प्राइम बैंकको लोभलाग्दो प्रगति, नाफा २८ प्रतिशत बढेर ७१ करोड ५१ लाख
काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले मंगलबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, सीडी रेसियो ७७.५० र आधार ब्याजदर १०.७६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८० पैसा छ । ६ महिनामा बैंकले कर्जाको ब्याजबाट ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै ब्याज खर्च २ अर्ब ८० करोड ४७ लाख रुपैयाँ भएको बैंकले जानकारी दिएको छ । बजारमा लगानीयोग्य पुँजीको संकट गहिरिदा पनि निक्षेप परिचालन र कर्जा लगानी विस्तार गर्न बैंक सफल भएको छ । समीक्षा अवधिमा बैंकले निक्षेप २९.१९ प्रतिशत बढाएर ७१ अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी पनि ३५.९४ प्रतिशत विस्तार भई ६२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कर्जा लगानी ४६ अर्ब ५ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । चुक्तापुँजी बढेर ८ अर्ब ३ करोड रुपैयाँ भएको छ ।
दवावपछि ४ उद्योगले सिमेन्टको भाउ घटाए, नघटाउनेलाई कार्बाही हुने
काठमाडौं । चौतर्फी दवावपछि ४ उद्योगले सिमेन्टको भाउ घटाएका छन् । उद्योगले बोरामा साढे २२ रुपैयाँसम्म सिमेन्टको भाउ घटेको छ । उद्योगले बोरामा १२० रुपैयाँसम्म भाउ बढाएका थिए । सोमबारसम्ममा सिवम सिमेन्ट उद्योग, अम्बे सिमेन्ट उद्योग, नारायणी सिमेन्ट उद्योग र सर्वोत्तम सिमेन्टले प्रतिबोरा सिमेन्टमा साढे २२ रुपैयाँसम्म मूल्य घटाएका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दिएको जानकारी अनुसार सिवम् सिमेन्टमा बोराको साढे २२ रुपैयाँ घटेको छ । विभागले अनुगमन गर्ने क्रममा लिएको सिमेन्टको मूल्यको आधारमा उक्त सिमेन्ट घटेर अहिले प्रतिबोरा ८८७ रुपैयाँ ५० पैसा भएको छ । अहिलेसम्म सबैभन्दा बढी सिवम् सिमेन्टको मूल्य घटेको छ । अम्बे सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ घटाएको छ । घटेर उक्त सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ भएको छ । त्यस्तै नारायणी र सर्वोत्तम सिमेन्टमा पनि प्रतिबोरामा १०÷१० रुपैयाँले भाउ घटेको छ । विभागका साखा अधिकृत रमेशकाजी श्रेष्ठले अहिले धमाधम उद्योगीहरुले सिमेन्टको भाउ घटाइरहेको बताए । अस्वभाविक भाउ बढाएको १३ सिमेन्टमा अनुगमन गरिएको उनले जानकारी दिए । ‘ती मध्ये ४ उद्योगले भाउ घटाइसकेको छ,’ उनले भने ‘बाँकी सिमेन्ट उद्योगहरुले पनि केही दिनभित्रै भाउ घटाउने हाम्रो विश्वास छ ।’ यदि भाउ नघटाउने उद्योगमाथि विभागले कार्बाहीको प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । पुनर्र्िनमाणको समयमा एक्कासी सिमेन्ट र रडको भाउ उद्योगी व्यवसायीहरुले बढाएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । लगत्तै आपूर्ति मन्त्रालयको निर्देशनमा विभागले सिमेन्ट तथा डण्डीको अनुगमन गरेको थियो । केही हप्ताअघि गरेको विभागको अनुगमनको क्रममा अम्बे सिमेन्टमा १६.९ प्रतिशत, शालिमार ओपिससी सिमेन्टमा १६, शिवम्मा १५.२, हेटौडामा १२.९, निर्माणमा १२.५, अग्नीमा १०.५ र मारुतीमा ६.४ प्रतिशत सिमेन्टको भाउ बढेको भेटाएको थियो । त्यस्तै डण्डीहरुमा हामाको डण्डीमा प्रतिकिलो ८.७ प्रतिशत जगदम्बामा ७ र शाखमा प्रतिकिलो ४.७ प्रतिशत बढेको भेटिएको थियो ।विभागले १५ दिनको अबधिमा ५ पटकसम्म मूल्य बृद्धि हुदा प्रतिबोरा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म भने डण्डीमा ५ देखि ९ प्रतिशत मूल्य बढेको फेला पारेको थियो ।
सानिमा लाईफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल र स्वस्तिमा खड्का
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि.ले कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा नेपालका चर्चित कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । कम्पनीले यी दुई कलाकारलाई आगामी दुई वर्षका लागी कम्पनीको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सोमबार आयोजीत एक कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी र कलाकारबीच करार पत्रमा हस्ताक्षर भएको छ । उक्त करार बमोजिम कलाकारले कम्पनीको आफ्नो लक्षित जीवन बीमाको व्यावसायिक कारोबारको लागि प्रवध्र्रनात्मक विज्ञापनहरु, तथा अन्य कार्यक्रमहरु गर्नेछन् ।
तरलता १८ अर्ब तल झरेपछि राष्ट्र बैंकले बुधबार १० अर्ब बजारमा पठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्ब भन्दा कम भएको छ । तरलता बढाउन केन्द्रीय बैंकले थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएपछि केन्द्रीय बैंकले बजारमा थप रकम पठाएर हस्तक्षेप गर्दै आएको छ । दुई साताका लागि पठाइएको रकम बैंकले आफनो आवश्यकताअनुसार उपयोग गर्न सक्ने उनको भनाई छ । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत बुधबार पैसा बजारमा पठाउन लागेको हो । रिपोको म्याद ्फागुन २ गतेसम्म रहेको छ । आइतबार बजार हस्तक्षेप गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउदा ७ बैंकहरुले ८ अर्ब ४० करोड रुपैयाँ मात्र उठाएका छन् । एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाउन लागेको हो । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।
सिटिजन्स बैंकद्धारा जेष्ठ नागरिकलाई खाना प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । बैंकले आफ्नो बार्षिकउत्सवको उपलक्ष्यमा जेष्ठ नागरिकलाई खाना प्रदान गरेको हो । बैंकले देखाएको यस अग्रसरताले जेष्ठ नागरिकको सामाजिक संरक्षण हुने कुरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले जानकारी गराएका छन् ।
रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने, १० अर्बको लगानी
काठमाडौं । सरकारले रसुवागढी-चिलिमे-गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । रसुवामा हाल रसुवागढी, साञ्जेन, रसुवा भोटेकोशी र माथिल्लो त्रिशुली-१ आयोजना निर्माणका क्रममा छन् भने लाङ्टाङ र सुपर साञ्जेनलगायत आयोजना निर्माणको तयारी गरिरहेका छन् । केरुङदेखि गल्छीसम्मको प्रसारण लाइन करिब ८२ किमी लामो हुनेछ । त्यसका लागि करिब रु १० अर्ब बराबरको लगानी हुनेछ । प्राधिकरणले यसअघि नै सो प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । अमेरिकी सहयोग मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसिसी) कार्यक्रममार्फत गल्छी-नुवाकोट रातामाटे, हेटौँडा-बुटवल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने क्रममा रहेकाले पनि रसुवागढी-त्रिशूली प्रसारण लाइन महत्वपूर्ण ठानिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशनले नेपालको प्रसारण लाइन निर्माणमा रु ५० अर्ब लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ । बृहद् प्रसारण हव बन्न लागेको सन्दर्भमा सरकारले त्रिशूली-गल्छीलाई महत्वपूर्ण प्रसारण हाइवेका रुपमा विकास गर्न लागेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेको भनाइ छ । प्राधिकरणले तयार पारेको प्रस्तावलाई ऊर्जा मन्त्रालयले परराष्ट्र हुँदै चीन पठाउने तयारी गरेको छ । प्रवक्ता घिमिरेले चीनतर्फ प्रसारण लाइन निर्माणको अध्ययन भइसकेकाले नेपालले पनि हालसम्म भएको अध्ययनका बारेमा जानकारी पठाउन लागेको हो । त्रिशूली-गल्छी प्रसारण लाइनले चीनसँग आबद्धता कायम गरेपछि नेपाल, भारत र चीनबीच प्रसारण ग्रिडसमेत एकापसमा जोडिनेछ । प्राधिकरणले न्यू बुटवल गोरखपुर अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणको प्रक्रिया यसअघि नै अगाडि बढाएको छ । रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनको प्रारम्भिक अध्ययन सकिएको र सबै प्रतिवेदन ऊर्जा मन्त्रालयमा बुझाइएको आयोजना प्रमुख कोमलनाथ आत्रेयको भनाइ छ । चीनले केरुङसम्म ५०० केभी डिसी प्रसारण लाइन निर्माण गरिसकेको छ । नेपाल र चीनबीच गत असोजमा नै ऊर्जा आदानप्रदान तथा सहयोगसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । प्रसारण लाइन निर्माणका विषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनियाँ अधिकारीबीच गत असोजमा नै छलफल भएको थियो । यसअघि रसुवागढी केरुङबीचमा मात्रै प्रसारण लाइन निर्माणको विषयमा छलफल भएको भए पनि नयाँ प्रस्तावअनुसार उक्त प्रसारण लाइन धादिङको गल्छीसम्म विस्तार गर्ने तयारी गरिएको हो । तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा नदी बेसिनको अध्ययन तथा प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । भारतसँग मात्रै जोडिएको विद्युत् प्रसारण लाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ रसुवागढी–चिलिमे–गल्छी प्रसारण लाइन निर्माण गर्न लागिएको बताइएको छ । नेपाल र चीनबीच रसुवा-केरुङ, तातोपानी-खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भइसकेको छ । तत्कालका लागि रसुवागढी नै उपयुक्त देखिएको छ भने मुस्ताङ-कोरला अर्को महत्वपूर्ण र सहज रुपमा प्रसारण लाइन निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ । त्रिदेशीय साझेदारीका रुपमा अन्तरदेशीय प्रसारण लाइन निर्माण र विस्तारमा जोड दिनुपर्ने आवाज उठ्दै आएका बेला प्राधिकरणले उक्त प्रसारण लाइनको प्रक्रिया अगाडि बढाएको हो । रसुवागढी-केरुङ राजमार्गलाई चीन सरकारले अगाडि सारेको ‘ओबिओर’ परियोजनामा राखेको त्यसम्बन्धी प्रक्रिया पनि अगाडि बढिसकेको सन्दर्भमा उक्त प्रसारण लाइनलाई पनि सोही अवधारणामा राख्नुपर्ने आवाज उठेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले रसुवागढी-चिलिमे-गल्छी प्रसारण लाइनलाई महत्व दिइएको जानकारी दिएका छन् । उनले प्रसारण लाइनलाई अन्तरदेशीय बनाउने विषयमा अध्ययन प्रतिवेदन आदानप्रदान गर्न लागिएको उल्लेख गरेका छन् । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भइसकेको सन्दर्भमा चीनसँग पनि त्यस्तै सम्झौताको तयारी गरिएको छ । त्यसका लागि पहिलो विकल्प केरुङ-गल्छी प्रसारण लाइन हुने विश्वास लिइएको छ । रासस
डिजिकमको उत्पादनमा २० प्रतिशत छुट
काठमाडौं। आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपालमा आफ्नो सेवा सञ्चालन गरेको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण प्रडक्टहरुमा उक्त छुट दिने घोषणा गरेको छ । काठमाडौंमा जारी क्यान इन्फोटेक मेलाको अबधिभर डिजिकमको स्टलमा ग्राहकहरुले सो छुट प्राप्त गर्ने कम्पनीका अध्यक्ष अरुण कुमार बन्सलले बताए । त्यस्तै कम्पनीले सोमबार जारी मेलाको आफ्नो स्टलमा वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा कम्पनीको ब्राण्डएम्बास्डर चर्चित कलाकार तथा निर्माता/निर्देशक दिपाश्री निरौलाको सहभागीता थियो । सन् १९९८ मा कम्पनीले उक्त डिजिकम ब्राण्डका सीएटीभी, अप्टिकल फाइबर केबल, नेटवर्किङ केबल लगायतका आईटी सामाग्रीहरु बिक्री गर्दै आएको छ । कम्पनीले सन् २००४ मा नेपाली बजारमा फाइबर अप्टिकल केबल भित्र्याएको बताएको छ । डिजिकमका ७ सयभन्दा बढी प्रटक्टहरु नेपली बजारमा उपलब्ध छ ।
एनसीसी बैंकको नयाँ शाखा रातोपुलमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको रातोपुलमा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नुपर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहक समक्ष विभिन्न कार्यक्रम मार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता व्यक्त गरेका छन् । नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पुर्याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै जाने छ । एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हालसम्म बैंकको ८० वटा शाखा संचालनमा रहेका छन् ।