मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयको संख्या बढाएर २१ पुर्याउने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ । प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए । गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए । फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ । यसअघि मन्त्रालयको संख्या १८ थियाे त्यसमा ३ थपेर २१ बनाउँन लागेकाे हाे । रासस
एनसीसी बैंकमा सीआईबीको छापा, सञ्चालकसहित कर्मचारी पक्राउ, १ अर्ब ५० करोड ९६ लाख कर्जाकाे दुरूपयाेग
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार राजधानीको कमलादीस्थित एक होटलमा खाना खाने बेलामा सीआईबीले बैंकका सञ्चालक विष्णुप्रसाद धिताललाई पक्राउ गरेको हो । सञ्चालक धिताललाई पक्राउ गरे लगत्तै बैंकको कर्पाेरेट कार्यालय बागबजार पुगेको सीआईबीको टोलीले १३ जना कर्मचारीलाई समेत पक्राउ गरि आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले उनीहरुको विवरण अहिले सार्वजनिक गरेको छैन । शुक्रबार बिहान चुक्तापुँजी वृद्धिका लागि बैंक सञ्चालक राष्ट्र बैकमा पुगेका थिए । बैठक बसेपछि खानाखाने बेलामा सीआईबीले हाेटलबाट पक्राउ गरेको हो । सीआईबी प्रमुख पुष्कर कार्कीले बैंकमा छापा मारेर कर्मचारीलाई नियन्त्रणमा लिएको बताउदै केही बेरमा सार्वजनिक गर्ने जानकारी दिए । यस सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याललाई सम्पर्क गर्दा हुन सकेन । एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा सीआईबीले अनुसन्धान थालेको थियाे । खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालले व्यवस्थापनसँग मिलेर कर्जाको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भइसकेको छ । एपेक्सको झण्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले छानविन गर्न सीआईबीमा विवरण पठाएपछि उसले अनुसन्धान थालेको हो । कमसल धितोमा ऋण दिएको २ अर्ब रुपैयाँमध्ये ४८ करोड रुपैयाँ फिर्ता भइसकेको छ ।
रक्सी खाएर सवारी चलाउने १५ लाख जना भन्दा बढी चालक कारवाहीमा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो । जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँर्चा पटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन् । एउटै चालकले पाँच पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । “उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,”– उनले भने । महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ ।-रासस
कपास गोदाममा आगलागी ४० लाख मूल्य बराबरको क्षति
काठमाडौं । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ । चन्दना कोइरालाको गोदाममा बिहान ९ बजे लागेको आगो हो । दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए । पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।-रासस
महाकाली पुल निर्माणबाट प्रभावित ३२१ घरधनीले क्षतिपुर्ति पाउने
काठमाडौँ । महेन्द्रगरमा निर्माणधिन रहेको महाकाली पुल आयोजनले ३२१ घरधुरीलाई मुआब्जा वितरण गर्ने भएको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयले निर्माण गरिरहेको आयोजनाको दायाँ बाया २५ २५ मिटरभित्र पर्ने जग्गाको मुअब्जा वितरण गर्न लागिएको हो । कञ्चनपुर जिल्लाको साविकको चादनी गाँउ विकास समितिको वडा न ७ र भीमदत्त नगरपलिकाको वडा नं ११ र १२ मा रहेको घर धनिलाई मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । मुआब्जा दाबी गर्नको लागि घरधनिले आवश्यक कागजात सहित महाकाली पुल आयोजनाको कार्यालयमा निवेदन दिनुपर्ने छ ।
बाग्मती जलविद्युत आयोजनाले १५६ घरघनीलाई मूआब्जा वितरण गर्ने
काठमाडौं । बाग्मति साना जलविद्युत आयोजनाले १२४ घरधुरीलाई जग्गाको मुआब्जा वितरण गर्ने भएको छ । २२ मेगावट क्षमताको ६६ केभी विद्युत लाइन प्रसारण गर्न १३.६ किलोमिटरभित्र पर्ने जग्गाको मुआब्जा वितरण गर्न लागेको हो । मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा नं ५, ६, ७ र ८ भित्र पर्ने १५६ जना घरधुरीलाई मुआब्जा वितरणको काम सुरु गर्न लागिएकाे हाे । आयोजनाले मुआब्जा वितरणको लागि १५ दिनको समय अवधि तोकेको छ । १५ दिन भित्र सम्बन्धित जग्गा धनिले जग्गाको प्रमाणपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ ।
दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात शुरु
खोटाङ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ । दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति १ हजार १७५ र दिक्तेल—धरानका लागि १ हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले बताए । दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात सुचारु गरिएको महासचिव हिङ्माङले जानकारी दिए । जिल्लाबाट राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सञ्चालन भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ । रासस
वेष्ट फाइनान्स र श्री इन्भेष्टमेन्टको ४ लाख ५२ हजार कित्ता हकप्रद लिलामीमा, सभिल बैंकको आज अन्तिम दिन
काठमाडौं । सेयर बजार घटेका बेला १ सय रुपैयाँ अंकित मूल्यका हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । हकप्रद बिक्री नभएपछि दुई फाइनान्स कम्पनीले ४ लाख ५२ हजार ५१४ कित्ता सेयर लिलामीमा राखेका छन् । वेष्ट फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले बिक्री नभएको हकप्रद लिलामी गर्न लागेका हुन् । वेष्टले संस्थापक र सर्वसाधारण समूहतर्फ गरी १ लाख ८ हजार १४१ कित्ता लिलामी गर्न लागेको छ । यस्तै श्री इन्भेष्टमेन्टले ३ लाख ४४ हजार ३७३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ २ लाख ७७ हजार ९९६ र सर्वसाधारणतर्फ ६६ हजार ३७७ कित्ता रहेको छ । वेष्टले चैत ९ गतेदेखि बोलपत्र पेश गर्न भनेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १८ गतेलाई तोकिएको छ । यस्तै श्री इन्भेष्टमेन्टको बोलपत्र चैत ८ गतेदेखि खुला भई १६ गते अन्तिम दिन भनेको छ । दुबैं फाइनान्स कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । पछिल्लो समयमा संस्थापक हकप्रद नै बिक्री हुन छाडेको छ । सिभिल बैंकको बोलपत्र पेश गर्ने आज अन्तिम दिन सिभिल बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामीको मिति आज शुक्रबारसम्म तोकिएको छ । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामीमा राखिएको हो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।