१५ औं महाधिवेशनको सभापति पदमा चन्द्र भण्डारी पनि प्रतिष्पर्धी
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सभापति पदप्रति आफ्नो आकांक्षा रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी, लोकतन्त्र र जनहितलाई प्राथमिकता दिएर आफू आवश्यकताअनुसार शून्यदेखि सयसम्म अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् । भण्डारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ । देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार आवश्यक रूपमै अघि बढ्न तयार छु ।’ साथीभाइको सुझाव, समयको माग र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै निर्णय अघि बढ्न आफू तयार रहेको पनि भण्डारीले उल्लेख गरेका छन् । । १५ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व चयनका विषयमा चहलपहल बढ्दै गएको छ । भण्डारीको यो अभिव्यक्तिलाई सभापति पदमा सम्भावित दाबेदारका रूपमा खुलेर प्रस्तुत भएको संकेतका रूपमा हेरिएको छ । भण्डारीको स्टाटस गुल्मीका धेरै कांग्रेस नेताहरूले सेयरसमेत गरेका छन् । भण्डारीका स्वकिय सचिव समेत रहेका बोधराज कँडेलले पनि भण्डारी आगामी १५ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने तयारी गरेको जानकारी दिए ।
विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै एलन मस्क
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क नयाँ इतिहास बनाउन लागेका छन् । उनको कम्पनी स्पेसएक्सले आउँदो वर्ष २०२६ मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ । स्रोतका अनुसार कम्पनीले यो आईपीओबाट ३० अर्ब डलरभन्दा बढी रकम जुटाउन सक्छ । यसपछि कम्पनीको मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । हाल भइरहेको सेकेन्डरी अफरिङमा स्पेसएक्सको सेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलरभन्दा माथि पुगेको छ । यदि स्पेसएक्सले यो मूल्यांकनमा कम्पनीको ५ प्रतिशत हिस्सा बिक्री गर्छ भने उसले ४० अर्ब डलर बराबरका सेयर बेच्नु पर्ने हुन्छ । यसले यसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाइदिनेछ । स्पेसएक्स अहिले विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी मानिन्छ । स्पेसएक्सको म्यानेजमेन्ट र सल्लाहकारहरू २०२६ को मध्यदेखि अन्त्यसम्म आईपीओ ल्याउने प्रयासमा छन् । तर बजार परिस्थितिसहितका केही अन्य कारणहरूले यो मिति सरेर २०२७ सम्म पनि जान सक्ने बताइन्छ । स्पेसएक्सले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन । अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको हो, जसले २०१९ मा आईपीओमार्फत २९ अर्ब डलर जुटाएको थियो । कम्पनीले त्यतिबेला केवल १.५ प्रतिशत मात्र हिस्सेदारी बेचेको थियो । स्रोतका अनुसार मस्क र कम्पनीको बोर्ड अफ डायरेक्टरले पछिल्लो समय आईपीओ तथा फन्ड जुटाउने योजनाहरूलाई तीव्रता दिएका छन् । स्पेसएक्सको आईपीओको मार्ग छिटो बन्नुको मुख्य कारण यसको तीव्र गतिमा विस्तार भइरहेको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा हो । यसमा डायरेक्ट–टु–मोबाइल व्यवसायको सम्भावना पनि समावेश छ । साथै चन्द्रमा र मंगल ग्रहका लागि स्टारशिप रकेट विकास पनि अर्को महत्त्वपूर्ण कारण हो । एक स्रोतका अनुसार २०२५ मा कम्पनीको रेभिन्यू करिब १५ अर्ब डलर रहने अनुमान छ । २०२६ मा यो बढेर २२ देखि २४ अर्ब डलरको बीच पुग्न सक्छ, जसको ठूलो हिस्सा स्टारलिंक सेवाबाट आउनेछ । स्पेसएक्सले आईपीओबाट जुटाएको केही रकम अन्तरिक्ष आधारित डेटा सेन्टर विकास गर्न प्रयोग गर्नेछ । यसका लागि आवश्यक चिप्स खरिद पनि त्यसमै समावेश हुनेछ । स्पेसएक्स अमेरिकी निजी अन्तरिक्ष कम्पनी हो जसलाई मस्कले सन् २००२ मा स्थापना गरेका हुन् । यसको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र दीर्घकालीन रूपमा सम्भव बनाउनु र भविष्यमा मानिसलाई मंगल ग्रहमा बसोबास गर्न सक्षम बनाउनु हो । स्पेसएक्सले विकसित गरेको फाल्कोन ९ र फाल्कोन हेभी जस्ता पुनःप्रयोगयोग्य रकेटहरू अहिले विश्वका सबैभन्दा भरोसायोग्य लन्च भेहिकल मानिन्छन् । रकेटलाई अवतरण गराएर पुनः प्रयोग गर्ने प्रविधि सुरु गरेको पहिलो निजी कम्पनी यही हो, जसले अन्तरिक्ष मिशनको लागत धेरै घटाएको छ । यसैबीच, कम्पनीको क्रू ड्रेगन स्पेसक्राफ्टले नासाका अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुर्याउँदै इतिहास रच्यो । निजी क्षेत्रबाट मानव अन्तरिक्ष उडान सफल बनाउने स्पेसएक्स पहिलो कम्पनी बनेको थियो । इलेक्ट्रोनिक संचारको क्षेत्रमा पनि स्पेसएक्सले स्टारलिंक परियोजनामार्फत नयाँ क्रान्ति ल्याइरहेको छ । हजारौं उपग्रहमार्फत विश्वका दुर्गम क्षेत्रसम्म तीव्र र स्थिर इन्टरनेट सेवा पुर्याउने यो परियोजनाले धेरै देशमा सेवा विस्तार गरिसकेको छ । कम्पनीको सबैभन्दा महत्त्वाकांक्षी योजना भनेको स्टारशीप हो जुन मानवलाई चन्द्र र मंगलसम्म लैजाने लक्ष्यसहित विकास भइरहेको विश्वकै सबैभन्दा शक्तिशाली रकेट मानिन्छ ।
रुपन्देही–३ : कांग्रेसबाट खाणसहित ६ जना सिफारिस
देवदह । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।
२० प्रतिशत लाभांश वितरण गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको घोषणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो । इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
नेपालको ड्रोन प्रविधिमा अन्तर्राष्ट्रिय फड्को, चिनियाँ विज्ञसहितको उच्चस्तरीय कार्यशाला हुँदै
काठमाडौं । नेपालको उड्डयन तथा ड्रोन प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने र ज्ञान आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले नेपाल र चीनका प्रतिष्ठित संस्थाहरुबीच ऐतिहासिक सहकार्य हुने भएको छ । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङुमा एकदिने ‘उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको हो । आगामी बिहीबारदेखि आयोजना हुने यो कार्यशाला नेपालको ड्रोन इकोसिस्टम सुदृढ गर्न र युवा पुस्तालाई उड्डयन प्रविधिमा आकर्षित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । कार्यशालामा चीनको उड्डयन क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहनेछ । जिसीएसीका तर्फबाट डिन टियान जुको नेतृत्वमा उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ नेपाल आउँदैछन् । त्यस्तै, नेपालको तर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण टिमको विशेष सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय विज्ञ र नेपाली सरोकारवालाहरूको यो भेटले नेपालमा ड्रोन प्रविधिको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । के–के हुनेछ कार्यशालामा ? कार्यक्रमको सुरुवात विद्यार्थीहरूको नवप्रवर्तन क्षमता प्रदर्शन गर्दै आरसी (रिमोट कन्ट्रोल) विमानको रोमाञ्चक प्रदर्शनीबाट हुनेछ, जसले एयरोमोडेलिङ सीपलाई उजागर गर्नेछ । त्यसपश्चात्, जिसीएसीका विज्ञहरूले उन्नत मानवरहित हवाई सवारी साधन प्रणाली, अन्तर्राष्ट्रिय तालिम मापदण्ड र नियामक अभ्यासहरू, ड्रोनको औद्योगिक उपयोग र भविष्यका सम्भावनाहरू जस्ता विषयमा विस्तृत प्रस्तुति दिनेछन् । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमको प्राविधिक तथा समन्वय पाटो अफताब आलमले सम्हालेका छन् । सञ्चार र सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह तथा लजिस्टिक्समा रसिदव राज खटिएका छन् । कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न 'हाइडअवे ग्ल्याम्पिङ' का सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् । कार्यशाला बाहेक, चिनियाँ टोलीले आफ्नो नेपाल बसाईका क्रममा काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको स्थलगत अवलोकन पनि गर्नेछ । यसक्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र आगलागी नियन्त्रणमा ड्रोनको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिनेछ । ड्रोन हब नेपालका अनुसार यो कार्यक्रम केवल एक कार्यशाला मात्र नभई नेपालको उड्डयन प्रविधिमा युवा इन्जिनियरहरूलाई प्रेरित गर्ने अभियान हो । विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनाहरूमा ड्रोनको जिम्मेवारपूर्ण प्रयोगलाई बढावा दिनु नै यसको मुख्य उद्देश्य हो ।
रमेश गुप्ता मेमोरियलले महालक्ष्मी डेभलपमेन्टसँगको सहकार्यमा क्यान्सर अस्पताललाई गर्यो सहयोग
काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । साथै नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सको सहकार्यमा नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै ट्रष्टले जनाएको छ । यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ । उक्त ट्रष्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदानसम्म ट्रष्टको उद्देश्य नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो । ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।
सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ४०८ जनाले सेवा लिए
काठमाडौं । सर्वोत्तम सिमेन्टले मंसिर २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नै कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 'सुखद जीवनका लागि हौँ निरोगी' भन्ने सन्देशसहित गरिएको यस कार्यक्रममा ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सहभागीहरूलाई कम्पनीले निःशुल्क औषधि पनि वितरण गरेको जनाएको छ । शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट), नेत्ररोग विशेषज्ञ र छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) सहित २२ जना स्वास्थ्यकर्मीले निःशुल्क सेवा प्रदान गरेका थिए । उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रूपमा उपस्थित रहेका थिए । उपमहाप्रबन्धक घिमिरेले कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने लक्ष्य रहेको बताए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै जाने कम्पनीको प्रतिबद्धता व्यक्त गरे ।
किबी किलोको ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०,मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १२५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।