प्राइम लाइफको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त, १६०% हकप्रद जारी गर्दै
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धुब्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको छ । १६० प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पुँजी एक अर्ब ५८ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३५ रुपैयाँ रहेको छ ।
गभर्नर नेपाल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालय स्थापना भएको अवसरमा आयोजित सम्मेलनमा सहभागी भएका छन्। मुद्रा कोष र जापानको अर्थमन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि’ विषयक अन्तर्राष्ट्रिय सम्मेलमा गभर्नर डा नेपालले नेपालको प्रतिनिधित्व गरेका हुन् । सम्मेलनको पहिलो सत्रमा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्ड र जापानका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी जापानका उपअर्थमन्त्री मसासुगु ओसाकावाले सम्बोधन गरेका िथए । दोस्रो सत्रमा गभर्नर डा नेपालले नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, नेपाली अर्थतन्त्रको अवसर तथा चुनौती, समावेशी र दिगो आर्थिक विकास तथा पूर्वाधार विकासका लागि नेपालले अपनाएका उपायका बारेमा उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र जापानले नेपालको विकासमा पुयाएकाे योगदानको प्रशंसा गरेका िथए । सोही अवसरमा गभर्नर डा नेपाल र आइएमएफका प्रबन्ध निर्देशक लगार्डबीच भेटवार्ता भयो । सो अवसरमा नेपाल र मुद्रा कोषको सम्बन्धबारे वार्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अति दुर्गम १० स्थानमा टेलिकमकाे एनटीस्याट सेवा सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न नेपाल सरकारबाट समेत निर्देशन भएकाले कम्पनीले ती स्थानहरुमा केही हप्ता अघि देखि सेवा सञ्चालनमा ल्याउन शुरु गरेको थियो । ती मध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गते देखि सेवा सञ्चालनमा ल्याए पश्चात् १० वटै स्थानमा सेवा उपलब्ध भएको छ । यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् । उल्लिखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो । टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउने छन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने कम्पनीले जनाएको छ ।
बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन, ३ दिनमा नआए प्रहरीलाई जिम्मा दिने
काठमाडौं । सेवा शुल्कका नाममा बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन भएका छन् । आपूर्ति विभागले कार्यालयमा उपस्थित हुन तीन दिनको समय दिए पनि सञ्चालक अनुपस्थित भएका हुन् । स्पष्टिकरणका लागि विभागमा उपस्थित हुन गत शुक्रबारसम्मको म्याद िदएकाे विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘स्पष्टिकरण सहित विभागमा उपस्थित हुन पत्र काटेका थियौं,’ उनले भने, ‘तर कोही पनि उपस्थित भएका छैनन् ।’ उनका अनुसार विभागले अस्पताललाई थप ३ दिनको म्याद थपेको छ । सञ्चालक वा प्रतिनिधी नै उपस्थित नहुँदा कारबाही प्रकृया प्रभावित भएको छ । आगामी तीन दिनभित्र उपस्थित नभए सो मुद्दा प्रहरीलाई जिम्मा लगाउने तयारीमा रहेको दाहालले जानकारी दिए । गत साता मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको थियो । विभागका महानिर्देशक दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । त्यस्तै स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको भन्दा बढी बेड सञ्चालनमा ल्याएको थियो ।अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको थियो । यो पनि पढ्नुहोस् – नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण
समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश
काठमाडौं। ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आईतबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन् । ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ कोइरालाले पार्टी प्रवेश पछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’ कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउदै लोकतन्त्रलाई थप मजबूत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गरेकी छन् । ‘म सबैमा लोकतन्त्रलाई स्वीकार गरि सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपील गर्दछु’ कोइरालाले बताइन् । सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएको कोइराला अहिले कांग्रेसको पक्षमा मतदान गरेर महिला, दलित, जनजाति, मधेसी लगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन् । ‘अव जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’ उनले भनिन्, ‘त्यसैले संविधान कार्यन्वयनको चुनौतीपूर्ण अहिलेको अवस्थामा कांग्रेसको पक्षमा मतदान गरेर ६ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’
कांग्रेसले शेर्पा समुदायको सम्मान गरेको छ : प्रधानमन्त्री देउवा
सोलुखुम्बु । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजाति र तिनको धर्म तथा संस्कृतिको सम्मान लोकतान्त्रिक व्यवस्थामा मात्र हुने र कम्युनिष्ट शासनमा व्यक्तिगत र धार्मिक स्वतन्त्रता नहुने बताएका छन् । आइतबार बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रसंग उल्लेख गर्दै काँग्रेस सधैँ शेर्पा समुदायको साथमा छ भने । उनले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताए । उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए । सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पुर्याउन माग गरेका छन् । उम्मेदवार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गरे । चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताए। कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए ।
यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताः नेपालद्धारा भारत १९ रनले पराजित
काठमाडौं । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८।१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो । क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई विकेट लिए । भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई/दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ । रासस
लूम्बिनी विकास बैंकको ५७औं शाखा मोरङमा
काठमाडौं । लूम्बिनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सून्दर हरैचा नगरपालिकामा ५७औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन आइतबार एक समारोहका बीच सून्दर हरैचा नगरपालिकाका प्रमूख शिवप्रसाद ढकालले गरेका हुन् । सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकबाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै जाने बताए । बैंकका सञ्चालक चिन्तामणी भट्टराईले बैंकले ग्रामिण जनतासँगको सामिप्यतामा अभिबृद्धि गर्दै जाने बताए । हाल बैंकले ५७ वटा शाखा तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै एटीएम, एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, आश्बा लगाएत बैंकिङ्ग सेवाहरु दिँदै आएको छ । बैंकले गत आश्विन मसान्तसम्ममा करिब १८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन तथा १५ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सो अवधिमा २ करोड ५३ लाख रुपैयाँ सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ बैंकले जनाएको छ ।