विकासन्युज

यामाहाले ल्यायो नयाँ वर्ष योजना, सवारी साधनको खरिदमा सतप्रतिशतसम्म क्यास ब्याक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् । जसमा ग्रहकहरुले ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् । ‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नेछन् ।’स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् । यसैबीच, यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको छ । जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सरप्राईज गिफ्ट’ प्रप्त गर्न सक्ने बताइएको छ । यामाहाले स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ । यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ बताइएको छ ।

प्रदेश नं ३ को बजेट चैत २० भित्र आउने

हेटौँडा । प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ । आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ । ती विधेयक संसद् सचिवालयमा शुक्रबार दर्ता गरिने प्रवक्ता ढुंगेलले सञ्चारकर्मीलाई जानकारी दिए। प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ । तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन् । रासस

वीरगञ्जमा महिन्द्रा गाडीको लागि प्रि डेलिभरी इन्स्पेक्शन सेन्टर खुल्यो

काठमाडौं । अग्नि ग्रुपले वीरगञ्जमा पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामुहिक रुपमा समुद्घाटन गरेका छन् । पिडि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले “महिन्द्रा गाडी प्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको बताए । त्यस्तै अर्जुनप्रसाद शर्माले ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्न सेन्टर स्थापना गरेके बताए । यस सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्तहुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरु जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदि कार्यहरु हुने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाललाई पहिलो सफलता

काठमाडौँ  । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता भने खोसिएको छ । –––

धुलोधुवाँ हटाउन काम नगर्ने ठेकेदारलाई कारवाहीे गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताएका छन् । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको थोरै जरिवानाका कारण अटेरी गर्ने प्रवृत्ति बढिरहेकाले जरिवाना बढाइने बताए । उनले भने, “जरिवाना थोरै भएकै कारण ठेकेदारले निर्माणमा लापरवाही गर्ने, सवारी साधन जथाभावी चलाउने तथा बटुवाले समेत ट्राफिक नियम नमान्ने गरेको देखियो, त्यसमा अब सुधार गर्नुपर्छ ।” केही ठेकेदारले एकातिर समयमा काम सम्पन्न नगर्ने र अर्कातिर सम्पन्न गरेका काम पनि कमसल हुने गरेकाले यस्ता काम गर्नेमाथि अब कारवाहीे केन्द्रित गरिने उनको भनाइ थियो । जनताले महसुस गर्ने गरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार र धुलोधुवाँ हटाउन आआफ्ना क्षेत्रबाट सहयोग गर्न अन्तरक्रियामा सहभागी जनप्रतिनिधि तथा सरकारी उच्च अधिकारीलाई उनले आग्रह गरे । यस्तो कार्य गर्दा कसैको दवाव आए त्यसलाई अस्वीकार गरेर अघि बढ्न उहाँले निर्देशन दिए। गृहमन्त्री थापाले भने, “कानुन कार्यान्वयन गर्दा कसैको दवाव आए म पनि त्यसलाई अस्वीकार गरेर अघि बढ्छु, तपाईंहरु पनि त्यसलाई अस्वीकार गरेर अघि बढ्नुहोेस् ।” उनले भने। “लोडसेडिङमुक्त नेपाल घोषणा गरिएजस्तै ‘ट्राफिक जाममुक्त नेपाल’ घोषणा गर्ने गरी कार्ययोजना अघि बढाउनुहोस् ।” गृहमन्त्री थापाले सडक र पुल निर्माणमा ढिलासुस्ती हुनुमा भ्रष्टचार र अनियमितता जोडिएको छ भन्दै त्यसको छानविन गरिने बताए । कार्यक्रममा जनप्रतिनिधि, प्रजिअ र सुरक्षा निकायका पदाधिकारीले ट्राफिक व्यवस्थापन र धुलोधुवाँ हटाउने गृह मन्त्रालयको अभियानमा आफूहरुको साथ रहने बताएका थिए । उनीहरुले ठूला सार्वजनिक सवारी साधनको प्रयोगमा प्रोत्साहनको नीति ल्याउनुपर्ने, सवारीसाधन जाँचपासमा कडाइ गरिनुपर्ने, सामान बोक्ने सवारीसधानलाई राति ७ बजेदेखि बिहान ७ बजेसम्म मात्रै काठमाडौँ उपत्याभित्र प्रवेश दिनुपर्ने, काम नगर्ने ठेकेदारलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने, जरिवाना रकम बढाउनुपर्नेलगायत सुझाव दिएका थिए । रासस

४ सचिवसहित १० हजार कर्मचारीले जागिर छाड्ने, सामान्य प्रशासनमा बुझाए राजिनामा

काठमाडौँ । ४ सचिवसहित करिब १० हजार कर्मचारीद्वारा स्वेच्छीक अवकासका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी ४ सचिवसहित ९ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताए । सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो । मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको रोकायले जानकारी दिए। जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो । प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । उनले इकाइ शाखामा पाँच कर्मचारी भएकाले धेरैको संख्यामा आएको विवरणलाई रुजु गर्न करिब ३ महिना लाग्ने बताए । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो । रासस

विभिन्न कार्यत्रम गर्दै सम्पन्न गर्याे एनएमबि माइक्रोफाइनान्सले वार्षिककोत्सब

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड स्थापनाको पाँचौं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ७५ वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खुला रक्तदान, वृद्ध वृद्धाहरुलाई फलफुल वितरण लगायतका समाजिक उत्तरदायित्वको कार्य गरेको जनाएको छ । उक्त कार्यक्रम गर्दै फाइनान्सले बिहीवार वार्षिककोउत्सव मनाएको हो । वार्षिकोत्सव मनाउने क्रममा फाइनान्सले विहान पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिर परिषरमा सरसफाई गरी कार्यक्रमको शुरुवात गरेको जनाएको छ । सोबाहेक रक्तदान लगायतका कार्यक्रम गरेको संस्थाको भनाइ छ । संस्थाले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ । २०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको शुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्षको अवधीमा देशका ४५ वटाजिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ । त्यस्तै करिब ८० हजार जना सदस्य विस्तार गरी ४४ हजार जनालाई रू. २ अर्ब १५ करोड कर्जा लगानी गरेको बताइएको छ ।

माथिल्लो तामाकोसी सेयर वितरणविरुद्ध आन्दोलन

चरिकोट । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर वितरण खाका (मोडालिटीं) विरुद्ध दोलखाका राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।सेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । माथिल्लो तामाकोशी सेयर सरोकार संघर्ष समितिले आज चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो अवधिमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।यसअघि संघर्ष समितिले तामाकोशीको सेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता बर्मा लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने बताए ।संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए चैत १० गतेदेखि माथिल्लो तामाकोसी र आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने जनाएको छ । नेकपा मालेका पोलिटब्युरो सदस्य रेशमराज रिमालले सेयर दलाल र आयोजनाबाटै दोलखाली जनतालाई अन्याय हुनेगरी सेयर निष्कासनको तयारी भएको बताएका छन् ।समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व सेयर वितरण मोडालिटी सच्याएर मात्र सेयर बाँडफाँड गर्नुपर्नेसहित ७ बुँदे माग अघि सारेको थियो । समितिले सेयरको अधिकतम र न्युनतम मुल्यलाई ३ देखि ३० हजारबाट घटाएर ३ देखि १० हजार रुपैयाँ कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष सेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पु¥याउनुपर्ने माग गरेको छ । आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर यही चैत महिनाभित्र सेयर निष्कासनको तयारी गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखावासीका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन सुरु भएको हो । रासस