अर्थमन्त्री डा. खतिवडाले भने-लगानी योग्य पुँजी अभावबारे केन्द्रिय बैंकसँग कुरा गर्छु
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योेग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् । डा. खतिवडालाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग कुरा गर्दै अर्थमन्त्रीले भने–लगानी योग्य पुँजीको अभावबारे म पुर्ण जानकार छु, यसबारेमा केन्द्रिय बैंकसँग कुरा गर्छु । डा. खतिवडाले लगानी योग्य पुँजी अभावको समस्याले आफुलाई नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म नछोडेको पनि बताए । ‘लगानी योग्य पुँजी अभावको समस्याले मलाई अर्थमन्त्रालयसम्म पछ्याईरहेको छ, गभर्नर हुँदा पनि यस्तै समस्या आएको थियो र मैले त्यसको समाधान गरेको थिएँ’, डा. खतिवडाले भने । उनै खतिवडाले गभर्नर हुँदा घर जग्गा कारोबारमा गरिएको अनधिकृत लगानीलाई रोकेर अर्थतन्त्रलाई जोखिमबाट जोगाएका थिए । अर्थमन्त्री खतिवडालाई नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधानमा ठोस कदम चाल्न अनुरोध गरेका थिए । त्यस्तै महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बैंकहरु नाफको पछि दौडेकाले लगानी योग्य पुँजीको अभाव भएको बताएका थिए । ‘सुर्यका अगाडी के बत्ति बालौं र ? तर पनि बैंकहरुले नाफा मात्रै हेर्दा हामी उद्योगीले ऋण पाउनै छाड्यौं, लगानी योग्य पुँजीको अभावबारे केहि कदम चालिओस’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने । महासंघका कोषाध्यष ज्ञानेन्द्र लाल प्रधानले पनि लगानी योग्य पुँजीको अभावले जल विद्युत आयोजनाहरुका लागि लगानी जुटाउन नसकिएकोले गाँठो फुकाइदिन अनुरोध गरेका थिए । पुस मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन एक खर्ब ६० अर्ब १६ करोेडले थियो भने कर्जा लगानी २ खर्ब २२ अर्ब ६२ करोडले बढेको थियो । सो अवधीमा बैंकहरुको निक्षेप संकलन दर जम्मा १३.७ प्रतिशतले बढेको थियो । तर बैंकहरुले कर्जा लगानी भने १७.२ प्रतिशत बढाएका थिए । बैंकहरुले निक्षेपको वृद्धिदर भन्दा कर्जा लगानी बढि गरेपछि बैंकहरु थप लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यतिबेला अधिकांश बैंकहरुको सिडी रेसियो ७८ प्रतिशत नाघिसकेको छ । हाल वित्तिय क्षेत्रमा २५ अर्बको तरलता रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन खोल्यो तीन वटा शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीव वटा शाखा विस्तार गरेको छ । यी ३ शाखा सहित अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रिया सहित) पुगेको छ । पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५औं र ६६औं शाखा विस्तार गरेको हो । पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा यस बैंकको ५ वटा शाखा पुगेको छ । त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा बैंकको ४ वटा शाखा पुगेको छ । यसैगरी, भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा यस बैंकको ८ वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि मंगलबारको सेयर बजारले स्वागत गरेको धितोपत्र बजारका विज्ञहरुले बताएका छन् । मंगलबारको परिसूचक ५.८६ अंकले उकालो लागेर १३६४.८१ अंकमा पुगेको छ । बजारमा ५५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४४ लाख रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ५५ करोड २४ लाखको सेयर किनबेच भएको थियो । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९० रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ करोड १८ लाखको सेयर किनबेच भएको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका ५ वटा समूहको परिसूचक हरिया भएका छन् भने बाँकी ४ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३१ अंकले उकालो लागेको छ । सो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले करिब ५.४७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.००९ प्रतिशतले घटेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको १९औं शाखा मोरङको विराटचोकमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १९ औं शाखा मोरङ जिल्लाको विराटचोकमा स्थापना गरी उद्घाटन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन मंगलबारका दिन सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र यस बैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका छन् । बैंकले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । हाल बैंकले विभिन्न २२ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका थप केहि ठाउँहरुमा शाखा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ ।
शंकर ग्रुप र स्टार लिंगर एण्ड कम्पनीद्धारा दक्षिण एशियाकै ठुलो सम्मेलन सम्पन्न
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रा.लि.ले आफ्नो प्राबिधिक स्टार लिंगर एण्ड कम्पनीसंग मिलेर एड स्टार लेमिनेटेड ब्याग्स एंड सिमेन्ट प्याकेजिङ्ग सम्बन्धि दक्षिण एशियाकै सबैभन्दा ठुलो सम्मेलन आयोजना गरी सम्पन्न गरेकाे छ । उक्त प्रविधि सेकेण्ड जेनेरेसन ब्याग्सको रुपमा प्रतिष्ठित रहेका छ जसलाई सन् २०१२ देखि जगदम्बा सेन्थेटिक्सले नेपाली बजारमा ल्याएको हो साथै उक्त प्रविधिको पहिलो ग्राहक जगदम्बा सिमेन्ट रहेको थियो। सिमेन्ट कम्पनीहरुले प्रयोग गर्र्दै आएका साधारण प्याकेजिङ्गमा विभिन्न समस्याहरु रहेका थिए । सिमेन्ट चुहिने, बढि धुलोहरु उड्ने, कामदारहरुलाई स्वास्थ्यमा प्रतिकुल असर पर्ने, चांग लगाउन गाह्रो हुने, लोड अनलोड गर्न गाह्रो हुनुका साथै ३ देखि ४ किलो कम हुने गर्दथ्यो । एड स्टार ब्याग प्रयोग पछि यी सबै समस्याहरु स्वत समाधान हुनुको साथै ५० के जी तौल भएका सिमेन्टमा शत प्रतिशत तौल ग्यारेन्टी रहने गर्दछ । उक्त ब्याग प्रयोगबाट धुलो नउड्ने, चिसो तथा पानी नछिर्ने, वातावरण मैत्री र पुन प्रयोग गर्न सकिने जस्ता फाइदाहरु लिन सकिन्छ । उत्कृष्ट प्रविधि बाट उत्पादित एड स्टार ब्यागको टिकाउपन ३ देखि ४ महिना रहने गरेको छ जबकि सामान्य ब्याग मुश्किलले ३ महिना मात्र टिक्ने गरेको छ । नेपाली सिमेन्ट उद्योगका ठुला कम्पनीहरु जगदम्बा सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र भारतका विरला, नुभोको र ए.सी.सी. सिमेन्टले पनि एड स्टार ब्याग प्रयोग गर्दै आएको र आफुहरु पुर्ण रुपमा सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् । अस्ट्रिया, इटाली, भारत, बंगलादेश र चिनबाट आएका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा प्रमुख अतिथि इण्डियन आयलका निर्देशक ए के झा ले दिप प्रज्वलन गरि औपचारिक रुपमा कार्यक्रमको उत्घाटन गरेका थिए । शंकर गु्रपका उपाधक्ष्य सुलभ अग्रवाल, स्टारलिंगर एण्ड को. का लिण्डर ह्मर, नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी र जगदम्बा सिमेन्टका प्रमुख राजेश अग्रवालको सहभागिता रहेको थियो । हायात रिजेन्सी होटलको बल रुममा आयोजित उक्त सम्मेलनमा बोल्दै इण्डियण आयलका निर्देशक ए के झा, स्टारलिंगर एण्ड कम्पनीका आरनल्ड सिलिप र नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी लगाएतले पुराना प्रविधिका ब्याग भन्दा एड स्टार ब्याग को प्रयोगले धुलो नियन्त्रण गर्ने, पुन प्रयोग गर्न सकिने र पुर्ण तौल रहने जस्ता महत्वपुर्ण विशेषता रहेको हुँदा उक्त प्रविधिको ब्याग प्रयोग गरि सन्तुष्ट रहन सकिने कुरामा जोड दिए ।
सानिमा बैंकले एकैसाथ खोल्यो ७ नयाँ शाखा
काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैसाथ ७ नयाँ शाखाहरु खोलेको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखाको उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, तान्सेन शाखाको उद्घाटन ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी)तथा संचालक भरतबहादुर थापाले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका संचालक भरतबहादुर थापाले ग्राहकवर्गको थप सेवा तथा सुविधाकालागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । साथै, उनले थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सवारी दुर्घटनाबाट छ महिनामा १०५ को मृत्यु, ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो
काठमाडौं । काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३, आव २०७२/७३ मा १६६ र आव २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । “दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ”, उनी भन्छन् । महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । ट्राफिक व्यवस्थापनका सहकार्यको खाँचो महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । महाशाखाले गत माघ १७ देखि १९ सम्म चितवनको टाँडीमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको हो । कार्यक्रममा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यातायात क्षेत्रको व्यवस्थापनका लागि व्यवसायीको ट्राफिक प्रहरीसँग सहकार्य आवश्यक रहेको बताएका छन्। “यातायात क्षेत्रको व्यवस्थापनका लागि हामी सबै एक ठाउँमा उभिनु जरुरी छ”, उनले भने । ट्राफिक र व्यवसायीको उद्देश्य राष्ट्र निर्माणका लागि भएकाले एकापसमा मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । महासंघका नवनिर्वाचित अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले नेपालको ट्राफिक क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीको साथ र सहयोग रहने बताएका छन् । महासंघका महासचिव सरोज सिटौलाले काठमाडौंं उपत्यकामा सवारी साधनको अत्यधिक चाप रहेको भन्दै यसको व्यवस्थापनका लागि महासंघले ट्राफिक प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पारेका छन् । रासस
कतार एयरवेजले अष्ट्रेलियाको क्यानवेरामा उडान शुरु गर्ने, बी७७७ विमानमार्फत दैनिक सेवा
काठमाडौं । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्तार योजनातथा अष्ट्रेलियामा थप यात्रु ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट व्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे । ‘अष्ट्रेलियामा हाम्रो पाँचौ गणतव्यका रुपमा क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने । क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रति हप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७विमानमार्फत क्यानबेराकालागि दैनिक उडान सेवा उपलब्ध गराउने छ । बी७७७द्धारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । दोहा-क्यानबेरा उडान तालिका दैनिक दोहादेखि सिड्नी क्यूआर छुट्ने-७ः५५ पुग्ने-६ः२५+१ सिड्नीदेखि क्यानबेरा क्यूआर९०६ छुट्ने- ७ः२५ पुग्ने- ८ः३५ क्यानबेरादेखि सिड्नीक्यूआर९०७ छुट्ने-१३ः४५ पुग्ने – १४ः४५ सिड्नीदेखि दोहाक्यूआर९०७ छुट्ने – १५ः५५ पुग्ने- २३ः३०