टाटा मोटर्सको बहुप्रतिक्षित लाईफस्टाईल एसयूवी सार्वजनिक, सुरुवाती मूल्य ३२ लाख ७५ हजार
काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको साथमा टाटा मोटर्सले नेपाली बजारमा आफ्नो जेन–नेक्स्ट लाईफस्टाईल एसयूवी टाटा नेक्सन सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक समारोहको आयोजना गरि उक्त एसयूवी व्यवसायिक रुपमा सार्वजनिक गरेको हो । टाटा मोर्टसले नेपालको बढ्दो कम्प्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै आफ्नो जेन–नेकस्ट लाईफस्टाईल एसयूवी सार्वजनिक गर्न सफल भएको बताएको छ । सार्वजनिक गरिएको एसयूवी प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन भएको जनाइएको छ । कम्पनीको अनुसार पृथक स्टाईलको प्रतिनिधित्व गर्ने ग्राहकहरुको लागि उक्त उत्पादनले विश्वव्यापी र समकालीन डिजाइनका साथै सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधाहरुलाई एकै साथ ल्याएको हो । सार्वजनिक कार्यक्रममा टाटा मेटर्स इन्टरनेशनल विजनेस, प्यासेन्जर भेहिकलका बिजनेस यूनिटका हेड सुजन रोयले कम्पनीले अफ्नो उत्पादन र ब्राण्डलाई परिस्किृतका साथै ग्राहकहरुको बढ्दो आशलाई समेत समायोजन गर्दै जाने बताए । ‘टाटा नेक्सन मौलिक सोचाइमा उच्चतम चरणको परिवर्तन हो । जसले कम्पनीको गतिशिल बजारलाई थप बृद्धि गर्नेछ,’ उनले भने । त्यस्तै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जङ्गबहादुर राणाले टाटा नेक्सनको सार्वजनिकसँगै कम्पनीले व्यापारलाई ह्याचब्याक र सेडानहरुबाहेक अरु वर्गमा पनि बृद्धि गरेको बताए । ‘कमप्याक्ट एसयूवी वर्गमा यो हाम्रो पहिलो ठूलो कदम हो,’ उनले भने ‘बहुपरिचित टाटाबाट आएको यस उच्चस्तरीय उत्पादनमा हामी गर्वान्वित भएका छौं ।’ कम्पनीको अनुसार टाटा नेक्सन एरोडाइमानिक सिल्हाइटको साथ एक पृथक डिजाइन हो । यसले स्पोर्टी चरित्रलाई हाइलाइट गरी स्पोर्टी कुपनका साथ एसयूवीको कार्यक्षमता संयोजन गरेर उक्त डिजाइनमा विकास गरेको छ । चार फरक भेरियन्ट र पााच फरक रङमा ७५ हजार किमि अथवा ३ वर्षका वारेण्टीसहित टाटा नेक्सन बिहीबारदेखि बिक्रीको लागि रखिएको कम्पनीको भनाइ छ । नेपालभरका २० आधिकारिक टाटा शोरुमहरुमा उपलब्ध हुने उक्त एसयूवीको सुरुवाती मूल्य पेट्रोल भेरियन्टलाई ३२ लाख ७५ हजार रुपैया रहेको छ भने, डिजल भेरियन्टलाई ४१ लाख ५५ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।
माछापुछ्रे बैकको सि-आस्बा प्रणाली सुरु
काठमाडौं । माछापुछ्रे बैंकले सि आस्बा रजिस्ट्रेशन नम्बर लिने व्यवस्था सुरु गरेको छ । बैंकले धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिदको आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्बा प्रणाली आवश्यक हुने भएकाले यो प्रणाली सुरु गरेको हो ।बैंकले सबै शाखाहरुमा बिहिबार बाटै यो प्रणालीको सुरुवात गरेको जनाएको छ । यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदानगरिएको मेरो शेयर सेवाआफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन बैंकले अनुरोध गरेको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको प्रयोजनमा सिंह ऐरी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई प्रयोजन गरेको छ । बैंकको ११ औं बार्षिक उत्सवमा ऐरीलाई १ वर्षसम्म प्रयोजन गर्ने सहमति गरेको हो । अन्डर १९ राष्ट्रिय क्रिकेटका कप्तान समेत रहेका ऐरीले बैंकसँग १ वर्षसम्म ४ लाख रुपैंया लिने गरी सम्झौता गरेका हुन् । यसमा उनले मासिक २० हजार र बाँकी रकमको खेलकुद सामाग्री प्रदान गर्ने जनाएको छ । बैंकले आयोजना गरेका कार्यक्रममा बोल्दै बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।ो । बैंकले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई सम्मान समेत गरेको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २९ मा
काठमाडौं । नयाँ राष्ट्रपतिका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २९ गते नयाँ मिति तोकेको हो । आयोगले २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । यस्तै २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । फागुन २३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको आयोगले जनाएको छ । यस्तै उम्मेदवार विरुद्ध दावी विरोध, फिर्ता लगायतका प्रक्रिया र्पुयाएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने आयोगले जानकारी दिएको छ । निर्वाचन सकिएलगतै ४ बजेबाट मतगणना सुरु हुनेछ ।
एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको छलफलमा पार्टीले लिने मन्त्रालयको टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र र सञ्चार गरी १०, माओवादीले गृह र जलस्रोत तथा ऊर्जा गरी ६ मन्त्रालय पाउने भएको छ । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो । एमालेको भागमा अर्थ तथा योजना मन्त्रालय परराष्ट्र मन्त्रालय रक्षा मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात संघीय मामिला तथा सामान्य प्रशासन सूचना सञ्चार कानुन, न्याय संस्कृति तथा पर्यटन शिक्षा तथा खेलकुद स्वास्थ्य तथा जनसंख्या माओवादीको भागमा गृह मन्त्रालय जलस्रोत तथा ऊर्जा उद्योग, वाणिज्य तथा आपूर्ति शहरी विकास, आवास खानेपानी तथा सरसफाइ वन तथा वातावरण कृषि, सहकारी तथा भूमि व्यवस्थापन श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय छन् ।
छिटो विद्युत खरिद सम्झौता गर्न सौर्य ऊर्जा उद्यमीको माग
काठमाडौं । ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजनाले विद्युत प्रधिकरणसँग छिटो विद्युत खरिद सम्झौता गर्न माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजनाले सोलार विद्युत खरिद गर्न सहमति भएपनि कार्यन्वयन नगरेपछि प्राधिकरणलाई दवाब दिएको हो । यसमा प्रति युनिट विद्युतको रु ९.६१ रुपैया तोकिएको थियो । सबै प्रक्रिया सकिए पनि पछिल्लो समय विद्युत महसुल महंगो हुने भन्दै प्रधिकरणले सम्झौता गर्न आलटाल गरेको परियोजनाका संयोजक गुरुप्रसाद न्यौपनेले बताए । ‘२१ वटा कम्पनीको फाइल कुलमान घिसिङको टेबलमा रहेको छ । फाइल पास गर्ने कि फेल गर्ने अधिकार घिसिङसँगै छ तर यो फाइल किन अघि बढ्दैन ?’ न्यौपानेले प्रश्न गरे । यता उर्जा मन्त्रालयले पुन २०७४ मंसिर ६ गते कार्यविधि निर्माण गर्दै प्रतियुनिट सोलार विद्युतको मूल्य ७.३० रुपैया तोकेपछि टेन्डर प्रक्रिया अन्यौलमा परेको हो । आयोजनाले जग्गा समेत किनिसकेको अवस्थामा प्राधिकरणको आलटालले थप समस्या उब्जिएको आयोजनाले जनाएको छ ।
पर्यटन बोर्डको तत्कालिन कामु सीईओ सुवास निरौला भ्रष्टचारी ठहर, ७ वर्ष जेल सजाय साढे ८० लाख बिगो
काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालिन कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई दोषी ठहर गरेको छ । २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ । अदालतले निरौलालाई ७ वर्ष कैद, ८० लाख ५१ हजार बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, दासलाई ६ वर्ष कैद, ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार जरिवार गरेको छ । यस्तै खनाललाई १ लाख ५४ हजार बिगो तिराउने फैसला गरेको छ । विशेषका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासल बिहीबार फैसला सुनाएको हो । बोर्डमा १ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते निरौला, दाश र खनाललगायत २३ जना विरुद्ध मुद्दा दायर गरेको थियो । बोर्डका पदाधिकारी र कर्मचारीहरुले १ अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० रुपैयाँ नोक्सान पुर्याएको अख्तियारको आरोप थियो । दाश बोर्डका लेखाशाखा प्रमुख हुन भने खनाल वल्डवाइड ट्राभल्सका सञ्चालक हुन् ।
लघुवित्त संस्थाहरुको नियमनका लागि छुट्टै नियमनकारी निकायको आवश्यकता
काठमाडौं । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरुको नियमनका लागि छुट्टै नियमनकारी निकायको आवश्यकता रहेको बताए । हाल नेपालमा लघुवित्त संस्थाहरुको स्थापना हुने क्रम बढेका कारण पनि यसमा विभिन्न विकृतिहरु देखा पर्न थालेकोले अब लघुवित्त संस्थालाई अनुमति दिन स्थगत गर्नुपर्ने र लघुवित्त संस्थाहरुको नियमनका लागि त्यस्तो नियमकारी निकाय आवश्यक रहेको उनको भनाइ थियो । राजधानीमा बिहीबारदेखि उक्त केन्द्रले आयोजनाको आयोजनामा सुरु भएको दुई दिने लघुवित्त सम्बन्धी गोष्ठीमा उनले उक्त बिजार राखेका थिए । गोष्ठीको उद्घाटन क्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय सेवा विस्तारमा लघुवित्त संस्थाहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । लघुवित्तको माध्यमबाट ग्रामीण अर्थतन्त्रको मुहार फेरिएको र लघुउद्यम विकासमा महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । शुक्रबारसम्म चल्ने उक्त गोष्ठिमा लघुवित्त क्षेत्रको सबलीकरणका लागि मार्गचित्र तय गर्न लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरुको सहभागिता रहेका छन् । गोष्ठीमा पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका २२ वटा लघुवित्त संस्थाका ४० जना संचालक समितिका अध्यक्ष तथा संचालक तथा लघुवित्त विज्ञहरुको सहभागीता रहेको जनाइएको छ ।