विकासन्युज

कृषि, उद्योग, पर्यटन र निर्माणले गति लिदा मुलुकको आर्थिक अवस्था सकरात्मक : राष्ट्र बैंक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा मुलुकको समष्टिगत आर्थिक परिदृष्य सकरात्मक देखिएको छ । कृषि उत्पादन, ऊर्जा आपूर्तिमा सुधार, पर्यटन क्षेत्रमा वृद्धि र विकास निर्माणले गति लिएको भन्दै नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्था सकरात्मक भएको ठहर गरेको छ । चारवटा मुल आधारले गर्दा मुलुकको आर्थिक अवस्था सन्तोषजनक भएको राष्ट्र बैंकले जनाएका छ । साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अनुमान गरिएको छ । यस्तै उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने, होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार र सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको राष्ट्र बैंकको ठहर छ । तरकारी तथा फलफूल जस्ता तुरुन्त नाशवान वस्तुको मूल्यमा उतार चढाव हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको छ । नेपालको मुद्रास्फीति तल माथि भइरहने भएता पनि अन्र्तराष्ट्रिय मुद्रास्फीतिकै प्रवृत्तितर्फ उन्मुख रहेको छ । प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवावमा पर्ने देखिन्छ । समीक्षा अवधिमा वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको छ भने राजस्वको वृद्धिदर सामान्य रहेको छ । कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको छ । सरकारले आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको छ । घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने संभावना बढेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ । विशेषगरी, पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको हो ।

रिलायन्स लाईफ इन्स्योरेन्सद्धारा कारोबार शुरु, ३ वटा जीवन बीमा योजना सञ्चालनमा

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ । कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको एक कम्पनीले “खुलेर जिऔं” भन्ने नाराका साथ नयाँबानेश्वर प्रधान कार्यालयबाट कारोबार शुरु गरेको हो । यस इन्स्योरेन्स सुरुवात देखिनै उच्च स्तरिय सेवा दिने उद्देश्यले नेपाली बीमा बजारमा उपस्थित भएको कुरा कम्पनीले जनाएको छ । अहिले नेपालीहरुको आयस्तर बढेको र नेपालको कुलग्राहस्थ उत्पादन पनि उच्च रहेकोले नयाँ बीमा कम्पनीहरुको आगमनले व्यवसाय विस्तार गर्न थप मद्दत हुने कम्पनीका अध्यक्षश्री ताराचन्द केडियाले बताएका छन् । कम्पनीले सुरुवात बाटै ३ वटा जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा थप ४ बीमा योजना सञ्चालनमा ल्याउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको सञ्चालकमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् । यसैगरी, कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । नायव सिईओ कँडेल यसअघि स्ट्याण्डर्ड चार्टर्डलगायतका बैङ्कमा १२ वर्षसम्म कार्यरत थिए । यस्तै, कम्पनीको महाप्रवन्धकमा यस.के.तमोट रहेका छन् । उनको बीमाक्षेत्रमा विगत ५० वर्ष देखि अनुभव रहेको र रिलायन्स लाईफ भन्दा पहिले सिद्धार्थ इन्स्योरेन्स लि.मा महाप्रबन्धकका रुपमा सफलताका साथकार्य सञ्चालनको अनुभव समेत रहेको छ । कम्पनीमा १ सय १३ जना प्रवर्धक रहेका छन् । हाल संस्थापकबाट १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ । सर्बसाधारण शेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले जीवन बीमाको व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप-शाखा कार्यालयहरु विस्तारलाई प्राथमिकता दिने बताएको छ ।

टेलिकमबाट खोसियो धरहरा बनाउने जिम्मेवारी, जनताले दिए ९ करोड

काठमाडौं । नेपाल टेलिकमबाट धरहरा पुननिर्माणको जिम्मेवारी खोसिएको छ । मन्त्रिपरिषदले टेलिकमसँग धरहरा बनाउने जिम्मेवारी खोसेर राष्ट्रिय पुननिर्माण प्राधिकरण दिएको हो । ‘शुक्रबार मन्त्रिपरिषद कार्यालयबाट धरहरा पुननिर्माणको जिम्मेवारी पुननिर्माण प्राधिकरणलाई दिएको सम्बन्धी पत्र आएको छ, अब प्राधिकरण आफैंले धरहरा बनाउँछ’, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । मन्त्रिपरिषदले पुननिर्माण प्राधिकरण वा उसले तोकेको निकायले धरहरा बनाउन सक्ने व्यहोराको निर्णय गरेको हो । अब प्राधिकरणले धरहरा निर्माणको मोडालिटी तयार पारेर त्यसको ड्रइङ तथा डिजाइनको पुनरावलोकनपछि निर्माण प्रक्रिया अघि बढाउनेछ । ‘निर्माणको मोडालिटी तयार पार्छाै, त्यसपछि पुरातत्व विभागसँगको समन्वयमा डिजाइनलाई आवश्यकता अनुसार पुनरावलोकन गर्छाै र निर्माण प्रक्रिया थाल्छौं’, प्राधिकरणका प्रवक्ता भुषालले भने । पुरातत्व विभागले ३ अर्ब ६७ करोड १९ लाख १२ हजार ५ सय ६८ रुपैंयाँ १६ पैसा निर्माण लागत आवश्यक पर्ने प्रक्षेपणसहित ११ तले धरहराको डिजाइन तयार पारेको थियो । तर विभागले तयार पारेको डिजाइनमा धरहरा पुननिर्माण गर्न नसकिने भन्दै टेलिकमले १० रोपानी क्षेत्रफलमा ४ तले व्यवसायीक भवन निर्माण गर्न पाउनुपर्ने अडान राखेको थियो । पुरातात्विक महत्वको क्षेत्रमा व्यवसायीक भवन निर्माण गर्न नदिने पुरातत्व विभागको अडानपछि टेलिकमले असोज छ गते पत्र लेखेर धरहरा पुननिर्माण गर्न नसक्ने जानकारी गराएको थियो । ‘मै बनाउँछु धरहरा’मा ९ करोड ‘मै बनाउँछु धरहरा’ नामको अभियानमा हालसम्म् ९ करोड जम्मा भएको छ । तत्कालिन केपी ओली सरकारले सरकारले २०१६ को फेब्रुअरी १७ तारिखका दिन मैँ बनाउँछु धरहरा अभियानको आरम्भ गरेको थियो । प्राधिकरणले सो अभियानलाई पुनः सक्रिय बनाएर श्रोत व्यवस्थापनको प्रयास गर्ने र थप लगानी पनि खोज्ने तयारी गरेको पनि प्रवक्ता भुषालले जानकारी दिए । नयाँ धरहरा पुरानो धहराको ६ रोपनी, टक्सार विभागको १२ रोपनी, गोश्वारा हुलाकको १२ रोपनी र सुन्धाराको १० रोपनी गरि कुल ४० रोपनी क्षेत्रफलमा नयाँ धरहरा निर्माण गर्ने तयारी थियो । २४५ फिट अग्लो धरहरा भिमसेन थापाले निर्माण गर्दा कै अर्थात ११ तल्ले नै हुनेछ । म्युजियम, पार्किङ वाटर फाउण्टेन सुबिधा सम्पन्न क्याफे र लाइब्रेरी समेत धरहरामा हुनेछन् ।

बुम रेमिट्यान्सको एजेन्टमा युनाईटेड फाईनान्स नियूक्त

काठमाडौं । बुम रेमिट्यान्स प्रालिले आफ्नो एजेन्टमा युनाईटेड फाईनान्स लिमिटेडलाई नियूक्त गरेको छ । उक्त नियूक्ति सम्बन्धि सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र युनाईटेड फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम युनाईटेड फाईनान्सले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्न पाउने भएका छन् । साथै, युनाईटेड फाईनान्सले बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । हाल बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब- ऐजेन्टहरु छन् । युनाईटेड फाईनान्सको नेपाल भरी १५ वटा शाखाहरु रहेका छन् ।

मर्चेण्ट बैंकरले आफ्नै लगानीकर्ताको सेयर निष्काशन गर्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरलाई आफ्ना लगानीकर्ता कम्पनीको सेयर निष्काशन गर्न रोक लगाएको छ । अब धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले आफू आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न पाउने छैनन् । आफ्नै लगानीकर्ता कम्पनीको सेयर निष्काशन गर्दा स्वार्थ बाझिन सक्ने भन्दै रोक लगाएको हो । ‘निष्काशन तथा बिक्री प्रवन्धकले आफू आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्ने ।’, बोर्डले आफ्नो निर्देशनमा भनेको छ । त्यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य पनि गर्न पाउने छैनन् । बोर्डले नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने दावी पनि गरेको छ ।

राजनीतिक नेतृत्वले श्रमिकको मात्र होइन, लगानीकर्ताको हित पनि हेर्नुपर्छ-सिर्जना राणा

पछिल्ला वर्षमा विदेशी पर्यटकलाई लक्षित गरि ठूलो लगानीमा धेरै होटलहरु खुल्दैछन् । ती होटलका पूर्वाधार निर्माणको काम भईराखेको छ । यसैबीच १२० कोठा भएको अन्नपूर्ण होटलले पनि क्षमता विस्तार गरी २०० कोठाको बनाउने तयारी गरिरहेको छ । पाँचतारे होटल अन्नपूर्ण नेपालको पर्यटन क्षेत्रको एक महत्वपूर्ण पूर्वाधार हो । ५० वर्ष पुरानो यो होटलले आफ्नो भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने र सेवा स्तरोन्नतिको तयारी भईरहेको नजाएको छ । यसै सन्दर्भमा डेल अन्नपूर्ण होटलका कार्यकारी निर्देशक तथा होटल संघ नेपालको उपाध्यक्ष सिर्जना राणासँग विकासन्युजले समग्रमा होटलहरुबीचको प्रतिस्पर्धा, यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल र अन्नपूर्ण होटलको भावी योजना गरेको कुराकानी गरेको छ । सिर्जना राणा – कार्यकारी निर्देशक,डेल अन्नपूर्ण होटल विदेशी पर्यटकलाई लक्षित होटल निर्माणमा पछिल्ला वर्षमा लगानी ह्वात्तै बढेको छ । यसको परिणाम कस्तो हुनेछ ? पछिल्लो समयमा होटलहरु धेरै खुलेका छन्, अझै पनि नयाँ होटलहरु खुल्ने क्रममा रहेको समाचारहरु आईरहेका छन् । बाहिरबाट हेर्दा होटल केही ग्ल्यामरस विजनेश जस्तो देखिन्छ । बाहिरबाट देख्दा होटल व्यवसाय जति आकर्षक छ, भित्र त्यत्तिकै चुनौतिहरु पनि छन् । नेपाल धेरै सुन्दर देश हो । नेपाल भ्रमण गर्दा पर्यटकहरु खुशी हुन्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो देशमा पर्यटन सेवाको भविष्य राम्रो छ भनेर सबैले भन्छन् । यो सबैलाई थाहा भएकै विषय हो कि पर्यटन क्षेत्रको, होटल क्षेत्रको सम्भावना राम्रो छ । तर यो क्षेत्रको विकासका लागि सरकार, राजनीतिक दलबाट सहयोग आएन । पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा राज्यको तर्फबाट लगानी भएन । हामीले चितवनमा लगानी विस्तार गर्दैछौं । तर मुग्लिन–नारायणगढको सडक देख्दा, त्यो बाटो विस्तारमा भएको ढिलासुस्ती र लापरवाही देख्दा मलाई निकै दुःख लाग्छ । खराव बाटोका कारण धेरै मान्छेले ज्यान गुमाएको छन् । मानिसलाई जनावरको जस्तो व्यवहार गरिएको छ । यो विषयमा मानवअधिकारबादी संस्थाहरु किन बोल्दैन् ? एयरपोर्टको हालत सबैलाई थाहा छ । भएको एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलको स्तरउन्नति हुन सकेको छैन । निजगढका अन्तराष्ट्रिय विमानस्थतल बनाउने भनेको वर्षौ भयो । तर काम कत्ति पनि भएको छैन । पोखारामा विमानस्थल बनाउने, लुब्बिनीमा विमानस्थल बनाउने दिशामा आशा लाग्दोरुपमा काम भएको छैन । सबैलाई थाहा छ कि नेपालमा पर्यटन उद्योगको भविष्य राम्रो छ । नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउने सकिन्छ । यो पनि सबैलाई थाहा छ कि नेपालमा कम्तिमा तीन वटा अन्तराष्ट्रिय विमानस्थल जरुरी छ । आन्तरिक विमानस्थलको पनि क्षमता वृद्धि गर्नुपर्छ । सडक राम्रो हुनुपर्यो । पानी, विजुलीको आपूर्ति राम्रो हुनुपर्यो । तर खोई त काम भएको ? योजना बनाएर मात्र भएन, कार्यान्वयन गर्नुपर्यो । ठूलो लगानीमा खुल्ने नयाँ होटलले पुराना होटललाई कस्तो असर पर्ला ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । होटल मात्र थपिए, पूर्वाधार बन्न सकेन भने ठूलो संकट आउँने छ । सबै होटलहरुले सानो केक बाँडेर खानुपर्छ । सबैले भएका पर्यटकलाई तानातान गर्ने हो । त्यहि भएर नेपालमा होटलहरुको रुम रेट बढेको छैन । होटलहरु थपिदै जाँदा पूर्वाधार निर्माण पनि भए, पर्यटकको खर्च पनि बढ्यो भने सबैलाई राम्रो हुन्छ । आम्दानी राम्रो भयो भने मैले चिया पिउने कप नयाँ किनेर प्रयोग गर्ने हो, आम्दानी बढेन भने पुरानै कम प्रयोग गर्ने हो । वास्तवमा नेपालका सबै होटल कसरी सर्भाइभ गर्ने भनेर सोचिरहेका छन् । पुरानो कपमा नै काम चलाईरहेका छन् । पुराना होटलहरुसँग धेरै उतारचढावको अनुभव छ । मुलुक द्वन्द्वमा पर्दा हामीले कस्तो समस्या भोग्नु पर्यो, आर्थिक वृद्धि उच्च रहेको समयमा कस्ता पर्यटक आए, हाम्रो आम्दानीको कस्तो असर पर्यो, त्यो अनुभव भइसक्यो । अर्थतन्त्र संकटमा पर्दा कसरी चल्नुपर्छ भन्ने अनुभव पनि हामीलाई छ । होटलमा गरिएको लगानी कति सुरक्षित हुनेछ ? व्यवसायिक प्रतिस्पर्धाबाट आउने जोखिम भन्दा राजनीतिक कारणले उत्पन्न हुने जोखिम बढी छ । हामीसँग धेरै तितो अनुभव छ । कुनै समय श्रमिकलाई उचालेर ठूलो समस्या सिर्जना गराईयो । होटलका लगानीकर्ता धुरुधुरु रुनु पर्यो । लगानीकर्तालाई धम्क्याउने, थर्काउने, अत्याउने र होटल नै हत्याउने खालको गतिविधि भए । यस्तो अवस्था सिर्जना गरिदा कुनै पनि लगानी सुरक्षित हुँदैन । कोही ८ घण्टा काम गर्छन्, कोही १२ घण्टा काम गर्छन्, कोही १६ घण्टा काम गर्छन् । कोही ८ घण्टा काम गर्ने समयमा पनि कसरी काम चोर्ने, ठग्ने भनेर सोच्छन् । सबैले मिहेनत अनुसारको प्रतिफल खोज्ने हो । तर राजनीति गर्नेहरु सबैको आम्दानी समान हुनुपर्छ भन्छन् । काम र राजनीतिलाई मिसाइन्छ । मेरो भनाई के हो भने काम गर्ने थलोमा राजनीति मिसाउनु भएन । काम गर्ने बेलामा काम गर्ने, राजनीति गर्ने समयमा राजनीति गर्ने । यूनियन भनेको कर्मचारीको हितमा काम गर्ने हो, कर्मचारीको सेवा सुविधाको पक्षमा बोल्ने संगठन हो । यूनियन भएको कम्पनीको विरुद्ध काम गर्ने, कम्पनी विरुद्ध गतिविधि सञ्चालन गर्ने समानान्तर संस्था होइन । राजनीति गर्नेले श्रमिक र लगानीकर्तालाई उत्तिकै संरक्षण गर्नुपर्छ । राजनीति गर्नेले श्रमिकको हितमा मात्र काम गर्ने, लगानीकर्ताको हितबारे सोच्दै नसोच्ने हो भने होटलको मात्र होइन, कुनै पनि क्षेत्रको लगानी सुरक्षित हुँदैन । होटलहरुबीच सेवा, गुणस्तर र मूल्यमा हने प्रतिस्पर्धाले ल्याउने जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्छ । तर राजनीतिक जोखिमलाई लगानीकर्ताले वहन गर्न सक्दैन । विश्व बजारसँग नेपाललाई तुलाना गरेर पनि हेरिनुपर्छ । विकसित देशमा होटलको कुल आम्दानीको १३ देखि १४ प्रतिशत कर्मचारीमा खर्च हुन्छ । तर हाम्रो होटलमा आम्दानीको ३२ प्रतिशत खर्च कर्मचारीमा हुन्छ । तैपनि नेपालमा किन ट्रेडयूनियनहरु आन्दोलन गर्छन ? होटल क्षेत्रमा जनशक्ति आपूर्ति र व्यवस्थापन कस्तो छ ? आगामी दिनमा कसरी अगाडि बढ्ला ? ब्रेनड्रेन भई रहेको छ । सक्षम र मिहेनती मान्छे विदेश गईरहेका छन् । नेपालमा पनि जनशक्तिको विकासमा जोड दिनुपर्छ । तालिम दिने संस्थाहरुलाई प्रोत्साहित गर्नुपर्छ । होटलका लगानीकर्ताले कस्तो प्रतिफल पाईरहेका छन् ? विदेशमा पाँच तारे होटलको रेट प्रतिकोठा प्रतिदिन २०० डलरभन्दा माथि छ । तर नेपालमा १०० डलर भन्दा कम छ । खर्च बढिरहेको छ तर आम्दानी बढ्न सकिरहेको छैन । अरब देशहरुमा सानो कोठाको २०० डलर तिर्नुपर्छ । मेरो देशमा ढोकादेखि बेडसम्म सबै किसिमको सेवा दिँदा पनि १०० डलर लिन पाएका छैनौं । नेपालमा होटलका लगानीकर्ता र व्यवस्थापनबीच पनि केही तालमेल मिलेको छैन । मेरो बुझाईमा होटलका लगानीकर्ताले राम्रो प्रतिफल पाउन पनि सकेका छैनन् । अन्नपूर्ण होटलको पूर्वाधार र क्षमता विस्तारको योजना के के छन् ? अन्नपूर्ण होटल ५० वर्ष पुरानो भयो । अब समय अनुसार पूर्वाधार निर्माण गर्नुपर्छ । नयाँ डिजाईन बनेको छ । हाल १२० कोठाको होटल हो । अब यसलाई २०० कोठा बनाउँदै छौं । क्यासिनो सञ्चालनमा भएको विवाद र अवरोधले अन्नपूर्ण होटललाई कस्तो असर परेको छ ? क्यासिनो विजनेश धेरै राम्रो थियो । तर क्यासिनोले सरकारप्रतिको जिम्मेवारी निर्वाह नगरेको, कर नतिरेको, नविकरण नगरेको जस्ता विवाद देखिएपछि हामीले क्यासिनो हटाएका हौ । कमजोरी क्यासिनोको पनि थियो, कमजोरी सरकारको पनि थियो । अहिले सरकारले नयाँ नीति लिएको छ । क्यासिनो हुँदा गेष्ट पनि बढ्छ, फुड्सको डिमाण्ड पनि बढ्छ, होटललाई फाइदा नै हुन्छ । त्यसैले नयाँ क्यासिनो भित्र्याउने विषयमा सोचिरहेको छ । करिब ५ वटा प्रस्ताव आएका छन् । हामी ती प्रस्तावहरु अध्ययन गरिरहेको छौं ।

गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा

काठमाडौं । गण्डकी विकास बैकले आफ्नो नयाँ शाखा पर्सा जिल्लाका विरगञ्जमा सञ्चालन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन विरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना दिएका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बैंकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको बारेमा जानकारी दिएका थिए । उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरिरहेको छ ।

रेमिट्यान्स आप्रवाह २.६ प्रतिशत बढ्यो, शोधानान्तर वचतमा फर्कियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २.६ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएका छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ४.६ प्रतिशतले वृद्धि भई रु. २०३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा समग्र शोधनान्तर १९ अर्ब ७० करोडले बचतमा थियो ।