मोरङ क्षेत्र नं ५ मा वाम गठबन्धनका शिवकुमार मण्डल विजयी
विराटनगर । मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डल विजयी भएका छन् । मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए । सोही क्षेत्रबाट तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गरेका थिए । यसैबीच, मोरङको ६ वटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेका छन् । सोमध्ये निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस र अन्य पाँचवटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । रासस
सप्तरीमा बस पल्टिँदा १७ घाइते
राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो । इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ । रासस
काठमाडौं-३ प्रदेश (क) मा काँग्रेसका लामा विजयी, ६ मा वामको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाएका काठमाडौं क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले जानकारी दिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विशाल न्यौपानेले एक हजार ३०५ मत पाएका छन् । अहिले प्रदेश (ख)को मतगणना भइरहेको छ । प्रदेश (ख)मा वाम गठबन्धन झिनो मतले अगाडि छ । वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाएका छन् । दुई घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौं–६ मा वामको अग्रता काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ । गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । अहिलेसम्म २९ हजार मतगणना भइसकेको उनले बताए । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाएका छन् । आज बेलुकीसम्म काठमाडौं–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उनले बताए । यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौं महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए ।
मोरङ-२ मा काँग्रेसका रिजाल र ४ मा वाम गठबन्धनका मोदी विजयीे
विराटनगर । मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन् । रिजालले ३५ हजार ८१९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो । त्यस्तै, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्। अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ । यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरेका छन् । यस्तै, मोरङ क्षेत्र नं-५मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् । रासस
तनहुँमा काँग्रेसका नेता रामचन्द्र पौडेल पछाडि, वाम गठबन्धनकाे अग्रता
तनहुँ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १२ हजार २७३ मत प्राप्त गरेका छन् । त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारीले ११ हजार एक सय ४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाएका छन् । प्रदेशसभा १ को सदस्यमा काँग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा २ को सदस्यमा काँग्रेसका धुव्र वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ । सिसी टिभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईवटै क्षेत्रको मतगणना कार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए । रासस
काठमाडौं क्षेत्र १० बाट काँग्रेसका राजेन्द्रकुमार केसी विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका छन् । नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी युवा खेलकुदमन्त्रीसमेत हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
पाँचथरमा एमालेका वसन्त नेम्बाङ विजयी
पाँचथर । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ विजयी भएका छन् । नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन् । कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए । यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गरेका हुन् । त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाएका छन् । रासस
डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस
डडेल्धुरा । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन्, भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् । प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि छन् भने उनलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइ रहेका छन् । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि छन् भने उनलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ्यारहेका छन् । दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहेका छन् भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहेका छन्। रासस