चक्रपथमा चाइनिज मोहः २५ अर्ब खर्चेर ८ लेन सडक
काठमाडौं । चीनले २७.२ किलोमिटर लामो पुरै (चक्रपथ)रिङ रोडलाई ८ लेनको बनाईदिने भएको छ । चीनले हाल कोटेश्वर–कलंकी खण्डको १०.३९ किलोमिटर रिङ रोड ८ लेन बनाउने काम अन्तिम चरणमा पुर्याईसकेको छ । चीन सरकारले आगामी १० बर्षभित्र करिब २५ अर्ब लगानी लगानी गरेर पुरै रिङ रोडलाई ८ लेनको बनाईदिन लागेको हो । चावहिल–गौशाला खण्डको १.५ किलोमिटर भने अण्डरपास वा फ्लाईओभर निर्माण हुनेछ । चीनले ३० को दशकमा २७.२ किलोमिटर चक्रपथ शतप्रतिशत सहयोगमा निर्माण गरिदिएको थियो । कलंकी–कोटेश्वरको सडक निर्माणका लागि ५ अर्ब लागेको थियो । दोश्रो चरणमा निर्माण हुन लागेको कलंकी–महाराजगञ्ज खण्ड निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ । तेश्रो चरणमा भने बाँकी रहेको ८.६१ किलोमिटर निर्माणका लागि भने करिब १२/१३ अर्ब लाग्ने अनुमान गरिएको सडक विभागको वैदेशिक सहायता महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले बताए । चावहिल–गौशाला खण्डमा फ्लाई ओभर वा अण्डरपास र तीनकुनेदेखि जडिबुटीसम्म अण्डरपास निर्माण हुने भएकाले सो खण्डको लागत भने बढि हुने सम्भावना बढेको हो । ‘चक्रपथ पहिले पनि चीनले नै बनाईदिएको थियो, अहिले पनि चीनले शतप्रतिशत अनुदानमा बनाइदिन लागेको छ, पहिलो चरणमा अन्तिम अवस्था छ, अब दोश्रो चरण सुरु हुँदैछ, त्यसपछि तेश्रो चरण आरम्भ हुन्छ’, सडक विभागको वैदेशिक सहायता महाशाखा प्रमुख श्रेष्ठले भने । चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाश भण्डारीले पनि चक्रपथ विस्तार अन्तर्गतको दोश्रो चरणको काम आगामी असोजदेखि अघि बढ्ने बताए । असारसम्म सडक विभागले कलंकीदेखि महाराजगञ्जसम्मको सडकमा रहेका तार, ढल र पोलहरु हटाईदिने छ । सो खण्डको डीपीआर समेत निर्माण भैसकेको भण्डारीले जानकारी दिए । सो खण्ड निर्माण आरम्भ गरेको ३.५ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको पनि बताए । विस्तारित चक्रपथमा २५/२५ मिटरको सडक निर्माण हुनेछ । हालको चक्रपथमा १५ मिटरको कालोपत्रे गरिएको छ ।
झुटो विवरण पेश गरेर बैंकबाट कर्जा लिएपछि राष्ट्र बैंकले गुरुप्रसाद न्यौपानेलाई लगायो ५ लाख जरिवाना
काठमाडौं । गतल विवरण पेश गरेर बैंकबाट कर्जा लिएपछि नेपाल राष्ट्र बैंकले व्यवसायी गुरुप्रसाद न्यौपानेलाई ५ लाख रुपैयाँ जरिवाना लगाएको छ । जनता बैंकमा सञ्चालक रहेको अवस्थामा गलत विवरण बुझाएर नविल बैंकबाट ४ करोड रुपैयाँ बढी व्यक्तिगत प्रयोजनका लागि ऋण लिएपछि उनलाई केन्द्रीय बैंकले ५ लाख रुपैयाँ जरिवाना लगाएको हो । उनी त्यसबेला जनता बैंकका सञ्चालक थिए । कुृनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक भएका बेला घर कर्जा बाहेक अन्य प्रयोजनका लागि कर्जा लिन नपाइने व्यवस्था छ । तर कम्पनीको नाममा भने कर्जा लिन पाइने व्यवस्था छ । राष्ट्र बैंकको हाल बसेको सञ्चालक समिति बैठकले उनलाई जरिवाना लगाउन निर्णय गरेको हो । जनताको सञ्चालक हुदा उनले झुटो विवरण दिएर नविल बैंकबाट कर्जा लिएको खुलेपछि जरिवाना लगाएको राष्ट्र बैंकका प्रवत्ता राजेन्द्र पण्डितले जानकारी दिए । उनलाई राष्ट्र बैंकले पटक पटक स्पष्टिकरण सोधेको थियो । चिक्त बुझदो जवाफ नपाएपछि ५ लाख रुपैयाँ जरिवाना लगाएको उनले स्पष्टपारे । उनले आफु कुनै पनि बैंकको सञ्चालक नभएको ग्राहक पहिचानमा फारम भरेका थिए । यसअघि न्यौपाने जनताको सञ्चालक हुदा सोही बैंकको ५५ हजार बढी कित्ता सेयर श्रीमतिको नाममा खरिद गरेको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकले उनको श्रीमतिको नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको थियो । नेपालको कर्पोरेट इतिहासमा यो सबैभन्दा ठुलो कारवाही थियो । उनले श्रीमतिको नाममा खरिद गरेको ८५ हजार कित्ता सेयर जफत भएपछि सोको विरुद्धमा उनी उच्च अदालत पाटनमा गएका थिए । उच्च अदालतले हालै १५ दिनको समय दिएर बैंकसंग सेयर जफत गर्नुको कारण स्पष्ट पार्न सोधेको छ । राष्ट्र बैंकले स्पष्टिकरण लिदा उनले सेयर किन्न आफनी श्रीमति नभएको र नचिन्ने भनी वयान दिएका थिए । पछिल्ला समयमा न्यौपाने गलत काम गरेका कारण फस्दै गएका छन् ।
ओम डेभलपमेन्ट बैंकले ७५ करोडसम्म कर्जा दिने, ७ दिनमै लगानी गर्न सकिने
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक साताभित्रै ७५ करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंकले सबैका लागि कर्जा भन्ने नाराका साथ न्युनतम् ७५ हजारदेखि ७५ करोड रुपैयाँ ऋण दिने भएको हो । काम सुरु गरेको एक साताभित्रै ऋण लगानी गर्ने बैंकले जनाएको छ । उत्पादनमुलक क्षेत्रलाई लक्षित गरी ल्याइएको योजनामा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । हाल सञ्चालनमा रहेका ५३ ओटा शाखाबाट कर्जा सेवा उपलब्ध हुने बैंकले जनाएको छ । यसअघि बैंकले धितो विनानै १५ लाख रुपैयाँसम्म कर्जा दिने योजना ल्याइसकेको छ । बैंकले डाक्टर, इन्जिनियर र परामर्शदाता सेवा दिने र राम्रो जागिर भएकालाई दिने गरी ओम प्रोफेसनल लोन योजना ल्याएको थियो ।
राष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुने
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ । आयोगले आज सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ । यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ । नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउनुहुने छैन ।
७ नम्बर प्रदेशसभाको नियमावली, २०७४ पारित
धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ पारित गरेको छ । प्रस्तुत प्रस्तावमाथि नेकपा माओवादी केन्द्रका महेशदत्त जोशी र नेपाली काँग्रेसका टेकबहादुर रैका आउजीले समर्थन गरेका थिए । प्रस्तावमाथि भएको दफावार छलफमा भाग लिनु भएका काँग्रेसका भरतबहादुर खड्काले प्रस्तुत नियमावलीका तीनवटा बुँदाको विषयमा आफ्नो सुझाव पेश गरेका थिए । नियमावलीमा प्रदेशसभाको अधिवेशन आह्वान, अन्त्य, प्रदेशसभा सदस्यको उपस्थिति, आशन ग्रहण, बैठकको अध्यक्षता गर्ने कार्यविधि, शपथ ग्रहण, प्रदेशसभा अन्तर्गतका समितिको विद्येयक पेश गर्ने तरिका, फिर्ता लिने, त्रुटि भए सच्याउने, बैठकका निर्णय गर्ने तरिका, सरकारको नीति कार्यक्रम पेश गर्ने, खर्च कटौतीको प्रस्तावसम्बन्धी व्यवस्था समेटिएका छन् । यसअघि बैठक प्रारम्भ हुनासाथ माओवादी केन्द्रकी कुन्ती जोशी, राष्ट्रिय जनता पार्टीका मालामती राना र नेकपा एमालेकी पूर्णा जोशीले कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार २० वर्षीया राधिका चौधरीमाथि बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारबाही र पीडित युवतीको उचित स्वास्थ्योपचारसहित क्षतिपूर्ति उपलब्ध गराउन सदनको ध्यानाकार्षण गराएकी थिइन । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ ।-रासस
नेपाललाई पहिलो सफलता
काठमाडौं । नेपालले पहिलो सफलता हात पारेको छ । विस्फोटक ब्याटिङ गरिरहेका रसिद खानलाई करण केसीले आउट गरेका हुन् । खानले १४ बलमा २१ रन प्रहार गरेका थिए ।
कनकाई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा
झापा । कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका हुन् । नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ । नगरका कूल ८० प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी २ वर्षभित्र विद्युत् सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत् सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ । रासस
१०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार भत्ता दिइने
धनकुटा । नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ ।प्रधानसेनापति राजेन्द्र् क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिए । नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता रु तीन हजार उपलब्ध गराउनेछ । सैनिक कल्याणकारी कोषले ७० देखि ८० वर्ष उमेर समूहका भूपूलाई मासिक रु दुई हजार तथा अन्यलाई रु ४०० भत्ता उपलब्ध गराउँदै आएको छ । विसं २०३२ मा रु एक करोड २४ लाखबाट शुरु भएको सैनिक कल्याणकारी कोषको यथार्थ रकम रु ४२ अर्ब तीन करोड ३८ लाख पुगेको छ । शान्ति सैनिकबाट प्राप्त हुने रकम उक्त कोषको मूल स्रोत हो । उक्त कोषमा रहेको रकमको ब्याजबाट बहालवाला तथा भूपूको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ । भूपू सम्मेलनका क्रममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा रहेका ज्येष्ठ भूपूमध्ये ८६ वर्षीय जसबहादुर लिम्बूलाई नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा सर्वोत्कृष्ट र उत्कृष्ट लघुवित्त कार्यक्रमका उद्यमीलाई पुरस्कार तथा अशक्त भूपू सैनिक र तिनका परिवारलाई ह्लिचियर वितरण गरिएको थियो । सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकको निधन भएमा किरिया खर्चबापत रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराइयो । सम्मेलनका क्रममा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४९२ भूपू र तिनका परिवार लाभावान्वित भएका थिए ।रासस