नेप्से दोहोरो अंकले उकालो, बीमा समूहले उचाल्यो बजार
काठमाडौं । दुई सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ । सो दिन नेप्से परिसूचक १६.४१ अंकले उकालो लागेर १४७७.१४ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीका ११ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी बैंक अफ काठमाण्डूको २ करोड ८९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । आइतबारको सेयर बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूह ११८ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहक स्थिर रहेको छ भने ट्रेडिङ समूह सामान्य अंकले ओरालो लागेको छ । अन्य बाँकी समूहहरु भने सामान्य अंकले उकालोे लागेका छन् । त्यस्तै, सबैभन्दा बढी सहयोगी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । उता विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।
एमाले महासचिव पोखरेलले भनेः केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको छैन
काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकारको नेतृत्वबारे पार्टीले औपचारिक निर्णय नगरेको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्ने तर पार्टीले अहिले नै निर्णय भने नगरेको स्पष्ट पारेका हुन् । ‘पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ’, पोखरेलले भने । उनले योग्य र सक्षम व्यक्तिलाई पार्टीले प्रधानमन्त्री बनाउने पनि बताए । पोखरेलले मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दावी पनि गरे । उनले चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताए । बामपन्थी गठबन्धनले स्वतन्त्रता हनन गर्छन भन्ने काँग्रेस नेताहरुको मानसिकता बिग्रेका आरोप पनि लगाए ।
फुडमाण्डू ८औं वर्षमा प्रवेश, बेवसाइटको नयाँ संस्करण शुरु
काठमाडौं । फुडमाण्डू प्राली आफ्नो सातौँ वर्ष पूरा गरि ८औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ । कम्पनीले आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्ध रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना बनाएको छ । फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवात गरेको कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ । सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्ध डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चीरपरिचित कम्पनीकोे रुपमा स्थापित गर्न सफल भैसकेको जनाएको छ । सातौं वाषिर्कोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एपवा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै डिसेम्बर १५ देखि नेपालमा नै पहिले पटक अनलाईन फूड फेस्टिबलको आयोजना गर्न गइरहेको जानकारी कम्पनीले गराएको छ । १७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको जनाएको छ ।
क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने रामविर मानन्धरको चुनावी एजेण्डा
काठमाडौँ । मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ का बामपन्गथी उम्मेदवार रामबिर मानन्धरले हिरो योजना अघि सारेका छन् । उनले हिरो योजना अन्तर्गत नागरिकलाई हिरो बनाउने योजना अघि सारेका हुन् । उनले HERO योजना अन्तर्गत H बाट हेल्थ अर्थात स्वस्थ , E बाट एजुकेशन अर्थात शिक्षित, R बाट रिच अर्थात धनी बनाउने र O बाट अर्गनाइजर अर्थात संगठक बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले गत संबिधान सभा र रुपान्तरिक व्यवस्थापिका संसदमा आफुले खलेको भूमिका तथा क्षेत्रको विकासमा पुर्याएको योगदानका कारण आफ्नो जित सुनिश्चित भएको दावी पनि गरेका छन् । बाम गठबन्धनका उम्मेदवार मानन्धरसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम थापा प्रतिष्पर्धामा छन् । दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई पराजित गरेर राष्ट्रिय राजनितिमा चर्चामा आएका मानन्धरलाई नै वाम गठबन्धनले प्रतिनिधि सभाका लागि उमेद्वार वनाएको हो । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो । यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ भने रामविरको व्यक्तिगत लोकप्रियताका आधारमा मतान्तर अझै बढ्ने अनुमान गर्ने दावी गरिएको छ ।
कैलाश विकास बैंकको लाभांश ११ लाख रुपैयाँले घट्यो
काठमाडौं । कैलाश विकास बैंकको लाभांश ११ लाख ३२ हजार ८२९ रुपैयाँले घटेको छ । बैंकले पूर्व धोषित लभांशमा ११ लाख ३२ हजार ८२९ रुपैयाँ घटाएर कुल २१ करोड ६५ लाख ५८ हजार ३७५ रुपैयाँ नगद लभांश दिने भएको छ । यसअघि बैंकले आफ्ना सेयरधनीलाई २१ करोड ७६ लाख ९१ हजार २०४ रुपैयाँ नगद लभांश दिने घोषणा गरेको थियो । बैंकले नेपाल राष्ट्र बैंकको पत्र अनुसार पूर्व धोषित नगद लभांशमा परिवर्तन गरेको हो । साथै, बैंकले चुक्ता पुँजीको २२ करोड ९१ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको (अर्थात १० प्रतिशत) बोनस सेयर वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा मंसिर १५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर १ गतेदेखि १५ गतेसम्म(१५ दिन) बुक क्लोज हुने भएको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी २ अर्ब ५२ करोड रुपैयाँ नाघ्ने छ ।
नयाँ संसद र सरकार आएपछि मात्र वित्त आयोग गठन हुने
काठमाडौं । व्यवस्थापिका संसदले प्राकृतिक स्रोत तथा वित्तीय आयोग विधेयक पारित गरेपनि अर्को संसद नबनेसम्म आयोग गठन नहुने भएको छ । संवैधानिक आयोग भएकाले संसदीय सुनुवाईपछि मात्र अध्यक्ष नियुत्त हुने भएपछि आयोग गठनको काम रोकिएको छ । यस्तै प्रदेश र प्रतिनिधिसभाका निर्वाचन भएको र त्यसपछि नयाँ सरकार बन्ने भएकाले पनि आयोग गठन नहुने भएको हो । विधेयक पारित भएपछि आयोगको अध्यक्ष नियुत्तीको प्रक्रिया सुरु भएकोमा पछि त्यतिकै रोकिएको अर्थ मन्त्रालयका कानून सहसचिव उदयराज सापकोटाले बताए “संसद भएका बेला अध्यक्ष नियुत्त गरेको भए आयोग गठन भइ काम अघि बढी सक्थ्यो” उनले भने “निर्वाचन पछि आउने नयाँ संसदले सुनुवाइ गरेपछि मात्र अध्यक्ष नियुत्त हुने छ ।” चालु आर्थिक वर्षको बजेट अगावै आयोग गठन हुनपर्नेमा ऐन पारितमा भएको ढिलाइले आयोग गठन पछि सरेको छ । आयोग गठन नहुने भएपछि सरकारले स्थानिय तहलाई सिधै २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरी निकासा दिएको छ । यस्तै आयोग सञ्चालनका लागि आवश्यक नियमावली पनि बनाउन बाँकी छ । स्थानिय तहको स्रोत बाँडफाँडको जिम्मेवारी आयोगको हुन्छ । आयोगले शुत्र तयार पारी सोही अनुसार रोयल्टी र करलगायत अन्य शुल्क स्थानिय तहलाई वितरण गर्ने छ । हाल ७५३ वटा स्थानिय तह छन् ।
सिनर्जी पावर डेभलपमेन्टको मंसिर १ गतेदेखि १६ दिन बुक क्लोज
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मंसिर १ गतेदेखि १६ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनमा जानको लागि सो दिन देखि मंसिर १६ गतेसम्म(१६ दिन) कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।
लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसको जित अपरिहार्य छः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् । नेपाल तेक्वान्दो संघका खेलाडीलाई काँग्रेसमा प्रवेश गराउन यहाँ आज आयोजित कार्यक्रममा उनले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा काँग्रेसले मात्र गर्न सक्छ भने। कम्युनिष्ट शासन आए लोकतन्त्र समाप्त हुनेछ भन्दै उनले यस जटिल घडीमा काँग्रेसलाई साथ दिन जनतालाई आग्रह गरेका छन् । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेस सदैव कटिबद्ध रहँदै आएको बताउँदै आगामी निर्वाचनमा जनताले प्रजातान्त्रिक शक्तिलाई साथ दिनुपर्ने धारणा व्यक्त गरे। विश्वमा असफल भइसकेको साम्यवाद केही कम्युनिष्ट दलले नेपालमा लागू गर्ने प्रयास गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसलाई कदापि सफल हुन नइिदने दृढता व्यक्त गरेका छन् । कार्यक्रममा काँग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले लोकतन्त्र र काँग्रेसलाई बलियो बनाउन सम्पूर्ण प्रजातान्त्रिक शक्ति एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङ, संघका महासचिव कमलराज गुरुङलगायत मुलुकभरका ३६१ खेलाडी काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई काँग्रेस सभापति देउवाले अबिरमाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।