विकासन्युज

एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढ्यो

काठमाडौं । एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले वृद्धि गरेर एक अर्ब पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकको नाफा ७० करोड मात्रै थियो । एनएमबी बैंकले ६ महिनामा ८० अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २५ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ । बैंकले २५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गर्दा खराब कर्जालाई १.८९ प्रतिशतबाट घटाएर १.२४ प्रतिशतमा झारेको छ । बैंकको सीडी रेसियो ७६.६१ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३१.१८ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १८०.९८ रुपैंयाँ रहेको छ । ६ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३४ करोड रुपैंयाँ रहेको छ ।

सेञ्चुरी कमर्शियल बैंकले गर्यो ३२ करोड ५१ लाख नाफा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सेञ्चुरी कमर्शियल बैंकले नाफा १० करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २२ करोड ३९ लाख रुपैयाँ गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा बढेको देखाएको हो । बैंकको निष्क्रिय कर्जा ०.९९, सीडी रेसिया ७६, निक्षेप लागत ८.३१, आधार ब्याजदर ११.४३ र स्प्रेड दर ३.३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसाँ छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५२ अर्ब १७ करोड रुपैयाँ बढाएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३२ अर्ब ६७ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

बैंक अफ काठमाण्डूको नाफा ५ करोड घट्यो

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा ५ करोड घटेको छ । गत आवको पुस मसान्त अवधीमा ६० करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ५५ करोड मात्रै नाफा कमाउन सफल भएको हो । बैंक अफ काठमाण्डूको खराब कर्जा पनि १.५१ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ । बैंकले २३ करोड रुपैंयाँ सम्भावित नोक्सानीका लागि प्रोभिजन गरेको देखिन्छ । ६ अर्ब २४ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८९ करोड रहेको छ । बैंक अफ काठमाण्डूले ६ महिनामा ७० अर्ब निक्षेप संकलन गरेर ६४ अर्ब कर्ज लगानी प्रवाह गरेको छ । बैंकको सिडी रेसियो ७९.२४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १७.६६ रुपैंयाँ र प्रति सेयर नेटवर्थ १७८.४२ रुपैंयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८३ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २५ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा १.१२, सीडी रेसियो ७८.४७, आधार ब्याजदर ९, निक्षेप लागत ६.२१, स्प्रेड दर ४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १ खर्ब २९ करोड ८४लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै कर्जा लगानी पनि बढाएर १ खर्ब १३ अर्ब रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ९६ करोड ७० लाख रुपैयाँ थियो । बैंकको संचित कोषमा ९ अर्ब ९१ करोड रुपैयाँ छ ।

कालिका पावरको आईपीओ माघ २१ देखि निष्कासन हुने, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले माघ २१ देखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन बन्द छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्कोट्स लिमिटेडले जनाएको छ । आईपीओ खरिदका लागि न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ । आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानियबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने छन् । आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न बन्देज लगाइएको छ । कम्पनीमा संस्थाकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ । कम्पनी कालिका ग्रुपअन्र्तगतको हो ।

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी ५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।गुह्येश्वरीमाथिको वाग्मती सजफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन भयो । रुद्रमती सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी १ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले सुनाए । चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए। वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ । रासस

अब उद्योग परिसंघ पनि महासंघीय मोडलमा, देशैभर संगठन विस्तार गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ पनि महासंघीय ढाँचामा अघि बढ्ने भएको छ । मन्त्रिपरिषदले संसोधित विधान स्वीकृत गरेसँगै परिसंघलाई पनि महासंघीय ढाँचामा जान बाटो खुलेको हो । अब नीजी क्षेत्रका तीन वटा छाता संगठनहरुले देशभैर संगठन निर्माण गर्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघले महासंघीय ढाँचामा देशभर संगठन विस्तार गरेको छ भने चेम्बर अफ कमर्शले पनि विधान संसोधन गरेर देशभर फैलने निर्णय गरिसकेको छ । अब परिसंघले पनि देशभरका उद्योगीहरुलाई संगठित गर्न लागेको हो । परिसंघले देशको सातओटै प्रदेशमा प्रदेश परिसंघ गठन गर्ने प्रकृयालाई अघि बढाउन लागेको छ । परिसंघले उपाध्यक्ष पदमा सुलभ अग्रवाललाई मनोनित गरेको छ । त्यस्तै महिला उद्यमीहरुका तर्फबाट छाया शर्मा र रिता भण्डारीलाई मनोनित गरेको छ । त्यस्तै, आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का,रविन्द्र भक्तश्रेष्ठ, ऋिषी घिमिरे, शरद तिवरेवाला, शिषिर भट्ट र सुधीर मित्तल केन्द्रिय सदस्य बनेका छन् । साथै “प्रदेश परिसंघ”को गठन सातओटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक÷एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ । प्रदेश (१) मीनप्रकाश मैनाली (झापा), प्रदेश (२) नरेश दास (जनकपुर), प्रदेश (३) ऋषी घिमिरे (हेटौडा), प्रदेश (४) विनोद न्यौपाने (पोखरा), प्रदेश (५)एजाज आलम (बुटवल), प्रदेश (६) टेक बहादुर भण्डारी (सुर्खेत) र प्रदेश (७) हेम विक्रमथापा (कञ्चनपुर) रहेका छन् ।

१ अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा गत साता १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)का अनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ५८.७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.८६ अंकले बढेर अन्तिम दिन १ हजार ४०४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको ६ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ । रासस