विकासन्युज

माथिल्लो तामाकोसीको १० प्रतिशत स्थानीय सेयर न्यायोचित वितरण गर्न माग

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयवासीलाई वितरण गर्ने १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित गाउँपालिकाले खोजेका छन् । स्थानीयवासीका रूपमा सिङ्गो दोलखालीलाई नै वितरण गर्न लागिएको सेयरबाट आयोजना निर्माण भइरहेको र पानीको मुहान रहेको गाउँपालिकाका स्थानीय विभेदमा परेको भन्दै जिल्लाको उत्तरी दुई गाउँपालिका बिगु र गौरीशंकरका स्थानीयले आयोजना र स्थानीय जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन् । ४५६ मेगावाटको सो आयोजना बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधिन छ भने पानीको मुहान गौरीशंकर गाउँपालिकाको समेतको छ । आफ्नो गाउँपालिकाको स्रोत उपभोगमा गाउँपालिकाकै स्थानीय अतिप्रभावित, प्रभावित र सामान्य गरी तीन श्रेणीमा विभाजित गरी सेयर वितरण गर्न लागिएको भन्दै स्थानीयले यो वितरण प्रणालीको विरोध गरेका छन् । आयोजनाले भने राज्यको पुरानो संरचनाअनुसार सेयर प्राप्त गर्ने स्थानीयको वर्गीकरण गर्दै ‘क’, ‘ख’ र ‘ग’ श्रेणी निर्धारण गरेको छ । तत्कालिन समयमा पुरानोे राज्य संरचनाअनुसार उक्त आयोजना प्रभावित क्षेत्रलाई तीन वर्गमा विभाजित गरी दश प्रतिशत सेयर लगानीको व्यवस्था गरिएको हो । जसअनुसार आयोजनको मुहान र सम्पूर्ण संरचना बन्ने गाविसलाई अतिप्रभावित ‘क’ वर्ग, प्रवेश मार्ग र प्रशारण लाईनले छोएका साविकका गाविसलाई ‘ख’ वर्ग र बाँकीलाई ‘ग’ वर्गमा विभाजित गरिएको छ । सम्बन्धित जनप्रतिनिधिले आयोजना समेतलाई दबाब सिर्जना गराउन र संविधानप्रदत्त अधिकार प्राप्त गर्न दुई गाउँपालिकाका स्थानीय एकजुट बनेका छन् । उनीहरूले बुधबार एक प्रेस नोट जारी गर्दै कार्यान्वयनमा आईसकेको नयाँ संविधानमा व्यवस्था गरिएअनुसार सेयर वितरण हुनुपर्ने माग जोडदारका साथ उठाएका छन् । विगु गाउँपालिका माथिल्लो तामाकोशी सरोकार समितिको तर्फबाट संयोजक पासाङ शेर्पाद्वारा हस्ताक्षरित सो प्रेस नोटमा संविधानप्रदत्त अधिकार प्राप्तीका लागि गाउँपालिकाका जनताहरू जस्तोसुकै कदम चाल्न पनि तयार हुने तर्क गर्दै लेखिएका छ ।  

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा गोविन्दलाल संघाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गोविन्दलाल संघाई नियुक्त भएका छन् । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघाईलाई इन्स्योरेन्सको अध्यक्षमा नियुक्त गराएको हो । संघाई यस अघि सोही कम्पनीको संस्थापक समूहतर्फको सञ्चालकको पदमा थिए । साथै, कम्पनीको सोहि दिनको बैठकले पूर्व अध्यक्ष रमेश गुप्ताको राजीनामा स्वीकृत गरेको छ ।

मदिराको बजारीकरण गर्ने सलमान खानको कन्सर्ट रद्द, प्रतिव्यक्ति रू २०००० मा बेचिएको टिकट के हुन्छ ?

काठमाडौं । नेपालमा मदिराको बजारीकरण गर्न आउन लागेको भारतीय अभिनेता सलमान खानको कार्यक्रम रद्द भएको छ । नेपालमा मदिरा उत्पादन गर्दै आएको गोर्खा ब्रुअरी कम्पनीले फागुन २६ गते आयोजना गर्न लागेको आयोजनामा कन्सर्टमा सलमान खान आउने तयारी थियो । ओडीसी इन्टरनेसनले नेपालमा हुन लागेको ‘दबंग द टुर’ रद्द गरिएको जनाएको छ । खानसँग भारतीय कलाकारहरू शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । कानुनी र सामाजिक रुपमा नकारात्मक सूचिमा रहेको मदिराको सार्वजनिक स्थानमा विदेशी कलाकार ल्याएर बजारीकरण गर्ने र नेपालमा सास्कृतिक अतिक्रमण गर्ने प्रयास भएको भन्दै चौथर्फी आलोचना भएको थियो । काठमाडौंको टुडिखेलमा रक्सीको प्रमोशन गर्न गोर्खा ब्रुअरीले प्रतिव्यक्ति २० हजार रुपैयाँसम्मको टिकट बेच्दै आएको छ । कम्पनीले विगत एक महिनाअघि देखि एक बोटल रक्सी सित्तैमा खुवाउने र सलमानसँग नचाउने भन्दै सर्वसाधारणलाई २० हजार रुपैयाँको टिकट बिक्री गर्दै आएको थियो । कम्पनीले खानलार्इ मात्र ११ कराेड रूपैयाँ भुक्तानी  दिने सम्झाैता गरेकाे  थियाे । अन्य कलाकारलार्इ पनि कराेडाै भुक्तानी दिनु पर्ने जनाउँदै कम्पनीले नेपाली सर्बसाधारणसँग प्रति व्यक्ति १००० देखि २०००० रूपैयाँकाे  टिकट  बिक्री गरि उठाएकाे थियाे ।

पाकिस्तानीका प्रधानमन्त्री नेपाल आउदै

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् । अब्बासी सोमबार नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी २ दिन नेपालमा रहने छन् । अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्ने कार्यक्रम रहेको छ ।  

मजदूर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता आयो: उद्योगी

नगरकोट । भक्तपुरका उद्योगी व्यवसायीले मजदूर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको बधाई ज्ञापन कार्यक्रममा उद्योगी व्यवसायीले मजदूर समस्याले गर्दा वर्षौंदेखि गर्दै आएको उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् । मजदूर समस्याले घरेलु तथा साना उद्योग झन ठूलो समस्यामा रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान गर्न सम्पूर्ण उद्योगी व्यवसायी एकजुट भई अघि बढ्नुपर्ने बताए । उनले देशका उद्योग व्यवसायमा मजदूर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहित गर्नुपर्ने माग गरे । त्यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले संघले विभिन्न तालीम दिए पनि युवा उद्योग व्यवसायमा काम गर्न उत्साहित नदेखिएकोले समस्य बढ्दै गएको बताए । विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको २७ औँ र महिला उद्यमी समितिको २५ औँ वार्षिक साधारणसभाको सिहावलोकन समेत गरिएको थियो ।-रासस

अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालबीच घोचपेचको द्वन्द्व र सम्भावित परिणाम

काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडाको नियुक्तीसँगै उनी र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालबीचको सम्बन्ध र सम्भावित परिणामलाई लिएर धेरै अड्कलबाजी भईरहेका छन् । सरकार परिवर्तन भएको र राजनीतिक पृष्ठभूमि फरक भएकाले गभर्नरलाई अर्थमन्त्रीसहित सरकारबाट असहयोग हुन सक्ने, अथमन्त्री र गभर्नर नेपालबीच व्यक्तिगत इगोले द्वन्द्व निम्त्याउन सक्ने र गभर्नर नेपालले राजीनामा समेत दिन सक्ने आशंका व्यक्त हुन थालेका छन् । चिरञ्जीवि नेपाल गभर्नर भएपछि अहिलेसम्म खतिवडा र नेपालबीचको सार्वजनिक रुपमा नै घोचपेच पूर्ण अभिव्यक्तिहरु आईरहेकोले अवका दिनमा अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध सहज नदेखिएको बताउँछन् पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री । डा नेपाल गभर्नर भएपछि राष्ट्र बैंकको भूमिका बारे खतिवडाबाहेक सबै पूर्व गभर्नरहरु मौन बसे तर खतिवडाले ‘आलोचक स्तम्भकार’ शैलीमा राष्ट्र बैंक र गभर्नर नेपालको भूमिकाको निरन्तर आलोचना गर्दै आएका छन् । र, गभर्नर नेपालले पनि पूर्व गभर्नर खतिवडालाई सार्वजनिक रुपमा घुमाउरो जवाफ दिदै आएका छन् । ‘चिरञ्जीवि नेपाल गभर्नर भएपछि अहिलेसम्म खतिवडा र नेपालबीचको सार्वजनिक रुपमा नै घोचपेच पूर्ण अभिव्यक्तिहरु आईरहेकोले अवका दिनमा अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध सहज देखिदैन ।’ -दिपेन्द्रबहादुर क्षेत्री ‘मैले बाहेक अरुले जानेको छैन’ भन्ने खतिवडाको दम्भ र दवाव थेगेर काम गर्न नसक्ने डा नेपालको स्वभावका कारण उनीहरुबीचको समन्वय र सहकार्यको सजिलो नभएको क्षेत्रीको बुझाइ छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले भेट नदिएपछि आक्रोशित हुँदै नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट डा चिरञ्जीवि नेपालले राजीनामा दिएका थिए । ‘पहिला जस्तै खतिवडाले नेपाललाई भेट नदिन सक्छन्, नेपालले झोक्किएर राजीनामा दिन पनि सक्छन्’ क्षेत्रीको विश्लेषण छ । ‘तर एक महिनामा १० दिन नेपाल बस्ने, २० दिन विदेश घुमेर मोजमस्तीमा रमाएका गभर्नर नेपाल संयमित भएर अडिन पनि सक्छन्’ क्षेत्री भन्छन्–‘त्यो अवस्थामा सरकारले गभर्नरलाई हटाउन सक्दैन ।’ तर तत्कालिन गभर्नर खतिवडा र वर्तमान गभर्नर नेपाल दुबैसँग राष्ट्र बैंक सञ्चालक समितिमा रहेर काम गरेका पूर्व अर्थसचिव डा शान्तराज सुवेदीको नजरमा सैद्धान्तिक रुपमा दुई व्यक्तिबीच उल्लेख्य मतभेद देखिदैन । ‘पहिला अर्थसचिव हुँदा युवराज खतिवडा गभर्नर हुनुहुन्थ्यो । पछि अर्थसचिव हुँदा डा. चिरञ्जीवि नेपाल गभर्नर हुनुहुन्थ्यो ।’ डा सुवेदी भन्छन्–‘व्यक्तिगत दृष्टिकोण र कार्यशैलीमा केही फरक हुनु स्वभावित हो, नीतिगत विषयमा उहाँहरुबीच धेरै समानता छन् ।’ ‘व्यक्तिगत दृष्टिकोण र कार्यशैलीमा केही फरक हुनु स्वभावित हो, नीतिगत विषयमा उहाँहरुबीच धेरै समानता छन् ।लगानी प्राथमिकतामा दुबैको सोच मिलेको छ ।’ डा शान्तराज सुबेदी युवराज खतिवडाको पालामा राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने नीतिमा जोड दिएको थियो । त्यतिबेला बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको २० प्रतिशत उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सीमा तोकियो । डा नेपाल गभर्नर भएपछि उक्त नीतिमा थप जोड दिदै उत्पादन मुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्नै पर्ने नीति राष्ट्र बैंकले लिएको छ । पछिल्लो समय उत्पादन मुलक क्षेत्रको दायारालाई पनि फराकिलो बनाइएको छ । ‘लगानी प्राथमिकतामा दुबैको सोच मिलेको छ । खतिवडाले पनि घर जग्गा, सेयर बजार, आयात व्यापारको क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गर्दै उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहित गर्ने नीति लिनु भएको थियो । डा नेपालले त्यसलाई अझ फरकिलो बनाउदै लैजानु भएको छ’ डा सुबेदी भन्छन्–‘खतिवडाको पालामा निजी सवारीसाधन खरिदमा मूल्यको ९० प्रतिशतसम्म रकम बैंक तथा वित्तीय संस्थाले दिन्थे, नेपालको पालामा त्यसलाई ६५ प्रतिशतमा झारिएको छ ।’ त्यतिमात्र होइन, डा खतिवडाको पालामा शुरु भएको मर्जर नीतिलाई डा नेपालले पनि निरन्तरता दिएको देखिन्छ । खतिवडाको पालामा मर्जरको अभ्यास शुरु भएको थियो भने डा नेपालको पालामा १५५ वटा संस्था मर्जर भई ४३ वटा बनेका छन् । राष्ट्र बैंक स्वायत्त संस्था भएको, अर्थमन्त्री र गभर्नर दुबै प्रोफेशलन व्याक्ति भएकोले समस्या आउने संभावना मैले देखेकाे छैन । – गणेशराज पाेखरेल ‘बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर पोलिसीको शुरुवाट डा खतिवडाकै पालामा भएको हो, डा. नेपालले चुक्ता पुँजी बढाएर मर्जरलाई थप जोड दिनु भएको छ । अर्थतन्त्र ६ खर्ब रहेको बेला तोकिएको २ अर्ब चुक्ता पुँजीको सीमालाई २५ खर्ब नाघेको अवस्थामा ८ अर्ब बनाउनुु स्वभाविक थियो’ सिटिजन्स बैंक इन्टरनेशलन लिडिटेडका डेपुटी सीईओ गणेशराज पोखरेल भन्छन्–‘अहिले वित्तीय क्षेत्रमा देखिएको समस्या मुख्य कारण पुँजी वृद्धि होइन, निक्षेप संकलनको वृद्धि भन्दा कर्जा लगानी विस्तारको दर बढी हुनु हो ।’ राष्ट्र बैंक स्वायत्त संस्था भएको, अर्थमन्त्री र गभर्नर दुबै प्रोफेशलन व्याक्ति भएकोले समस्या आउने संभावना आफूले नदेखेको उनी बताउँछन् । पुँजी वृद्धिले कर्जा लगानीमा चाप बढेको र त्यसले अन्धाधुन्ध कर्जा लगानी बढाएको डा खतिवडाको विश्लेषण छ । अर्थमन्त्री भएपछि पनि डा खतिवडाले उच्चदरको आर्थिक वृद्धिको लागि कर्जा लगानी विस्तारमा जोड दिनु पर्ने तर त्यस्तो लगानी उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा हुनु पर्ने बताएका छन् । लगानीको प्राथमिकताको विषयमा अहिले पनि अर्थमन्त्रीको विचार र गभर्नरको विचार मिलेको पूर्व सचिव सुवेदी बताउँछन् । तर दुई व्यक्तिबीचको विचार र संस्थागत रुपमा अगाडि बढेका नीतिमा खासै फरक नभएको जानकारहरु बताउँछन् । डा नेपाललाई गभर्नरबाट हटाउन सरकारले पनि प्रयास गर्नु नहुने र गभर्नरले स्वेच्छिक रुपमा राजीनामा गर्नु पनि आवश्यक पनि जानकारहरु बताउँछन् ।

बर्सेनी १०/१२ प्रकारका नयाँ औषधीको उत्पादन थाल्छौं-डा. रोभसकुसम सुवेदी

डा. रोभसकुसम सुवेदीले दक्षिण कोरियाको चोसन युनिभर्सीटीबाट पीएचडी र पोष्ट डक्टरेट फेलेशिपसम्मको अध्ययन पुरा गरेका छन् । यसअघि उनले काठमाडौं विश्वविद्यालयबाट एम फार्म सम्मको अध्ययन पुरा गरेका थिए । उनी नेपाल औषधी लिमिटेडको महाप्रबन्धक हुनुअघि निजी औषधी उद्योगमा कार्यरत थिए । खुल्ला प्रतिस्पर्धाद्वारा सरकारले उनलाई उद्योगको महाप्रबन्धक बनाएको हो । उनीसँग औषधी क्षेत्रमा एक दशक काम गरेको अनुभव छ । नेपाल औषधीले जीवनजलका अतिरिक्त सिटामोल पनि उत्पादन थालेको छ । प्रस्तुत छ उद्योगको हालको अवस्था चुनौति र भावी योजनाको बारेमा डा. सुवेदीसंग विकासन्युजका लागि पृथराज थेगिमले गरेको कुराकानी : डा. रोभसकुसम सुवेदी, महाप्रबन्धक, नेपाल औषधी लिमिटेड नेपाल औषधी उद्योगले अहिले के  के उत्पादन गरिरहेको छ ? उद्योगले आफुलाई रिभाइभ गरिरहेको छ । विगतमा प्राविधिक तथा व्यवस्थापन लगायतका कारणले उद्योग कमजोर भएको जगजाहेर छ । यसलाई तङ्ग्रीन केही समय लाग्छ । अहिले उद्योग सकरात्मक रुपमा अघि बढिरहेको छ । हालसम्म सबै कुरा सिस्टमेटीक भइसकेको छैन । सबै युनिटहरु फुलफेजमा सञ्चलानमा आएका छैनन् । उद्योगले सबैभन्दा पहिला जीवनजलको उत्पादन सुरु गर्याे । त्यसलगत्तै विभिन्न औषधी बिक्रेताहरुले जीवनजलको माग गरे । उत्पादनको तुलनामा कैँयौं गुणा बढी औषधीको माग भएको छ । हामीले माग अनुसार पुर्याउन सकेका छैनौ । कम्तीमा ९ लाख ट्याबलेट सिटामोलको उत्पादन नगरी बजारमा जादैँनौ । दुई हप्ताभित्र सिटामोल बजारमा बिक्रीको लागि लैजाने तयारी गरेका छौं । उद्योगले अहिले दैनिक एक ब्याच अर्थात ३ लाख २० हजार संख्यामा सिटामोल ट्याबलेट उत्पादन गरिरहेको छ । त्यस्तै विगतदेखि नै उत्पादन गरिरहेको जीवनजल दैनिक ५ हजार प्याकेट उत्पादन भइरहेको छ । अहिले हाम्रो स्टकमा करिब ५०/६० हजार प्याकेट जीवनजल छन् । फागुन ९ गतेदेखि सिटामोलको परीक्षण उत्पादन सुरु भएको छ । उत्पादन मापदण्ड पुरा गर्न नसकेर उद्योग बन्द भएको थियो । अहिले यसका लागि के कस्ता काम भइरहेका छन् ? अहिले औषधीको मापदण्डलाई हेर्ने गुणस्तर शाखा खडा गरेका छौं । यसअघि यस्तो मापदण्ड हेर्ने विभाग थिएन । विभागले उद्योगमा भैइरहेको औषधीको गुणस्तर सही छ कि छैन अध्ययन गर्दछ । उत्पादनमा भएको विभिन्न क्रियाकलापले औषधीको गुणस्तरमा नकरात्मक असर गरेको छ, छैन जाँच गर्दछ । न्युनतम जोखिमको उत्पादन बजारमा लैजाने जिम्मेवारी सो विभागको रहेको छ । हाम्रो सिद्धान्त नै जीएमपी (कुशल उत्पादन प्रणाली)को मापदण्ड जाने हो । जसकारण बजारमा लैजाने हाम्रा औषधीहरु कमभन्दा कम जोखिमका हुन्छन् । जीएमपीलाई दुई लाईनमा भन्ने हो भने ‘इन्वील्ड क्वालीटी र रिक्स मिनिमाइजेशन’ सिद्वान्तमा आधारित हुन्छ । जीवनजलको उत्पादन सुरु भइरहँदा लगत्तै सिटामोलकोे उत्पादन पनि थाल्ने भनिएको थियो, एक वर्ष किन ढिलो भयो ? मैले सिटामोल उत्पादनको लागि असोज १ गतेको डेटलाईन राखेको थिए । एकदमै टाइट क्याल्कुलेशन गरेर मैले उक्त डेटलाईनमा सिटामोलको उत्पादन गर्ने समय निर्धारण गरेको थिए । तर बीचमा भारतले जीएसटी लागु गर्याे। उक्त नयाँ प्रणालीको कारण त्यहाँका सप्लायर्सहरुले पनि बुझ्न सकेनन् । त्यस्तै अर्को मोदी सरकारले भारतमा नोटबन्दी गरिदियो । त्यसको प्रत्यक्ष असर उद्योगलाई पनि प¥यो जसले गर्दा डेटलाईनमा सिटामोलको उत्पादन गर्न नसकिएको हो । त्यतिखेर भारतबाट कच्चा पदार्थ मगाउन त सकिएन मूल्य पनि उनीहरुले पठाउन सकेनन् । निर्माण सामाग्रीहरु पनि भित्रिन सकेन । त्यो हाम्रो वसको कुरा थिएन । कति प्रतिशत कच्चा पदार्थ भारतबाट नेपाल आउछ ? नेपालमा भारत, चीन, जापान, युरोप,जर्मनीबाट औषधीको कच्चा पदार्थ भित्रिने गरेको छ । जसमा भारतको मात्रै ९० प्रतिशत हिस्सा छ । उद्योगमा लगानी अवस्था कस्तो छ ? १४ करोड ६५ लाख रुपैयाँ मध्ये पहिलो किस्ता ६ करोड ४८ लाख रुपैयाँ पाइसकेका छौं । दोस्रो किस्ताको लागि उद्योग मन्त्रालयमार्फत अर्थमन्त्रालयमा चिठ्ठी पठाइ सकिएको छ । त्यो प्रक्रियामा छ । निश्चित लगानी छ । उक्त लगानीले नै उद्योग कसरी अघि बढ्ने निर्धारण हुन्छ । उद्योगले आगामी दिनमा कस्ता औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ ? अहिलेको हाम्रो क्षमता जीवनजल प्रतिवर्ष ४० लाख प्याकेट(स्याचेट) उत्पादन गर्ने हो । यस्तै सिटामोल ८ करोड ट्याबलेट उत्पादन गर्ने भएका छौ । सिटामोलको उत्पादान दोब्बर बढाएर १५ करोड ट्यावलेट पुर्याउन उपकरण थप्नुपर्छ । बजारमा माग बढ्यो भन्दैमा उत्पादन तुरुन्तै गरिहाल्न सक्ने अवस्थामा हामी छैनौं । एउटा मेसिन आज झिकायोे भने आइपुग्न ६ महिना लाग्छ । कच्चा पदार्थ डेढ महिना लाग्छ । थप बजेट आयो भने मेसिन मगाएर अर्को महिनादेखि ती औषधीहरु बनाउने तयारी गरेका छौं । त्यसको लागि कच्चापदार्थ र प्याकेजीङ मेसिनहरु ल्याउन पर्ने हुन्छ । अर्को जीवनजल र सिटामोलको माग यति बढी छ । त्यसलाई मात्र पूर्ति गर्न लाग्ने हो भने अन्य औषधीहरु उत्पादन गर्न भ्याउने अवस्था छैन । विगतमा हामीले हरेक महिना नयाँ औषधी बनाउने सोच गरेका थियौं । यसबीचमा स्वास्थ्य मन्त्रालयसँग कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको छ । आवश्यक सिटामोल र जीवनजललाई बढी परिमाणमा उत्पादन गर्ने हो कि नयाँ/नयाँ औषधी बनाउदै जाने हो छलफल भइरहेको छ । उद्योगले अहिले सरकारले निःशुल्क बाँड्ने भनेको ७० किसिमको औषधीलाई उत्पादनको प्राथमिकतामा राखेको छ । एकै पटकमै त्यतिका उत्पादन नहोला तर वर्षमा १०/१२ किसिमको औषधीहरु उत्पादन गर्न सकिन्छ । यही रफ्तारमा जाने हो भने अबको ५ वर्षमा उद्योग कहाँ पुग्छ ? अहिले हामीले उद्योग सञ्चालनका लागि ५ वर्षे गुरुयोजना बनाएका छौं । जसमा शुन्यदेखि ६ महिनाको अबधिमा जीवनजल उत्पादन गर्ने थियो, यो एक वर्षदेखि सुरु भइसक्यो । २ वर्षको अबधिमा ट्याब्लेट भनेका थियौं त्यसको पनि उत्पादन सुरु भएको छ । ५ वर्षको अबधिमा लिक्वीड, क्याप्सुल, सलाईन लगायत उत्पादन गर्ने योजना छ । त्यसरी अघि बढे आगामी ३/४ वर्षमा फुलफेजमा उद्योगले उत्पादन गर्छ । अबको ५ वर्षमा ५०/६० प्रकारका औषधीहरुको उत्पादन गर्नेछ । यसअवधिमा उद्योगमा सम्पूर्ण कर्मचारीहरु व्यस्त रहनेछन् र सरकारले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधी उत्पादनमा उद्योगको महत्वपूर्ण सहयोग हुनेछ । निजी औषधी उद्योग पनि आक्रामक रुपमा आइरहेका बेला ती कम्पनीसंग उद्योगले कसरी प्रतिस्पर्धा गर्नेछ ? अहिले नेपालमा ४०/४५ प्रतिशत औषधीको आयात हुने गरेको छ । वार्षिक अर्बौ रुपैयाँ बराबरको आयात गरिने औषधीलाई प्रतिस्थापन गर्न निजी क्षेत्र र सरकारी औषधी उद्योगहरु मिलेर अघि बढ्नु पर्छ । पछिल्लो समय आयातित औषधीमा केही समस्या पनि देखिएको छ । त्यस्तै सरकारले पनि केही सकरात्मक निर्णयहरु पास गरेका छन् । जसमा स्वदेशमै उत्पादन हुने औषधीको धेरै ब्राण्ड आयात गर्न नपाउने, विश्व व्यापार संगठन (डब्ल्युटीओ) को प्रमाणपत्र प्राप्त कम्पनीको मात्र औषधी आयात गर्नु पर्ने लगायत छन् । यसैलाई निरन्तरता दिएर अन्ततः मुलुकले आयातित औषधीहरुको प्रतिस्थापन गर्न आजको आवश्यकता हो । यद्यपि कतिपय स्वदेशमा बन्न नसक्ने औषधीहरु तथा ठूलो परिमाणमा उत्पादन गर्न नसकिने औषधीहरुलाई भने आयात गर्न सकिन्छ । अबको ५/१० वर्ष हामीले निर्यातलाई भन्दा पनि आयात घटाउनेतर्फ बल लगाउनु पर्ने देख्छु । उद्योग कहिलेदेखि नाफामा जान्छ ? अहिले हामी मात्रै सस्टेन मात्र भएका छौं । आगामी ६/७ महिनाभित्र सेल्फ सफिसेन्ट हुन्छौ भन्ने लागेको छ । अहिले हामीले अर्थ मन्त्रालयसँग तलबको लागि पैसा मागिरहेका छौं । केही महिनापछि कर्मचारीलाई तलव खुवाउन आफै सक्षम हुन्छौं । ठूला औषधी उत्पादनका युनिट थप्न तथा ठूला मेसिनहरु किन्न परे यहाँका नाफाबाट नसकिएला तर, तलबै खानका लागि अबको ५/७ महिनादेखि अर्थको मुख ताक्न पर्दैन भन्ने मलाई लागेको छ । विकासको लागि ठूला खर्चहरु सरकारबाटै प्राप्त भए । यसरी नै उद्योग अघि बढे अबको एक वर्षपछि हामी नाफामा जान्छौं । नाफामा गएपछि ऋण तिर्न नसकिए पनि त्यसको ब्याजबाट ऋण घटाउने हाम्रो योजना छ । सरकारी उद्योगहरुमा राजनैतिक दवाव आउछ भन्छन् । तपाईलाई कतिको आएको छ ? हाम्रो उद्योगमा पहिलोपटक मनोनित नगरी खुल्ला प्रतिस्पर्धाद्वारा मलाई नियुक्त गरिएको हो । मेरो नियुक्ती आउटपुटवेसमा भएको हो । उद्योग मन्त्रालयले मूल्याङकन गरिरहेको छ ।

तरलता १३ अर्बमा झरेपछि राष्ट्र बैंकले आज ५ अर्ब बजारमा पठाउदै

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकमा अधिक तरलताको अवस्था कमजोर हुदै गएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंगको सरकारको ट्रेजरी बिल खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर १३ अर्बमा झरेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन लागेको हो ।  अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउदा केन्द्रीय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल्स खरिद गर्न लागेको हो । यसअघि केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै खरिद गरी बजारमा पैसा पठाउने गरेको छ ।