सरकारी ढुकुटीमा देखिएको संकट, व्याजदरमा उच्च वृद्धि र बैंकर्समा देखिएको डर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी ढुकुटी असन्तुलित हुँदै गएको, बैंकहरुले दिनदिनै उच्च दरले व्याज बढाउन थालेको, तरलता संकट आउँदै छ भनेर बैंकर्सहरु डराउँदा बजारमा धेरै आशंका उत्पन्न भएको भन्दै बैकर्सहरुलाई संयमित हुन आग्रह गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकहरुलाई नै वित्तीय साक्षरता आवश्यक देखिएको बताए । ‘एक हप्ताअघि बैंकहरुले १० प्रतिशत व्याजदरको विज्ञापन छापे, ५ दिनअघि साढे १० प्रतिशत व्याजको विज्ञापन छापे, तीन दिन अघि ११ प्रतिशत व्याजदरको विज्ञापन छापे, आज साढे ११ प्रतिशत व्याजदरको विज्ञापन छापियो’ आइतबार साँझ गुडविल फाइनान्स कम्पनीले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले भने–‘यो राम्रो अभ्यास होइन । बैंकको नेतृत्वमा बसेका जिम्मेवार व्यक्तिहरुले पनि बैकिङ नबुझेको जस्तो देखियो । बैंङ्कर्सहरु आफैले मार्केटलाई प्यानिक बनाईरहेका छन् ।’ बैकिङ बजारमा तरलताको समस्या नभएको उनको दावी छ । बैंकिङ क्षेत्रमा अहिले पनि ३२ अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले भनाई छ । तर सरकारी ढुकुटीमा भने असन्तुलन देखिएको उनले बताए । चालु आर्थिक वर्षमा राजश्व आम्दानीले सरकारी खर्च धान्न नपुगेको भन्दै उनले भने-‘यो राम्रो संकेत होइन ।’ ‘संघीयता कार्यान्वयन गर्नु पर्ने, स्थानीय निकायलाई बजेट निकासा गर्नु पर्ने अवस्थाले राजश्व आम्दानीले सरकारी खर्च धान्न पुगेको छैन’ उनले भने–‘यस्तो संवेदनशील अवस्थामा बैंकका निक्षेपकर्ता, ऋणी सबैलाई ढुक्क हुने वातावरण बनाउनुपर्छ । ठूलै संकट आउन लागे झै दिन दिनै कर्जा र निक्षेपको व्याज बढाउने र सर्वसाधारणमा के के न हुन लागे जस्तो सन्देश प्रवाह गर्ने काम गर्नु भएन ।’ पुस मसन्तमा सरकारी राजश्वमा पैसा धेरै जम्मा हुन जान्छ, एक वर्षअघि उच्च दरमा लिएको निक्षेप फिर्ता हुन सक्छ, त्यसले सीसीडी रेसियो असन्तुलिन हुन सक्छ भन्ने आँकनसहित बैकर्सहरु डराएको उनले बताए । ‘राष्ट्र बैंकले विकल्पहरुको बारेमा सोचिरहेको छ, तपाईहरु डराउनु पर्दैन’ उनले भने । सरकारको खातामा ३४८ अर्ब रुपैयाँ संचित रहेकोले सरकारलाई खर्च गर्न समस्या नभएको पनि उनले बताए । ‘विगत तीन वर्षदेखि सरकारले सबै आम्दानी खर्च गर्न नसकेर संचित हुँदै गएको रकम ३४८ अर्ब रुपैयाँ अझै खर्च भएको छैन । यो रकम खर्च बढ्दै गएको छ । बजारमा तरलता आउँछ’ उनले भने । तरलता अभाव सम्बन्धी डर वित्त कम्पनी तथा विकास बैंकहरु भन्दा केही वाणिज्य बैंकहरुमा धेरै देखिएको उनले बताए । ‘वाणिज्य बैंकहरुको भूमिकाले विकास बैंक र वित्त कम्पनीलाई पनि तर्साउने अवस्था सिर्जना भईराखेको छ’ उनले भने–‘नेपाल बैंकस संघ, विकास बैंकर्स संघ, वित्त कम्पनी संघ लगायतका संस्थाहरुबीच समन्वय गरी स्थायीत्व कायम गर्न सहयोग आवश्यक छ ।’ उनले बैंकहरुलाई रोजगारी सिर्जना गर्ने, उद्यमशिलता विकास गर्ने क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे । उनले १८ प्रतिशत वयस्कले बैकिङ सेवा प्रयोग गर्न नजानेको बताएका छन् । ‘उनीहरुले कुनै पनि प्रकारको वित्तीय संस्था सेवा लिएका छैनन्, उनीहरुको पहँुचमा वित्तीय सेवा पुगेको नै छैन’ डेपुटी गभर्नर श्रेष्ठले भने । ‘आई एम एमबीए एप’ सार्वजनिक गुडविल फाइनान्सले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम सार्वजनिक गरेको छ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र पहुँच वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप र पुस्तक तयार गरी सार्वजनिक गरिएको उनले बताए । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् । साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्रमा राखिने मेयर विद्यासुन्दर शाक्यले बताए ।
कहिले आउँछ एनएमबी बैंकको १ करोड १४ लाख कित्ता एफपीओ ? कति पर्छ मूल्य ?
काठमाडौं । एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ । एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले यति मूल्य हुन्छ भनेर भन्न नसकिने उनले जानकारी दिए । एनएमबीको प्रतिसेयर मूल्य ४६९ रुपैयाँ छ । हाल नियामक धितोपत्र बोर्डसंग यस विषयमा छलफल भइरहेको केसीले जानकारी दिए । सीईओ केसीले केही महिनाभित्र ल्याउनु पर्ने अवस्था रहेको भन्दै छिट्टै एफपीओ निष्कासन गर्ने बताए । “नियामक धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ” उनले भने “स्वीकृति पाउन साथ एफपीओ निष्कासनको प्रक्रिया सुरु गर्नेछौ ।” बैंकले १ करोड १४ लाख १५ हजार १६२ कित्ता एफपीओ निष्कासनका लागि गत जेठ २२ गते बोर्डमा निवेदन दिएको हो । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । एफपीओ निष्कासनपछि बैंकका चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । चालु आवको पहिलो त्रैमाशमा एनएमबीले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
पुस १३ देखि नेपाली जुत्ता चप्पलको औद्योगिक प्रदर्शनी, १५ प्रतिशतसम्म छुट
काठमाडौं । पुस १३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाली छाला जुत्ता तथा चप्पलहरुको राष्ट्रिय औद्योगीक प्रदर्शनी आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने प्रदर्शनी १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा देश भरि छरिएर रहेका साना, मझौला एवं ठुला जुत्ता चप्पल उद्योगीहरुको उत्पादन समावेश गरिनेछन् । प्रदर्शनीमा १० वटा पेभिलियन सहित १३५ वटा स्टलहरु रहनेछन् । प्रदर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु समेत रहनेछन् । प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटको सुबिधा उपलब्ध हुनेछ । नेपाली जुत्ता चप्पल उत्पादन क्षेत्र बारे अनुसन्धान प्रतिबेदन २०७४ अनुसार ठूला तथा मझौला उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत दर्ता भएका ९३२,लेडिज चप्पल उत्पादक हरु १४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित २०० गरि कुल १५०१ उद्योगहरु रहेका छन । यी उद्योगहरुमा ५० हजारको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । त्यस मध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन । यी उद्योगहरुमा करिव .१९ अर्व ९४ करोड बरावरको लगानी रहेको छ । यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेता पनि हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन भएकोे छ । आर्थिक वर्ष ०७२।०७३को तथ्याङ्क अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो । जस मध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको थियो ।
सांस्कृतिक रुपमा ब्राण्डिङ: एनसेल मेलामा मस्त झुम्यो पोखरा
काठमाडौ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दुर्तगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरेको हो । विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला विहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्ट सहित साँझ सम्म चलेको थियो । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु रहेका थिए । मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेका थिए । त्यस्तै सांगितीक समुह कबवेबले ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु पस्कदै र द एज व्याण्डले आफ्नो अत्याधिक मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको थियो । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो । युवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए । किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो । मनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विषेश फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए । फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।
साँघुरो किनारमा फराकिलो जीवनः दृष्टिविहिनका सडक गाथा
काठमाडौं । काठमाडौंको अस्तव्यस्त सडक र मानिसहरुको भीडभाडमा दृष्टिविहिनहरु तिनै सडकका किनारमा गीत गाएर जिविकोपार्जन गरिरहेका छन् । यस्ता दृष्टिविहिनहरु देशका विभिन्न क्षेत्रबाट काठमाडौंका सडक पेटिमा जिउनका लागि संघर्ष गर्दैछन् । उनीहरुले चिसो मौसम, धूँवा, धुलो नभनी दिनभरी सडकका पेटिमा गीत गाएर आफ्ना परिवार पालिरहेका छन् । यसरी गाउनु उनीहरुको आम्दानीको मूख्य स्रोत नै बनेको छ । सडक किनारामा गीत गाएर उनीहरुले दैनिक ५ सयसम्म आम्दानी गरिरहेका छन् । नुवाकोटकी दृष्टिविहिन निर्मला गूरुङको दैनिक सडक किानारामै गीत गाएर बित्छ । २ सन्तानकी आमा निर्मलाका श्रीमान पनि दृष्टिविहिन नै छन् । चार सदस्यीय उनीहरुको परिवार सडक किनारमा गीत गाएरै पालिएको छ । उनीहरु बिहान ९ बजेट रत्नपार्क आसपासका सडक किनारामा गीत गाउन आइपुग्छन र साँझपख कपन फर्कन्छन् । यो जोडीका २ सन्तानमध्ये एउटा छोरा पनि दृष्टिविहिन नै छन्, उनी हिड्न र बोल्न समेत सक्दैनन । “आफ्नै परिवार र आफन्तको साथ नपाएपछि जिउने बाटो खोज्दै काठमाडौँका सडकमा गीत गाउन आईपुगेका हौं, हाम्रो साहारा अब यहि बाटो हो’ निर्मला गुरुङले भनिन् । अर्का एक दृष्टिविहिन प्रकाश थापाको दैनिकी पनि सडक किनारामा गीत गाएरै बित्छ । उनी भन्छन– “यो सडक हाम्रो जीउने साहारा हो, यहिँ गीत गाएर नै परिवार पाल्दै छु ।” उनको साथमा अपाङ्ग श्रीमति र छ महिनाको सन्तान पनि छ । स्थायी घर सुर्खेत भएका थापा आफ्नो परिवारको ह्येय भाव सहन नसकेर काठमाडौं प्रवेश गरेको बताउँछन् । ‘परिवारले बोझका रुपमा लिएपछि आफैं जीउने संकल्प गरेर काठमाडौं आएँ, यहि सडकले मेरो जीवन धानिरहेको छ’, थापाले सुनाए । विगत २ बर्षदेखि रत्नपार्क आसपासमा गीत गाएरै बितिरहेको छ । २ संघर्षको २ बर्षे विगत सम्झँदै उनी भन्छन–“काठमाडौं आएर सडकका पेटिमा बसी गीत गाउन थालेको २ वर्ष भयो । गीत गाएर रमाउछु, गीत गाएर नै दुई छाक परिवारलाई खुवाउछु, हाम्रो गीत सुनेर दयालुहरुले केहि रकम दिन्छन, त्यहि हो हाम्रो आम्दानी ।’ यी त केबल प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्ता दर्जन भन्दा बढि दृष्टि विहिनहरुको दैनिकी साँघुरा सडक किनारले धानिरहेको छ । यी साघुँरा किनारमा ती दृष्टिविहिनहरुले जीवन जिउने फराकिलो आधार भेटिरहेका छन् । जीवन आफैं संघर्षको पर्याय हो । संसारमा आइपर्ने सबै मोडहरुसँग संघर्ष गर्ने प्रतिज्ञा हो मानिसको जन्म । यी दृष्टिविहिनहरुको जीवन संघर्षलाई हेर्ने जो कोहीले उर्जा प्राप्त गर्छ । राज्यले आरक्षण, सामाजिक सुरक्षा लगायतका नीति मार्फत सबै नागरिकलाई समान बनाउने अभियान थालेको लामो समय भैसकेको छ । असक्त तथा फरक क्षमता भएका यस्ता नागरिकको जीवन रक्षा र सर्वाङगीण विकासका लागि ठोस कार्यक्रमको आवश्यकता छ ।-प्रशिक्षार्थी
निक्षेपको तुलनमा कर्जा लगानी बढेपछि राष्ट्र बैंकले सावधानी अपनाउन भन्यो
काठमाडौं । निक्षेप परिचालनको तुलनमा कर्जा प्रवाह बढी भएपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दे बैंकको कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले मात्र वृद्धि भएपछि वित्तीय असन्तुलन आउन भन्दै सचेत गराएको छ । “कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ” राष्ट्र बैंकले भनेको छ । स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भइसकेकोले स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा राष्ट्र बैंकको छ । राष्ट्र बैंकले स्थानिय तहबाट हुने खर्चमा विस्तार भएमा वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिने बताएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर २४ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २१ खर्ब ७ अर्ब २० करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.२ प्रतिशत घर जग्गाको धितोमा र १४.५ प्रतिशत चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ र १४.९ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४३.६ प्रतिशत अर्थात २८ अर्ब ११ करोड रुपैयाँ वृद्धि भई ९२ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ३.६ तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.५ प्रतिशतले बढेको छ ।
पेपालबाट पठाएको पैसा इन्भेष्टमेण्ट बैंकबाट भुक्तानी हुने, अमेरिकामा रहेका नेपालीलाई सहज
काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्क (जुम) सँग विप्रेषणसेवाको सुरुवात गरेको छ । यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपाल मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । पेपाल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास बैंकले लिएको छ । देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र अमेरिकास्थित पेपाल बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ । यसअघि इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सि बैंक र कुवेतको एल सुल्तान एक्स्चेञ्जसँग पनि सम्झौता गरेको छ ।
कृषि विकास बैंकको नयाँ शाखा बरहथवामा
काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा खोलेको छ । आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् । बैंकको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महत्तो ,उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले बैंक सफलतको शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकले प्रदान गर्ने आधुुनिक सेवासुविधाका बारेमा जानकारी दिए ।