प्रभु बैंकको थप दुई शाखा कैलाली र पाँचथरमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो थप दुई शाखा कैलाली र पाँचथर जिल्लामा विस्तार गरेको छ । बैंकले शुक्रबार मात्रै कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा गरी २ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन क्रमश नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाङले गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय कार्यालय प्रमुखहरु त्था व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो । बैंकले असोज मसान्तसम्म ८३ अर्ब रुपैयाँ निक्षेप संकलन ६३ अर्ब रुपैयाँ बराबर रकम लगानी गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने बताएको छ ।
लोडसेडिङ हटाउन भारतबाट १६० मेगावाट बिजुली किन्ने सम्झौता, प्रतियुनिट ५.७६ रुपैयाँ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट १६० मेगावाट बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको म्याद अक्टुबरमा सकिने भएपछि विद्युत् प्राधिकरण र भारतको एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच शुक्रबार भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात भइरहेको छ । सो बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३ रुपैयाँ ६० पैसा भारुमा खरिद गर्ने सहमति भएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी डिसेम्बरसम्मका लागि अतिरित्त बिजुली खरिदको सम्झौता भएको छ । त्यसपछि पुन एनभीभीएनसंग सम्झौता हुने उनले बताए । उनकाअनुसार सो प्रसारणलाइनबाट बिजुली आपूर्ति गरेवापत वार्षिक १ अर्ब ९ करोड रुपैयाँ ट्रान्समिसन कम्पनीलाई तिर्नुपर्ने छ । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् । दुबै देशका सचिवस्तरिय बैठक बसेर आउदो जनवरीदेखि बिजुली आयातको म्याद थप हुने अधिकारीले बताए । यो प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर २ सय मेगावाट ल्याउने विद्युत प्राधिकरणको तयारी थियो । ढल्केबरमा सवस्टेशन बन्न ढिलाइ भएपछि १६० मेगावाट बिजुली आयातलाई प्राधिकरणले निरन्तरता दिएको छ । ढल्केबरमा सवस्टेशन निर्माण गरिरहेको चिनियाँ ठेकेदारसंग ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेकेदार छनौटको तयारी भइरहेको छ । प्राधिकरणले टनकपुरबाट थप ३० मेगावाट बिजुली आयातको पनि सम्झौता गरिसकेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४८० मेगाावाटसम्म बिजुली आयातको तयारी गरेको छ । यसका लागि आवश्यक पुर्वांधार तयार भइसकेको छ ।
सार्वजनिक विदाको दिन पनि बैंक, बीमा र अत्यावश्यक सेवाप्रदायक कम्पनी खुला राख्न माग
काठमाडौं । सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा घोषणा गरेको र उद्योग, व्यापार तथा व्यवसाय गर्ने वातावरण विगारेको भन्दै नेपाल चेम्बर अफ कमर्शले सरकारको आलोचना गरेको छ । ‘संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको छ’ नेपाल चेम्बर अफ कमर्शले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘व्यापार घाटाले मुलुक आक्रान्त वनेको छ भने सरकारी कामका सेवाग्राही पीडित भएका छन् ।’ छठ पर्वको नाममा सरकारले २ दिन सार्वजनिक विदा दिएपछि चेम्बरले सरकारको आलोचना गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो । ‘नेपाल धेरै जातजाति, भाषा, धर्म, संस्कृतिको बसोबास भएको देश हो । हामी नेपालीहरुका धेरै परम्परा, जात्रा पर्वहरु पनि छन् । यहाँंका चाँंडपर्व उल्लासमय रुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो’ चेम्बर अफ कमर्शले जारी गरको विज्ञप्तीमा भनिएको छ–‘तर यसप्रकार विदाहरु दिंदा आर्थिक एवं वित्तीय संस्थाहरुमा सुचारु रुपले सञ्चालन हुनुपर्छ ।’ सरकारले सार्वजनिक विदा गरेको दिन पनि यायायात, सञ्चार, पर्यटन क्षेत्र सुचारु भए जस्तै बैंक, बीमा लगायत सार्वजनिक तथा अत्यावश्यक सेवा सुचारु हुनुपर्ने माग चेम्वरले सरकारलाई पटक पटक राखेको स्मरण गराएको छ ।
प्रत्यक्षतर्फको मतपत्रको आजैबाट छपाई सुरु, राजधानीमा दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण कार्यक्रम’
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाई आजबाट सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको जानकारी दिए । निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु गरेको छ । प्रमुख आयुक्त यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरेका छन् । उनले निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यादवले सम्मानित सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताए । उनले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए । यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए । माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना गर्नुपर्ने बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको क्रममा छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिँदै निर्वाचन आयुक्त शाहले भने– ‘‘निर्वाचनका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’ उनले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारीसमेत दिनुभयो । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुराहरु तल्लो तहसम्म पुर्याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
सुजुकी मोटरसाइकलको नयाँ शोरुम पोखरामा
काठमाडौं । नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वर्ल्डले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले गरेका हुन् । कार्यक्रममा पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुटरको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा छिटो छरितो हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराए । हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको कम्पनीले जनाएको छ । उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिए । साथै, सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ । कार्यक्रममा हिमालय अटो वर्ल्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने बताएका छन् ।
आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा २९ करोड बढी राजस्व
काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्म लक्ष्य भन्दा २९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ । विभागले ३ महिनाको अवधिमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिसम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड रुपैयाँ थियो । गत वर्षको असोजसम्मको असुलीको तुलनामा याे असाेजमा २४ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार आयकर तर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड र अन्तःशुल्क तर्फ १२ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो । त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख र २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको विभागले जनाएकाे छ । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई चालु अावका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ लक्ष्य तोकिएको छ । विभागलाई लक्ष्यभन्दा अझै २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक किशोरजंग कार्कीले निर्देशन दिएका छन् । कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन उक्त निर्देशन दिएका हुन् ।
सिप्रदी ट्रेडिङद्धारा एश्वर्य चलचित्रको र्याली आयोजना
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो । कम्पनीका अनुसार टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडिहरुद्धारा बुधबार काठमाडौं नगरका विभिन्न क्षत्रेहरुमा नगर परिक्रमा गरिएको थियोे । कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार एश्वर्य चलचित्रको र्याली आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ । र्यालीमा एश्वर्य चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।
व्यवसायीलाई चुनाव दशा कि दशैं, कति दिन्छन् चन्दा ?
काठमाडौं । ‘हाम्रो जस्तो मुलुकको चुनावमा दल र उम्मेदवारले चन्दा माग्नु स्वभिावक हो, मन परेका उम्मेदवार र दललाई चन्दा दिने हो तर कति दिन्छौं भन्ने चाँही खुलाउने कुरा होइन’, यो भनाई हो नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा पनि वर्तमान विश्व परिवेशमा चन्दा अनिवार्य सर्त जस्तै भएको र नेपाली उद्यमी व्यवसायीले पनि त्यसलाई सहज रुपमा लिएको बताउँछन् । ‘राजनीतिक दल पनि समाजकै अंग हुन, चुनाव लड्न पैसा चाहिन्छ र हामी उद्यमी व्यवसायीले पनि चन्दा दिन्छौँ तर जबरजस्ती गर्न भने पाइँदैन’, गोल्छाले भने । परिसंघ अध्यक्ष शर्मा, महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छा र चेम्बर महासचिव अग्रवाल नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले भने उद्यमी व्यवसायी नै राजनीति र चुनाव मैत्री बन्दै गएको पनि बताए । ‘निर्वाचन, चन्दा र व्यवसायी एक अर्काका परिपूरक नै हुन, अहिले त व्यवसायी पनि राजनीति र चुनावमैत्री भैसकेका छन, कतिपय व्यवसायी नै उम्मेदवार बनिरहेका छन्’, चेम्बर महासचिव अग्रवालले भने । उनले पनि चन्दा कति दिने भन्ने कुरा सार्वजनिक गर्न नमिल्ने दावी गरे । ‘सिस्टमले चन्दा कति दिने भन्नेबारे बोलेको छ, त्यो हुबहु कार्यान्वयन हुने अवस्था छैन, त्यसैले चन्दा कसलाई कति दिईयो भनेर सार्वजनिक गर्नै मिल्दैन’, अग्रवालले भने । तर हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारहरुले जबरजस्ती चन्दा माग्ने गरेको गुनासो महासंघ बरिष्ठ उपाध्यक्ष गोल्छाको छ । यसपालीको चुनावमा पनि जबरजस्ती चन्दा मागिएको गुनासो देशभरका व्यवसायीले गरिरहेको उनले बताए । गोल्छाले चेकमा चन्दा दिन पाउनुपर्ने र त्यसलाई खर्चमा गणना गर्न पाउनुपर्ने माग समेत गरे । तर दलहरुले चन्दा नगदमै माग्ने गरेको तथा त्यसलाई खर्चका रुपमा उल्लेख गराउने व्यवस्था नभएकोमा उनले गुनासो पनि पोखे । दल र चिनजानका उम्मेदवारहरुलाई कतिसम्म चन्दा दिने गर्नु भएको छ ? भन्ने प्रश्नमा गोल्छा भन्छन,‘यो नितान्त व्यक्तिगत कुरा हो, चन्दा कसलाई कति दिने भन्ने कुरा खुलाउन मिल्दैन ।’ चुनाव दशैं कि दशा ? चुनावमा सरकारी कोष र दल तथा उम्मेदवारले समेत मोटो रकम खर्च गर्ने भएकाले अर्थतन्त्रका लागि भने यसलाई सुखद मानिन्छ । निर्वाचन भएका वर्षहरुमा आर्थिक वृद्धिदर समेत राम्रो हुने गरेको छ । एकातिर व्यापार बढ्ने र अर्का तिर चन्दा दिनुपर्ने भएकाले व्यवसायीले चुनावलाई दशैं र दशाका रुपमा पनि लिने गरेका छन् । ‘एकथरी व्यवसायीको व्यापार बढ्छ, उनीहरुका लागि यो दशैं हो, अर्काथरी चन्दाको दवावमा हुन्छन, उनीहरुका लागि चुनाव दशा हो, तर चुनावपछि स्थायीत्व आउने आसमा हामीले दशैंका रुपमा लिने गरेका छौं’, परिसंघका अध्यक्ष शर्मा भन्छन् । चुनावले उपभोग बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने भएपनि औद्योगीक उत्पादन बढाउन भने यसको खासै ठूलो योगदान नहुने उनको तर्क छ । गोल्छा पनि स्थिर राजनीति र लगानी मैत्री वातावरणका लागि चुनावलाई दशापछिको दशैं पर्वको आसमा लिने गरेको बताउँछन् ‘चन्दाको त्रास भएपनि चुनावपछि लगानी मैत्री वातावरणका लागि हामीले दशैंको प्रतिक्षा गरे जस्तै हो’, गोल्छाले सुनाए । संसारका अधिकांश मुलुकमा चन्दाबाटै राजनीतिक दलहरुले चुनाव खर्चको जोहो गर्दै आएका छन् । नेपालमा पनि राजनीतिक दलहरुका लागि चन्दा नै चुनावी अर्थतन्त्रको मुल अस्त्र बन्दै आएको छ ।