राजधानीमा शुरु भयो मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी
काठमाडौं । राजधानी स्थित भृकुटीमण्डमा छैठौं मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी शुरु भएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले राईजिङ नेपाल प्रालि तथा माईस इन्टरनेशनल प्रालिको व्यवस्थानमा युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गरेको हो । मेलाको उद्घाटन महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी थिइन । उनले मुलुकमा राजनैतिक स्थीर भएसँगै संक्रमणकालको अनत्य भएको बताइन् । उनले मुलुक प्राकृतिक साधनमा धनि भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । युवा उद्यमी मञ्चका अध्यक्ष बरुण लोहियाले स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिएको बताए । स्वदेशी उत्पादनलाई प्रचार प्रसार गर्न मेला आयोजना गरेको उनको भनाइ छ । कमिटी चेयर सुदर्शन बस्नेतले विगतमा मुलुकमा सियो पनि नबन्ने भनिएतापनि अहिलेसम्म आइपुग्दा सिमेन्ट, जुत्ता, कपडा लगायत मुलुकमै बन्ने गरेको बताए । उनले १५ देखि २० प्रतिशत महङ्गो भएपनि स्वदेशी उत्पादननै प्रयोग गर्न पर्ने जोड दिए । ‘सरकारले सो सम्बन्धी नियमावली बने पनि अझै पनि सार्वजनिक ऐनमा शंसोधन हुन सकेको छैन,’ उनले भने ‘तत्काल शंसोधन गर्न अावश्यक छ ।’ आयोजकका अनुसार प्रदर्शनीमा ७५ वटै जिल्लाका विभिन्न स्वदेशी उत्पादनहरु राखिनेछ । करिब १ सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकहरु सहभागि हुने उक्त मेलामा लाखौ संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला चैत ४ गतेसम्म चल्ने छ ।
मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, जेठदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पोखरेललाई आगामी चार वर्षको लागि बैंकको सीईओको रुपमा नियुक्त गरेको हो । प्रद्युमन पोखरेल, सीईओ, मुक्तिनाथ विकास बैंक नवनियुक्त सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नेछन् । विभिन्न वाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरेका पोखरेल यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर शुरु गरेका थिए । उनले करिब १९ वर्ष नबिल बैंकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । त्यसपछि मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । यस बैंकको स्थापना कार्यकालदेखि नै सीईओमा भरतराज ढकाल रहेका थिए । ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा समाप्त हुँदै छ । सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनसीसी बैंक डुवाउनेमाथि सीआईबीले लगाएको यस्ता छन् १२ आरोप
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ डुवाउनेमाथि एक दर्जन आरोप लगाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकहाल एनसीसीको सञ्चालक विष्णुप्रसाद धिताललगायत १३ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । कमसल धितो राखि करोडौ रुपैयाँ ऋण दिएको लगायत १२ आरोप छन् । पक्राउ परेको १३ जना तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष, सञ्चालक, सीईओ र कर्मचारी संलग्न भएको आरोप लगाउदै बैंकिङ कसुरको अभियोग लगाएको छ ।
सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने
काठमाडौं । कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ ।कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिएका छन् । कोषले कोष वृद्धि गरेर सात खर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगत रुपमा कुनै व्यापार तथा व्यवसायसमेत गर्नेलाई समेत कोष कट्टा गर्ने सुविधा दिन लागेको हो । सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा सो कार्यक्रमलाई समेत कोषमार्फत अगाडि बढाउन दिन आग्रह गरेको छ । कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको हो । “सेवालाई विस्तार तथा विविधीकरण गर्ने लक्ष्यका साथ कोषले आफ्ना कार्यक्रम विस्तार गर्न लागिएको हो”, कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले भने, “हामी रोजगारीमा रहेका तथा नरहेका सबैलाई समेटेर सेवा विस्तार गर्न लागेका छौँ ।” वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको हो । वैदेशिक रोजगारमा हालसम्म करिब ५० लाख युवा कार्यरत छन् । उनीहरुले स्वदेश पठाउने विप्रेषण अनौपचारिक क्षेत्रमा बढी खर्च भइरहेको र बचत गर्ने संस्कृतिसमेत नभएकाले नागरिकलाई थप सुविधासमेत दिन लागिएको हो । कोषका विभागीय प्रमुख अर्जुनकुमार गौतमले कोष कट्टी सेवालाई विस्तार गरेर व्यक्तिगत रुपमा पनि कोष कट्टी गर्ने र वैदेशिक रोजगारमा गएकालाई समेत सेवाको दायरामा ल्याउन पहल गरिएको हो । कोषको सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । नियमावलीसमेत अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै विभागीय प्रमुख गौतमले रोजगारीमा रहेका, नरहेका तथा वैदेशिक रोजगारीमा रहेका सबैलाई एकमुष्ट रुपमा सेवा दिन लागिएको जानकारी दिएका छन् । कोषले सरकारी निजी एवं संगठित क्षेत्रका कर्मचारीको सञ्चय कोषको व्यवस्थापन गर्दै आएको छ । यस्तै स्वरोजगार र वैदेशिक कामदारका लागि कोष व्यवस्थापन गर्ने, सञ्चयकर्ताका लागि निवृत्तिभरण योजना र अन्य सामाजिक सुरक्षाका योजना सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ । कोषमा पछिल्लो दिनमा गैरसरकारी संस्था वा संगठित क्षेत्रका कोष कट्टी गर्दै आएको छ । कोषमा हाल सात लाखले कोष कट्टी गर्दै आएका छन् । कोषले विगत ५६ वर्षदेखि कोष कट्टीको सेवा दिँदै आएको छ । कोषले कुनै पनि संगठित संस्थामा न्यूनतम १० जनासम्म कर्मचारी कार्यरत रहेको अवस्थामा कोष कट्टी सेवा दिँदै आएको थियो । कोषमा हाल २ खर्ब ५५ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आव २०७३/७४ को लेखा परीक्षणसमेत गरिसकेको छ । आव २०७२/७३ मा कोषमा दुई अर्ब २४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यस्तै कोषले कूल दुई खर्ब ४९ अर्ब ३३ करोड लगानी गरेको छ । आव २०७२/७३ मा त्यस्तो लगानी दुई खर्ब १८ अर्ब ३६ करोड रहेको थियो । कोषले आव २०७३/७४ मा एक खर्ब ८९ अर्ब खुद मुनाफा गरेको छ । यस्तो मुनाफा २०७२/७३ मा एक खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । कोषले नागरिक उड्डयन, जलविद्युत्जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ । रासस
यी हुन् एनसीसी बैंक डुवाउने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष तथा कर्मचारी (नाम सहित)
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर गरेको अभियोगमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकका १३ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी रहेको सीबीआईले जनाएको छ । तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । ०७२ मंसिर २१ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरे पश्चात सोको फाइदा उठाउदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने मध्येका १३ लाई शुक्रबार पक्राउ गरेको सीआईबीले जनाएको छ । विभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।
कैलाश विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । कैलाश विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जिवनबीमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार(आज) उक्त इन्स्योरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखामार्फत कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसीसीमा शुक्रबार के भएको थियो ? यसरी पक्राउ परे सञ्चालक विष्णु धिताल
काठमाडौं । शुक्रबार बिहान ८ बजे चुक्तापुँजी ८ अर्ब रुपैयाँ कसरी पुर्याउने भन्ने विषयमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सञ्चालक समिति बैठक बसेको थियो । बैंकका आधारभूत सेयरधनीले हकप्रद सेयरका लागि चैत ५ गतेभित्र पैसा बुझाई सक्नुपर्ने थियो । धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृति नभइ हकप्रद सेयर नकिन्ने एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले अडान लिएपछि पुँजीवृद्धिमा समस्या आएपछि यसको निकास निकाल्न बैक सञ्चालकले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसंग भेट गर्ने निर्णय लिए । र, गभर्नर नेपालसंग बिहान सवा १० बजेको समय पनि लिइयो । छलफल गर्न बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेलगायत सबै सञ्चालक गभर्नर भेट्न नेपाल राष्ट्र बैंक पुगेका थिए । छलफलमा गभर्नरनका अतिरित बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल पनि सहभागी भएका थिए । आधा घण्टा भेटघाटपछि सञ्चालक राष्ट्र बैंकबाट बाहिरिएर राजधानीको कमलादीस्थित एक होटलमा खानाखान बसेका थिए । खाना खाएर छुट्ने वित्तिकै सीआईबीको टोलीले बैंकका सञ्चालक धिताललाई पक्राउ गरेको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।
मुआब्जा विवाद मिलेपछि ठेउलेखोला सञ्चालनमा, जग्गाधनीलार्इ ६० लाख दिने
बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको मुआब्जा विवाद सुल्झेको छ । आयोजना व्यवस्थापन र प्रभावित क्षेत्रका जग्गाधनीबीच सहमति जुटेपछि आयोजनाको काम सञ्चालन भएको हो । जग्गाधनी खगेश्वर शर्माले मुआब्जा माग गर्दै अवरोध सिर्जना गरेपछि आयोजनाको काम प्रभावित भएको थियो । आयोजना व्यवस्थापनले शर्माले माग गरेअनुसारको मुआब्जा दिन नसकिने बताउँदै आएको थियो । शर्माले रु एक करोड पाँच लाख मुआब्जा माग गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहबरमा दुबै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार शर्माले ६० लाख रुपैयाँ मुआब्जा पाउने भएका छन्। यस्तै आयोजना बनाउदा क्षति पुगेका संरचना निर्माणको काम पनि आयोजना व्यवस्थापनले गर्ने सहमतिमा उल्लेख छ । शर्माको चार रोपनी जग्गा आयोजनाबाट प्रभावित भएकामा दुई रोपनी ११ आना जग्गामा पाइपलाइन विछ्याइएको छ । मुआब्जा विवाद चर्कदैँ गएपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधानका लागि स्वतन्त्र समितिसमेत बनाएको थियो । सोही समितिले तयार गरेको क्षतिपूर्ति मूल्यांकन प्रतिवदेनका आधारमा मुआब्जा दिने निर्णय भएको हो । लामो प्रयासपछि विवाद मिलेको निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष एवं इञ्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । सहमति लगत्तै आयोजनाको बाँकी काम शुरु भएको उनको भनाइ छ । “विवादित जग्गामा पाइपलाइन जोड्न बाँकी थियो ” अध्यक्ष अधिकारीले भन्नुभयो –“एक/दुई दिनमै काम सकेर परीक्षण उत्पादन शुरु गर्छौं । यही चैत १५ गतेदेखि आयोजनाबाट व्यावासियक विद्युत् उत्पादन शुरु हुने छ ।” जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै नियमित विद्युत् उत्पादन शुरु गर्ने तयारी प्रभावित भएको थियो । यसअघि निर्माण कम्पनीले आयोजनास्थलको ३२ रोपनी जग्गाको मुआब्जा ९२ लाख रुपैयाँ वितरण गरिसकेको छ । ३३ करोडको लागतमा बनेको साढे एक मेगावाटको आयोजनाले जिल्लाभरको एक तिहाई विद्युत् मागलाई धान्ने जनाइएको छ । नगरपालिका-१ कुश्मीसेरा र ४ सर्कुवास्थित ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको ‘पेनस्टक’ पाइपमार्फत् वार्ड नं ५ बिनामारेस्थित विद्युत्गृहमा पुर्याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत सेयर छ । रासस