विकासन्युज

हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको पुस २१ सम्म बुक क्लोज

काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ । बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १० बराबर ४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

स्मार्ट टेलिकमको स्मार्ट सेन्टर ललितपुरमा, काठमाडौं र भक्तपुरमा पनि विस्तार गरिने

काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित सबै सेवा र सुविधा उपलब्ध गराउने संरचनामा यो केन्द्र स्थापना गरिएको कम्पनीले जनाएको छ । स्मार्ट सेन्टरको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष सर्वेश जोशीले ग्राहकले आफ्ना सबै जिज्ञासा र समस्याको समाधान यस सेन्टरबाट पाउन सक्ने बताए । यस्तो सेन्टर काठमाडौं र भक्तपुरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

४ कम्पनीको सेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ४ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले जनता बैंक, हिमालयन बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । जनताले १४.४ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ कायम भएको छ । यसैगरी साइन रेसुङलाले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको पनि सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएका छ । हिमालयनले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य ६७१ र किसानको प्रतिकित्ता १ हजार ९२१ रुपैयाँ काम भएको छ ।

सेयर कर्जाको ब्याज १५ प्रतिशत पुग्यो, सेयर ब्रोकर भन्छन – ७ प्रतिशत घाटामा कसले लगानी गर्छ ?

काठमाडौं । बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् । पछिल्लो समयमा बजारमा लगानीयोग्य पुँजी कम हुदै गएपछि बैंकले सेयर कर्जा १५ प्रतिशतसम्म लिन थालेका छन् । बैंकले १२० दिनका लागि १२ प्रतिशत ब्याजमा मुद्धति निक्षेप उठाउन थालेपछि यसको असर कर्जामा परेको हो । अहिल अधिकाँश बैंकले ब्याजदर बढाइसकेका छन् । सबै बैंकले पुँजी पुर्याइसकेको, बैंकको ब्याजदर बढेको र राजनीतिक अस्थितरता पनि देखिदा यसले बजारमा असर गरेको लगानीकर्ताको भनाई छ । पछिल्लो २ सातायता सेयर बजार निरन्तर घट्दै गएको छ । बजार घटेर नेप्से परिसुचक साढे १४ सयको हारहारीमा आइसकेको छ । सानिमा बैंकले सेयर कर्जाको ब्याजदर बढाएर १५ प्रतिशत पुर्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । “१५ प्रतिशत ब्याज तोक्नु लगानीकर्तालाई सेयर कर्जा लिन नआउनु भनेको हो” उनले भने । सानिमाले ४० करोड रुपैयाँ हारहारीमा सेयरकर्जा लगानी गरेको उनले जानकारी दिए । यता सिभिल बैंकले १२ प्रतिशत ब्याज दरमा सेयरकर्जा लिन लगानीकर्तालाई बोलाएको छ । बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो । सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले सजिलै कर्जा दिन्छु भनेर बिज्ञापन निकाले पनि ब्याज दरले महंगो लिने गरेको लगानीकर्ताको भनाई छ । सेयर बजार नबढ्नुमा बैंकको ब्याजदर बढी मुल कारण भएको एक स्टक ब्रोकरल बताए । “बैंकको ब्याजदर कम नभएसम्म बजार बढ्ने संभावना छैन” ती ब्रोकरले भने “अहिले त्यो संभव देखिएको पनि छैन् ।” अहिले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दा ७ प्रतिशत भन्दा बढी नोक्सान हुने ती ब्रोकरको भनाई छ । बैंकको ब्याजदर बढेपछि मारवाडी समुदायले सेयरमा लगानी नगर्दा बजार नबढेको ब्रोकरको निश्कर्ष छ । ब्याज दर बढेपछि त्यो समुदायले सेयर बजारबाट हात झिकेको हो । चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

आरएमडीसीको साधारणसभा पुस २८ मा, २० प्रतिशत लाभांश दिने

  काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । आरएमडीसीले गत १५ प्रतिशत अर्थात १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभाँश दिने  छ । यस्तै चुक्तापुँजीको ५ प्रतिशत अर्थात ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने छ ।

चीनले समुन्द्रमा बनायो ५५ किलोमिटर लामो पुल, नेपालका डाँडामाथी रेल कहिले ?

काठमाडौं । चीनले समुन्द्रमाथी ५५ किलोमिटर लामो समुन्द्री पुल तयार पारेको छ । सन २०११ बाट निर्माण आरम्भ गरिएको पुल सन २०१८ को पहिलो दिन उद्घाटन गर्न लागिएको हो । यो पुलले हङकङ–मकाउ–झुवाई प्रान्त जोड्नेछ । यो संसारकै लामो पुल हो र यसमा ४ लाख २० हजार मेट्रिकटन स्टिल प्रयोग गरिएको छ । यो पुलमा प्रयोग गरिएको स्टिलले ६० वटा आइफिल टावर बनाउन पुग्ने दावी चिनियाँहरुले गरेका छन् । सन २०१६ मै निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने भनिएको यो पुल केहि समय भ्रष्टाचार मुद्धामा परेपछि एक बर्ष लम्बिएको थियो । यो पुलको निर्माण चीन, हङकङ र मकाउले मिलेर गरेका हुन् । पुल सञ्चालनमा आएपछि हङकङ–मकाउ–झुवाई प्रान्तको यात्रा एक घण्टामै खुम्चिनेछ । सन २०१८ भित्रै ग्वाञ्जाओ–सेनजेन–हङकङ क्रसबोर्डर एक्सप्रेस रेलवे नेटवर्क पनि सम्पन्न हुने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । यो पुलले ८ म्याग्नीच्युटको भूकम्प थेग्न सक्छ भने ३ लाख टनको कार्गाे आवतजावत गर्न सक्छ । १८.८ माइल पानीमाथी निर्माण भएको छ भने ४.३ माइल पानी मुनी सुरुङमा निर्माण भएको छ । यो पुलको निर्माण लागत ११५.९ बिलियन युआन(चिनियाँ मुद्रा) लागेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । चीनले समुन्द्रमा पुल बनाएसँगै नेपालका डाँडापाखामा पनि पुल बनाएर रेल गुडाउन सकिने सम्भावनालाई उजागर गरेको छ ।

साञ्जेन जलविद्युतको आईपीओ निष्कासनको तयारी, डीम्याट खाता खोल्न लगानीकर्तालाई अनुरोध

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लगानीकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । पुसभित्र ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको सान्जेनले कर्मचारी संचय कोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई डीम्याट खाता खोल्न अनुरोध गरेको हो । कम्पनीले सेयर किन्न योग्य र इच्छुक आवेदकलाई तत्काल डीम्याट खाता खोल्न भनेको हो । संस्थापक कर्मचारीतर्फ नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवाका तत्काललिन जिविस र गाउँ विकास समिति, ऋणदाता अन्र्तगत संचय कोषमा रकम जम्मा गर्ने रहेका छन् । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीका लागि छुट्ट्याएको ८७ करोड रुपैयाँ बराबरको ८७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृत भइसकेकाले पुसभित्रै आईपीओ निष्कासन गरिसक्ने साञ्जेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । कम्पनीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ । कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने उनले जानकारी दिए । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।  

विश्वमा ऊर्जाकाे माग, खपत र संकटबारे हावादारी भविष्यवाणी

लेखक ब्रसेल्स । विश्वमा ऊर्जा कसरी उपयोग हुन्छ भन्ने कुरा पृथ्वीको तापक्रम वृद्धिका विषयमा प्रमुख शीर्षक बनेको छ र प्रदुषण तथा स्रोतको कमीका त्रासले ऊर्जा प्रभावकारिता रणनीतिमा कृत्रिम प्रतिस्पर्धा गराएको छ । युरोपेली युनियनदेखि चीनसम्मका अर्थतन्त्रले प्राविधिक खोज तथा कानुनी संशोधनको सहयोगमा आफ्नो ऊर्जाको सघनतालाई कम गर्ने दृढता व्यक्त गरेका छन् । यी बचनबीच पनि अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले सन् २०४० सम्म उपभोक्ताको ऊर्जासम्बन्धी माग बढ्ने अनुमान गरेको छ । विश्वमा ऊर्जाको आवश्यकता बढिरहँदा नीति निर्माताले आपूर्तिको प्रत्याभूति कसरी गर्नसक्छन् र ? स्पष्टरुपमा भन्दा, स्रोत रहँदासम्म विश्वले चिन्ता गर्नुपर्दैन । ऊर्जाको कमीका विषयमा ४० वर्षसम्म तर्सेपछि हामी पर्याप्तताको युगमा प्रवेश गरेका छौँ । हामी गलत कथाबाट जोगिनुपर्छ, स्रोतको कमीबाट होइन । यस कथाका दोषी एउटा विश्वव्यापी विचार मञ्च, ‘क्लब अफ रोम’ रहेको छ र यस संस्थाले सन् १९७० को दशकमा एक विवादास्पद् नमूनाको आधारमा निरर्थक भविष्यवाणी गरी ऊर्जासम्बन्धी यो चिन्ता फैलाएको हो । थोमस माल्थस र पल एरलिचका अनुयायीहरुको यस क्लबले गुणात्मक वृद्धिबाट नराम्रा र रेखात्मक वृद्धिबाट राम्रा कुरा सिर्जना हुन्छन् भन्ने तर्क गरे । यस विचारका आधारमा सन् २००० सम्म विश्वमा इन्धन सकिन्छ भन्ने अनुमान गरियो । यस निरर्थक सिद्धान्तलाई अवलम्बन गरि विकसित मुलुकले लिबियामा मौमर अल–कद्दाफी तथा इरानमा आयातोल्लाह रुहोल्ला खोमिनी जस्ता स्रोतले धनी अधिकारवादी नेताहरुलाई पश्चिमी मुलुक तथा विशेष गरि इजरायलका उनीहरुको समर्थनको विरोधमा आफ्नो तेलको भण्डारलाई ओजारको रुपमा उपयोग गर्न सक्षम बनाए । यसले सन् १९७० को दशकमा ‘तेलको धक्का’ निम्त्यायो र हाइड्रोकार्बन भण्डार मध्यपूर्वमा मात्र भएकाले अझै सीमित छ भन्ने गल्तीपूर्ण अवधारणालाई बल पुर्यायो । सञ्सारकै ठूलो मध्ये एक बेल्जिएमको ओरिभल ग्यास स्टेशन विशेषगरी खोजीका प्रविधिमा छिटो विकास तथा नयाँ स्थानमा हाइड्रोकार्बनको उत्खनन्बाट अन्ततः यस्ता भनाई सकिए । आजको ऊर्जा ‘सङ्कट’ कमीका कारण नभइ अतिप्रदूषणका चिन्ताका कारण उत्पन्न भएको हो । यस चिन्ताले पनि हाम्रो खोजको बानीलाई कमजोर बनाएको छैन । अर्कोतिर खोजलाई सबल बनाउन राजनीति तथा सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धि जस्ता अन्तर्राष्ट्रिय कानुन पारित भएका छन् । उदाहरणका रुपमा मोजाम्बिकको तटमा रहेको रोभुमा ग्यास क्षेत्रलाई लिन सकिन्छ । आज इटाली तथा चीन सहितका मुलुकका अन्तर्राष्ट्रिय कम्पनीको एक समूहले उत्पादन गर्ने तयारी गरिरहेको छ र अफ्रिकाको गरिबमध्ये एक मुलुकले ठूलो पुरस्कार पाउने भएको छ । यसैगरी एक समय मध्यपूर्वमा हाइड्रोकार्बन नभएको स्थानमा अवस्थित मुलुक भन्ने ठानिए पनि हाल इजरायल ८०० अर्ब घनमीटर तटीय ग्यास माथि बसेको देखिएको छ । यस मात्राको ग्यासले इजरायलको १३० भन्दा बढी वर्षका ग्यास उपभोगको माग पूर्ति गर्नेछ । कुनै बखत ऊर्जा आयात गर्ने इजरायल आफ्नो ग्यासको लाभलाई कसरी निर्यात गर्ने भन्ने चुनौती भोग्दैछ । हालका वर्षमा विश्वव्यापी ऊर्जा बजारका लागि प्रविधिले ल्याएको सबैभन्दा ठूलो उथलपुथल भनेको अमेरिकामा जमिनमुनि थेग्रिएका पत्थरबीच रहेका ग्यास तथा तेलका उत्खनन नै हो । अमेरिकामा हाल प्रतिदिन ८८ लाख ब्यारेल तेल उत्पादन हुन्छ र यो इराक र इरानको संयुक्त उत्पादन भन्दा पनि बढी हो । अमेरिकी यस्ता ग्यास एसिया, ल्याटिन अमेरिका तथा युरोपका भागहरुमा पुर्याइएको छ । यी बजार कतार, रसिया तथा अस्ट्रेलियाबाट घेरिएका थिए भने हाल तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योग तेल बजार झै बढी उत्पादनको अवस्थामा प्रवेश गरेको छ । यी सबैलाई हेर्दा यी विकासले ऊर्जाको मूल्य घट्न र ओपेक कमजोर हुन सघाएका छन् । एलएनजीलाई यातायात क्षेत्र (विशेष गरि ढुवानी तथा सामुद्रिक जहाज सचालक) ले वातावरणीय कारणमा मन पराएकाले तेललाई भौगोलिक हतियारको रुपमा उपयोग गर्ने क्षमता हटेको छ । इरान आफ्नो तेल निर्यात विस्तार गर्न निकै चाहन्छ र उसले आफ्नो पारमाणविक कार्यक्रम पनि परित्याग गर्न स्वीकार गरेको छ । इरानको पारमाणविक सम्झौतमा ‘तेल’ भन्ने शब्द ६५ पटक प्रयोग भएको छ । हावा तथा सूर्यलाई तेल तथा ग्यासको विकल्पको रुपमा प्रस्तुत गरिन्छ तर उनीहरुले विद्युत उत्पादनको परम्परागत स्रोतसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यदि उनीहरुले सक्ने हो भने युरोपेली युनियनले कानुनको माध्यमबाट पुनरुत्पादनशील ऊर्जा उत्पादनलाई सहयोग गर्नुपर्ने कुनै कारण छैन । वायु तथा सौर्य प्रविधिले विद्युत उत्पादन गर्छन् र ऊर्जाको सबैभन्दा ठूलो माग तातो बनाउनुपर्ने अवस्थाबाट आउछ । उदाहरणको रुपमा युरोपेली युनियनमा विद्युतले ऊर्जाको अन्तिम मागको २२ प्रतिशत मात्र पूर्ति गर्छ, तातो बनाउने तथा चिसो बनाउने कुरामा ऊर्जाको माग ४५ प्रतिशत छ, यातायातले बाँकी ३३ माग ओगट्छ । जैविक ऊर्जाले हाल विश्वको ऊर्जाको कूल मागको ८० प्रतिशतभन्दा बढी भाग ओगट्छ र अनुमान गर्न सकिने भविष्यसम्म ऊर्जा उत्पादनमा यही नै मेरुदण्डको रुपमा रहन्छ भन्ने कुरा ब्याख्या गर्न यी कुराले सहयोग गर्छन् । हाइड्रोकार्बनलाई हटाउन दबाब दिनेहरुका लागि यो स्वागतयोग्य समाचार नहुनसक्छ । यसो भए पनि वायु तथा जलको गुणस्तरमा पर्ने नकारात्मक प्रभाव कम गर्न प्राविधिक खोजले प्रमुख भूमिका खेल्नेछ भन्ने कुराबाट भने सायद केही शान्ति प्राप्त गर्न सकिन्छ । वातावरण परिवर्तनको विश्वव्यापी छलफलबीच विकसित अर्थतन्त्रले ऊर्जा प्रभावकारितामा महत्वपूर्ण फाइदा दिने बचन दिने कुरा बुझ्न सकिन्छ । ‘सीओटु’ को उत्सर्जन कम गर्न युरोपेली युनियन बचनबद्ध हुनसक्छ तर सन् २०१५ को पेरिस मौसम सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुकहरु त्यत्तिको दृढ देखिएका छैनन् । अन्य कुनै विकल्पमा भरपर्न नसकिने भएकाले प्रायः यी हस्ताक्षरकर्ता मुलुकले आउँदा वर्षमा उनीहरुको ऊर्जा उपभोगमा वृद्धि गरे र जैविक ऊर्जामा फर्किए भने आश्चर्य मान्नुपर्दैन । आउँदो धेरै वर्षसम्म विकसित अथतन्त्रका छलफलका विषयमा ऊर्जा नीति कायमै रहनेछ । वातावरणीय लक्ष्यसँग आपूर्तिको सूरक्षा सन्तुलन गर्न यी मुलुकले काम गरिरहँदा उनीहरु आफ्ना तथ्य स्पष्ट गर्नुपर्ने कुराप्रति पनि बचनबद्ध हुनुपर्छ । (स्यामुएर फरफरी उनिभेरसिते लिब्र दे ब्रक्सेलेसमा ऊर्जासम्बन्धी भूराजनीतिशास्त्रका प्राध्यापक हुन् र उनी ‘द चेन्जिङ वल्र्ड अफ इनर्जी एन्ड द जियोपोलिटिकल च्यालेन्जेज’ का लेखक हुन् । (रोजेक्ट सिन्डिकेट, अनुवादः सुरेन्द्रबहादुर नेपाली)