रा सहज बनाउन सकिन्छ । लामो अन्डरवेयर निकै आरामदायी हुन्छ ।
नेपालमा कोरियाली चलचित्र महोत्सव शुरु, युवा पुस्ताको गायन, नृत्य र पहिरहनमा बढ्दो प्रभाव
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो प्रभाव बढाउदै गएको दक्षिण कोरियाले कात्तिक ९ गते विहीबारदेखि नेपालमा कोरियाली चलचित्र महोत्सव (फिल्म फेस्टिवल) आयोजना गरेको छ । ६ दिनसम्म चल्ने सो महोत्सवमा ६ वटा चलचित्रहरु प्रदर्शन भइरहेकाछन् । दी फेटल इन्काउन्टर, अ हार्ड डे, कुण्डो–एज अफ दी रामपन्ट, क्रसिङ, म्यारिज व्ल्यू र माई लभ, माई प्राइड नामक चलचित्रहरु प्रदर्शनी भईरहेका छन् । हरेक दिन ६ वटै फिल्महरु हेर्न सकिने नेपालस्थिति दक्षिण कोरियाली दूताबासले जनाएको छ । ती चलचित्रहरु कात्तिक ९, १० र ११ गते क्वीएफएक्स, लविम महलमा प्रदर्शन हुनेछन् । त्यस्तै, कात्तिक १६ र १७ गते काठमाडौं विश्वविद्यालयमा र कात्तिक १८ गते पोखरामा प्रदर्शन हुनेछन् । सन २०१४मा बनेको दी फेटल इन्काउन्टर, सन २०१३ मा बनेको अ हार्ड डे, २०१४ मा बनेको कुण्डो–एज अफ दी रामपन्ट द्वन्द्वमा आधारित चलचित्र हुन् । २००८ मा बनेको क्रसिङ नाटकमा आधारित चलचित्र छ भने २०१३ मा बनेको म्यारिज व्ल्यू र २०१४ मा बनेको माई लभ, माई प्राइड रोमाञ्चक चलचित्र हुन् । पुराना तर निकै चर्चित यी चलचित्रहरुले कोरियाको विभिन्न पक्षलाई चित्रण गरेको र निकै रोचक रहेको नेपालको लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बताए । पछिल्लो समय कोरियाली फिल्मको प्रभाव नेपालमा निकै देखिएको छ । पहिला भारतीय चलचित्रलाई मात्र पछ्याउने नेपाली चलचित्र निर्माताहरु अहिले दक्षिण कोरियाको चलचित्रलाई निकै पछ्याउन थालेका छन् । पछिल्लो समयमा नेपाली युवा पुस्ताले गाउने भाका, नृत्य तथा पहिरहनमा कोरियाली चलचित्रका प्रभाव उल्लेख्य देख्न सकिन्छ ।
कोरियामा खुल्यो दुई नेपाली रेमिट कम्पनी, औपचारिक उद्घाटन गर्न गभर्नर कोरिया जाँदै
काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपालीहरुको आम्दानी कानुनी बाटोबाट नेपाल पठाउन सहयोग पुर्याउने उदेश्यसहित दुई वटा रेमिट कम्पनी खुलेका छन् । आइएमइ समूहले प्रवद्र्धन गरेको ग्लोबल मनि एक्सप्रेस (जीएमई) र सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवद्र्धन गरेको जी मनि ट्रान्सफर (जीएमई) कम्पनीले कोरियाबाट रेमिट सेवा दिने भएको छन् । स्रोतका अनुसार यहि कात्तिक २० गते नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल दक्षिण कोरिया पुगेर जीएमई रेमिट सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोहि दिन गभर्नर नेपालको उपस्थितिमा जेएमई र नेपालको ग्लोवल आईएमई बैंकबीच सहकार्यमा रेमिट सेवा सञ्चालन गर्ने विषयमा सम्झौता हुने भएको छ । सिटी एक्स्प्रेस मनि ट्रान्सफर समूहले प्रवद्र्धन गरेको जीएमईले पनि रेमिट सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । जीएमई र सिटी एक्स्प्रेस मनि ट्रान्सफरबीचको सहकार्यकामा कोरियामा कार्यरत नेपालीलाई रेमिट सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको सिटी एक्सप्रेसका ब्राण्ड म्यानेजर सन्देश कटवालले जानकारी दिए । यो सेवाले दक्षिण कोरियामा कार्यरत ३५ हजार बढी नेपाली कामदारलाई प्रत्यक्ष लाभ पुग्ने जनाईएको छ । राष्ट्र बैंकका अनुसार कोरियामा रहेका नेपालीले गैरकानूनी रुपमा हुण्डीबाट वार्षिक करिब ४१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । सरकारी कोटामा (इपीएस) बाट कामका लागि कोरिया गएका नेपालीहरुले ९६ प्रतिशत आम्दानी हुण्डीबाट पठाउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७२/७३ मा कोरियाबाट ४३ अर्ब रुपैयाँ आउनुपर्नेमा बैंकिंग प्रणालीबाट २ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा एक अर्ब, २०७१/७२ डेढ अर्ब रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट नेपाल भित्रिएको थियो । यसअघि कोरिया सरकारले त्यहाँ रेमिट्यान्स कम्पनी दर्ता नदिएका कारण पनि यो समस्या देखिएको थियो । तर पछिल्लो समयमा कोरिया सरकारले विदेशी रेमिट्यान्स कम्पनी पनि दर्ता गर्न मिल्ने कानून निर्माण गरेपछि कोरियामा नेपाली कम्पनीहरु समेत पुगेका छन् । कोरियाबाट रेमिट कम्पनीहरुले सेवा सञ्चालन गरेपछि हुण्डीको कारोबार क्रमश घट्ने राष्ट्र बैंकको विश्वास छ ।
बाढीपीडितका लागि पाकिस्तानी राजदूत जावेदद्धारा १० करोड रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौं । पाकिस्तानी राजदुतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई १० लाख अमेरिकी डलर (झण्डै १० करोड रुपैयाँ) हस्तान्तरण गरेको छ । पाकिस्तानका नेपालका लागि राजदूत मझर जावेदले विहीबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी राहत बुझाएका हुन् । प्रधानमन्त्री देउवाले पाकिस्तानलाई सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहिद अब्बासीले बाढी पहिरो पीडित तथा पूननिर्माणका नाममा राहत स्वरुप सो रकम दिने घोषणा गरेका थिए । कुनैपनि आपतविपतको क्षणमा सहयोग गर्न र मित्रतापूर्वक सम्बन्ध राख्न तयार रहेको राजदुत जावेदले बताए ।