विकासन्युज

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छिन् । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आइतबार उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् । मन्त्री गौतमले भनिन्, 'ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ ।' अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले उल्लेख गरिन् । अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले बताइन् । मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन् । सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन् । मन्त्री गौतमले भनिन्, 'हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ । शीघ्र यसको नतिजा आउने छ ।' उनले आफ्नो सरकारी जागिरको सुरुआती अस्पताल भरतपुर अस्पतालमा भएको स्मरण गर्दै यहाँको प्रगतिले आफू सन्तुष्ट रहेकोसमेत बताइन् । सो अवसरमा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, 'सरकारी अस्पताल सुधार गर्नुछ भने नीतिगत रूपमा नै सुधार गर्न आवश्यक छ ।' भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा भएका सुविधा र अस्पतालको समस्याका बारेमा जानकारी दिएका थिए । ट्रमासेन्टर निर्माणका लागि ११ करोड खर्च भएको जनाउँदै समितिका अध्यक्ष पौडेलले उपकरणका लागि दुई करोड ५० लाख खर्च भएको उल्लेख गरे । उनका अनुसार सेन्टर अहिले १५ श्ययाबाट सुरु गरिएको छ भने आगामी दिनमा ५० श्यया पुर्‍याउने लक्ष्य राखिएको छ । रासस

एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ५ पुराना नेतासहित ४ नयाँको डेब्यु तयारी

काठमाडौं । नेकपा एमालेको आगामी ११ औं महाधिवेशनमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी निर्वाचनमा लुम्बिनी प्रदेशको बाहुल्यता देखिने भएको छ ।  प्रारम्भिक विवरणअनुसार पदाधिकारीका उम्मेदवारमध्ये नौजना लुम्बिनी प्रदेशका नेताहरू हुने जनाइएको छ । यसले प्रदेशको राजनीतिक शक्ति मात्र नभई पार्टीभित्रको भू–राजनीतिक सन्तुलनमा पनि लुम्बिनी प्रदेशको भूमिका बढ्ने संकेत गरेको नेताहरूले बताएका छन् । हालका पदाधिकारीमध्ये उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले फेरि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।  तर, उपाध्यक्ष ज्ञवालीले दोहोरिने चाहना नरहेको आफू निकटलाई बताउने गरेको बताइएको छ । त्यस्तै, सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कारण सक्रिय उम्मेदवारी दिन असमर्थ छन् । पार्टी भित्रको वर्तमान १९ सदस्यीय पदाधिकारी संरचनामा लुम्बिनी प्रदेशका सात जना नेता रहेका छन् । तीमध्ये पाँच जना पदाधिकारी एक तह बढुवा भई फेरि उम्मेदवार बन्ने इच्छामा रहेका छन् । महासचिव पोखरेलले महासचिव पदमा दोहोरिने चाहना राखेका छन् ।  तर, पार्टी नेतृत्वले रणनीतिक दृष्टिकोण अपनाउँदै पोखरेललाई उपाध्यक्षमा स्थानान्तरण गर्ने र महासचिव पदमा उपमहासचिव प्रदिप ज्ञवालीलाई प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । हालका सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले उपमहासचिव बन्ने इच्छा व्यक्त गरेको स्रोतले बतायो । यसले पदाधिकारीहरूको स्थानान्तरण र पद सन्तुलनमा थप बहस र छलफलको सम्भावना सिर्जना गरेको नेताहरूको भनाइ छ। यसैबीच यसपटक केही नयाँ नामहरूले पनि पदाधिकारीमा सक्रियता देखाएका छन् । खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र सूर्य थापाले सचिव पदमा डेब्यु गर्ने इच्छा व्यक्त गरेका छन् । भट्टराई, गैरे र झाँक्री अनेरास्ववियुका पूर्व अध्यक्षहरू हुन् । थापा प्युठानका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।  प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेताहरूको प्रवेशले पार्टीमा नयाँ ऊर्जा थप्ने र प्रतिनिधित्वको दायरा फराकिलो बनाउने अपेक्षा गरेका छन् । राजनीतिक विश्लेषकहरूले नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीभित्रका अनुभवी नेताहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशले पुराना र नयाँ नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर प्रदान गर्ने सम्भावना रहेको बताएका छन् । यसले पार्टीभित्र नयाँ सोच र नेतृत्व विकासलाई बलियो बनाउने संकेत गरेको एकजना महाधिवेशन प्रतिनिधिले बताए । सचिव पदमा नयाँ उम्मेदवारहरूको प्रवेशले पार्टीभित्रको नेतृत्व संरचनामा विविधता ल्याउनेछ । भट्टराई, गैरे, झाँक्री र थापाको डेब्युको  योजनाले कार्यकर्ताहरूमा उत्साह सिर्जना गरेको एक महाधिवेशन प्रतिनिधिले बताए । उनका अनुसार यो नयाँ नेतृत्व विकासको संकेत हो । नयाँ नेताको प्रवेशले पार्टीको निर्णय प्रक्रिया र रणनीतिमा पनि नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको गुल्मीका एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए । हालका पदाधिकारीहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशबीचको सन्तुलनले आगामी महाधिवेशनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । पार्टीभित्रका वरिष्ठ नेताहरूले आफ्नो अनुभवका आधारमा उम्मेदवारी दिने तयारी गरेका छन् । नयाँ नेताहरूले पार्टीमा आफ्नो उपस्थिति दर्ज गराउने र भविष्यमा शीर्ष नेतृत्वको दाबीको सोंच बनाएको बताएका छन् । समग्रमा आगामी महाधिवेशनले लुम्बिनी प्रदेशको प्रभुत्व पुष्टि गर्ने मात्र होइन, पार्टीको नेतृत्व संरचनामा नयाँ र पुराना नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर पनि प्रदान गर्ने एक नेताले बताए । 

प्रधानमन्त्री कार्की भेट्न सिंहदरबार पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।  आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।  भण्डारी र कार्कीबीच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।  प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गरेकी थिइन् ।  

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थका सेवामा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले क्यूरा हेल्थद्वारा प्रदान गरिने विभिन्न सेवा शुल्कमा छुट प्राप्त गर्नेछन् । ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थले उपलब्ध गराइने प्याथोलोजी ल्याबका विभिन्न सेवामा (निःशुल्क होम–डेलिभरी सुविधा सहित) तथा अन्य स्वास्थ्य प्याकेजहरूमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा मंसिर १९ गते नेपाल बैंक लिमिटेडको तर्फबाट बजारकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रालिका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यान्वयनसँगै नेपाल बैंकका कर्मचारी तथा ग्राहकले क्यूरा हेल्थ प्रालिद्वारा उपलब्ध गराइने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् ।

२०० एमपी जाईस् टेलीफोटो क्यामेरासहित भिभो एक्स३०० प्रो नेपालमा आउँदै

काठमाडौं । भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै यो मोडेल प्रतिको उत्सुकता देशभर बढ्दै गएको छ । जाईस् सँगको सहकार्यमा तयार पारिएको एक्स३०० प्रोले नेक्स्ट–जेनेरेशन इमेजिङ र नयाँ ओरिजिन ओएस ६ सहित बजारमा प्रवेश गर्नेछ । बजारमा आएको प्रारम्भिक जानकारीअनुसार भिभो एक्स३०० प्रो भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणालीसहित आउने अपेक्षा गरिएको छ । भावनात्मक, प्राकृतिक र जीवन्त दृश्यहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै जाईस् सहकार्यमा टेलिफोटो स्पष्टता तथा लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गरिएको छ । मोडेलको मुख्य आकर्षण २०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरा मानिएको छ, जसले सूक्ष्म विवरणलाई अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्नेछ । यसलाई साथ दिने जाईस् गिम्बल–ग्रेड मुख्य क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक बनाइदिनेछ । डिभाइसमा ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामेरा समावेश गरिनेछ, जसले सेल्फी तथा ग्रुप फोटोहरूलाई अझ स्पष्ट र फराकिलो बनाउन योगदान गर्नेछ । भिभो एक्स३०० प्रो ‘प्रो इमेजिङ चिप भियस् वन’ तथा डाइमेन्सिटी ९५०० चिपसेटमा आधारित रहेर सञ्चालन हुनेछ। भित्र रहेको भी थ्री प्लस इमेजिङ चिप र भिभोले विकास गरेको उच्च–दक्षता एनपीयूले इमेजिङ प्रक्रिया छिटो, सहज र शक्तिशाली बनाउने कम्पनीको दाबी छ । भियस् वनले प्रि–प्रोसेसिङ र भी थ्री प्लसले पोस्ट–प्रोसेसिङ जिम्मा लिनेछ। फोनको मजबूतीका लागि यसमा आर्मर ग्लासको प्रयोग गरिएको प्रारम्भिक जानकारी छ, जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा दिनेछ । साथै, ६५१० क्षमताको ब्लू–वल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप प्रदान गर्नेछ । भिभो एक्स३०० प्रोप्रति नेपाली बजारमा चासो बढिरहेका बेला कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर तथा शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनमा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ । छिट्टै सार्वजनिक हुने यो फ्ल्यागशिप मोडेलले प्रयोगकर्तालाई आफ्ना महत्वपूर्ण क्षणहरू अझ यथार्थ, स्पष्ट र आत्मविश्वासका साथ क्याप्चर तथा साझा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार आरोपमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पूर्व सचिवहरू मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, पूर्व सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलगातयका विरुद्ध मुद्धा दायर भएको छ ।  रेग्मीका अनुसार अहिले उनीहरुविरुद्ध मुदा दर्ता प्रक्रियामा रहेको छ ।   

३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६०९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सागर डिस्टिलरीको भएको छ । सागरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ३२ करोड, बन्दिपुर केबलकारको १५ करोड, युनाइटेड मोदी हाइड्रोको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बजारका सबै सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशतले घटेका छन् ।

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।