नेपालका लागि इण्डोनेशियाका राजदूत सोमार्नोद्धारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् । सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदुत हन् । इण्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले सोहि अवसरमा इण्डोनेशिया-नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागि परेको बताएका छन् । त्यस्तै, दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट प्रयास भइरहेको उनले जनाए । राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताए । उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।
प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी
बाजुरा । बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याएका थिए । बलदेव रेग्मीले एक हजार ५२९ मतले काँग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । शनिबारसम्म मतगणनासकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ । बाजुरामा प्रदेशसभा १ मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा २ मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा यो वर्ष ६९ हजार ८३४ मतदाता रहेको थियो । रासस
काठमाडौं क्षेत्र नं ५ को मतगणना स्थगित
काठमाडौं । काठमाडौं क्षेत्र नं ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । सो मतदान केन्द्रमा ११८५ मत खसेको तर मत गणना गर्दा ११९७ मत पाइएपछि मतगणना रोकिएको हो ।
म्याग्दीको प्रदेशसभा ‘क’ मा विनोद केसी र ‘ख’ मा नरदेवी पुन विजयी
म्याग्दी । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसकेका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बनेका छन् । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेका हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बनेकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए । म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र (क) को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
काठमाडौं क्षेत्र नं ५ मा पोखरेल अगाडि
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन् । प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ । त्यसैबीच काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । रासस
भक्तपुर क्षेत्र नं २ मा मतगणना अनिश्चित, कहीले देखि शुरु ?
भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । उनले भने–“बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्यो, घाइतेको उपचार हुनुपर्यो, घटनाको मुद्दा दर्ता हुनुपर्यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुपर्यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनौँ, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।” यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए । उनले भने–“घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुँदैन, मतगणना शुरु हुनुपर्छ ।” निर्वाचन अधिकृत उत्तम सिलवालले भने सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरे । रासस
मतपेटिकालाई लक्षित गरी दुईवटा बम विस्फोटन
डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत डा रमेशप्रसाद रिजालले जानकारी गराए । रासस
२९ प्रतिशत बोनस सेयर पछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ रहेको थियो ।