विकासन्युज

जापानी राजदूतद्धारा चेम्वर एक्स्पोको अवलोकन

काठमाडौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नेपाल चेम्वर एक्स्पो २०७४ को नेपालका लागि जापानी राजदूत मासासी ओगावाले एक्स्पोको भ्रमण गरेका छन् । राजदूतको टोलीलाई नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले अवलोकन भ्रमण गराएका थिए । राजदूत मासासीले मेलामा रहेको विभिन्न स्टलहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहेका छन् । एक्स्पो सोमबारसम्म चल्नेछ ।  

सिक्लेस आयोजनाबाट परीक्षण उत्पादन शुरु

पोखरा । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्ष अघिदेखि शुरु गरेको सो आयोजनाको निर्माण सम्पन्नपछि १३ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गरेको हो । उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो । कुल दुई अर्ब पाँच करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो । सिक्लेस गाउँ नजिकैको मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव-स्टेशनमा जोडिएको छ । ‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट रु सात र वर्षायामको समयमा प्रतियुनिट रु चारका दरले विद्युत् खरिद बिक्री गर्ने सम्झौता भएको निर्देशक केसीले बताए । रासस

फागुन अघि काठमाडौं धुलो मुक्त नहुने, मेलम्चीले तत्काल सडक पिच नगर्ने

काठमाडौं । धुलोमुक्त हुने राजधानी बासीको सपना फागुन महिना अघि पुरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने काम ९० प्रतिशत सम्पन्न गरेको भएपनि खनिएका सडकमा कालोपत्रे गर्ने काम भने भर्खरै १३ किलोमिटर मात्रै सम्पन्न गरेको छ । न्युनतम ४ मिटर देखि ७ मिटर चौडाई भएको ११० किलोमिटर सडक खनेर मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले पाइप बिछ्याएको थियो । तर सो मध्ये १३ किलोमिटर मात्रै कालोपत्रे भएको छ । बाँकी ९७ किलोमिटर सडकमा भने फागुनपछि मात्रै कालोपत्रे हुनेछ । ‘हामीले ठेक्का त गत साल नै लगाएका थियौं तर जाडो महिनामा पिच गर्न नमिल्ने भएपछि फागुनपछि मात्रै काम अघि बढ्छ’, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिाला प्रसाद ढकालले भने । आयोजनाले ११० किलोमिटर सडक पिच गर्न ८८ करोडको ठेक्का लगाएको थियो । पाइप बिछ्याउने तथा प्रेसर जाँच्ने काम ढिला भएकाले पिच गर्न पनि ढिलाई भएको उनले बताए । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईले वितरण प्रणालीको ६७० किलोमिटर र थोक वितरण सञ्जालका लागि ७६ किलोमिटर पाइप बिछ्याउने योजना रहेको छ । सोमध्ये थोक वितरण प्रणालीको ६५ किलोमिटर र खुद्रा वितरण प्रणालीको ६२५ किलोमिटर पाइप बिछ्याईसकेको छ । बाँकी रहेको पाइप बिछ्याउने काम आगामी २ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । मेलम्चीले भत्काएको ७ मिटर बढि चौडाई भएका सडक भने सडक विभागले खानेपानी मन्त्रालयबाट बजेट लिएर कालोपत्रे गर्नेछ । ६७० मिटर सडकमध्ये ५६० किलोमिटरमा भने पाइप बिछ्याउँदा नै पिच गर्ने वा पुर्ने व्यवस्था गरिएको थियो । ‘साना पाइप बिछ्याउने ठाउँमा त्यतिबेलै सडक पुर्ने वा कालोपत्रे गर्ने व्यवस्था थियो । सोही अनुसार पाइपलाई पुर्णरुपमा पुरेर फिनिसिङ गरिसकिएको छ’, ढकालले भने ।

प्याजको भाउ नियन्त्रणमा भारतले ‘हार’ स्विकार्यो, उपभोक्ता मन्त्री भन्छन्, ‘अब हाम्रो हातमा छैन’

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा अंकुश लगाउँदा पनि भारतमा प्याजको आपूर्ति सहज बन्न सकेको छैन । एक साताअघि भारतको उपभोक्ता मामिला मन्त्रालयले घरेलु बजारमा प्याजको आपूर्ति सहज गर्ने भन्दै बाहिर निर्यात हुने प्याजको न्यूनतम मूल्य तोक्ने निर्णय गर्‍यो । निर्यातमा अंकुश लगाउँदा नेपाल लगायतका छिमेकी मुलुकमा प्याजको मूल्य आकाशिरहेको बेलामा विहिबार भारतको संयुक्त उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले आफ्नो विफलता स्विकारेका छन् । नेपाली बजारमा पछिल्लो एक महिनामा प्याजको मूल्य प्रति किलो ५४ प्रतिशतले बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाअघि प्रति किलो ६४ रुपैयाँ पुगेको प्याजको भाउ अहिले ९९ रुपैयाँ पुगेको छ । मंसिर ७ गते भारतका उपभोक्ता मामिला मन्त्री रामविलास पासवानले ट्विट गर्दै घरेलू बजारमा प्याजको आपूर्ति बढाउन र निर्यातलाई निरुत्साहित गर्न प्याजको न्यूनतम मूल्य प्रति टन ८५० अमेरिकी डलर तय गरेको जानकारी दिएका थिए । निर्यातमा अंकुश लगाउँदापनि भारतका दिल्ली, महाराष्ट्र जस्ता प्रमुख सहरमै प्याजको आपूर्ति सहज नबनेपछि सरकारले हार मानेको छ । टाइम्स अफ इण्डियासँग बोल्दै पासवानले भने, ‘माग र आपूर्तिबीच ठुलो अन्तर छ । मैले तपाईंहरुलाई तथ्यगत कुरा भनेको छु । प्याजको मूल्य अब हाम्रो हातमा रहेन ।’ एशियाकै सबैभन्दा ठुलो प्याज मण्डी लसलगाँउमा बुधबार प्याजको भाउमा १८ प्रतिशतले गिरावट आएको थियो । यद्यपी भारतका अन्य स्थानमा प्याजको आपूर्ति सहज बन्न सकेको छैन । पासवानले केन्द्र र प्रान्त बसेर यो समस्याको समाधान खोज्नुपर्ने स्पष्ट पारेका छन् । गत आर्थिक वर्षको तुलनामा प्याजको उत्पादन क्षमतामा ह्रास आएको पासवानले जानकारी दिए । उनका अनुसार गत आवमा २.६५ हेक्टर क्षेत्रफलमा प्याज खेती गरिएकोमा यसपाली घटेर १.९ लाख हेक्टर पुगेको छ । भारतबाट नेपालमा खपत हुने लगभग ९९ प्रतिशत प्याज आयात हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

ज्योति विकास बैंकको नयाँ शाखा दाङको मौरीघाटमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त स्थानमा पहिलो बैंकको रुपमा बैंकको यस शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । यो शाखा सहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखा कार्यालय भएका छन् । आफ्नो सेवा क्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले जानकारी गराए । यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम रहेका छन् ।

कैलाश विकास बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब माथी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको १९.४५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने कम्पनीको प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले संस्थाको आ.व. २०७३/०७४को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ । १० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत मंसिर १३ गतेसम्ममा यस संस्थाले १८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी१६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेजन अवार्डबाट ५ आर्थिक पत्रकार सम्मानित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् । पुरस्कृत हुनेमा नागरिक दैनिकका दिलिप पौड्याल, कान्तिपुर दैनिकका कृष्ण आचार्य, राष्ट्रिय समाचार समितिका किरण भट्टराई र कर्पोरेट नेपालका सीताराम विलासी रहेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यस्तै प्रोत्साहन पुरस्कारबाट क्यापिटल म्यागेजिनका विनय बन्जारा सम्मानित भएका छन् । पौड्यालले नेपाल आयल निगम लिमिटेडको जग्गा खरिदमा भएको भ्रष्टचारको विषयमा नियमित रुपमा समाचार संम्प्रेषण गरेका थिए । आचार्यको रामदेवले अनुमति विना नेपालमा लगानी गरेको भन्ने समाचारले सो अवार्ड प्राप्त गरेका हो । यस्तै भट्टराईले मलेशियामा कार्यरत नेपाली कामदारको अवस्थाको विषयमा र कर्पोरेटका विलासीले बुढीगण्डकी आयोजना चाइना गेजुवा ग्रुपलाई दिएर नीतिगत भ्रष्टचार गरेको समाचारलाई प्रदान गरिएको हो । यस्तै बन्जाराले अवैध विटक्वाइनका कारोबार विषयमा समाचार लेखेवापत पुरस्कृत भएका हुन् । सो अवसरमा सेजनले वार्षिक रुपमा प्रकाशित गर्दे आएको अर्थनीतिको उपाध्यक्ष वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले सार्वजनिक गरेका थिए ।

पोष्टर, पम्प्लेट नहटाए निर्वाचन आयोग र राजनीतिक दललाई ‘अवहेलना मुद्दा’

काठमाडौं । राजधानीका भित्ता र गल्लीहरुमा टाँसिएका पोष्टर र पम्प्लेटहरु नहटाए निर्वाचन आयोग र राजनीतिक दलहरुलाई अवहेलनाको मुद्दा लाग्ने भएको छ । मंसिर २१ गतेको निर्वाचन सकिए लगत्तै राजधानीका भित्ता र चोकहरुमा निर्वाचन आयोगले टाँसेका पम्प्लेट र होर्डिङ बोर्ड नहटाए अदालतको अवहेलना गरेको मुद्दा लाग्ने भएको हो । ‘निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि टाँसेका पोष्टर र लगाएका होर्डिङ बोर्ड मंसिर २२ गते नै हटाई सक्नुपर्नेछ, राजनीतिक दलहरुले त पोष्टर, पम्प्लेट टाँस्नै नपाउने अदालतको आदेश छ, अन्यथा अवहेलनाको मुद्दा लाग्छ’, अधिवक्ता पदम बहादुर श्रेष्ठले विकासन्युजसँग भने । निर्वाचन आयोगले बागबजारको भित्तामा टाँसेको पोष्टर सर्वाेच्च अदालतले बि.स २०७२ साल भदौ १६ गते जारी गरेको परमादेश जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा अनधिकृत रुपमा पोष्टर, पम्प्लेट नटास्न र टाँसिएका त्यस्ता सामग्री तत्काल हटाउन भनेको थियो । सर्वाेच्च अदालतका तत्कालिन प्रधानन्याधिश कल्याण श्रेष्ठ र न्यायधिश ओमप्रकाश मिश्रको संयुक्त इजलासले त्यस्तो फैसला गरेको थियो । सैनिक मञ्चको बारमा निर्वाचन आयोगले लगाएको ब्यानर शहरको सौन्दर्य हराएको र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता श्रेष्ठले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनकै मुद्दामा बहस गरेपछि अदालतले परमादेश जारी गरेको थियो । अदालतको परमादेश कार्यान्वयन नगरेको भन्दै श्रेष्ठले फैसला कार्यान्वयन निर्देशनालयमा पनि उजुरी दिए । निर्देशनालयले २०७४ वैशाख १३ गते फैसला कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अझैसम्म पनि सर्वाेच्च अदालतको फैसाला कार्यान्वयन नभएको र अनधिकृत रुपमा पोष्टर तथा पम्प्लेट राख्ने क्रम बढेपछि अधिवक्ता श्रेष्ठले अवहेलनाको मुद्दा हाल्ने तयारी गरेका छन् । ‘अदालतले हालसम्म टासिँएको पोष्टर, पम्प्लेट निकाल्न र नयाँ टाँस्न नदिन भनेको छ, तर त्यसको कार्यान्वयन भैरहेको छैन, अब अवहेलनाको मुद्धा दायर गर्छु’, अधिवक्ता श्रेष्ठले भने । फोहर मैला व्यवस्थापन ऐन २०६८ ले अनधिकृत रुपले पोष्टर, पम्प्लेट र भित्ते लेखन गर्नेहरुलाई एक रुपैंयाँ देखि २५ हजार रुपैंयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि गरेको छ ।