उद्योगमन्त्री यादवले निजी क्षेत्रलाई भने– समस्या ल्याउनुस म तुरुन्त समधान गर्छु
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रका सबै समस्या समधान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्योगी व्यवसायी प्रतिनिधिमण्डलसंगको मंगलबार भएको भेटमा निजी क्षेत्रका समस्या तत्काल समधान गर्ने बताएका हुन । “समस्या के हुन ? कहाँ समस्या छन ? सबै लिखित रुपमा लिएर आउनुस म सबै समधान गर्ने छु” उनले भने “अब उद्योगी व्यवसायीको समस्या रहदैनन् ।” आफु प्राविधिक नभएको भन्दै उनले उद्योग क्षेत्रको विकासका लागि रचनात्मक सुझाव दिन व्यवसायीलाई अनुरोध गरेका थिए । व्यवसायीले मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा योगदान १५ बाट घटेर ५ प्रतिशतमा सीमित भएकाले यसलाई बढाउनका लागि सहयोग गर्न अनुरोध गरेका थिए । उद्योगले दिने सुविधा अर्थ मन्त्रालयलले रोक्ने गरेको भन्दै व्यवसायीले अन्तर मन्त्रालय समन्वय गर्न मन्त्री यादवको ध्यानकर्षण गराएका थिए ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबाट सी-आस्वा सेवा प्रदान
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अनलाइन मार्फत धितोपत्र लगानी गर्न सकिने सी-आस्वा सेवा प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशन गर्दा अनिवार्य रुपमा सी-आस्वा प्रणालीमार्फत सेयर आवेदन गराउने व्यवस्था गरेसँगै ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले उक्त सेवा शुरु गरेको हो । यो व्यवस्था लागू गरेपछि सार्वजनिक निष्काशनको दरखास्त संकलन गर्ने कार्य व्यवस्थित र सहज हुने छ भने यसबाट सेवाग्राहीलाई सार्वजनिक निष्काशन हुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी सेवा दिन सकिने छ । हाल सञ्चालनमा रहेका ३२ वटै शाखा कार्यालय बाट सी-आस्वा रजिष्ट्रेशन फारम भरी रजिष्ट्रेशन नम्बर प्राप्त गर्न सकिने बैंकले जनाएकोे छ ।
केएल टावरमा बाइ वान गेट वान फ्रिसँगै सुरुभयो मोबाइल एक्सचेञ्ज अफर
काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेञ्ज अफर सुरु गरेको हो । मोबाइल हबले अहिले सञ्चालन गरिरहेको मोबाइल मेलाको अवधि एक साता थपेको जनाएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मूल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल हबमा उपलब्ध कुनै पनि ब्राण्डका मोबाइलसँग ग्राहकले आफ्नो पुरानो मोबाइल साट्न सक्ने उनले बताए । मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा किन्न पाइने उनको भनाइ छ । मेला अवधिमा गल्फ खेलेर, फोटो कन्टेस्टमा सहभागी भएर समेत ग्राहकहरुले आईफोन, ओप्पो एफ ५, भिभोको भि ७ लगायतका मोबाइल सित्तैंमा जित्न सक्ने जनाइएको छ ।
३ हजार नेपालीले रक्तदान गरेर राख्दैछन् विश्व रेकर्ड
काठमाडौं । विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज विश्व रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो । काठमाडौंको टुडिँखेलमा आयोजना गरिने उक्त रक्तदान कार्यक्रमले नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले विश्वास लिएका छन् । लायन्स क्लब काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि उक्त कार्यक्रम गर्न लागेको जनाए । ‘हामीले यो कार्यक्रम फागुन २४ गते राजधानीको टुडिँखेलमा आयोजना गर्दैछौँ, उनले कार्यक्रममा भने ‘करिब ३ हजार रक्तदाताहरुको उपस्थिति हुने हाम्रो अपेक्षा छ ।’ कार्यक्रममा १८ वर्ष पुगेका देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्नसक्ने उनको भनाइ छ । त्यस्तै उक्त रक्तदान कार्यक्रमका संयोजक हुकमराज लुईटेलले नेपाल र नेपालीको शरीरलाई विश्वसामु फेरि एकपटक उठाउनको लागि उक्त रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको बताए । कार्यक्रममा नेपालका सामाजिक संघ–संस्थाहरुको सहभागीता रहने उनको भनाइ छ । कार्यक्रममा ग्रीन सिटी अस्पतालका निर्देशक एलबी टन्डनले ‘रक्तदान जीवन दान’ भएको भन्दै सबैलाई कार्यक्रममा भाग लिन आग्रह गरेका छन् ।
२९ हजार मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा
काठमाडौं । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । कूल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेका छन् । आयोगले नदी बेसिनका आधारमा जलविद्युत्को क्षमता मापन गरेको हो । पूर्ण प्रतिवेदन आउन अझै केही समय लाग्ने बताइएको छ । ऊर्जा मन्त्रालय मातहतकै विद्युत् विकास विभागले १३ हजार ९५० मेगावाट क्षमताको विभिन्न आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागले चार हजार ४३० मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ । उत्पादन अनुमति दिइएका अधिकांश आयोजनामा निजी क्षेत्रको लगानी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार अझै पाँच हजार मेगावाट क्षमताका आयोजना उत्पादन अनुमति लिने तयारीमा छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए)का लागिसमेत प्रतीक्षामा रहेका ती आयोजना सहज वातावरण बन्नेबित्तिकै निर्माणमा जाने तयारीमा रहेका छन् । यस्तै सरकारको बास्केट फण्डमा तीन हजार २४० मेगावाट क्षमताका आयोजना छन् । ती आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा निजी ऊर्जा उद्यमीलाई निर्माणका लागि दिने गरेको छ । सरकारले अध्ययन गरेका आयोजनाको क्षमता एक हजार २९४ मेगावाट रहेको छ भने अध्ययन जारी राखेको आयोजनाको क्षमता पाँच हजार ९०९ मेगावाट छ । यी सबै आयोजनाको क्षमता २८ हजार ८२३ मेगावाट रहेको छ । सरकारले आगामी १० वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा अध्ययन हुन बाँकी रहेका आयोजनाको तत्काल अध्ययन गरेर निर्माणका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नदी बेसिनका आधारमा अध्ययन सरकारले विभिन्न नौवटा नदी बेसिनका आधारमा जलविद्युत् आयोजनाको क्षमता मापन गरेको छ । कमला, कन्काई, कोशी, वाग्मती, गण्डकी, राप्ती, बबई, कर्णाली र महाकाली नदी बेसिनलाई जलविद्युत् आयोजनाको क्षमताको उपलब्धताको हिसाबले अध्ययन गरिएको हो । ऊर्जा मन्त्रालयका अनुसार महाकाली नदी बेसिनमा छ हजार मेगावाट, कर्णाली, बबई र राप्ती नदी बेसिनमा २५ हजार मेगावाट, वाग्मती र गण्डकी नदी बेसिनमा २५ हजार मेगावाट तथा कोशी, कन्काई र कमला नदी बेसिनमा २५ हजार मेगावाट क्षमताका आयोजना रहेका छन् । प्रदेश नं ७ जलविद्युत्मा धनी संविधानप्रदत्त संघीय नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नं ७ जलविद्युत्मा सबैभन्दा धनी छ । उक्त प्रदेशको विद्युत् उत्पादन क्षमता १८ हजार १४९ मेगावाट रहेको छ । देशको कूल जलविद्युत् क्षमतामध्ये २५ प्रतिशत प्रदेश नं ७ मा छ । यस्तै, प्रदेश नं २ को सबैभन्दा कम २०० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । जलविद्युत् क्षमताका हिसाबले प्रदेश नं १ को १२ हजार ९५३ मेगावाट, प्रदेश नं ३ को १२ हजार ६३१, प्रदेश नं ४ को १० हजार २२८, प्रदेश नं ५ को १४ हजार ३० तथा प्रदेश नं ६ को ११ हजार ८०३ मेगावाट उत्पादन क्षमता रहेको छ । प्रदेश नं ४ अगाडि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रदेश नं १ मा हालसम्म दुई हजार १३२ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । विद्युत् खरिद सम्झौता भएका आयोजनाको हकमा प्रदेश नं ४ अग्रस्थानमा छ । सो प्रदेशको तीन हजार ३७३ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं ३ मा दुई हजार ८६१ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं २ मा १८ मेगावाट क्षमताको एउटामात्रै आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं ५ मा ३६ मेगावाट, प्रदेश नं ६ मा ६४२ मेगावाट तथा प्रदेश नं ७ मा २४८ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । रासस
एशियन लाईफ इन्स्योरेन्सको जुम्ला उपशाखा शाखामा परिणत
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जुम्ला उपशाखा शाखामा परिणत(स्तरोन्नती) भएको छ । बैंकले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले उक्त उपशाखालाई २६औं शाखाको रुपमा परिणत गरी मंगलबारदेखि संचालनमा ल्याएको छ । यस कम्पनीले २६ वटा शाखा र ६९ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजना लगायत १७ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै, ग्राहकलाई ध्यानमा राखी भविष्यमा अन्य योजनाहरु समेत ल्याउने यस कम्पनीको योजना रहेको छ ।
अर्थमन्त्री डा. खतिवडाले भने-लगानी योग्य पुँजी अभावबारे केन्द्रिय बैंकसँग कुरा गर्छु
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योेग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् । डा. खतिवडालाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग कुरा गर्दै अर्थमन्त्रीले भने–लगानी योग्य पुँजीको अभावबारे म पुर्ण जानकार छु, यसबारेमा केन्द्रिय बैंकसँग कुरा गर्छु । डा. खतिवडाले लगानी योग्य पुँजी अभावको समस्याले आफुलाई नेपाल राष्ट्र बैंकदेखि अर्थमन्त्रालयसम्म नछोडेको पनि बताए । ‘लगानी योग्य पुँजी अभावको समस्याले मलाई अर्थमन्त्रालयसम्म पछ्याईरहेको छ, गभर्नर हुँदा पनि यस्तै समस्या आएको थियो र मैले त्यसको समाधान गरेको थिएँ’, डा. खतिवडाले भने । उनै खतिवडाले गभर्नर हुँदा घर जग्गा कारोबारमा गरिएको अनधिकृत लगानीलाई रोकेर अर्थतन्त्रलाई जोखिमबाट जोगाएका थिए । अर्थमन्त्री खतिवडालाई नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधानमा ठोस कदम चाल्न अनुरोध गरेका थिए । त्यस्तै महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि बैंकहरु नाफको पछि दौडेकाले लगानी योग्य पुँजीको अभाव भएको बताएका थिए । ‘सुर्यका अगाडी के बत्ति बालौं र ? तर पनि बैंकहरुले नाफा मात्रै हेर्दा हामी उद्योगीले ऋण पाउनै छाड्यौं, लगानी योग्य पुँजीको अभावबारे केहि कदम चालिओस’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने । महासंघका कोषाध्यष ज्ञानेन्द्र लाल प्रधानले पनि लगानी योग्य पुँजीको अभावले जल विद्युत आयोजनाहरुका लागि लगानी जुटाउन नसकिएकोले गाँठो फुकाइदिन अनुरोध गरेका थिए । पुस मसान्तसम्ममा बैंकहरुको निक्षेप संकलन एक खर्ब ६० अर्ब १६ करोेडले थियो भने कर्जा लगानी २ खर्ब २२ अर्ब ६२ करोडले बढेको थियो । सो अवधीमा बैंकहरुको निक्षेप संकलन दर जम्मा १३.७ प्रतिशतले बढेको थियो । तर बैंकहरुले कर्जा लगानी भने १७.२ प्रतिशत बढाएका थिए । बैंकहरुले निक्षेपको वृद्धिदर भन्दा कर्जा लगानी बढि गरेपछि बैंकहरु थप लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यतिबेला अधिकांश बैंकहरुको सिडी रेसियो ७८ प्रतिशत नाघिसकेको छ । हाल वित्तिय क्षेत्रमा २५ अर्बको तरलता रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन खोल्यो तीन वटा शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीव वटा शाखा विस्तार गरेको छ । यी ३ शाखा सहित अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रिया सहित) पुगेको छ । पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५औं र ६६औं शाखा विस्तार गरेको हो । पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा यस बैंकको ५ वटा शाखा पुगेको छ । त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा बैंकको ४ वटा शाखा पुगेको छ । यसैगरी, भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा यस बैंकको ८ वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ ।