सरकारले मन्त्रालयको पुनःसंरचना गर्दै, जम्मा १८ वटा मन्त्रालय राख्ने निर्णय
काठमाडौं । सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजन अनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिएका छन्। सरकारले ३१ वटा मन्त्रालयबाट घटाई १८ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले ‘नेपाल सरकार कार्यविभाजन नियमावली-२०७४’ जारी गरी पुनर्गठन गरेका ती मन्त्रालयको काम कारबाहीसमेत बाँडफाँड गरेको छ । मन्त्रिपरिषद्को कार्यालयले कार्यविभाजन गरिएका मन्त्रालयको काम कारबाहीबारे गत फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गरेर सार्वजनिक गरिसकेको छ । “हामीले नयाँ कार्यविभाजनसहित मन्त्रालयको पुनःसंरचना गर्ने काम गरिरहेका छौँ”, उनले भने, “चाँडै नै पुनर्गठित मन्त्रालयलाई पूर्णता दिन्छौँ ।” उनले पुनःसंरचना नहुँदासम्म अहिले रहेका मन्त्रालयका कर्मचारी पुनर्गठित मन्त्रालयमा नै रहेर काम गर्ने बताए । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर कुन मन्त्रालयमा कति कर्मचारी रहने तयार गरिरहेको शर्माले बताए । “अहिलेका १८ वटा मन्त्रालयसँगै कर्मचारी पनि पक्कै घट्नेछन्”, उनले भने, “सर्वेक्षण गरेर कुन मन्त्रालयमा कति कर्मचारी आवश्यक हुन्छ त्यो निक्र्योल गर्ने छौँ ।” सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, खानेपानी तथा शहरी विकास मन्त्रालय, गृह, जलस्रोत तथा ऊर्जा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद मन्त्रालय राखेको छ । यस्तै श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् । रासस
सहकारीले गाउँमै बनाए बीउ बैंक
तेह्रथुम । गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको तथा आधुनिक उन्नत जातको बीउमा किसानको पहुँच नपुगेको भन्दै जिल्लाका गाउँ गाउँमा खुलेका सहकारीले बीउ संरक्षण गर्ने अभियान थालेका छन् । स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहयोगमा गाउँमा खुलेका सहकारीले बीउ बैंक स्थापना गरेका छन् । फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको जनकल्याण सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । विसं २०६० मा गाउँका किसानलाई संगठित गर्दै ‘हामी स्वयं हाम्रो भाग्य निर्माता’ नारासहित काम गर्दै आएको सहकारीले बीउ बैंक स्थापना गरी किसानलाई सेवा उपलब्ध गराएको छ । बीउ बैंक स्थापना भएपछि सहकारीमा आबद्ध किसानलाई सहज भएको अध्यक्ष फिरोज सुब्बाले बताए । उनले भने, “गाउँमा उन्नत जातका बीउ पाइँदैन, बजारमा किनेर ल्याएको बीउ पनि राम्रो हुदैन, त्यसैले प्राविधिकको सल्लाह बमोजिम अन्यत्र ठाउँबाट उन्नत जातको हावापानी र माटो सुहाउँदो बीउ खरिद गरी बैंकमार्फत किसानलाई उपलब्ध गराइएको छ ।” बीउ बैंकमा २५ वटाभन्दा बढी बीउ उपलब्ध छन् । मौसम अनुकूल हुने बीउ खरिद गरी किसानलाई सेवा दिन सहकारीले रु ५६ हजारको बीउ पूँजी कोष खडा गरेको छ । सो सहकारीमा ओयाक्जुङ गाउँका ३० वटा बचत समूह आबद्ध छन् । तीमध्ये पनि धेरैवटा महिला समूह छन् । महिला किसानलाई बीउ बैंकमा जम्मा भएको बीउ अझै विशेष छुटका साथ उपलब्ध गराइने गरेको व्यवस्थापक यामप्रसाद ढकालले बताए । दुई वर्षअघि सहकारीले स्थापना गरेको बीउ अहिले ओयाक्जुङका किसानले खरिद गरेर उत्पादन लिन थालिसकेका छन् । “लोपोन्मुख जातका बीउ पनि छन्, रैथाने र उन्नत जातका बीउ उपलब्ध गराउने लक्ष्य छ”, सहकारीका उपाध्यक्ष गणेश ढुंगेलले भने । सहकारीले यस वर्ष गाउँका किसानलाई बीउ बैंकबाट जुनेलो, गहत, बेसार, केराउ, बेलचन, पुरानो धान, अदुवा, लसुनलगायत २५ भन्दा बढी प्रजातिका रैथाने तथा उन्नत जातका बीउ सस्तो मूल्यमा उपलब्ध गराएको छ । छथर गाउँपालिकाको ओख्रेस्थित कल्याणकारी महिला कृषक सहकारी संस्थाले पनि बीउ बैंक स्थापना गरी उन्नत जातका बीउ किसानलाई उपलब्ध गराएको छ । जिल्लाका अन्य सहकारीले पनि बीउ बैंक स्थापना गरी रैथाने र उन्नत जातका बीउमा किसानको पहुँच अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने अभियान चलाइरहेका देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताए । सहकारीले बनाएका ती बीउ बैंकमा स्थानीय रैथाने तथा उन्नत जातका धनियाँ, फिलुङ्गे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङ्ग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, काँक्रो, करेला, गोलभेँडा, टमाटरलगायत तरकारी, मसला र खाद्यान्न बालीको बीउ ल्याएर राख्ने गरिएको छ । त्यस्ता बीउ मौसममा किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने गरिएको हो । सहकारीमा आबद्ध नभएका गाउँका अन्य किसानले समेत आफूले बीउ लैजाने गरेका छन् भने उनीहरुले उत्पादन गरेको खाद्यान्न, तरकारी र मसला बालीको बीउसमेत बैंकमा ल्याएर बिक्री गर्ने गरेका छन् । जसले गर्दा गाउँमा बीउ भण्डारण भएको छ । कुनै पनि जातिको बालीनाली तत्कालै लोप भएर जाने अवस्था छैन । किसानले जुन खेतीबाट बढी उत्पादन हुन्छ भन्ने बुझेर जुनसुकै बाली पनि लगाउन सक्छन् । बीउ प्राप्त गर्न कुनै समस्या छैन । बीउ बैंक स्थापना गर्दा खडेरी, आगलागी, महामारी, भोकमरी, प्राकृतिक प्रकोपलगायत आपत्विपत्मा धेरै सजिलो हुने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यको भनाइ छ । अन्य गाउँमा समेत यस्ता प्रकोप भएर बीउ अभाव हुँदा त्यहाँबाट बीउ खरिद गरेर ल्याउन सजिलो हुने उनले बताए ।-रासस
शनिबार वुद्धका नाममा विश्व रेकर्ड: ७५ हजार नेपालीले भन्नेछन-‘वुद्ध नेपालमा जन्मिएका हुन’
काठमाडौं । भोली शनिबार अर्थात फागुन १९ गते गौतम वुद्धका नाममा विश्व रेकर्ड कायम गरिँदैछ । ७५ हजार नेपालीले टुँडीखेलमा जम्मा भएर वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनेछन् । यो सन्देशलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डमा समावेश गरिनेछ । धम्मपद (बुद्ध वचन) वाचन नाम दिईएको कार्यक्रमबारे पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले भने ‘बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि कार्यक्रम आयोजना गरिएको हो ।’ पोखरेलले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताए । उनले भने,‘बुद्ध धर्म शान्ति, सद्भाव, न्यायपूर्ण समाजको प्रतिविम्ब हो, यसलाई कसैले निजी धर्म नठकानीकन सबैको साझा सम्पतिका रुपमा लिनुपर्छ, विश्वमा गौतम बुद्धप्रति भैरहेका भ्रमहरुलाई चिर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो, विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएको छ, हामीले त्यस प्रकारका भ्रमहरुलाई चिर्नुपर्छ ।’ उनले अघि थपे,‘भोलिको कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै होईन स्वाभिमान र राष्ट्रियताको लागि हो, अर्को कुरा ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि आग्रह गर्दछु, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ ।’ उक्त कार्यक्रमका सद्भावना दुत डा.भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनैपनि भ्रम नरहेको बताउँदै यो अभियानले सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले गौतम बुद्धको जन्म अवतारको रुपमा भएको दाबी गरेका छन् । उनले भने,‘गौतम बुद्ध अवतारको रुपमा जन्मिनुभएको हो, उहाँको नाममा विश्वमा भ्रम छर्ने काम भएको छ, यो कुरा भ्रम हो भनेर भोली हामीले पुष्टि गर्दैछौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्नुहुँदैछ, देशको लागि ४ घण्टा समय दिनुपर्नेछ, १४ वर्ष माथिका व्यक्तिले सहभागिता जनाउन सक्नुहुनेछ ।’
राजपालाई पनि सरकारमा ल्याउने एमालेको तयारी
काठमाडौं । नेकपा(एमाले)का नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वर्तमान सरकार सम्भव भएसम्म सबैलाई सरकारमा सहभागी गराउने गृहकार्यमा जुटिरहेको बताएका हुन् । उनले भने,‘राजनीतिक संक्रमण पनि सम्पन्न भएको छ, अब मुलुकलाई राजनीतिक स्थायत्वि र समृद्धिको यात्रामा अघि बढाउनको लागि पनि बलियो सरकार बनाउने पक्षमा हामी छौं ।’ अधिकारीले भने, ‘हामीले राजनीतिक स्थायित्व हाँसिल गर्नकै लागि वाम गठबन्धन बनाएर निर्वाचनमा गएका हौं, यो सँगै एकता प्रक्रिया अघि बढाएका छौं, सरकार बनाएका छौं, बलियो सरकार बनोस् भन्ने हाम्रो चाहना छ, हिमाल, पहाड र तराई सबैलाई मिलाएर अघि बढ्न चाहन्छौं, यसकोलागि राजपा र फोरमलाई सँगै लिएर जान चाहन्छौं, सकारात्मक कुराहरु भैरहेका छन् ।’ उनले आफूहरु संविधान संशोधनको लागि कहिल्यै पनि बाधक नभएको जिकिर गरे । यद्धपी उनले सबैलाई जायज लाग्ने विषयमा संविधान हुने स्पष्ट पारे । उनले थपे,‘हामीलाई मात्रै जायज लागेर हुँदैन, फोरमलाई मात्रै लागेर पनि हुँदैन, राजपालाई पनि लागेर हुँदैन, सबैलाई जायज लाग्नुपर्यो, अनि संविधान संशोधन गर्छौं।’ उनले संविधानको धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे । नेता अधिकारीले आउने आईतबार वा सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाए । उनले भने,‘क्याविनेट विस्तार हुन्छ, अब आउने सोमबारसम्म भैसक्छ, राजपासँग पनि राम्रो कुराकानी भएको छ, राम्रो मात्रै होईन, धेरै राम्रो कुराकानी भएको छ, कुराकानीले आकार लिएपछि हामी पत्राचार गर्छौं ।’
आइएमई डिजिटल र सिद्धार्थ बैंकबीच मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता
काठमाडौं । आइएमई ग्रुपद्धारा प्रवद्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैंकको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने छ । साथै, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’
काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूलनाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्यशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख बिक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल ३४ हजार ४ सय ३६ रुपैयाँ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका छन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्तउपहार पाउने व्यवस्था गरिएको छ । त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तै- मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्त उपहार पाउने व्यवस्था गरिएको छ । कम्पनीले १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा दिँदै आएको छ ।
वयोधाले भित्र्यायो अत्याधुनिक मेसिन, एकैपल्ट मुटुको धड्कन, पल्स रेट, अक्सिजनको अवस्था थाहा पाइने
काठमाडौं । राजधानीस्थित वयोधा अस्पतालले नेपालमा पहिलो पटक छुटै किसिमको रिमोट मोनिटरिङ टेक्नोलोजी ‘मेसिमो पेसेन्ट सेफ्टिनेट’ नामक अत्याधुनिक मेसिन भित्र्याएको छ । मेसिन नेटवर्किंग प्रविधिद्धारा सञ्चालन हुने जनाइएको छ । उक्त टेक्नोलोजीअन्तर्गत धेरैजसो बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ । सो डिभाइस लगाइसकेपछि स्वास्थ्यकर्मीले कम्प्युटरको सहायताले एकैपल्ट बिरामीको मुटुको धड्कन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा थाहा पाउन सक्नेछ । अस्पतालको अनुसार बिरामीहरु फरक–फरक वेडमा राखिएपनि वार्डका नर्स र डक्टरसँग भएको पेजरमा नै हरेक बिरामीको अवस्थाको बारेमा नयाँ जानकारीहरु प्राप्त गर्न सक्नेछन् । जसले बिरामीको उपचार प्रक्रिया सहज हुनेछ । मेसिमोको प्रयोगले बिरामीको रगतमा भएको अक्सिजन, मुटुको धड्कन र परफ्युजन इन्डेक्सको जाँच गर्न सकिन्छ । मेसिमो मानव शरीरको अक्सिजन मापन गर्ने संसारकै पछिल्लो अत्याधुनिक मेसिन भएको अस्पतालको दावी छ । विरामीहरुको छिटो छरितो र सहज किसिमले उपचार गर्नका लागि भित्र्एको उक्त प्रविधि केही हप्ताभित्रै सञ्चालनमा आउने अस्पतालको भनाइ छ ।
सलमान खानको नाममा गोर्खा बुअरीले बेचेको टिकटको पैसा फिर्ता गर्नु पर्ने, कति पैसा उठायो ? कम्पनीले जवाफ दिन मानेन
काठमाडौं । नेपालीलाई रक्सी खुवाएर भारतीय अभिनेतासँग नचलाउने गोर्खा बुअरीको योजना विफल भएको छ । सँगै कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको टिकटको पैसा फिर्ता गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकृत केदारनाथ शर्माले कम्पनीले गैरकानुनी रुपमा कन्सर्ट राखेको आफूले जानकारी पाएको बताए । ‘हामीसँग सहमति नलिईकन कन्सर्ट राखिएको पाइएको छ । सुर्ती र मदिराजन्य पदार्थको बिक्री, उपभोग र प्रबद्र्धन सार्वजनिक स्थलमा गर्न कानुनले निषेध गरेको छ’ शर्माले विकासन्यूजसँग भने-गोर्खा ब्रुअरीले हामीसँग समन्वय नै नगरी, सहमति नै नगरी कार्यक्रम योजना बनाएछ । सुरक्षाको थ्रेट भयो भनेर सुरक्षा निकायमा सुरक्षा माग गरिएको रहेछ । जिल्ला सुरक्षा परिषद्को बैठकमा मैले सुरक्षा दिन सकिदैन र यस्तो कार्यक्रम गर्न पनि हुन्दैन भनिदिएको छु ।’ उक्त कार्यक्रम रद्द गर्नै पर्ने र सर्वसाधारणलाई बिक्री गरिएको टिकटको पैसा फिर्ता गर्नुपर्ने उनले बताए । कम्पनीले एक बोटल वियर सित्तैमा खान दिने र सलमान खानसँग नचाउने भन्दै प्रतिव्यक्ति २० हजार रुपैयाँ दरको टिकट बिक्री गर्दै आएको छ । कम्पनीले महिलेसम्म सर्वसाधारणलाई कति टिकट बिक्री गर्यो र उनीहरुबाट कति रकम संकलन भन्ने जानकारी कम्पनीले दिन मानेन । कम्पनीको उच्च व्यवस्थापनमा रहेको सुरेन्द्र सिलवाल, बैभव शर्मासँग यो विषयमा सम्पर्क गर्दा उनीहरुले कुरा गर्न चाहेनन् । थप सामाग्री पढ्न सक्नुहुनेछ । मदिराको बजारीकरण गर्ने सलमान खानको कन्सर्ट स्थगित, प्रतिव्यक्ति रू २०००० मा बेचिएको टिकट के हुन्छ ? विप्लवकाे चेतावनीपछि भारतीय मिडियाले सलमान खानलाई नेपाल नजान दिए दवाव सलमान खानको कन्सर्ट भाड्ने विप्लवको घोषणा, अटेर गरे भयानक परिणाम भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म